Connect with us
Advertisement

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

Published

on

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् ।

हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् ।

बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ”, खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् ।

सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए ।

“भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ”, उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने । उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आरी घोप्टे मनसुनी वर्षा भएपछि आकस्मिक बाढी र पहिरो आएको थियो ।

आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकहरू मध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र भारी मेसिनरी पुग्न थालेका छन् । प्रहरी र उद्धारकर्मीहरू ढुङ्गा–माटो पन्छाउँदै ध्वस्त घरका भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

सबैभन्दा ठूलो दुर्घटना कादर नगर गाउँमा भएको छ । त्यहाँ विवाहको पूर्वसन्ध्यामा बाढीको पानी घरमा पस्दा एउटै परिवारका २४ जनाको ज्यान गएको छ । परिवारका प्रमुख उमर खान भने घरबाहिर भएकाले बाँच्न सफल भए । उनका चार आफन्त अझै बेपत्ता छन् ।

प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले शनिबार बुनेर पुगेर मृतकका परिवारलाई २० लाख रुपैयाँ (करिब सात हजार दुई सय डलर) सहयोग दिने घोषणा गरेका छन् । उनले पाल, खाना र सफा पिउने पानीको व्यवस्था गरी पानीजन्य रोग फैलिन नदिन पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्री शाहबाज सरिफले राहत कार्य प्रत्यक्ष निगरानी गरिरहेको र तत्काल सहायताको वितरण, फसेकाहरूको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाउन निर्देशन दिएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

विपद् व्यवस्थापन प्राधिकरणले अगस्ट १७ देखि १९ सम्म थप बाढी र पहिरोको चेतावनी दिँदै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ । यस वर्ष जुन २६ देखि शुरु भएको मनसुनमा हालसम्म छ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

सन् २०२२ मा पाकिस्तानमा आएको कीर्तिमानी मनसुनी वर्षाले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो र लाखौँ घर ध्वस्त पारेको थियो । हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा विशेष गरी उत्तरपश्चिमी पहाडी क्षेत्रका गाउँहरू आकस्मिक बाढी र पहिरोको जोखिममा पर्छन् ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा यस्ता चरम मौसमी घटनाहरू अझै धेरै र गम्भीर बन्दै गएका छन् ।

यसैबीच, भारत प्रशासित काश्मीरमा पनि भारी वर्षापछि आकस्मिक बाढी आएको छ । कठुआ जिल्लामा कम्तीमा सात जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

किश्तवार जिल्लाको दुर्गम चोसिती गाउँमा तीन दिनअघि आएको बाढीपछि उद्धार टोलीले अझै खोजी कार्य जारी राखेको छ । यस घटनामा कम्तीमा ६० जनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये करिब ५० जनाको अवस्था गम्भीर छ ।

बाढी वार्षिक हिन्दू तीर्थयात्रा भइरहेका बेला आएको थियो । अधिकारीहरूले तीन सयभन्दा बढीलाई उद्धार गरेका छन् भने करिब चार हजार तीर्थयात्रीलाई सुरक्षित स्थानमा सारिएको छ ।

-रासस/एपी/एएफपी

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading

Banner

सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो

Published

on

एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Continue Reading

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक