नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनका लागि पार्टीभित्र आन्तरिक छलफल र आकांक्षीहरूको चर्चा बढेको छ। वडा अधिवेशनबाट सुरु भएको महाधिवेशन प्रक्रिया पालिका, क्षेत्र हुँदै प्रतिनिधि छनोटको चरणमा पुगेसँगै सभापति र पदाधिकारीका सम्भावित उम्मेदवारबारे बहस तीव्र भएको हो।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महामन्त्री पदलाई महत्वपूर्ण पदका रूपमा हेरिएको छ। महामन्त्रीका आकांक्षीका रूपमा कांग्रेस नेता डा. सुनीलकुमार शर्मासहित वर्तमान महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य मधु आचार्यको नाम चर्चामा छ।
डा. शर्मा २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिमा सक्रिय भएका हुन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय रहँदै आएका शर्माले सार्वजनिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै आएका छन्।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सक्रिय शर्माको सामाजिक सेवासम्बन्धी भूमिका पनि सार्वजनिक रूपमा चर्चामा रहँदै आएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गर्ने गतिविधिमा उनी संलग्न रहँदै आएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि शर्माले स्वास्थ्य तथा सामाजिक सेवाका गतिविधिलाई थप विस्तार गर्ने प्रयास अघि बढाएका छन्। फाउन्डेसनमार्फत आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्ने अभियान अघि बढाइएको जनाइएको छ।
कांग्रेसको आगामी नेतृत्वमा सभापति पदका लागि गगनकुमार थापाको नाम चर्चामा रहँदा महामन्त्री पदका सम्भावित आकांक्षीबारे पनि पार्टीभित्र छलफल भइरहेको छ। यही क्रममा थापासँगको राजनीतिक सहकार्य, कार्यकर्तासँगको पहुँच तथा सामाजिक क्षेत्रमा सक्रियतालाई आधार बनाएर शर्माको नाम महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ।
महामन्त्री पद पार्टीको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँगको समन्वयमा महत्वपूर्ण भूमिकामा रहने भएकाले १५औँ महाधिवेशनमा यो पदका लागि हुने प्रतिस्पर्धालाई कांग्रेसको आगामी संगठनात्मक दिशासँग जोडेर हेरिएको छ।
महामन्त्रीका आकांक्षीहरूबीचको प्रतिस्पर्धा र नेतृत्व चयनको अन्तिम तस्वीर भने महाधिवेशन प्रक्रिया अघि बढ्दै जाँदा थप स्पष्ट हुने देखिन्छ।
You must be logged in to post a comment Login