Connect with us
Advertisement

अमेरिकाबाट डिपोर्ट भएका नेपाली : जाहेरी दिन आउँछु भनेका थिए, फर्किंदै फर्किएनन्

Published

on

त्यो दिन दाङकी २३ वर्षीया ममता उत्साह र केही डर बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

उत्साहको कारण– उनी सपनाको देश अमेरिकाको यात्रा सुरु गर्दै थिइन्, जहाँ पुगेपछि उनका गाउँका थुप्रै दाजुभाइको जिन्दगी बदलिएको थियो ।

डर चाहिँ उनी पहिलो पटक अन्तर्राष्ट्रिय यात्रा गर्दै थिइन् । र, यो यात्रा त्यति सहज छैन भन्ने हेक्का पनि उनलाई थियो ।

बिदाइका लागि विमानस्थल पुगेका साथीभाइ भेट्दा उनी केही भावुक बनिन् । करिब २० मिनेटजति खादामाला, अंकमालसहित बिदाइको श्रृंखला चल्यो ।

त्यसपछि जब उनी सुरक्षा जाँच लाइन पार गरेर बोर्डिङ पास लिने डेस्कमा पुगिन्, मनमा चिन्ता बढ्न थाल्यो ।

अन्तिम गन्तव्यबारे उनी ढुक्क थिइन्, तर बीचमा अनेकौं ‘कनेक्टिङ’ मुलुकहरु छिचोल्नुपर्ने थियो । साथीभाइले उनलाई बिदाइ त अमेरिका नै जाने भनेर गरेका थिए । यद्यपि उनको हातमा बोर्डिङ पास थियो दुबईको ।

खासमा जसले उनीसँग अमेरिका जान भन्दै सुरुमा १० लाख रुपैयाँ लिएका थिए, तिनले उनलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका उडाउने आश्वासन दिएका थिए ।

दुबईबाट कति मुलुकको यात्रा गर्नुपर्ला भन्ने उनलाई अन्दाज थिएन । भलै पहिलो किस्ताको रकम बुझाउने बेला बिचौलियाले सजिलै सुनाएका थिए, ‘दुबई–ब्राजिल–मेक्सिको हुँदै दक्षिण अमेरिका ।’

बोर्डिङ पास हातमा परिसकेपछि विमानस्थलभित्रै एक तलामाथि अध्यागमन जाँचका लागि उक्लिनु पर्ने थियो । तर, उनलाई त्यति आत्मविश्वास आइरहेको थिएन, कता–कता डर लाग्न थालेको थियो ।

उनलाई भनिएको थियो– कर्मचारीसामु घुम्न जाने हो भन्नुपर्छ, होटल बुकिङ देखाउनुपर्छ । त्यसबाहेक धेरै नबोल्न बिचौलियाले सिकाएका थिए । डराउँदै इमिग्रेसन लाइनमा छिरेकी उनले त्यहाँ कल्पना गरेझैँ धेरै समस्या व्यहोर्नु परेन । सायद, अहिले चर्चामा भए जस्तै ‘भिजिट भिसा’को सेटिङ उनका लागि पनि मिलाइएको थियो ।

मानव तस्करहरुले अवैध तरिकाले अमेरिका लैजाने क्रममा हप्तौंसम्म जंगल र समुद्रको खतरनाक बाटोबाट हिँडाउने गरेको नेपालीहरु बताउँछन् ।

दुबई पुगे पनि यस अगाडिको यात्रा त्यति सहज हुनेवाला थिएन । अबुधाबी उत्रिएपछि उनलाई एउटा होस्टलमा लगेर राखियो । त्यहाँ केही नेपालीसहित विदेशी पनि थिए ।

उनले प्रहरीलाई बताएअनुसार, दुबईमा केही साताको बसाइपछि विमानमा ब्राजिल पुर्‍याइएको थियो । त्यहाँ ह्वाट्स एपमा बिचौलियाको सम्पर्क नम्बर उनले पाउँथिन् । त्यसरी जोडिएका व्यक्तिले उनलाई बस्ने ठाउँसम्म पुर्‍याउँथे ।

‘देश कट्दैपिच्छे पैसा हाल्न भन्थ्यो, त्यही अनुसार घरबाट पैसा हालिदिनु हुन्थ्यो’, उनले भनेकी छन्, ‘त्यसपछि विभिन्न मुलुक हुँदै मेक्सिकोसम्म पुर्‍याइएको थियो ।’

मेक्सिको सीमामा पर्खाल नाघेर उनी अमेरिकी भूमिमा प्रवेश मात्र गरेकी थिइन्, अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अधिकारीहरुले उनलाई नियन्त्रणमा लिइहाले ।

जानकारहरुका अनुसार, यसरी जाने केही अमेरिकामा स्थायी बसोबास गर्न सफल पनि भएका छन्, त्यही लोभमा सयौं आप्रवासीहरु जोखिमपूर्ण यात्रा गरेर सीमा क्षेत्रसम्म पुग्छन् । तर, प्रहरी अधिकारीहरुका अनुसार, अधिकांशको नियति ममताको जस्तै हुने गरेको छ ।

सीमामा पक्राउ परेपछि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले उनलाई ६ महिनाजति हिरासतमा राखेको थियो ।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा लामो समय हिरासतमा राखेर २६ जेठमा उनीसहित ३७ नेपाली अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका थिए । यसपटक पहिले बिदाइमा जस्तो उनलाई भेट्न पुग्ने कोही थिएनन् । न उनलाई कसैको अपेक्षा थियो ।

लामो हवाई यात्रा गरेर फर्किंदा चिनजान भएका साथीहरु मिलेर बासस्थानतिर जाने तारतम्य मिलाइरहेका थिए ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, सामान्य विवरण राखेर थप सोधपुछका लागि सबैलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको थियो ।

‘उहाँहरुलाई विदेश पठाउने मानव तस्करबारे कुनै सूचना आउँछ कि भन्ने हिसाबले प्रहरीलाई यसमा संलग्न गराइएको हो’, रिजाल भन्छन्, ‘कसैलाई जाहेरी दिन्छु भन्ने लागेको भए सहजीकरण गर्ने उद्देश्य पनि हो ।’

ब्यूरोले डिपोर्ट भएर आउनेहरुको सहजताका लागि यसपटक विमानस्थलमै सोधपुछ गर्ने गरी डीएसपी सुधीर राईको नेतृत्वमा १२ जना प्रहरी अधिकारीहरु खटाएको थियो ।

‘फर्किएर आउनेको संख्या धेरै भएकाले त्यहीँ पठाएका थियौं, अबेर भइसकेकाले हाम्रो टोलीले छुट्टाछुट्टै समूह बनाएर उहाँहरुसँग कुरा गरेको थियो’, ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘त्यसक्रममा कतिपयले ब्यूरोमा फेरि छलफलका लागि आउने भन्नुभएको थियो ।’

तर, आइतबारसम्म उनीहरुमध्ये कोही पनि फर्किएर ब्यूरो नआएको उनी बताउँछन् ।

खुलाएनन् एजेन्टको नाम

ब्यूरोका अधिकारीहरुले अमेरिकाबाट फर्किएकाहरुलाई सोधपुछ गर्न केही प्रश्नावलीसहित एउटा फर्म्याट तयार गरेका थिए । त्यसमा कसरी अमेरिका पुग्नु भयोदेखि मानव तस्करबारे खुलाउनुपर्नेसम्मका प्रश्नहरु थिए ।

डिपोर्ट भएर आएका ५ जना महिलालाई भने ‘डंकी रुट’बाट जाँदा दुर्व्यवहार भए/नभएको बारे समेत सोधिएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकारीहरुका अनुसार, कतिपयलाई मानव तस्करीमा संलग्न समूहले द्वन्द्वग्रस्त मुलुक हुँदै लैजाने हुँदा त्यहाँ महिलाहरु दुर्व्यवहारमा परेका उदाहरण समेत छन् । त्यसैले यसबारे ममतासहितका महिलाहरुलाई सोधिएको थियो ।

तर, बयानमा उनीहरुले त्यस्तो कुनै अफ्ठ्यारो परिस्थितिको सामना गर्नु नपरेको बताएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

‘कतिपयले अमेरिका पठाउनेको पहिलो नाम भन्नुभयो, तर पूरा विवरण बताउन चाहनु भएन’, एक अधिकृत भन्छन्, ‘उनीहरुसँग सम्पर्क गर्ने नम्बर समेत नभएको उहाँहरुको भनाइ थियो ।’ ती अधिकृतका अनुसार, उनीहरुले जति विवरण दिए, त्यसको आधारमा अनुसन्धान अघि बढाउन सक्ने स्थिति नै थिएन ।

डिपोर्ट भएर आएकामध्ये रुकुमका निमेषले चाहिँ भारतको राजधानी नयाँदिल्ली हुँदै अमेरिका यात्रा थालेका थिए । बिचौलियाले मोबाइलमा पठाउने सन्देशका आधारमा उनी दिल्लीबाट ब्राजिल अनि त्यहाँबाट कोलिम्बिया हुँदै अघि बढेका थिए ।

एकातिर विषालु सर्पको डर र अर्कातिर द्वन्द्वरत हतियारधारी समूहसँग जम्काभेटको त्रासबीच उनी अमेरिका याक्रामा हिँडेका थिए ।

‘यात्राकै त्रममा हामीसँग भएका सामान लुटियो, पानामा पुगेर होण्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगुन्जेल अनेक दुःख भोगियो’, उनले भने, ‘त्यो यात्रा झण्डै पाँच महिनाको थियो ।’

मेक्सिकोबाट अमेरिकी सीमा पार गर्न बिचौलियाले उपयुक्त समयमा संकेत गर्थे ।

पारि अमेरिकी राज्य एरिजोना थियो, वारि मेक्सिको । लामो यात्राले त्यो दिन खास परीक्षा लिँदै थियो ।

मानव तस्कर समूहले भने अनुसार, उनीसहित करिब १० जना पर्खाल चढेर पारि गए । तर, केहीबेरमै पक्राउ परिहाले । उनका अनुसार, सीमामा सीसी क्यामराबाट समेत निगरानी हुने रहेछ, सुरक्षाकर्मीहरु आइहाले ।

उनी त्यहीँ पक्राउ परेछन् र एरिजोनामा हिरासतमा राखिएको रहेछ’, सोधपुछमा संलग्न एक अधिकारी भन्छन्, ‘लामो समय हिरासतमा राखेपछि डिपोर्ट गर्ने आदेश आयो, उनीसहित ३७ जना चार्टर्ड विमानमा फर्किए ।’

डिपोर्ट भएर २५ जेठमा काठमाडौं आएकाहरु विमानस्थलबाट बाहिर निस्किँदा चिन्तित देखिन्थे । बोरा बोकेर निस्किँदै गर्दा केही युवा ८० लाख डुब्यो भन्दै थिए, केही ६० लाख । ‘यत्रो पैसा डुबिसक्यो, के बोल्ने हो र ?’, उनीहरुको प्रतिक्रिया यत्ति थियो ।

बाहिर सञ्चारमाध्यमका प्रतिनिधिहरुको भिड देखेर प्रहरीले पहिल्यै उनीहरुलाई सचेत गराएको थियो । स्रोतका अनुसार, बोरा लिएर आएका नेपाली देखेर प्रहरीले ‘बाहिर फोटो खिच्न बसेका छन्, महत्वपूर्ण केही छैन भने नलिइ जाँदा हुन्छ’ भनेका थिए । तर, उनीहरु तयार भएनन् ।

डिपोर्ट भएर आउँदा उनीहरुसँग आफ्नो एकसरो कपडा हाल्ने झोला समेत थिएन । त्यसैले कसैले बोरा त कसैले प्लास्टिकको थैलोमा झुण्ड्याएका थिए ।

प्रहरीका अनुसार, त्यो बोरामा हिरासत बस्दाका कपडादेखि ‘टिस्यू पेपर’का डल्लासम्म थिए । ‘त्यहाँ धेरै आवश्यक कुरा छ भन्ने नलागेकाले छाड्नु भए हुन्छ भनेका थियौं’, एक अधिकृत भन्छन् ।

तर, डिपोर्ट भएर आउनेहरुका लागि भने त्यही बोरा संघर्ष, असफलता, विश्वास र मिहिनेतको प्रतीक थियो ।

निष्कासित हुने अधिकांश तल्लो बाटोबाट गएकाहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति अख्तियार गर्दै आएका छन् । उनी दोस्रो पटक राष्ट्रपति निर्वाचित भएयता मात्र १७७ जना नेपाली डिपोर्ट भएर काठमाडौं आएको अध्यागमन विभागका महानिर्देशक रिजाल बताउँछन् ।

‘अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पहिले पनि नेपालीहरु डिपोर्ट भएर आउँथे’, उनी भन्छन्, ‘तर, पछिल्लो समय त्यो क्रम बढेको छ ।’

उनका अनुसार, २०२५ को जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन तथ्यांक छ । यसअघि सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । यसले अहिले अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या ह्वात्तै बढेको मान्न सकिन्छ ।

अहिले नेपालका लागि अमेरिकाले दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) समेत खारेज भएकाले डिपोर्ट हुने नेपालीको संख्या थप बढ्न सक्ने अधिकारीहरु बताउँछन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता नरेन्द्र कुवँरका अनुसार, हालसम्म अमेरिकाबाट डिपोर्ट भएर आएकाहरु मध्ये अधिकांश अवैध बाटोबाट प्रवेश गरेकाहरु छन् ।

‘अहिले डिपोर्ट भएर आएको समूहले मात्र ४५ लाखदेखि डेढ करोड रुपैयाँसम्म खर्चेर अमेरिकी सीमा पुगेको भेटिएको छ’, उनी भन्छन्, ‘तर, उनीहरुमध्ये कसैले प्रहरीलाई अनुसन्धान गरिदिन भनेर उजुरी दिएका छैनन् ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक