Connect with us
Advertisement

पाकिस्तानसँगको हवाई भिडन्तपछि भारतले किन्यो आपतकालीन ड्रोन र रक्षा उपकरण

Published

on

भारत र पाकिस्तानबीच गत मे ७ देखि १० सम्म चलेको तनावपूर्ण हवाई संघर्षपछि भारतले आपतकालीन ड्रोन र आतंकवाद प्रतिरोधी उपकरणहरूको खरिद प्रक्रिया अघि बढाएको छ ।

यो कदम जम्मु–कश्मीरमा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणमा २६ निर्दोष नागरिकको मृत्युपछि भारतले ‘अप्रेशन सिन्दूर’मार्फत पाकिस्तानमा रहेका भनिएका नौ आतङ्कवादी शिविरमा हवाई हमला गरेपछि आएको हो ।
भारतको यो कारबाहीको जवाफमा पाकिस्तानले ड्रोन आक्रमण तथा भारतीय लडाकु विमानहरू खसालेको दाबी गरेको थियो ।

भारतको रक्षा मन्त्रालयले यसपछिको परिस्थितिलाई गम्भीर रूपमा लिँदै आपतकालीन खरिद प्रक्रिया अन्तर्गत कुल १९ अर्ब ८२ करोड भारतीय रुपैयाँ बराबरका १३ वटा रक्षा उपकरण खरिद सम्झौता गरेको छ ।

यी सम्झौतामा ड्रोन पत्ता लगाउने र नियन्त्रण गर्ने ‘इन्ग्रेटेड ड्रोन डिटेक्सन एन्ड इन्टरडिक्सन सिस्टम (आईडीडीआईएस)’, ‘लो-लेभल लाइटवेट राडार(एलएलएलआर)’ र छोटो दूरीका हवाई प्रतिरक्षा प्रक्षेपास्त्र प्रणाली खरिद गर्ने उल्लेख छ ।

मे महिनाको भिडन्तमा पाकिस्तानी ड्रोनहरू खसाल्न आईडीडीआईएस प्रणाली प्रभावकारी सावित भएको भारतीय दाबी छ ।

यी प्रणालीहरू भारतकै ‘भारत इलेक्ट्रोनिक्स लिमिटेड’द्वारा निर्माण गरिएको हो । एलएलएलआर प्रणाली हल्का, पोर्टेबल र ३ डी सक्रिय राडार हो, जसले न्यून राडार प्रतिविम्ब भएका ड्रोनहरूलाई समेत पत्ता लगाउन सक्छ ।

पाकिस्तानी सीमाबाट भारतीय भूभागमा अवैध रूपमा ल्याइएका हतियार बोकेका ड्रोनहरू फेला परेपछि भारतले सीमा सुरक्षा र ड्रोन प्रतिरक्षा थप मजबुत बनाउन आवश्यक ठानेको हो ।

भारतीय रक्षा मन्त्रालयले भनेको छ, ‘फास्ट ट्र्याक प्रक्रियामार्फत सम्पन्न यी आपतकालीन खरिदहरूले आतंकवाद विरोधी क्षेत्रमा तैनाथ सैनिकहरूको सजगता, घातक क्षमताहरू, गतिशीलता र सुरक्षामा उल्लेखनीय वृद्धि गर्नेछन् ।’

यसै सिलसिलामा भारतले निगरानी कार्यका लागि प्रयोग हुने ड्रोन र मानवरहित युएभी पनि खरिद गर्दैछ । यसमा भारतीय कम्पनी आइडिया फोर्जको ‘हाइब्रिड मिनी युएभी’ र सोलार इन्डस्ट्रीजको ‘नगस्त्र–१आर’ हतियार समावेश छन् ।

सन् २०२५ को जनवरीयता भारतीय सेनाले विभिन्न प्रयोजनका लागि पाँच पटक भन्दा बढी ‘रिक्वेस्ट फर इन्फरमेशन’ जारी गरिसकेको छ ।

पहाडी र अप्ठ्यारो भौगोलिक क्षेत्रमा सैनिक क्षति न्यूनीकरण तथा निगरानीमा ड्रोनहरू निकै उपयोगी हुने भारतीय सेनाको धारणा छ ।

साथै, यी १३ सम्झौतामार्फत भारतीय सैनिकहरूका लागि बल–प्रूफ ज्याकेट, बलेस्टिक हेल्मेट, राइफलको लागि रातमा देखिने दृष्टि प्रणाली र टाटा कम्पनीको ४ बाइ ४ तीव्र प्रतिक्रियायुक्त लडाकु सवारी साधन पनि उपलब्ध गराइनेछ । यी गाडीहरू भारतीय सेनाले सन् २०२२ को अप्रिलमै पाइसकेको थियो ।

रक्षा मन्त्रालयका अनुसार सबै उपकरणहरू भारतमै उत्पादित हुन् ।

‘आपतकालीन खरिद प्रक्रिया तुरुन्तै पुरा गर्न र अत्यावश्यक सामरिक उपकरणको समयमा आपूर्ति सुनिश्चित गर्नका लागि एक महत्वपूर्ण उपाय सावित भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतमा जनवरीदेखि हालसम्म करिब ८० वटा आतङ्कवादी वा विद्रोही गतिविधि भएका छन् । जवाफमा भारतीय सेनाले ५३६ वटा आतंकवाद तथा विद्रोह विरोधी अपरेसन सञ्चालन गरिसकेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘अब अप्रेशन सिन्दूर आतंकवादविरुद्ध भारतको स्थापित नीति बनेको छ । यो रणनीतिमा आमूल परिवर्तनको संकेत हो ।’

भारतले अब आतङ्ककारी र तिनलाई संरक्षण दिने राष्ट्रबीच कुनै भिन्नता नगर्ने नीति अख्तियार गरेको मोदीको भनाइ छ । यस्तो नीति कारण भारत–पाकिस्तानबीच आगामी दिनमा थप सैन्य टकरावको सम्भावना समेत बढेको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

Banner

आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने

Published

on

आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।

आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक