Connect with us
Advertisement

ट्रयाक खुलेदेखि स्तरोन्नति हुन नसकेको ‘सेफत’ भीरमा सधैं दुर्घटनाको जोखिम

Published

on

रामपुर नगरपालिका–६, तिलपुरका ७६ वर्षीय देवराज ढकाल २०३२ सालतिर नै सेफत भीरमा ट्रयाक खोल्ने काम गरेको सम्झन्छन् । त्यतिबेला रामपुर, दर्छा, गाँडाकोट, खालीवनका धेरैको पसिना सेफत भीरमा बगेको छ। किनकि यो भीरमा ट्रयाक खोल्ने काम निकै कठिन थियो। झन्डै ६ मिटर क्षेत्र ट्रयाक खुल्नै १० वर्ष लागेको उनले सम्झन्छन् ।

‘सेफतको भीरले धेरै दुःख दिएको हो,’ उनले भने, ‘पछि सरकारी योजना परेपछि मात्र चट्टान फुटाउन विस्फोट गराउने अनुमति पाएको हो ।’ त्यसअघिसम्म स्वीस, जर्मन लगायतको सहयोग थियो । ‘कामका लागि खाद्यान्न’ कार्यक्रम पछि आएपछि बल्ल केही राहत पाएको हो । होइन भने प्रधानपञ्चले नेतृत्व गर्ने र जनतालाई ल्याएर छिनोले ढुंगा काट्ने काम गरेर यहाँ ट्रयाक खुलेको हो । यो सडकका लागि स्वर्गीय ज्ञानप्रसाद अर्याल, यमनाथ देवकोटा, दिवाकर शर्मा लगायतको ठूलो मिहिनेत छ।

उनका अनुसार २०३७ सालतिर धेरै वर्षदेखि ट्रयाक खुलेको थिएन । कामका लागि खाद्यान्न अन्तर्गत हेभी इक्विपमेन्ट प्रयोग नगरी खनिएको हो । गैंती, कोदालो, छिनोलगायतका घरेलु सामग्री प्रयोग गरेर खनेको ट्रयाक हो । ‘तर सक्दै नसकिने अवस्था आएपछि भने बम विस्फोट गराएर सेफत भीरको ट्रयाक खुलेको हो,’ उनले भने, ‘तर अहिलेसम्म पनि यसको स्तरोन्नति हुन सकेको छैन । सरोकारवाला निकायको बेवास्ताले नै यस्तो भएको हो।’

रामपुर नगरपालिका–९, लाम्दीखोलाका उमाकान्त अर्यालका अनुसार सेफत भीरमा २०४३ सालतिर ट्रयाक खोलेर जिप, ट्र्याक्टर पास गरिएको हो । त्यसपछि २०४६ सालको अन्तिमतिर जब्गादीसम्म बस आउन सुरु भएको हो । अन्य स्थानमा खन्ने भन्दा बढी समय सेफत भीरले लिएको उनले बताए । ‘आर्यभञ्ज्याङदेखि ताहुँ, जब्गादी हुँदै रामपुरसम्म ट्रयाक खुल्दा ठूला मेसिन प्रयोग भएको छैन,’ उनले भने, ‘वातावरणीय हिसाबले अत्यन्त राम्रो गरी सडक खनिएको हो ।’ उनका अनुसार आर्यभञ्ज्याङदेखि नै सडकको छेउमा माटो भर्दै त्यहाँ बिरुवा रोपिँदै आएको छ । २०५९ सालपछि भने ठूला मेसिन प्रयोग गरेर सडकको माथिल्लो भाग काट्ने र तल्लो भागमा गग्रेटो फाल्ने गर्दा पहिला लगाएका रुखसमेत नासिएको छ ।

‘सिलुवालगायत केही ठाउँमा मात्र त्यस्ता पुराना रुख लगाएको देख्न सकिन्छ,’ उनले भने, ‘मानवशक्तिबाटै निर्माण गरिएको सडक भए पनि पछिल्लो समय वातावरण विनाश गर्दै ठूला मेसिन लगाएर पहिरो खस्ने गरेको छ।’ आर्यभञ्ज्याङ–रामपुर (४९) किलोमिटर पाल्पाको पूर्वभेगका बासिन्दाको लाइफलाइन सडक बनेको थियो । सडकले धेरैवटा गाउँ जोड्ने मात्र होइन, उल्लेख्य जनसंख्या र अप्ठेरो भूगोललाई पनि समेटेको छ । तर यो सडकको स्तरोन्नतिमा भने सम्बन्धित निकायको ध्यान पुगेको छैन । यो ग्रामीण सडकले साविकका धेरै गाविस समेटेको थियो । अहिले रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढीलाई समेटेको छ । २०६९ सालसम्म ओटासिल कार्य सम्पन्न भएको हो । तर बर्सेनि वर्षायाममा यस भेगका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

साँघुरो सडक, उप्किएको ओटासिल, पहिरो खस्ने समस्या उस्तै छ । अझ रामपुर नगरपालिका–९ र पूर्वखोला गाउँपालिका–५, बीरकोटको सीमाना सेफतको भीरले जहिलेसुकै यो सडकमा त्रास उत्पन्न गराउने गर्छ । यहाँ ठूला दुर्घटना नभए पनि सानातिना दुर्घटना हरेक वर्ष हुने गरेको रामपुर नगरपालिका–९ का वडाध्यक्ष डिलबहादुर रानाले बताए । उनका अनुसार सेफत भीरको झन्डै ६ सय मिटर सडक कालोपत्र गरिएको थिएन। यहाँ ग्राभेल गरेर छाडिएको हो ।

‘हिउँदमा धुलो र वर्षा सुरु भएसँगै हिलोले सताउने गर्छ,’ उनले भने, ‘चिप्लो बाटो र यहाँ दुर्घटनाको जोखिम अधिक छ।’ भीरको सडकमा पानी उम्रने, शीत पर्ने गर्दा हिउँद–वर्षा जहिलेसुकै चिप्लिने डर हुन्छ । चार वर्षअघि कतिपय स्थानमा सडक चौडा गरे पनि पहिरोका कारण सडकको अवस्था उस्तै छ । वडाध्यक्ष रानाका अनुसार असार २ गतेको जिप दुर्घटनासमेत चिप्लो भएका कारण भएको हो । यहाँ दुई जनाले ज्यान गुमाए भने दुर्घटनाग्रस्त जिप झन्डै ५ सय मिटर तल पुगेको थियो ।

यो सडक डाँडाबस्ती छिचोल्दै लगिएकाले महत्त्वपूर्ण छ। सडकको सेर्कावास, बेलौतीघारी, बीरकोट, सेफत, सिलुवा, सानोगल्धा, चापगैरा लगायत स्थानमा भासिएको छ । हरेक वर्ष पहिरोले समस्या निम्त्याउने गरेको छ । वर्षायाममा सातादेखि महिना दिनसम्म आवागमन बन्द हुने समस्या छ । सडक बन्द हुँदा डाँडाबस्तीलाई समस्या हुने गरेको छ ।

विगतमा तत्कालीन जिल्ला विकास समितिमार्फत् रहेको सडक केही समय सडक डिभिजनले हेर्दै आएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रामपुर–रोल्पा सडकअन्तर्गत पर्छ । कालीगण्डकी करिडोर सडक कालोपत्र भएसँगै यो डाँडाबस्ती समेटेको सडक बेवास्ता परेको छ । प्रदेश सरकारले काम गरे पनि बजेट अभावले गर्दा थोरै मात्र प्रगति भएको छ । हुमीनदेखि ताहुँसम्म ४ किलोमिटर सडक स्तरोन्नतिको काम प्रदेश सरकारले तीन वर्षदेखि सुरु गरेको छ ।

प्रत्येक वर्ष वर्षा लागेपछि पहिरो खसेर सास्ती खेप्नुपर्ने पूर्वखोला–५, बीरकोटका वडाध्यक्ष विष्णु पल्लीले बताए । वर्षायाममा सधैं सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ। साविक जिविसका पूर्वसभापति झपेन्द्र जीसीले सडकमा डोजर, स्काभेटर लगाएर खन्न सुरु भएपछि पहिरो खस्ने समस्या निम्तिएको बताए । ‘वातावरणीय अनुकूलता कायम गरी खनिएको सडकमा डोजर प्रयोग गर्न थालेपछि झनै समस्या बढेको हो,’ उनले भने, ‘त्यसबेला लगाएका लाकुरीका रुख पनि अहिले डोजर लगाउँदा ढालेका छन् । यसले झनै समस्या ल्याएको छ ।’ स्तरोन्नतिको नाममा जथाभावी सडक खन्दा वातावरणीय समस्या आएकाले दुर्घटना हुने, पहिरो खस्ने समस्या भएको उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक