Connect with us
Advertisement

उपनिर्वाचनबाट सक्रिय राजनीतिमा ‘कमब्याक’को दाउमा खाँण

Published

on

भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु अघिसम्म कांग्रेस नेता बालकृष्ण खाँण पार्टीमा प्रभावशाली मानिन्थे । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास रहेका नेता खाँणलाई नेपाली कांग्रेसको ‘भावी सभापति’को रूपमा चर्चा हुने गर्थ्यो ।

कुनै बेला कांग्रेसका प्रभावशाली नेता अहिले ‘गुमनाम’ जस्तै छन् । राजनीतिक करिअरमा धक्का लागेको छ । संसदीय राजनीतिमा पनि पहिलाजस्तो प्रभाव पनि छैन । तर, तिनै खाँण रूपन्देही निर्वाचन क्षेत्र नं.–३ को कात्तिक १७ मा हुने उपनिर्वाचनबाट राजनीतिमा ‘कमब्याक’को प्रयासमा छन् ।

जिल्लाका राजनीतिक कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिका रूपमा सहभागी हुन थालेसँगै उनको ‘कमब्याक’को सम्भावना बढेको छ । भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर उनी २०८० मंसिर २८ मा पाटन उच्च अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी २०८० वैशाख २७ गते पक्राउ परेका थिए । गृहमन्त्री रहेका बेला खाँणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेको अभियोगमा उनलाई पक्राउ गरेर थुनामा राखिएको थियो । खाँण गृहमन्त्री भएकै बेला रूपन्देही क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए ।

तर, कांग्रेस–माओवादीको गठबन्धनका खाँणलाई पराजित गर्दै एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भए । बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र प्राप्त गरेका थिए । बोहोरालाई २०७४ को निर्वाचनमा कांग्रेसले सहयोग गरेको थियो । तर, एमालेका घनश्याम भूसालले जितेका थिए । बोहोरालाई समर्थन गर्दै त्यतिबेला कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । तर, अहिले तिनै बोहोराले बहालवाला गृहमन्त्री खाँणलाई निर्वाचन अभियानमा बोल्दै नबोली चुनाव हराएका थिए ।

कोभिड संक्रमणपछि घाँटीमा गम्भीर समस्या देखिएका बोहोराको २०८१ चैत १९ मा निधन भएपछि रूपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिसकेको छ । सोही उपनिर्वाचनमार्फत खाँण पुनः सक्रिय राजनीतिमा ‘कमब्याक’को खोजीमा लागेका हुन् । त्यसका लागि उनले सत्तारूढ दल एमालेसँग पनि सहयोगका लागि आग्रह गरिरहेको स्रोतको दाबी छ ।

संसदीय निर्वाचनमार्फत सक्रिय राजनीतिमा कमब्याक हुनका लागि खाँणको बाटो भने सहज छैन । त्यसअघि भुटानी शरणार्थी प्रकरणको मुद्दाको किनारा लाग्नुपर्ने छ । भुटानी शरणार्थी प्रकरणको मुद्दा टुंगिएको छैन । टुंग्याउने प्रयास सुरु भए पनि त्यसको प्रक्रिया लामो हुने कानुनविद्हरूको भनाइ छ । पाटन उच्च अदालतबाट धरौटीमा रिहा भए पनि सोही प्रकरणका अन्य अभियुक्तहरू पूर्वगृहसचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी थुनामै छन् ।

खाँणको मुद्दामा पनि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अहिलेसम्म सर्वोच्च अदालत गएको छैन । त्यसलाई कांग्रेससँगै अन्य दलका नेता कार्यकर्ताले राजनीतिक संरक्षणका रूपमा हेरेका छन् । त्यसैले पनि कांग्रेसकै कार्यकर्ता खाँणलाई बोकेर निर्वाचनमा जाने चाहनामा देखिँदैनन् । ‘बालकृष्ण दाइलाई हामीले चुनावमा मत माग्न जान सक्ने अवस्था अझै बनेको छैन,’ कांग्रेस तिलोत्तमा नगर समितिका एक सदस्यले भने, ‘यदि बालकृष्ण दाइ राजनीतिमा सक्रिय हुने हो भने पहिला अदालतबाट सफाइ पाएर आउनुपर्छ, अन्यथा बोकेर हिँड्न सकिँदैन ।’

खाँण नेपाली कांग्रेसमा पटक–पटक अवसर पाएका व्यक्तिमै पर्छन् । उनीमाथि आफू पटक–पटक लाभको पदमा पुगेको र आफूबाहेक परिवार मात्र अघि सारेको आरोप पनि लाग्ने गरेको छ । २०७९ सालको निर्वाचनकै समयमा उनी पराजित हुनुको अर्को मुख्य कारण श्रीमती मञ्जु खाँणलाई समानुपातिक कोटामा राखेर सांसद बनाउनु पनि हो । भाइ रामकृष्ण खाँण जिल्ला सभापति छन् । उनी तिलोत्तमा नगरपालिकाका प्रमुख पनि हुन् । ‘त्यसकारण पनि सधैँ परिवारवादमा रमाउने नेताको पछाडि हामी लाग्नु जरुरी पनि छैन,’ ती सदस्यले भने ।

अर्को अप्ठ्यारो- कुनै समय कांग्रेसमा शेरबहादुर देउवा निकट मानिएका खाँण अहिले शेखर समूहका लागेको चर्चा पनि हुने गरेको छ । कांग्रेस संस्थापन पक्षका बलिया नेता मानिने खाँणले कारागार बस्दा संस्थापन समूहले सहयोग नगरेको गुनासो गर्ने गरेका छन् । कारागारमा रहेकै बेला भने कोइरालाले उनलाई दुई पटक भेटेका थिए ।

संस्थापन पक्षका कार्यकर्ताबाट समर्थन जुटाउन नसके पनि उनलाई राजनीतिमा ‘कमब्याक’ हुन अप्ठ्यारो छ । तर, उनलाई संस्थापनकै नेताका रूपमा अघि सार्ने रणनीतिमा देउवा रहेको स्रोतले बतायो । कात्तिक १७ मा हुने रूपन्देही–३ को उपनिर्वाचनमा एमालेसँग समन्वय गरेर भए पनि खाँणलाई संसद्‍मा लैजाने प्रयास देउवाले गरिरहेको स्रोतले बतायो । ‘तर, त्यसका लागि खाँण संस्थापन समूहमै स्पष्ट खुल्नुपर्छ,’ स्रोतले भन्यो, ‘त्यसो हुँदा चुनाव जित्न पनि सहज हुन सक्छ ।’

रूपन्देही कांग्रेसमा खाँण अहिले पनि प्रभावशाली व्यक्ति हुन् । पञ्चायतकालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका खाँण २०३३ देखि कांग्रेसमा सक्रिय छन् । २०४४ पछि नेविसंघको केन्द्रीय अध्यक्ष बनेका खाँण २०४८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । उनी दुवै संविधानसभाका सदस्य पनि बने ।

खाँणले पटक–पटक गरेर रक्षा, सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैले उनको विकल्पमा राजनीतिक केन्द्रमा कांग्रेसको अर्को प्रभावशाली व्यक्ति पनि छैन । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले खाँणमाथि लागेको मुद्दाको टुंगो लागेपछि राजनीतिमा सजिलै पुनरागमन हुने बताए । ‘अहिले पनि पार्टीमा उहाँको सक्रियता खड्किएकै छ,’ उनले भने, ‘मुद्दाको किनारा लाग्नुपर्ने भएकाले जति हुनु पर्ने हो, त्यति नभएको अवस्था भने छ, तर कांग्रेसको राजनीति र संसदीय अभ्यासमा उहाँको कमब्याक छिट्टै हुने सम्भावना छ ।’

तर, उपनिर्वाचनका लागि कांग्रेसबाट रूपन्देही-३ मा प्रमोद यादव, भरत शाह र शाह पत्नी अनिता ढुंगाना पनि बलिया उम्मेदवार हुन् । यादव २०७९ मा रूपन्देही क्षेत्र नं.-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । शाह क्षेत्र नं.-५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित उम्मेदवार हुन् ।

रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । रूपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २ सय ७८ मत पाएको थियो । एमालेले १६ हजार ९ सय ८६ मत पाउँदा रास्वपाले १४ हजार १ सय ५४ मत ल्याएको थियो । प्रत्यक्षमा जित हासिल गरेको राप्रपाले ९ हजार १ सय ८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जसपाले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३, जनमत पार्टीले ३ हजार ७ सय ३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टीको लौरोले १ हजार ३ सय ४७ र नेकपा एसले ७ सय ८१ मत पाएका थिए ।

अहिले भने रूपन्देही–३ को राजनीतिक परिदृश्य फरक पनि पर्न सक्छ । राप्रपाको बलियो क्षेत्र मानिने यहाँ राप्रपाबाट अघि सर्ने उम्मेदवारले पनि केही फरक पार्न सक्छ । राप्रपाबाट दीपक बोहोराको विरासत जोगाउने गरी उम्मेदवार अघि सार्ने तयारी भइरहेको छ । त्योबाहेक माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उत्तिकै प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषण हुने गरेको छ ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेकै बखत हुने उपनिर्वाचनले पनि यस क्षेत्रलाई प्रभाव पार्न सक्ने चर्चा भइरहेको छ । रास्वपाले पनि प्रभावशाली व्यक्ति उठाउने दाबी गर्दै उम्मेदवारको खोजी गरिरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक