Banner
अन्तर्राष्ट्रिय विमानस्थल कसरी बनाउने सुरक्षित ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा राज्य–संयन्त्रहरूमार्फत हुँदै आएको सेटिङको विषय यतिखेर राजनीति तरंगित छन् । केही समयअघि विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख नै भिजिट भिसामार्फत मानव तस्करी गरेको आरोपमा पक्राउ परेपछि यो विषय राष्ट्रिय राजनीति र संसद्को ‘हटकेक’ बन्न पुगेको छ ।
यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएका केही विपक्षी दलहरूले संसद्मा अझै उच्चस्तरीय छानबिन समिति माग गरिहेका छन् ।
भिजिट भिसाप्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । सरकारले यो विषयमा छानबिन गर्न भन्दै पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा अर्को छानबिन समिति बनाइसकेको छ । तर बैरागीको नेतृत्वमा बनाइएको छानबिन समितिमाथि सुरुआतमै चौतर्फी प्रश्न उठेको छ । त्यसैले माओवादीबाहेका विपक्षी दलले त्यसलाई स्विकारेका छैनन् । यो अवस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करी, त्यस क्रममा हुने भिजिट भिसाको दुरुपयोग र मानव तस्करको गिरोहलाई सघाउन राज्य संयन्त्रहरूको संलग्नतामै हुने सेटिङ फेरि पनि नतोडिने हो कि भन्ने संशय पैदा गरेको छ ।
यसको अर्थ फेरि पनि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करी नरोकिने, बरु विमानस्थलको सुरक्षा संवेदनशीलता अझ बढेर जाने देखिन्छ ।
विमानस्थल र सुरक्षा
अन्तर्राष्ट्रिय विमानस्थलहरू कुनै पनि देशका प्रवेशद्वार हुने भएकाले राष्ट्रिय सुरक्षासँग तिनले प्रत्यक्ष सम्बन्ध राख्छन् । अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई संसारभर नै अत्यन्त संवेदनशील पूर्वाधारका रूपमा लिइन्छ । यही कारण पनि हरेक विमानस्थलका आफ्नै विशिष्ट सुरक्षा चुनौतीहरू हुन्छन् । विश्वव्यापी रूपमै उच्चस्तरको विश्वास कायम राख्न पर्याप्त सुरक्षा प्रबन्ध आवश्यक पर्छ । अन्तर्राष्ट्रिय विमानस्थलहरूले स्वाभाविक रूपमा बलिया सुरक्षा उपकरणसहितको सुरक्षा प्रणाली माग गर्छन् । जसमा सुरक्षा बलका कर्मचारीहरू मात्र नभई विमानस्थलको सहज सञ्चालनका लागि जिम्मेवार सिभिल अर्थात् निजामती सेवाका अधिकारीहरू पनि समावेश हुन्छन् । काममा दोहोरोपन नहोस् र सुरक्षामा हुने त्रुटि तथा कमजोरीहरूबाट पनि बच्न सकियोस् भनेर त्यहाँका विभिन्न सरोकारवालाहरूको अधिकारक्षेत्र तोकिएको हुन्छ । क्षेत्राधिकार बाँडफाँट गरिएको हुन्छ । यी सबैलाई प्रस्ट बुझाउने गरी लिखित व्यवस्था नै गरिएको हुन्छ ।
जस्तो नेपाल प्रहरीलाई हेरौं । नेपाल प्रहरी जोसँग विभिन्न देशमा आवतजावत गर्न सक्ने अन्तर्राष्ट्रिय अपराधीहरूको निगरानी गर्ने इन्टरपोल डेटाबेसमा पहुँच छ । अपराध अनुसन्धानमा दक्षता छ र अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनको अनुभव पनि छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सञ्चालनमा नेपाल प्रहरी कुनै पनि हिसाबले स्पष्ट र नेतृत्वदायी भूमिकामा छैन । ठीक त्यसैगरी अध्यागमन विभाग यसको नीतिगत भूमिकामा मात्र सीमित छ, बरु गृह मन्त्रालयबाट (नेता र कर्मचारी नेतृत्वले अह्रनखटन गर्ने) सिधै पठाइने कर्मचारी नै यसको सञ्चालनमा प्रभावकारी हुने हुँदा अध्यागमनको प्रभावकारिता न्यून भएको देखिन्छ ।
विगतको अभ्यास र अहिलेको अवस्था
नेपालमा सशस्त्र प्रहरी बल (एपीएफ) अन्तर्राष्ट्रिय सिमानाकाको सुरक्षामा खटिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सशस्त्र प्रहरी बलको संलग्नता अत्यन्तै सीमित छ । सरकारले एपीएफलाई विमानस्थलमा खटाउने निर्णय लिन करिब एक दशक नै लागेको थियो । त्यो निर्णयपछि पनि त्यहाँ सीमित संख्यामा मात्र सशस्त्र प्रहरी खटाइएका छन् । अर्कोतर्फ अध्यागमन कार्यालयको नियन्त्रणमा रहने गरी खटाइएका अधिकृतहरूमा प्राविधिक ज्ञान र प्रविधिको पहुँच यति कमजोर छ कि उनीहरू अध्यागमनमा बसेर दक्ष जाँच गर्न नसक्ने अवस्था प्रायः उजागर हुँदै आएको छ ।
यसरी गरौं सुधार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भद्रगोल र त्यसले उजागर गरेको मुख्यतः सुरक्षा चुनौतीलाई बेलैमा ध्यान दिइएन भने परिस्थिति निकै जटिल बन्न सक्छ । यसर्थ नेपाल सरकारले अहिलेको सुरक्षा चुनौती सामना गर्न केही फरक रणनीतिहरू अवलम्बन गर्नुपर्ने खाँचो छ ।
जस्तो, यसका लागि अध्यागमन प्रहरी ब्युरो स्थापना गर्न जरुरी छ । संयुक्त राज्य अमेरिकाको ‘टीएसए’ र भारतको ‘सीआईएसएफ’ जस्ता संस्थाबाट हामी धेरै कुरा सिक्न सक्छौं । त्यो अनुभवका आधारमा हेरेर अब नेपाल प्रहरीअन्तर्गत विशेष अध्यागमन प्रहरी ब्युरो स्थापना गर्नुपर्ने समय आएको छ । यसमा केही फरक रणनीति अवलम्बन गर्न सकिन्छ । जस्तो, अध्यागमनमा खटिने अधिकृतहरूका लागि फरक ड्रेस कोडको व्यवस्था गर्न सकिन्छ । त्यस्तै, अध्यागमन कार्यमा परिचालन र नियन्त्रणको स्पष्ट कानुनी अधिकार प्रत्यायोजन गर्न सकिन्छ । इन्टरपोललगायत अन्तर्राष्ट्रिय डेटाबेसमा पहुँच बढाउने कार्य पनि यसअन्तर्गत पर्छ ।
यसबाहेक स्मार्ट प्रविधिको एकीकृत प्रयोग गर्ने, अध्यागमनमार्फत आवतजावत गर्नेको पूर्णतः बायोमेट्रिक स्क्रिनिङ गर्ने, स्वचालित सीमा नियन्त्रण प्रणाली (अटोमेटेड बोर्डर कन्ट्रोल सिस्टम) लागू गर्ने, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित निगरानी प्रणाली बसाउने, साइबर सुरक्षा संरचना खडा गर्ने र रियल–टाइम जोखिम मूल्यांकन प्रणाली लागू गर्नेजस्ता कुरा यसअन्तर्गत पर्छन् ।
अध्यागमन कार्य सञ्चालनमा केही मूलभूत कुरा नै फेरबदल गर्नुपर्ने बेला आएको छ । जस्तो, नीति निर्माणमा स्पष्ट नेतृत्व अध्यागमन विभागले गर्ने, त्यसको कार्यान्वयनमा विभागले समन्वयकारी भूमिका खेल्ने र कार्यान्वयनको मुख्य जिम्मेवारीचाहिँ अध्यागमन प्रहरीको हुने गरी अहिले अध्यागमनमा रहेको द्वैध नेतृत्व र द्वैध सञ्चालन संरचना हटाउन जरुरी छ । यसबाहेक सूचना आदानप्रदान प्रणाली बलियो बनाउन सरोकारवाला सबै निकायबीच सूचना र जानकारी आदानप्रदान गर्ने संयन्त्र बनाएर त्यसलाई एकीकृत तालिमबाट दक्ष बनाउने पहल गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि राष्ट्रको प्रतिष्ठा र सुरक्षा संवेदनशीलताको केन्द्र हो । बुझ्नुपर्ने के हो भने, अध्यागमन प्रणाली प्रशासनिक प्रक्रिया मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । हालैका घटनाक्रमहरूबाट कालोसूचीमा परेका व्यक्ति र सुन तस्करसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हुँदै सजिलै विदेश पलायन भएको तथ्य सार्वजनिक भएका छन् । यसले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर प्रश्न उठाउने काम गरेको छ । नेपालको खुला सिमाना, कमजोर अध्यागमन निगरानी र राजनीतिक नेतृत्वको असंवेदनशीलतासमेतको मिलिभगतमा यस्तो अवस्था सिर्जना भएको देखिन्छ । यस्ता कमजोरीहरूले न केवल आपराधिक गतिविधिलाई प्रोत्साहन गर्छन्, बरु अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको छवि नै धुमिल पार्छन् ।
अब नेपालले अध्यागमन प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्ने समय आएको छ । यसका लागि राजनीतिक इच्छाशक्ति, सुरक्षा निकायबीच समन्वय र पारदर्शी प्रशासनिक प्रक्रिया अनिवार्य सर्त हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा केवल भौतिक संरचनाको विषय होइन । यो त राष्ट्रको सम्प्रभुता र अन्तर्राष्ट्रिय विश्वसनीयताको सवाल पनि हो ।
नेपालमा विमानस्थलको सुरक्षा अब केवल बाह्य स्क्रिनिङ वा औपचारिकताको विषय मात्र होइन । बरु यो राष्ट्रिय सुरक्षा र प्रतिष्ठासँग गाँसिएको विषय हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित, प्रविधियुक्त र समन्वयात्मक प्रणालीमार्फत आफ्ना प्रविधि र सुरक्षात्मक संयन्त्रलाई पुनर्निर्माण गर्न आवश्यक छ । यसका लागि विकेन्द्रित होइन, एकीकृत सुरक्षा ढाँचा, आधुनिक प्रविधिको उपयोग र विशिष्ट अध्यागमन प्रहरी संरचना नेपालका लागि उपयुक्त समाधान हुन सक्छ ।
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login