Connect with us
Advertisement

पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

Published

on

तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तर्राष्ट्रिय जगत‌्‌सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनीबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ ।

नेपाली मूलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका हुन्, आदित्य झा । उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन्  .

झाको दाबी छ, ‘यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु । कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन ?’

थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन् । लोभलाग्दा सफलता छन् । उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन् ।

त्यसका लागि के गर्नुपर्ने हो ?

‘पलायन नेपालमा सामाजिक रोग बनेको छ । किनभने यहाँका धेरैजसो युवाले सोच्छन्, हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन । सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन् । तर, उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ । ५० हजारदेखि १० लाख रुपैयाँसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ’, उनी विश्वासका साथ भन्छन् ।

सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिए । ‘मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम गर्‍यो । ठूलो टोली थियो । तर पछि अर्को कम्पनीलाई काम दिइयो । अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ’, उनले सुनाए ।

नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उनी सुनाउँछन् । तर अस्थिरता र भ्रष्टाचार ? को कोपभाजनमा पर्‍यो उनको योजना । ‘नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ । अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ । यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन’, यो उनको कटु अनुभव हो ।

सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ । किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्’, उनको भनाइ थियो ।

 

०००

नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे । उनलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन । नेपाल त्यसका लागि तयार पनि छैन । सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ । तर, त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ ।

‘बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो ? तर अहिले भियतनाम कहाँ पुग्यो ? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन ।’ उनको बुझाइमा राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालल पाउन सकेन । नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उनी समस्याका देख्छन् ।

‘राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छ’, उनले जोड दिएर भने ।

कस्तो भूमिका ?

‘मुलुकको समृद्धि भनेको दियोजस्तो हो । दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ । राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो ।’

उनले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भने, ‘एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो । जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन् । भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए । तर अहिले हैदरावाद कहाँ पुग्यो ?’

उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्नसके नतिजा देखिन्छ ।

‘नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, ‘हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ’, झाको उत्साही निष्कर्ष थियो ।

नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने ? जवाफमा उनले अर्को तितो अनुभव सुनाए ।

आइटीमा आफूले पाएको सफलताको अनुभवमा उनी भन्छन्, ‘तपाईं नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईंको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ ।’

अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन् । यो कम्पनीका ९ देशमा कार्यालय छन् । कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना । भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन् । तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो ।

किन यस्तो सफलता नेपालमै सम्भव भएन ? क्यानडा नै किन जानुपर्‍यो ? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन ? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन् ? यहाँ यो किन सम्भव भएको छैन ? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन् ?’

उनलाई लाग्छ– सायद नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन् ।

‘म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन् । मलाई थाहा हुनु पनि पर्दैन । तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, ‘म फलानो डीएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सीडीओलाई चिन्छु’, झाको जवाफ थियो ।

भनसुन प्रवृत्ति नेपालको समस्या हो । अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ । किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन । ‘तपाईं आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ । यो नै सभ्य समाजको चिनारी हो ।’

उनले अगाडि थपे, ‘हामी नेपाल सानो देश भन्छौँ । तर सिङ्गापुर पनि त सानो नै हो । युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन् । तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन । समस्या हाम्रो सोचाइ र संरचनामा छ ।’

सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उनको मनमा एउटा सपना पलायो, ‘नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरू गर्न सकिएला ?’

त्यो बेला भारतमा जम्मा चार/पाँच वटा मात्र आइआइटी थिए । अहिले त्यो संख्या निकै बढिसकेको छ ।

उनले सम्झिए, ‘तपाईं इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन् । तर ती विश्वविद्यालय स्वतन्त्र थिए । व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन ।’

झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राखेका थिए । तर नेपालमा अवस्था फरक छ । उनी भन्छन्, ‘कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ । अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा । यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै छ ।’

नेपालमा काम गर्ने उनका अनुभव खासै राम्रो रहेनन् ।

०००

‘जब मैले राम्रो पैसा कमाएँ, तब लाग्यो– किन काठमाडौँ वा नेपालमा एउटा आइआइटीजस्तो संस्था हुँदैन’, उनले दुई दशक अघिको प्रयास सम्झिए । नेपालमा करिब १०० करोड लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने । व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने तर प्राइभेट– हार्वर्ड, एमआइटीजस्तै ।

झाले अनुभव सुनाए, ‘म करिब एक वर्षसम्म त्यसमा लागेँ । क्यानडाबाट मान्छे झिकाएँ । तर म असफल भएँ । त्यो बेला म अलि अनुभवहीन थिएँ । आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ । किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु ।’

त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ झालाई ।

०००

उनको दोस्रो अनुभव पनि उस्तै ।

अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथी आएर भने ‘आदित्यजी, तपाईंले काठमाडौँका स्कुलमा कम्प्युटर बाँड्नका लागि लागि पैसा दिनुपर्छ ।’

झाले सोधे, ‘कति चाहिन्छ ?’

साथीले भने  ‘१० वटा स्कुलका लागि डेस्कटप ।’

सायद झाले करिब १० हजार डलर दिए ।

केही महिनापछि थाहा भयो – कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन् ।

भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन् । उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने । ढुवानीमा धेरै पैसा खर्च गरे । अनि ती कम्प्युटर स्कुलमा राखिदिए ।

यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने । यो प्रयास पनि असफल भयो ।

०००

तेस्रो, कसैले उनलाई सुनाए, ‘तपाईं त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस् ।’

त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो । त्यो अवधारणा नेपालमा पनि लागू गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उनले जनकपुर पठाए । धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे । तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन । केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो ।

तर केही महिनापछि झालाई फोन आयो, ‘आधा कम्प्युटर हरायो ।’

झाले सोधे, ‘तपाईंले सिल गर्नुभएको थिएन ?’

जवाफ आयो, ‘सिल छ, ताला छ, तर ल्यापटप छैन ।’

त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो । केही समयपछि फेरि फोन आयो– ‘स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो । अब के गर्ने ?’

झाले भने, ‘अब मलाई मतलब छैन । जेसुकै गर ।’

नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गरे । अहिले उनको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्– टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ । बीसभन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन् । उनको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पुर्‍याउने छ । साथै उनी क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहेका छन् ।

०००

यद्यपि, अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ, नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने । यसपटक भने उनको ध्यान ‘आइटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ ।

‘नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै संख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु’, उनी भन्छन् ।

गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने उनको मुख्य ध्येय हो ।

‘यदि मैले ५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०–२५ जनालाई व्यवसाय गराउन सक्छु भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेछ । मेरो टोलीले उनीहरूलाई उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउनेछ । यही मेरो अन्तिम सपना परियोजना हुनेछ । यही मेरो पूजा हुनेछ । यही पशुपति, काशी र केदारनाथ हुनेछ ।’

झालाई लाग्छ– नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो ।

हेमन्त जोशी/रासस

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक