Banner
युद्धविराम गर्न कसरी सहमत भए इरान र इजरायल
१३ जुन, २०२५ देखि इजरायलले इरानको सैन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ । इरानी मिसाइलहरूले इजरायलको प्रतिरक्षा प्रणालीलाई छेडेका छन् । र, अमेरिकाले तेहरानको आणविक कार्यक्रमविरुद्ध आक्रमण गरेको छ । त्यसपछि सोमबारदेखि सुरु भएको २४ घण्टाको अस्थिर अवधिमा घटनाहरू झन् तीव्र गतिमा अगाडि बढे । अमेरिकी हवाई अड्डामाथि आक्रमण भयो । ह्वाइट हाउसले इरान र इजरायलबीच युद्धविरामको मध्यस्थता गर्यो । र, उक्त सम्झौता लगभग भंग हुने अवस्थामा पुग्यो ।
‘आश्रय लिनुस्’
मध्यपूर्वमा फैलिएको द्वन्द्व खाडी क्षेत्रमा विस्तार हुने पहिलो संकेत कतारमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको शान्त तर गम्भीर चेतावनी थियो । अमेरिकी सरकारले अतिरिक्त सावधानीका लागि भन्दै ‘आश्रय लिनुस्’ भन्ने सुझाव दियो । बेलायतले पनि तुरुन्तै यस्तै सुझाव जारी गर्यो ।
इरानले अमेरिकामाथि कतारमा जवाफी हमला गर्न सक्ने सम्भावना सधैँ थियो । कतारमा अल-उदेद सैन्य अड्डा छ । जुन दोहा बाहिरको विशाल सैन्य अड्डा हो, जहाँ हजारौँ अमेरिकी सैनिकहरू तैनाथ छन् र मध्यपूर्वमा अमेरिकी हवाई सञ्चालनहरूमा समन्वय गरिन्छ । तेहरानका नेताहरूले सप्ताहान्तमा इरानका तीन आणविक भट्टीहरू, विशेषगरी फोर्डो इनरिचमेन्ट साइटमाथि भएको अभूतपूर्व अमेरिकी हमलाको बदला लिने धम्की दिएका थिए ।
इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेदेखि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी भूमिगत बंकरमा लुकेको खबर आएको थियो । उनले अमेरिकाको मध्यपूर्वमा रहेको रणनीतिक सम्पत्तिमाथि हमला गर्ने आदेश दिएको देखिन्छ ।
‘विश्वसनीय खतरा’
कतार सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गर्यो । दोहाका हवाई ट्राफिक नियन्त्रकहरूले यात्रु विमानहरूलाई फिर्ता पठाउन थाले र विश्वको सबैभन्दा व्यस्त विमानस्थलहरूमा जाने उडानहरू खाडी क्षेत्रका अन्य स्थानमा अवतरण गर्न थाले ।
बीबीसीलाई इरानबाट अल-उदेद हवाई अड्डामा मिसाइल हमलाको ‘विश्वसनीय खतरा’ रहेको जानकारी प्राप्त भएको थियो । अमेरिकी अधिकारीहरूले अमेरिकी मिडियालाई मिसाइल लन्चरहरू कतारतर्फ लक्षित भएको देखिएको जानकारी दिए । अमेरिकी रक्षा सचिव पिट हेग्सेथ र उनका वरिष्ठ जनरल स्थिति निगरानी गर्न ह्वाइट हाउस पुगे । केही घण्टाभित्रै दोहामाथि विस्फोटको आवाज सुनियो र यसका आकर्षक गगनचुम्बी भवनहरूको आकाशमा इरानी हतियारहरूलाई खोज्ने हवाई रक्षा मिसाइलहरूले छोडेका रेखाहरू देखिए ।
‘शक्ति होइन, कमजोरी’
इरानको राज्य नियन्त्रित मिडियाले बदला कारबाही सुरु भएको जनायो । त्यसपछि इरानको रिभोलुसनरी गार्ड्सले यसको पुष्टि गर्यो । ‘यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरू शक्ति होइन, कमजोरी हुन्,’ उनीहरूले भने, ‘तर आक्रमण चाँडै समाप्त भयो ।’
कतारले अमेरिकाभन्दा पहिले प्रतिक्रिया दियो । यद्यपि लक्ष्य यसको भूमिमा रहेको अमेरिकी अड्डा थियो, यसको सार्वभौमसत्ता निन्दनीय आक्रमणद्वारा उल्लंघन भएको थियो भन्दै सरकारले क्रोधित वक्तव्य जारी गर्यो । तर, महत्त्वपूर्ण रूपमा मिसाइलहरू अवरुद्ध भएको पुष्टि भयो । आक्रमणअघि अड्डा खाली गरिएको थियो र कुनै हताहत भएको थिएन ।
लगभग त्यही समयमा सर्वोच्च नेताको सामाजिक सञ्जाल एक्समा एक उत्तेजक चित्र देखियो, जसमा अमेरिकी सैन्य अड्डामाथि मिसाइलहरू बर्सिरहेको र अमेरिकी झण्डा जलिरहेको देखिन्थ्यो । तर, कुनै विनाशको संकेत गर्नुको सट्टा उनले लेखे, ‘हामीले कसैलाई हानि गरेनौँ ।’ यो संकेत हुन थाल्यो कि अमेरिका र कतारलाई इरानी हमलाको बारेमा पहिल्यै जानकारी थियो । बाह्य विश्लेषकहरूलाई यो हमला इरानका नेताहरूलाई आफ्नो अनुहार बचाउन तर थप तनाव निम्त्याउनबाट जोगिन डिजाइन गरिएको जस्तो देखियो । उनीहरूले आफ्नो जनतालाई अमेरिकाविरुद्ध जवाफी कारबाही गरेको बताउन सक्थे । तर, धेरै शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध प्रत्यक्ष युद्धको जोखिम नउठाई ।
‘शान्तिको समय’
कमजोर, अपेक्षित र प्रभावकारी रूपमा प्रत्याक्रमण । डोनाल्ड ट्रम्पले इरानको आक्रमणलाई यी शब्दहरूमा वर्णन गरे । तर, उनको सन्देश अगाडि बढ्दै जाँदा उनको लवज थप सौहार्दपूर्ण भयो । राष्ट्रपति ट्रम्पले इरानलाई ‘हामीलाई पहिल्यै सूचना दिएकोमा’ धन्यवाद दिए ।
उनले अगाडि लेखे, ‘सायद इरान अब शान्ति र सद्भावतर्फ अगाडि बढ्न सक्छ । र, म इजरायललाई पनि त्यसै गर्न उत्साहपूर्वक प्रोत्साहन गर्नेछु ।’ दुई घण्टा पहिले इरानले अमेरिकी हवाई अड्डामाथि आक्रमण गरेको थियो । दुई दिन पहिले ट्रम्पले इरानविरुद्ध अभूतपूर्व हमलाको आदेश दिएका थिए, जसलाई उनले विगतमा खतरनाक र दुष्ट भनेका थिए । अब भने उनले नेताहरूलाई शान्तिको प्रस्ताव राख्दै थिए ।
‘विश्वलाई बधाई, यो शान्तिको समय हो’ भन्दै उनले आफ्ना सन्देशहरूको शृंखला समाप्त गरे, जसले पर्यवेक्षकहरूलाई आश्चर्यमा पार्यो ।
‘१२ दिने युद्ध’
पर्दा पछाडि अमेरिका, इरान, इजरायल र कतार संलग्न तीव्र कूटनीतिक वार्ताहरू भइरहेको खुलासा भएको छ । डोनाल्ड ट्रम्पले आफ्ना नजिकका सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग प्रत्यक्ष कुराकानी गरे, इरानविरुद्धको युद्धमा उनले छोटो समयका लागि इजरायललाई साथ दिएका थिए । यो कुराकानी गोप्य रूपमा भयो । तर, सन्देश स्पष्ट थियो- यो लडाइँ अन्त्य गर्ने समय हो ।
यसैबीच, ट्रम्पका उपराष्ट्रपति जेडी भान्स र मुख्य अन्तर्राष्ट्रिय वार्ताकार स्टिभ विटकफले इरानीहरूसँग प्रत्यक्ष र कूटनीतिक ब्याकच्यानलहरूमार्फत सम्पर्क गरिरहेका थिए । वाशिङ्टनबाट ट्रम्पको टोलीले मध्यपूर्वमा सबैभन्दा मूल्यवान तर कठिन उपलब्धि हासिल गर्न प्रयास गरिरहेको थियो- एक सम्झौता ।
सफलताका खबरहरू र सँगै खण्डनहरू फैलिन थाले । तर, बिस्तारै गति बढ्दै गयो । त्यसपछि बिहान ११ बजे पछि राष्ट्रपति ट्रम्पले फेरि सामाजिक सञ्जालमा लेखे- ‘सबैलाई बधाई !’ इरान र इजरायलबीच पूर्ण र कुल युद्धविराममा सहमति भएको उनले उल्लेख गरेका थिए । यो द्वन्द्वलाई अब ‘१२ दिने युद्ध’ भनेर चिनिनुपर्छ ट्रम्पले लेखे ।
‘मिसाइल आक्रमणको अन्तिम चरण’
इजरायलभर सायरनहरू बज्न थाले र मानिसहरूलाई आश्रयमा जान आदेश दिइयो- इरानी मिसाइलहरू आउँदै छन् ।
लगभग ६० मिनेटको अवधिमा इजरायलले इरानले तीनवटा मिसाइल हमलाहरू गरेको बतायो । ‘बिहान हुँदै जाँदा थप धेरै आउने थिए,’ इजरायली सेनाले भन्यो । बेर्शेबामा एक बहुतले आवासीय भवनमा प्रत्यक्ष प्रहार भयो । एक मिसाइलले भवनलाई ध्वस्त बनाएपछि चार जना मारिए, जसमध्ये कम्तीमा तीन जना सुरक्षित कोठामा लुकेका थिए ।
इजरायलका प्रधानमन्त्रीले इरानले आफ्नो शस्त्रागारको सबैभन्दा ठूलो मिसाइलमध्ये एक घरविरुद्ध प्रयोग गरेको आरोप लगाए । त्यसै समयमा इरानी मिडियाले इजरायलले रातभर आक्रमण गरेको र उत्तरी शहर अस्तानेह-ये अशरफियेहमा ९ जनाको मृत्यु भएको जनाए । एक आणविक वैज्ञानिक मोहम्मद रेजा सेद्दिकी साबेरी पनि मारिएको खबर आयो ।
क्षेत्रका उप-गभर्नरले चारवटा अपार्टमेन्ट पूर्ण रूपमा ध्वस्त भएको र विस्फोटका कारण वरपरका धेरै घरहरूमा क्षति पुगेको बताए । इरानले इजरायललाई युद्धविरामको समयसीमा अघि ‘मिसाइलहरूको अन्तिम चरण’ फ्याँकेको आरोप लगायो ।
इजरायली सेनाले रातभर कारबाही गरेको पुष्टि गर्यो । जबकि, इराकी सरकारले ड्रोनहरूले आफ्नो क्षेत्रमा रहेका अड्डाहरूलाई लक्षित गरेको दाबी गर्यो । इराकमा इरान समर्थित सशस्त्र मिलिसियाहरू सञ्चालन हुन्छन्, तर के लक्षित थियो भन्ने स्पष्ट भएन ।स्पष्ट कुरा के थियो भने अन्तिम क्षणसम्म लडाइँ जारी थियो ।
‘युद्धविराम सुरुवातको घोषणा’
ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको सुरुवात घोषणा गरे । उनले लेखे, ‘युद्धविराम अब लागू हुन्छ । कृपया यसलाई उल्लंघन नगर्नुहोस् !’
त्यसपछि इजरायली सरकारले औपचारिक रूपमा युद्धविरामको प्रस्ताव स्वीकार गर्यो । एक वक्तव्यमा भनियो कि इजरायलले इरानको आणविक र ब्यालिस्टिक मिसाइल क्षमता हटाउने आफ्नो युद्ध लक्ष्य प्राप्त गरेको छ र यसले ‘विश्व शक्ति’ को स्थान लिएको छ ।
इरानका विदेशमन्त्री सेयेद अब्बास अरघचीले रातभरि नै ट्रम्पले प्रस्ताव गरेको युद्धविरामप्रति तेहरान खुला रहेको संकेत दिएका थिए । उनले भने, ‘यदि इजरायलले स्थानीय समयानुसार ४ बजेभन्दा पहिले आक्रमण रोकेमा हामी त्यसपछि हाम्रो जवाफ कारबाही जारी राख्दैनौँ ।”
तर, यो युद्धविराम खतरामा परेको जस्तो देखिन धेरै समय लागेन । इजरायली सेनाले इरानबाट मिसाइल प्रक्षेपण भएको भन्दै हवाई रक्षा प्रणाली सक्रिय गरेको बतायो । इरानले खण्डन गर्यो ।
ट्रम्पको हतारमा बनाइएको सम्झौता लागू भएको केही घण्टामै भंग हुने जस्तो देखियो । इजरायली जेटहरू इरानी राजधानीतर्फ जाँदै गर्दा ट्रम्पले फेरि पोस्ट गरे, ‘ति बमहरू नखसाल्नुहोस् । यदि तपाईंले त्यसो गर्नुभयो भने यो ठूलो उल्लंघन हो । आफ्ना पाइलटहरूलाई अहिले घर फर्काउनुहोस् !’
‘उनीहरू शान्त हुनुपर्छ’
वाशिंगटन डीसीमा बिहान हुँदा अमेरिकी राष्ट्रपति ह्वाइट हाउस पुगे, जहाँ उनलाई नेटो शिखर सम्मेलनमा लैजान हेलिकोप्टर पर्खिरहेको थियो ।
पत्रकारहरू पनि उनको रातभरका घोषणा, दाबी र खण्डनहरूको बारेमा सुन्न उत्सुक थिए । इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको ट्रम्पले बताए । तर, उनले सम्झौता अझै कायम रहेकोमा जोड दिए । इजरायली जेटहरूलाई फर्काउन नेतान्याहुलाई आग्रह गरेको उल्लेख गर्दै उनले भने, ‘एउटा (इरानी) रकेट समयसीमा पछि गल्तीले प्रक्षेपण भएको थियो र अब इजरायल बाहिर जाँदै छ । यी मानिसहरू शान्त हुनुपर्छ ।’
ट्रम्पले इरानी मिसाइल सायद गल्तीले प्रक्षेपण भएको बताए । राष्ट्रपति ट्रम्प रिसाएको जस्तो देखिन्थे । उनले इजरायलप्रति खुसी नभएको बताए । किनभने उनीहरूले सम्झौता भएका बेला ‘मैले कहिल्यै नदेखेको जस्तो’ हमला गरे । ‘म इरानसँग पनि खुसी छैन,’ उनले थपे । जब ट्रम्प पछाडि फर्के उनले इजरायल र इरानप्रति आफ्नो निराशा व्यक्त गरे । यति लामो समयदेखि लडिरहेका छन् कि उनीहरूलाई के गरिरहेका छन् थाहा छैन भन्दै ट्रम्पले अपशब्द प्रयोग गरे ।
हेलिकोप्टरले उनलाई मेरील्याण्डको सैन्य अड्डामा लग्यो, जहाँ उनले नेटो शिखर सम्मेलनका लागि एयर फोर्स वनमा चढ्नुपर्ने थियो । हवाईजहाजमा पुगेपछि उनले नेतान्याहुसँग कुराकानी गरे, जुन कुराकानी तनावपूर्ण भएको देखिन्छ । ह्वाइट हाउस स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बतायो कि राष्ट्रपति इजरायली प्रधानमन्त्रीसँग ‘असाधारण रूपमा दृढ र प्रत्यक्ष’ थिए । नेतान्याहुले स्थितिको गम्भीरता र राष्ट्रपति ट्रम्पले व्यक्त गरेको चिन्तालाई बुझे ।
ट्रम्पले हवाइजहाजमा पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुलाई सैन्य विमान फिर्ता ल्याउन भनेको पुष्टि गरे । तेहरानका नेताहरूको लागि ट्रम्पले भने कि आणविक हतियार विकास गर्नु उनीहरूको दिमागमा ‘अन्तिम कुरा’ हुनेछ ।
Facebook Comment
Banner
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।
एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।
आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login