Connect with us
Advertisement

रनवे विस्तार नभए भरतपुरमा हुन सक्छ हवाई उडान बन्द !

Published

on

९ असार, चितवन । चितवनमा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलको धावनमार्ग विस्तार नभए हवाई उडान बन्द हुने सक्ने देखिएको छ । जम्मा १२ सय मिटर मात्रै धावन मार्ग रहेको यो विमानस्थल उच्च जोखिममा रहेको विमानस्थलमध्ये पर्दछ ।

विमानस्थलको दक्षिण पूर्वतर्फ बनेका संरचना र छोटो धावन मार्गका कारण भरतपुरमा ठूला विमानहरू आउन समस्या हुँदै आएको छ । यहाँबाट रात्रीकालीन उडानसमेत हुन सक्दैन ।

भरतपुरमा अहिले बुद्ध एयरले मात्रै दैनिक उडान गर्दै आएको छ । कुनै समयमा दैनिक १८/१९ वटासम्म उडान हुने भरतपुरमा हाल बुद्धका दुई वटा जहाजले दैनिक ७ वटा मात्र उडान गर्दै आएको बुद्ध एयरका भरतपुर स्टेशन प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए । एउटा उडान पोखरा–भरतपुरसमेत हुँदै आएको छ ।

गर्मीको समयमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म र जाडोको समयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै भरतपुरमा हवाई उडान हुने गरेको छ । राजधानी काठमाडौंसँग नजिक रहेको देशकै तेस्रो पर्यटकीय गन्तव्य तथा देशको मध्य भागको जिल्ला रहेको चितवनमा दैनिक उडान गर्ने बुद्धका अहिले उडिरहेका दुई विमान बिदा हुँदैछन् ।

स्टेशन प्रमुख बस्नेतका अनुसार दैनिक उडान गर्दै आएको दुई जहाजमध्ये एक विमान आउने सेप्टेम्बर महिनादेखि बिदाइ हुँदैछ । आगामी सेप्टेम्बरमा अहिले चलिरहेको ९ एन एआइएम जहाज बिदाइ भएसँगै बाँकी रहेको अर्को एक मात्रै एटीआर ४२ सिटे विमान बाँकी रहनेछ । सो विमानलाई पनि फिर्ता गर्ने सोचमा बुद्ध रहेको छ ।

हाल भरतपुरमा बुद्ध एयरले मात्रै उडान गर्दै आएको छ । धावनमार्ग छोटो र जोखिमयुक्त मानवनिर्मित संरचनाका कारण पूर्ण क्षमतामा यात्रु बोक्न सकेको छैन ।

एक जहाजको बिदाई र अर्को एटीआर ४२ फिर्ता भएपछि काठमाडौं–भरतपुर उडान गर्ने दुबै जहाज हुने छैनन् । त्यसपछि बुद्धका एटीआर ७२ सिटे जहाज मात्रै चल्नेछ ।

बुद्धले एक जहाजको उडान चक्र पुरा हुने र अर्को जहाज फिर्ता गर्ने सोच बनाएपछि गत जेठ ८ गते एटीआर ७२ विमानको परीक्षण उडान गरेको थियो । त्यसको रिपोर्ट आउन बाँकी छ ।

भरतपुरको रनवे छोटो (जम्मा १२ सय मिटर) हुँदा एटीआर ७२ सिटे जहाजहरू आउन सके पनि धेरै यात्रु बोक्न सक्दैन । भरतपुर काठमाडौं उडानको समय जम्मा २० मिनेट छ ।

‘एकातिर धेरै यात्रु उडाउन पनि नसकिने, अर्कोतिर जोखिम पनि उत्तिकै हुने, छोटो दूरी भएकाले उडान अवतरणको चक्र पनि छिटो–छिटो हुने भएपछि भरतपुरमा विमान चलाउन कम्पनीहरुले सोच्नुपर्ने अवस्था पक्कै आउँछ’ बुद्ध एयरका स्टेशन इन्चार्ज बस्नेतले भने, ‘उडान अवतरणको चक्र छिटो भए पनि पूरा क्षमतामा यात्रु बोक्न पाउँदा खासै केही फरक पर्दैनथ्यो तर, आधा मान्छे लिएर सधैं उडान गर्न गाह्रो पर्ने देख्छु ।’

उनले बुद्ध एयरले भरतपुरमा हवाई उडान बन्द नहोस् भन्ने जिम्मेवारीबोधका साथ मात्रै एटीआर ७२ को परीक्षण उडान गरेको बताए । ‘आगामी सेप्टेम्बरदेखि ४२ सिटे एक मात्रै जहाज बाँकी रहन्छ, नयाँ ४२ सिटे जहाज छैन, नयाँ आउने सम्भावना पनि छैन’ बुद्ध एयरका भरतपुर स्टेशन इन्चार्ज भक्त बस्नेतले भने, ‘त्यसपछि ७२ सिटे बाहेक अर्को जहाजको विकल्प छैन ।’

भरतपुरमा पहिले यती एयरलाइन्सको ४२ सिटे र श्री एयरलाइन्सको ७२ सिटे जहाज चलेपनि अहिले ती सबै बन्द भैसकेका छन् ।

भरतपुर विमानस्थलमा श्री एयरलाइन्सको विमान । हाल श्रीले भरतपुर उडान बन्द गरिसकेको छ ।

एटीआर विमानको आयु ७० हजार चक्र मान्ने गरिन्छ । जहाज एकपटक उडेर अर्को विमानस्थलमा अवतरण गर्नेसम्मको अवधिलाई एक चक्र भन्ने गरिन्छ । एकपटक इञ्जिन चलेर बन्द हुँदा पनि एक चक्र अवधि पूरा हुन्छ ।

विमान कम्पनीहरुलाई भरतपुर उडाउनुभन्दा देश भित्रकै टाढाका र पूर्णक्षमतामा यात्रु बोक्न सक्ने विमानस्थलमा हवाई उडान गर्दा फाइदा हुने भएकाले भरतपुरमा हवाई उडान बन्द हुन सक्ने अवस्था देखिन्छ ।

तीनवटा ४२ सिटे जहाज रहेको बुद्धले गत वर्ष एक जहाजको उडान अवधि सकिएपछि बिदाइ गरेको थियो । बुद्धको ९ एन एआइएन कलसाइन रहेको एटिआर–४२ सिटे जहाज २०८१ भदौ २५ मा बिदाइ भएको थियो ।

श्री एयरलाइन्सको ८० सिट क्षमताको एटीआर ७२ विमानले २०८१ असार ६ गते काठमाडौं भरतपुर परीक्षण उडान गरेर २०८१ असोज २३ गतेदेखि नियमित उडान गरेको थियो । तर, सो उडान बन्द भएको २ महिना भन्दा बढी भैसकेको छ ।

८० सिट क्षमता भए पनि धावनमार्ग छोटो भएकाले जहाजले ५० देखि ६० जनासम्म मात्रै यात्रु लैजाने गरेको थियो ।

श्रीएयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले भरतपुरको रनवे छोटो हुँदा पूर्ण क्षमता जहाज उडाउन नसकेको बताए । ‘हामीले भरतपुर लैजाने प्रयास गरेको हो, तर रन वे सानो भयो, विमान मात्रै उडाएर भएन’ मानन्धरले अनलाइनखबरसँग भने, ‘अलिकति हामीसँग क्याबिन क्रुहरु पनि कम हुनुहुन्छ, अर्को मुख्य कुरा भनेको भरतपुर उडाउँदा पर्ता परेन (खर्च उठेन) ।’

आजभन्दा तीन वर्ष अगाडि यति एयरलाइन्सले काठमाडौं भरतपुर दैनिक ५ वटा उडान गर्दै आएको थियो । भरतपुर आउने ३० सिट क्षमताको जेट स्ट्रीम जहाज नै हटाएपछि ठूला जहाज मात्रै बाँकी रहेका छन् । ‘पुराना र साना जहाज हटाउने नीति कम्पनीले लियो, भरतपुर आउने जहाज नै भएन’ यतीका तत्कालीन भरतपुर स्टेसन प्रमुख अनुप ढकालले भने, ‘अहिले हामीसँग नयाँ र ठूला जहाज मात्रै छन् । भरतपुर उडाउन मिल्ने साना जहाज छैनन् । त्यसैले उडान गर्न सकिएन ।’

ढकालले भरतपुरको धावनमार्ग विस्तार नभएसम्म एटीआर ७२ वा सो भन्दा ठूला जहाज उडाउन नसकिने बताए ।

भरतपुर विमानस्थल प्रमुख दीपक विकले विमान कम्पनीहरुले भरतपुर उडानलाई कसरी निरन्तरता दिने भनेर नै परीक्षण उडान गरेको बताए । ‘भरतपुर विमानस्थलको अवस्थाका बारेमा थाहा नपाइकन परीक्षण उडान त पक्कै पनि गरेको हैन होला’ प्रमुख विकले भने, ‘विमान उडाउने नउडाने भन्ने कुरा विमान कम्पनीकै हो ।’

कहाँ पुग्यो रन वे विस्तारको काम ?

२०८१ माघ १८ गते मन्त्रिपरिषद् बैठकले भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको थियो ।

विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई कालिका नगरपालिकाको शक्तिखोरमा सार्ने र विमानस्थलको धावन मार्ग विस्तार गर्ने निर्णय सरकारले गरेको थियो ।

हाल भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर छ । उत्तर–पश्चिमतर्फ ४१२ मिटर थपेर धावनमार्ग कम्तीमा १५ सय मिटर पुर्‍याउने योजना छ ।

त्यसका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने भनिएको छ । घोडा प्रजनन केन्द्रका लागि आवश्यक भौतिक संरचना नेपाल नागरिक उड्यन प्राधिकरणले बनाइदिने छ ।

विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढाउने भनिए पनि प्रक्रियामा ढिलासुस्ती भएको छ ।

शक्तिखोरमा घोडा प्रजनन् केन्द्र रहने ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, रुखहरु हटाउने लगायतका काम नै ढिला हुँदा विमानस्थल विस्तारले गति लिन नसकेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

घोडा प्रजनन् केन्द्र सार्ने भनिएको क्षेत्रको इआईए गर्ने काम भैरहेको बताउँदै मेयर दाहालले भनिन्, ‘यसमा नेपाली सेना आफैंले तत्परता लिएको बुझेको छु, वन मन्त्रालयले पनि यसमा सहजीकरण गरेर चाँडै नै टुंगोमा पुग्छ भन्ने विश्वास छ ।’

भरतपुर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवन ।

भरतपुर विमानस्थल विस्तारको कामलाई महानगरपालिकाले गौरव र प्रतिष्ठाको विषय बनाएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । चितवन मात्रै नभएर पूर्वी नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, मकवानपुर लगायतका जिल्लावासीलाई समेत भरतपुर विमानस्थल विस्तार अपरिहार्य रहेको नगरप्रमुख दाहालले बताइन् ।

समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति पनि गठन गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतमले काठमाडौं–भरतपुर उडान रोकिन नदिन सबैले काम गर्नुपर्ने बताए । ‘यहाँका राजनीतिक दल, होटल तथा पर्यटन व्यावसायी, उद्योगी, मेडिकल कलेज सञ्चालक, स्थानीय पालिका प्रमुखहरु सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, तर त्यस्तो चासो लिएको देखिएन’ पूर्व अध्यक्ष गौतमले भने, ‘भोलि भरतपुरमा विमान आएनन् वा आउन चाहेनन् भने के गर्ने ? यही अवस्थामा आउन चाहँदैनन् भन्ने त देखियो, अब सबै मिलेर यसमा लाग्नुपर्छ, यो दाउपेचको विषय होइन ।’

विमानस्थल विस्तार भएपछि जहाजको फ्युल पम्प यहीँ निर्माण हुनेछ । त्यसपछि ठूला जहाज आउने, महँगो भाडा घट्ने, रात्रिकालीन उडान हुने अपेक्षा गरिएको छ । काठमाडौंको भाडा अहिले एकतर्फी झण्डै ४ हजार ५ सय रुपैयाँ छ । अर्कोतिर, रात्रीकालीन उडान नहुँदा ४ बजेभन्दा पछि चितवनबाट काठमाडौं जाउ–आउ गर्न सक्ने अवस्था प्राय: रहँदैन ।

अहिले भ्याटबाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँको लागतमा विमानस्थलको नयाँ टर्मिनल भवन पनि बनिरहेको छ । २०७९ चैत १६ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ टर्मिनल भवनको शिलान्यास गरेका थिए ।

झण्डै ६४ वर्ष अगाडि बनेको पुरानो टर्मिनल भवन जीर्ण, साँघुरो र यात्रु मैत्री छैन । सोही कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भवन बनाइरहेको छ । भवनको कामले सुरुमा निकै गति लिएको भए पनि अहिले खासै गति लिन सकेको देखिँदैन ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय सिटी हल, देशकै तेस्रो पर्यटकीय गन्तव्य, आर्थिक राजधानी, मेडिकल सिटी भएका कारण विमानस्थलको विस्तार अति आवश्यक भएको बताइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक