Connect with us
Advertisement

रनवे विस्तार नभए भरतपुरमा हुन सक्छ हवाई उडान बन्द !

Published

on

९ असार, चितवन । चितवनमा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलको धावनमार्ग विस्तार नभए हवाई उडान बन्द हुने सक्ने देखिएको छ । जम्मा १२ सय मिटर मात्रै धावन मार्ग रहेको यो विमानस्थल उच्च जोखिममा रहेको विमानस्थलमध्ये पर्दछ ।

विमानस्थलको दक्षिण पूर्वतर्फ बनेका संरचना र छोटो धावन मार्गका कारण भरतपुरमा ठूला विमानहरू आउन समस्या हुँदै आएको छ । यहाँबाट रात्रीकालीन उडानसमेत हुन सक्दैन ।

भरतपुरमा अहिले बुद्ध एयरले मात्रै दैनिक उडान गर्दै आएको छ । कुनै समयमा दैनिक १८/१९ वटासम्म उडान हुने भरतपुरमा हाल बुद्धका दुई वटा जहाजले दैनिक ७ वटा मात्र उडान गर्दै आएको बुद्ध एयरका भरतपुर स्टेशन प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए । एउटा उडान पोखरा–भरतपुरसमेत हुँदै आएको छ ।

गर्मीको समयमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म र जाडोको समयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै भरतपुरमा हवाई उडान हुने गरेको छ । राजधानी काठमाडौंसँग नजिक रहेको देशकै तेस्रो पर्यटकीय गन्तव्य तथा देशको मध्य भागको जिल्ला रहेको चितवनमा दैनिक उडान गर्ने बुद्धका अहिले उडिरहेका दुई विमान बिदा हुँदैछन् ।

स्टेशन प्रमुख बस्नेतका अनुसार दैनिक उडान गर्दै आएको दुई जहाजमध्ये एक विमान आउने सेप्टेम्बर महिनादेखि बिदाइ हुँदैछ । आगामी सेप्टेम्बरमा अहिले चलिरहेको ९ एन एआइएम जहाज बिदाइ भएसँगै बाँकी रहेको अर्को एक मात्रै एटीआर ४२ सिटे विमान बाँकी रहनेछ । सो विमानलाई पनि फिर्ता गर्ने सोचमा बुद्ध रहेको छ ।

हाल भरतपुरमा बुद्ध एयरले मात्रै उडान गर्दै आएको छ । धावनमार्ग छोटो र जोखिमयुक्त मानवनिर्मित संरचनाका कारण पूर्ण क्षमतामा यात्रु बोक्न सकेको छैन ।

एक जहाजको बिदाई र अर्को एटीआर ४२ फिर्ता भएपछि काठमाडौं–भरतपुर उडान गर्ने दुबै जहाज हुने छैनन् । त्यसपछि बुद्धका एटीआर ७२ सिटे जहाज मात्रै चल्नेछ ।

बुद्धले एक जहाजको उडान चक्र पुरा हुने र अर्को जहाज फिर्ता गर्ने सोच बनाएपछि गत जेठ ८ गते एटीआर ७२ विमानको परीक्षण उडान गरेको थियो । त्यसको रिपोर्ट आउन बाँकी छ ।

भरतपुरको रनवे छोटो (जम्मा १२ सय मिटर) हुँदा एटीआर ७२ सिटे जहाजहरू आउन सके पनि धेरै यात्रु बोक्न सक्दैन । भरतपुर काठमाडौं उडानको समय जम्मा २० मिनेट छ ।

‘एकातिर धेरै यात्रु उडाउन पनि नसकिने, अर्कोतिर जोखिम पनि उत्तिकै हुने, छोटो दूरी भएकाले उडान अवतरणको चक्र पनि छिटो–छिटो हुने भएपछि भरतपुरमा विमान चलाउन कम्पनीहरुले सोच्नुपर्ने अवस्था पक्कै आउँछ’ बुद्ध एयरका स्टेशन इन्चार्ज बस्नेतले भने, ‘उडान अवतरणको चक्र छिटो भए पनि पूरा क्षमतामा यात्रु बोक्न पाउँदा खासै केही फरक पर्दैनथ्यो तर, आधा मान्छे लिएर सधैं उडान गर्न गाह्रो पर्ने देख्छु ।’

उनले बुद्ध एयरले भरतपुरमा हवाई उडान बन्द नहोस् भन्ने जिम्मेवारीबोधका साथ मात्रै एटीआर ७२ को परीक्षण उडान गरेको बताए । ‘आगामी सेप्टेम्बरदेखि ४२ सिटे एक मात्रै जहाज बाँकी रहन्छ, नयाँ ४२ सिटे जहाज छैन, नयाँ आउने सम्भावना पनि छैन’ बुद्ध एयरका भरतपुर स्टेशन इन्चार्ज भक्त बस्नेतले भने, ‘त्यसपछि ७२ सिटे बाहेक अर्को जहाजको विकल्प छैन ।’

भरतपुरमा पहिले यती एयरलाइन्सको ४२ सिटे र श्री एयरलाइन्सको ७२ सिटे जहाज चलेपनि अहिले ती सबै बन्द भैसकेका छन् ।

भरतपुर विमानस्थलमा श्री एयरलाइन्सको विमान । हाल श्रीले भरतपुर उडान बन्द गरिसकेको छ ।

एटीआर विमानको आयु ७० हजार चक्र मान्ने गरिन्छ । जहाज एकपटक उडेर अर्को विमानस्थलमा अवतरण गर्नेसम्मको अवधिलाई एक चक्र भन्ने गरिन्छ । एकपटक इञ्जिन चलेर बन्द हुँदा पनि एक चक्र अवधि पूरा हुन्छ ।

विमान कम्पनीहरुलाई भरतपुर उडाउनुभन्दा देश भित्रकै टाढाका र पूर्णक्षमतामा यात्रु बोक्न सक्ने विमानस्थलमा हवाई उडान गर्दा फाइदा हुने भएकाले भरतपुरमा हवाई उडान बन्द हुन सक्ने अवस्था देखिन्छ ।

तीनवटा ४२ सिटे जहाज रहेको बुद्धले गत वर्ष एक जहाजको उडान अवधि सकिएपछि बिदाइ गरेको थियो । बुद्धको ९ एन एआइएन कलसाइन रहेको एटिआर–४२ सिटे जहाज २०८१ भदौ २५ मा बिदाइ भएको थियो ।

श्री एयरलाइन्सको ८० सिट क्षमताको एटीआर ७२ विमानले २०८१ असार ६ गते काठमाडौं भरतपुर परीक्षण उडान गरेर २०८१ असोज २३ गतेदेखि नियमित उडान गरेको थियो । तर, सो उडान बन्द भएको २ महिना भन्दा बढी भैसकेको छ ।

८० सिट क्षमता भए पनि धावनमार्ग छोटो भएकाले जहाजले ५० देखि ६० जनासम्म मात्रै यात्रु लैजाने गरेको थियो ।

श्रीएयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले भरतपुरको रनवे छोटो हुँदा पूर्ण क्षमता जहाज उडाउन नसकेको बताए । ‘हामीले भरतपुर लैजाने प्रयास गरेको हो, तर रन वे सानो भयो, विमान मात्रै उडाएर भएन’ मानन्धरले अनलाइनखबरसँग भने, ‘अलिकति हामीसँग क्याबिन क्रुहरु पनि कम हुनुहुन्छ, अर्को मुख्य कुरा भनेको भरतपुर उडाउँदा पर्ता परेन (खर्च उठेन) ।’

आजभन्दा तीन वर्ष अगाडि यति एयरलाइन्सले काठमाडौं भरतपुर दैनिक ५ वटा उडान गर्दै आएको थियो । भरतपुर आउने ३० सिट क्षमताको जेट स्ट्रीम जहाज नै हटाएपछि ठूला जहाज मात्रै बाँकी रहेका छन् । ‘पुराना र साना जहाज हटाउने नीति कम्पनीले लियो, भरतपुर आउने जहाज नै भएन’ यतीका तत्कालीन भरतपुर स्टेसन प्रमुख अनुप ढकालले भने, ‘अहिले हामीसँग नयाँ र ठूला जहाज मात्रै छन् । भरतपुर उडाउन मिल्ने साना जहाज छैनन् । त्यसैले उडान गर्न सकिएन ।’

ढकालले भरतपुरको धावनमार्ग विस्तार नभएसम्म एटीआर ७२ वा सो भन्दा ठूला जहाज उडाउन नसकिने बताए ।

भरतपुर विमानस्थल प्रमुख दीपक विकले विमान कम्पनीहरुले भरतपुर उडानलाई कसरी निरन्तरता दिने भनेर नै परीक्षण उडान गरेको बताए । ‘भरतपुर विमानस्थलको अवस्थाका बारेमा थाहा नपाइकन परीक्षण उडान त पक्कै पनि गरेको हैन होला’ प्रमुख विकले भने, ‘विमान उडाउने नउडाने भन्ने कुरा विमान कम्पनीकै हो ।’

कहाँ पुग्यो रन वे विस्तारको काम ?

२०८१ माघ १८ गते मन्त्रिपरिषद् बैठकले भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको थियो ।

विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई कालिका नगरपालिकाको शक्तिखोरमा सार्ने र विमानस्थलको धावन मार्ग विस्तार गर्ने निर्णय सरकारले गरेको थियो ।

हाल भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर छ । उत्तर–पश्चिमतर्फ ४१२ मिटर थपेर धावनमार्ग कम्तीमा १५ सय मिटर पुर्‍याउने योजना छ ।

त्यसका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने भनिएको छ । घोडा प्रजनन केन्द्रका लागि आवश्यक भौतिक संरचना नेपाल नागरिक उड्यन प्राधिकरणले बनाइदिने छ ।

विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढाउने भनिए पनि प्रक्रियामा ढिलासुस्ती भएको छ ।

शक्तिखोरमा घोडा प्रजनन् केन्द्र रहने ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, रुखहरु हटाउने लगायतका काम नै ढिला हुँदा विमानस्थल विस्तारले गति लिन नसकेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

घोडा प्रजनन् केन्द्र सार्ने भनिएको क्षेत्रको इआईए गर्ने काम भैरहेको बताउँदै मेयर दाहालले भनिन्, ‘यसमा नेपाली सेना आफैंले तत्परता लिएको बुझेको छु, वन मन्त्रालयले पनि यसमा सहजीकरण गरेर चाँडै नै टुंगोमा पुग्छ भन्ने विश्वास छ ।’

भरतपुर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवन ।

भरतपुर विमानस्थल विस्तारको कामलाई महानगरपालिकाले गौरव र प्रतिष्ठाको विषय बनाएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । चितवन मात्रै नभएर पूर्वी नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, मकवानपुर लगायतका जिल्लावासीलाई समेत भरतपुर विमानस्थल विस्तार अपरिहार्य रहेको नगरप्रमुख दाहालले बताइन् ।

समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति पनि गठन गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतमले काठमाडौं–भरतपुर उडान रोकिन नदिन सबैले काम गर्नुपर्ने बताए । ‘यहाँका राजनीतिक दल, होटल तथा पर्यटन व्यावसायी, उद्योगी, मेडिकल कलेज सञ्चालक, स्थानीय पालिका प्रमुखहरु सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, तर त्यस्तो चासो लिएको देखिएन’ पूर्व अध्यक्ष गौतमले भने, ‘भोलि भरतपुरमा विमान आएनन् वा आउन चाहेनन् भने के गर्ने ? यही अवस्थामा आउन चाहँदैनन् भन्ने त देखियो, अब सबै मिलेर यसमा लाग्नुपर्छ, यो दाउपेचको विषय होइन ।’

विमानस्थल विस्तार भएपछि जहाजको फ्युल पम्प यहीँ निर्माण हुनेछ । त्यसपछि ठूला जहाज आउने, महँगो भाडा घट्ने, रात्रिकालीन उडान हुने अपेक्षा गरिएको छ । काठमाडौंको भाडा अहिले एकतर्फी झण्डै ४ हजार ५ सय रुपैयाँ छ । अर्कोतिर, रात्रीकालीन उडान नहुँदा ४ बजेभन्दा पछि चितवनबाट काठमाडौं जाउ–आउ गर्न सक्ने अवस्था प्राय: रहँदैन ।

अहिले भ्याटबाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँको लागतमा विमानस्थलको नयाँ टर्मिनल भवन पनि बनिरहेको छ । २०७९ चैत १६ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ टर्मिनल भवनको शिलान्यास गरेका थिए ।

झण्डै ६४ वर्ष अगाडि बनेको पुरानो टर्मिनल भवन जीर्ण, साँघुरो र यात्रु मैत्री छैन । सोही कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भवन बनाइरहेको छ । भवनको कामले सुरुमा निकै गति लिएको भए पनि अहिले खासै गति लिन सकेको देखिँदैन ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय सिटी हल, देशकै तेस्रो पर्यटकीय गन्तव्य, आर्थिक राजधानी, मेडिकल सिटी भएका कारण विमानस्थलको विस्तार अति आवश्यक भएको बताइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक