Connect with us
Advertisement

रणनीतिक हारमा बदलिन सक्छ इरानविरुद्ध अमेरिकी आक्रमण !

Published

on

अन्ततः इरान र इजरायलबीच जारी युद्धमा विश्व महाशक्ति अमेरिका प्रत्यक्ष नै सहभागी हुने देखिएको छ । तर अमेरिकाले इरानमा कस्तो सैन्य भूमिका खेल्छ, त्यो हेर्नु बडो रोचक हुनेछ । अमेरिकाले इराक र अफगानिस्तानजस्तो सैनिक नै जमिनमा उतार्छ कि लिबियामा झैँ हवाई आक्रमणमै सीमित रहन्छ ? यो प्रश्न महत्वपूर्ण हुनेछ ।

यो युद्ध इरानले चाहेको छैन । अमेरिका र इजरायलले इरानमाथि जबरजस्ती युद्ध थोपरेका छन् । इरानको वायुसेना र नौसेना कमजोर छ । इरानले क्षेप्यास्त्र बललाई मजबुत बनाएको छ । यसैगरी, इरानले धेरै ठूलो सङ्ख्यामा लडाकु परिचालन गर्न सक्छ । उसले ‘अनकन्भेन्सनल’ र ‘एसिमेट्रिक वारफेयर’ अर्थात् अपरम्परागत र असमान युद्ध लड्ने क्षमता विकास गरेको छ । शिया धार्मिक शासन व्यवस्था (थेओक्रेसी) रहेको इरानको समर्थनमा मध्यपूर्वका अरू देशमा बस्ने शियाहरू पनि परिचालित हुनसक्छन् ।

प्रभावशाली डायस्पोराका कारण इरानी समाजको युवापुस्ता र मध्यम वर्ग सामाजिक रूपमा उदार देखिन्छ । तर, त्यहाँको राजनीतिक नेतृत्व कट्टर इस्लामिक दर्शनमा आधारित पुरातनपन्थी छ । इरानको एउटा तप्काले इस्लामिक क्रान्तिलाई अझै स्वीकार्न सकेको छैन । त्यसबाहेक इरानमा जातीय अल्पसङ्ख्यक पनि धेरै छन् । इरानभित्र रहेका पाँचौँ स्तम्भ ‘फिफ्थ कोलम’ (गद्दार) लाई जासुसीका लागि इजरायलले खुबै उपयोग गरिरहेको देखिन्छ ।

वरिष्ठ सैन्य कमाण्डरको हत्याका कारण इरानी सेना र रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) यतिखेर कमजोर भइसकेको हुनसक्छ । यस्तोमा ‘रिग्रुपिङ’ का लागि इरानलाई केही समय लाग्नसक्छ । विडम्बना ! इरानसँग समय छैन ।

गाजामा हमास, सिरियामा असद, लेबनानमा हेज्बोल्लाहको पतन र यमनमा हाउथीको अधोगतिका कारण आम इरानी र इरानी नेतृत्वको ‘मोराल’ पनि यतिखेर घटेको हुनसक्छ । युद्ध लड्नु टाढाको कुरा ! इजरायलले पूरै इरानभर वायु श्रेष्ठता (एअर सुपेरियोरिटी) हासिल गरेको दाबी गरेको छ ।

आफ्नो आकाशमा प्रत्यक्ष रूपमा अमेरिकी वायुसेना परिचालन भए इरानका लागि धेरै कठिन हुनेछ । ‘एअर कभर’ नभइ युद्ध लड्दा के हुन्छ भन्ने इराकमा अमेरिकाले सन् १९९१ मा कारवाही गरेपछि निम्तिएको ‘हाइवे अफ डेथ’ अर्थात् मृत्युको राजमार्गको उदाहरणले प्रस्ट्याउँछ ।

इजरायल र त्यहाँको उग्रदक्षिणपन्थी नेतृत्व इरानविरुद्ध जुनसुकै हालतमा युद्ध चाहन्छ । सत्तामा रहिरहन नेतन्याहूलाई व्यक्तिगत कारणले इरानविरुद्ध युद्ध चाहिएको छ । उनी भ्रष्टाचार लगायतका काण्डमा मुछिएका छन् । उनको सरकारका उग्र घटक पनि युद्धोन्मादी छन् । उनको राजनीतिक नेतृत्वमा इजरायली सेनाले गजबको युद्धकला देखाएको छ । उसलाई जासुसी, सैन्य, आर्थिक / कूटनीतिक केहीको पनि फिक्री छैन ।

अमेरिकाले जुनसुकै हालतमा आफ्नो साथ दिन्छ भन्ने इजरायललाई लागेको छ । इजरायललाई अमेरिकासँगै युरोपेली देशहरूको पनि साथ छ । अरब देशहरूले पनि मौन बसेर इजरायललाई नै साथ दिइरहेका छन् ।

इजरायली सेनाले गाजामा गरिरहेको नरसंहार र मानवताविरोधी अपराधको पक्ष लिन सकिन्न । तर, युद्ध सञ्चालनका आधारमा इजरायली सेनाले प्रभावकारी र कतिपय अवस्थामा आश्चर्यजनक कारवाही सञ्चालन गरेको छ । इजरायली सेनाले हिजबुल्लाहका राजनीतिक एवम् सैन्य नेतृत्व र आम कार्यकर्ता तथा लडाकुलाई निशाना बनाउँदै पेजर पड्काएर गरेको कारवाही साँच्चै नै आश्चर्यलाग्दो हो ।

इजरायली समाज परम्परागत रूपमा दक्षिणपन्थतर्फ झुकाव राख्छ । यो देशका नागरिकले पछिल्लो पटक सन् २०२३ अक्टोबर ७ यता ‘अप्रत्यक्ष युद्ध’ भोगिरहेका छन् । ‘अप्रत्यक्ष युद्ध’ भन्नुको अर्थ इजरायलले आफ्ना दुश्मनविरुद्ध एकोहोरो कारवाही गरिरहेको छ भने इजरायली नागरिकले युद्धको प्रत्यक्ष अनुभव गरेका छैनन् । दुश्मनले इजरायलमा गम्भीर क्षति निम्त्याउनेगरी कुनै ठूलो आक्रमण गर्न सकेका छैनन् ।

शायद यी देशका नागरिक दैनिक बज्ने साइरन र कहिलेकहीँ खस्ने क्षेप्यास्त्रसँग अभ्यस्त पनि भइसकेका होलान् । तैपनि त्यहाँका केही युद्धविरोधी शक्तिहरू पक्कै छन् । तर, अहिले मुलुक युद्धको अवस्थामा रहेकाले उनीहरूको आवाज दबिने निश्चित छ ।

युद्धका बेला इजरायलका सबै राजनीतिक दलहरू सरकारको समर्थनमा उत्रिनेछन् । उसको जासुसी र प्रचार संयन्त्र पनि बलियो छ । नेतान्याहूलाई अमेरिकी नेतृत्वले पनि साथ दिएको छ ।

ट्रम्प वा पर्दापछाडिको अमेरिकी नेतृत्वले कुनै पूर्वतयारी बेगर अमेरिकालाई इरानमा जारी युद्धमा होम्ने निर्णय गरेजस्तो देखिन्छ । अरू बेला जनता वा मतदातालाई कुनै युद्ध बेच्नका लागि एउटा माहोल बनाइन्थ्यो वा चोम्स्की र हर्मनले भनेजस्तो कनसेन्टको उत्पादन गरिन्थ्यो । अहिले त्यसो पनि गरिएको छैन । अहिले आक्रमण गरिसकेर बल्ल कनसेन्ट उत्पादन गर्न खोजिएको छ ।

इराक र अफगानिस्तानमा असफलता देखेको अमेरिकी जनताको ठूलो सङ्ख्या युद्ध चाहँदैन । ट्रम्पकै समर्थकको एउटा प्रभावशाली खेमा इरानविरुद्ध युद्धको विपक्षमा छ । खासगरी स्टीभ ब्यानन, टकर कार्लसन, मार्जरी टेलर ग्रिन र चार्ली कर्कजस्ता दक्षिणपन्थी प्रतिनिधि एवम् अभियन्ता इरानविरुद्ध युद्धको विपक्षमा रहेको ठानिन्छ ।

अमेरिकी जनमानस विभिन्न आर्थिक सामाजिक कारण अस्थिरता उन्मुख छ । अमेरिकी समाजिक बहस वित्तीय स्थायित्व, सुरक्षा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका विषयमा सीमित हुन पुगेको छ । त्यसमाथि डेमोक्र्याट–रिपब्लिकन, काला–गोरा, गर्भपतन पक्षधर–विरोधी, आप्रवासी–नागरिक, बन्दुक बोक्ने–नबोक्ने यी र यस्तै खेमामा विभाजित छ । ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै गएको छ भने सरकारले पनि विरोधीलाई तह लगाउन अभूतपूर्व र अझ खतरनाक कदम चाल्ने देखिन्छ ।

अमेरिकी सेनाको निकट विगत सुखद छैन । दोस्रो विश्वयुद्धयता अमेरिकाले लडेका प्रायः सबै युद्ध ‘सामरिक जीत’ तर ‘रणनीतिक हार’ मा परिणत भएका छन् । अझ हालैका दशकमा अमेरिका वा अमेरिकी नेतृत्वमा सञ्चालित जमिन कब्जा गरी सैन्य कारवाही सञ्चालन गर्ने नीति पूर्णतः असफल सिद्ध भएका छन् ।

इरानकै छिमेकमा अफगानिस्तान र इराक असफल अमेरिकी सैन्य अभियानको ज्वलन्त उदाहरण छन् । तर, उसको युद्धकार्य गर्ने क्षमता अरूभन्दा विशिष्ट छ । अमेरिकी सेना अझैपनि सबैभन्दा शक्तिशाली, सबैभन्दा अत्याधुनिक, सबैभन्दा प्रभावकारी, सबैभन्दा तेज र सबैभन्दा उत्कृष्ट छ । यो सेनाले विश्वको जुनसुकै ठाउँमा पनि सैनिक कारवाही सञ्चालन गर्न सक्छ ।

इजरायलले आफ्नो कारवाहीको प्रमुख उद्देश्य इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने रहेको जनाएको छ । कहीँ कतै समाचारमा आएअनुसार सैन्य कारवाहीको बलमा इजरायलले इरानमा सत्ता परिवर्तनको उद्देश्य राखेको पनि बताइएको छ ।

यस्तो अवस्थामा अमेरिकाले इजरायललाई भूमिगत रूपमा इरानले सञ्चालन गर्दै आएको आणविक भट्टी ध्वस्त पार्न ‘बङ्कर बस्टर’ बम उपलब्ध गराउने सम्भावना उच्च छ । यदि अमेरिकाले इजरायललाई हतियारमात्रै दिएर आफ्नो भूमिका सीमित राखे त्यसले निम्त्याउने क्षेत्रीय युद्धको जोखिम तुलनात्मक रूपमा कम हुनेछ ।

अमेरिका र इजरायल मिलेर सारा बल प्रयोग गरी इरानको सर्वोच्च राजनीतिक नेतृत्वलाई समाप्त पार्न पनि सक्छन् । यसो भएमा इरानमा शक्ति शून्यता उत्पन्न हुनेछ । यसले इरानमा उग्रवादी विचारधारा राख्ने नयाँ नयाँ शक्तिहरू देखापर्ने सम्भावना रहन्छ । त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर पूरै मध्यपूर्वमा र एक हदसम्म मध्य र दक्षिण एशियामा पर्नेछ ।

हामीले इराक र अफगानिस्तानमा अमेरिकाले सञ्चालन गरेको असफल सैन्य कारवाहीको उदाहरण बिर्सिनु हुँदैन । अमेरिकाले इरानी भूमिमै सैनिक उतारेको खण्डमा भने यो युद्धको क्षेत्रीय प्रभाव मध्यपूर्वमात्रै नभइ, मध्य तथा दक्षिण एशिया र विश्वमै पर्ने निश्चित छ । यस्तो भएमा लामो समयसम्म इरानमा छापामार युद्ध निरन्तर भइरहने हुन्छ । यसबाट उत्पन्न हुने आर्थिक सङ्कट, द्वन्द्व ‘स्पिलओभर’ अर्थात् विस्तार भएर अरू मुलुकमा फैलिने र शरणार्थी सङ्कट निम्तिने जोखिम देखिन्छ । अमेरिकाले इरानी भूमिमा सैनिक उतारेमा अमेरिकी सैनिक इतिहासमा अर्को एउटा ‘ट्याक्टिकल विन बट स्ट्राटेजिक डिफिट’ को निरन्तरता हुनेमा दुईमत छैन ।

सैन्य कारवाहीमा प्रत्यक्ष संलग्न भएर अमेरिकाले आक्रमण गरेको अवस्थामा इरानले के–कस्तो सैन्य प्रतिक्रिया जनाउँछ भन्ने कुराले पनि यसको निर्धारण हुनेछ । इजरायलले बारम्बार आक्रमण गरेपनि इरानले हालसम्म मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामा आक्रमण गरेर जवाफ दिएको छैन ।

यसअघि इजरायलले आक्रमण गर्दा इरानले इराक, सिरियाजस्ता मुलुकमा रहेका अमेरिकी सैन्य संरचनामा पनि आक्रमण गर्दै आएको थियो । तर, यसपटक इरानले त्यसो गरेको छैन । इजरायली आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भए इरानले सिरिया र इराकमात्रै नभइ मध्यपूर्वका अन्य मुलुकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी समेत आक्रमण गर्न सक्नेछ ।

उदाहरणका लागि पछिल्लो युद्धमा अमेरिका सहभागी भए इरानले आफ्नो मुलुकको सीमासँग नजिकै रहेका कतार, यूएई वा साउदी अरबमा अवस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गरी क्षेप्यास्त्र वा ड्रोन आक्रमण गर्ने सम्भावना छ । यसो भएमा यो युद्धले क्षेत्रीय रूप लिने निश्चित छ । युद्धले क्षेत्रीय रुप लिएको खण्डमा मध्यपूर्वका ठूला शहर र त्यहाँ रहेका तेल वा ग्यास उत्पादन केन्द्रमा क्षति पुग्ने सम्भावना रहन्छ ।

यसो हुँदा होर्मुजको खाडी पनि केही समयका लागि बन्द हुनसक्छ । होर्मुजको खाडीबाट अतिविशाल परिमाणमा तेल र प्राकृतिक ग्यासको निर्यात हुने गर्छ । यसो भएमा विश्वभर तेल र ग्यासको संकट र त्यसको परिणामस्वरुप आर्थिक संकट उत्पन्न हुनेछ । त्यसबाहेक इरानले हिन्द महासागरमा रहेको अमेरिकी सैन्य आधार डिएगो गार्सियामा पनि क्षेप्यास्त्र आक्रमण गर्न सक्नेछ । तर, इरानले डिएगो गार्सियामा क्षेप्यास्त्र वा ड्रोन प्रहार गर्ने क्षमतामा भने शङ्का रहेको बताइन्छ ।

यो युद्धमा क्षेत्रीय शक्तिले कुन देशको पक्ष लिन्छन् भन्ने थाहा पाउन पनि उत्तिकै रोचक हुनेछ । यो युद्धमा साउदी अरब, कतार, यूएईजस्ता मध्यपूर्वका सुन्नी मुलुकहरूले अमेरिकी सेनालाई आफ्नो भूमि, समुद्र वा हवाइ आकाश प्रयोग गर्न दिने सम्भावना देखिन्छ । यी मुलुकहरू लामो समयदेखि इरानको शिया थेओक्रेसीका कट्टर दुश्मन हुन् । तर, यी मुलुकहरू क्षेत्रीय द्वन्द्व चाहँदैनन् । कुबेरको अलकापुरीजस्ता धनी ती देशले क्षेत्रीय द्वन्द्वको नराम्रो असर खेप्नुपर्ने हुनसक्छ । ती मुलुकहरूले कुन हदसम्म अमेरिकालाई साथ दिन्छन् भन्ने अर्को पनि अनुत्तरित प्रश्न छ ।

यसमा चीन र रूसको भूमिका पनि रोचक हुनेछ । चीन र रूस दुबै मुलुकले इरानसँग रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन् । इरान बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनका लागि महत्वपूर्ण साझेदार हो । युक्रेनमा जारी युद्धमा पनि इरानले रूसलाई सैन्य सहयोग गरेको छ । यस्तो अवस्थामा यी दुई मुलुकको भूमिका निकै रोचक हुनेछ ।

रूस-युक्रेनमा जारी युद्धमा फसेको छ । यस्तो अवस्थामा उसले इरानलाई गर्ने सहयोग सीमित हुनसक्छ । रूसले मध्यस्थता गर्न पनि अग्रसरता देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तामा रूसले मध्यस्थता गर्नेबारे कुराकानी भएको जनाइएको छ । तर, युक्रेनमा आक्रमण गरेर विश्वसनीयता गुमाएको रूसको मध्यस्थता सर्वस्वीकार्य नहुन पनि सक्छ ।

चीन आफैँ यो युद्धमा फाल हाल्ने सम्भावना देखिँदैन । बरु द्वन्द्व लम्बिएको खण्डमा चीनले इरानलाई अप्रत्यक्ष सहयोग भने गर्नसक्छ । उदाहरणका लागि आफूले उत्पादन गरेका हतियार प्रदान गरेर चीनले इरानको सहयोग गर्नसक्छ । वा, इरान र इरानको परम्परागत मित्रराष्ट्र एवम् चीनको निकटस्थ मुलुक उत्तर कोरियाबीच हतियार आदान–प्रदानमा चीनले सहजीकरण गर्नसक्छ ।

ताइवानलाई आफ्नो शासन मातहत ल्याउने तयारीमा रहेको चीनका लागि आफ्नो हतियार परीक्षण गर्नु अत्यन्त महत्वपूर्ण छ । यसका लागि यो युद्ध चीनका लागि प्रयोगशाला बन्न सक्छ ।

पक्कै पनि माथि भनिएको सबै कुरा सम्भावनामा आधारित छन् । अमेरिकाको सर्वोच्च पदमा रहेका राष्ट्रपति ट्रम्प स्थिर मनस्थितीका विश्वसनीय राजनेता होइनन् । उनले इरानसँग सम्झौता गरेँ अब आक्रमण गर्दिनँ पनि भन्न सक्छन् । अथवा, इरानी भूमिमा तत्कालै दशौँ हजार अमेरिकी सैनिक परिचालन गर्छु भनेर पनि घोषणा गर्नसक्छन् । यसका लागि ट्रम्प के चाहन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । ट्रम्पले इरानसँग सम्झौता चाहेको बताएका छन् । तर, उनको भनाइको विश्वसनीयमा प्रश्न गर्ने ठाउँ पनि छ ।

जानकारहरू सन् २०२० को शुरुवातमा इराकको राजधानी बगदादमा सर्वोच्च सैन्य नेता कसिम सुलेमानीको हत्या गर्ने निर्णय गर्दा नै उनी इरानसँग युद्धका लागि मानसिक रूपमा तयार थिए भन्छन् । त्यसबाहेक ट्रम्पलाई रिपब्लिकन पार्टीमा समर्थन गर्ने शक्तिशाली यहूदी प्रभाव समूहहरूले पनि इरानसँग युद्ध लड्न उचालिरहेको बताइन्छ । अर्को कुरा इरानमाथि आक्रमण गर्न इजरायललाई अमेरिकाले नै अनुमति दिएको भन्ने कुरा सार्वजनिक भएको छ । आवश्यक परे अमेरिकालाई पनि युद्धमा संलग्न गर्ने तयारीस्वरुप इजरायललाई ट्रम्पले यस्तो अनुमति दिएको विश्वास गरिन्छ ।

अर्कोतर्फ, इजरायल यो युद्ध जतिसक्दो लम्बियोस् भन्ने चाहन्छ । सबै कुराको निर्धारण यो युद्धको लक्ष्य के हो भन्ने कुराले गर्नेछ । इजरायलले यो युद्धको उद्देश्य बारम्बार परिवर्तन गरिरहने देखिन्छ । उदाहरणका लागि गाजा क्षेत्रमा हमास सखाप भएपनि इजरायलको आक्रमण रोकिएको छैन । इजरायलमा हमासविरुद्ध आक्रमण भनेर गाजाको आम नरसंहारको प्रचार भइरहेको छ।

इजरायली आक्रमणको उद्देश्य इरानको आणविक कार्यक्रम ध्वस्त पार्नु मात्रै हो कि इरानको सत्ता परिवर्तन गर्नु पनि हो ? ध्वस्त भएपछि पनि नयाँ पाठ सिकेर इरानले फेरि हाकाहाकी वा चोर बाटोबाट आणविक बम बनाउने कार्यक्रमलाई निरन्तरता दिँदैन भन्ने कसले ग्यारेन्टी गर्छ ? इरानमा सत्ता परिवर्तन भए त्यसबाट उत्पन्न हुने शक्ति शून्यताको जिम्मेवारी कसले लिन्छ ? वा; अमेरिकाले इरानमा सैनिक उतारेको खण्डमा त्यसबाट उत्पन्न हुने अस्थिरताको दोषी को हुन्छ ? यी प्रश्नहरूको जवाफ खोज्न केही समय कुर्नुपर्ने हुन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक