Connect with us
Advertisement

गीति लेखनका सूत्रधार रत्नसमशेर थापाको जीवनी

Published

on

गीति लेखनका सूत्रधार अग्रज रत्न समशेर थापा अब हामी माझ रहेनन् । रहे त तिनै कालजयी सिर्जना । उनै सर्जक थापाको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरिएको छ ।

थापाको जन्म र बाल्यकाल
रत्न समशेर थापाका पूर्खाहरु काभ्रे जिल्लाको ओपी भन्ने ठाउँबाट बसाइँ सरी काठमाडौ आएका हुन् । उनका कुप्रा बाजे केशरसिंह थापाका दुई बहिनीहरु धीर शमसेरले विवाह गरेपछि एक जना फुपूकी सन्तानलाई शमसेर, र अर्की फुपूका सन्तानलाई जङ्गको उपाधी राणाहरुले दिएका हुन् ।

डायमण्ड शमसेरले नेपाली उपन्यास (सत्प्रयास) मा चन्द्र शमसेरका मामा केशरसिंह थापा भनी उल्लेख गरेको पाइन्छ । यिनै केशरसिंहका पनाति हुन् कवि तथा गीतकार रत्न शमसेर थापा ।

केशरसिंहका कान्छा छोरा पद्म शमसेरका ७ भाइ छोरामध्ये माइला छोरा तीर्थ शमसेर थापाका ४ सन्तानमध्ये एक मात्र छोराका रुपमा उनी १९९४ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मिए ।

आमा स्व. तुलाकुमारी जुद्ध शमसेरका हजुरिया कर्नेल स्व. इन्द्रबहादुर कार्कीकी छोरी हुन् । त्यसो त राणाकालमै बाबु तीर्थ शमसेरले कोलकोत्ताको सेन्ट जेभियर्स कलेजबाट स्नातक पास गरेका थिए ।

कमलपोखरीको मूलबाटोबाटै देखिने त्यो अग्लो तीन तले पुरानो ढाँचाको सेतो घरले हिजोसम्म शमसेर थापाहरुको पारिवारिक इतिहासको परिचय दिन्थ्यो । जहाँ थापाले बाल्यकाल रमाउँदै बिताएका थिए । तर २०७२ सालको महाभूकम्पले यसलाई भग्नावशेषमा बदलिदियो ।

शिक्षादीक्षाः
४\५ वर्षको उमेरमै श्रीपञ्चमीको दिन थापाले घरबाटै शिक्षा आरम्भ गरे । यो क्रममा महाकवि देवकोटादेखि रामप्रसाद जोशी, दाहाल सर, हीरारत्न र मोहनविक्रम यिनका गुरु रहे । दरबार हाइस्कुलबाट वि.स.२००९ मा म्याट्रिक दिए पनि उनले एकपल्ट असफलता बेहोर्नुपरेको थियो ।

२०१० मा विभिन्न कठिनाइका बाबजुद पनि उनलाई सफलता हात लाग्यो । तत्पश्चात थापाको उच्चशिक्षा त्रिचन्द्र कलेजमा शुरु भयो । उनी दिवा सेवाको कक्षामा विज्ञान विषय लिएर भर्ना भए । अतिरिक्त समयमा स्कुलको शिक्षक पनि बन्न पुगे । २०१२ मा दोस्रो वार्षिक परीक्षा दिँदै गर्दा उनी अचानक बेहोश भए । यही कारण उनको परीक्षा पूरा हुन सकेन । यसरी परीक्षा अड्केका र अलमलमा परेका थापा जोगबनीको चिनी कारखानामा जागिरे हुन पुगे । फेरि जागिरे जीवनबाट पनि हात धुँदै २०१५ मा काठमाडौं फर्किए ।

२०१६ बाट फेरि त्रिचन्द्र कलेजमा भर्ना भई आफ्नो उच्च शिक्षा अगाडि बढाए । यसैबेला स्व. नातिकाजी, नारायण गोपाल, सुशीला कंसाकार, दीपक अर्याल, उत्तम कुँवर, मदन रेग्मी, बालमुकुन्ददेव पाण्डे, डा. लोकविक्रम थापा, डा. पुष्करराज सत्याल, डा. ठाकुरप्रसाद पन्त, पाइलट स्व. शिवबहादुर थापा, बासुदेव त्रिपाठी, जनकनाथ प्याकुरेल आदि सहपाठी र सहकर्मीका रुपमा उनले पाए । विशेषगरी नारायण गोपाल, नातिकाजी, दीपक अर्याल र उनी कलेजको वार्षिक उत्सवमा निकै सक्रिय देखिन्थे । यसै समयमा आपसको सहयोग र संयोगबाट स्रोताको मन जित्दै समाजमा आफ्नो परिचय दिन सफल साबित भइसकेका थिए ।

यसै समयमा थापाको पहिलो गीत ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार…’ नारायण गोपालको स्वरमा पहिलो पटक रेडियो नेपालबाट प्रसार भएको थियो । साथै ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…’, ‘बिछोडको पीडा नसकी खप्न…’, ‘जाग, लम्क चम्क हे…’, ‘आँखाको भाका…’, ‘स्वर्गकी रानी….’, ‘मधुमासमा यो दिलको बाग…’, ‘कुञ्जमा गुञ्जियो…’, ‘मौन छु आँशु पिई…’, ‘सेरो र फेरो मेरो अँध्यारो पारी गयौ…’ गरी उनका कुल १० गीत नारायण गोपालले गाए । जुन गीत आज पनि कालजयी छन् ।

यसरी २०२२ मा स्नातक पूरा गरी २०२६ मा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरे । २०१० देखि शुरु भएको उच्च शिक्षा विभिन्न समस्याका बीचमा उनले २०२६ सालमा आएर पूरा भयो ।

दाम्पत्य जीवन र परिवार
४६ वसन्त पार गरेपछि सप्तरीको कञ्चनपुर निवासी २६ वर्षीया भैरवी बस्नेतसंग २०४२ बैशाख महिनामा उनको विवाह सम्पन्न भयो । विवाहको ४ वर्षको अन्तरमा २ छोराको जन्म भई ४ जनाको सुखी परिवार बन्यो ।

आर्थिक स्थिति
मध्यमवर्गीय थापा खलकको ठूलो परिवारमा जन्म भए पनि प्रायः सबैजसो सेनामा जागिरे भएकाले खासै आर्थिक संकटको स्थिति नआएको देखिन्छ । पुख्र्याैली सम्पत्तिको रुपमा कमलपोखरीको २२ रोपनी जग्गा अंशबन्डा भइसकेपछि उनी त्यहीँ अलग्गै आफ्नै निवासमा बसे । जागिर खासै नखाए पनि आफ्नै लेखनप्रति इमान्दार रही यसैलाई पेशा तथा कर्म क्षेत्र बनाएका छन् ।

पुरस्कार र सम्मान
नेपाल राष्ट्रिय पुस्तकालयद्वारा आयोजित गायन प्रतियोगितामा २०१४ मा पहिलो र छिन्नलता पुरस्कार २०४० तथा गद्दी आरोहण २०५३ उनले प्राप्त गरे । रेडियो नेपालद्वारा विशिष्ट कदरपत्र २०५३, साधना सम्मान र युगकवि पुरस्कार २०५६, मुक्ति पुरस्कार २०५६ नेपाल सम्मान २०५७, भीमनिधि तिवारी सम्मान २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८, प्रथम गोर्खा दक्षिण बाहु चौथो, बीपी स्मृति पुरस्कार र कान्तिपुर विशेष सम्मान इमेज लाइफ टाइम अचिभमेन्ट आदि उनले पाएका सम्मान तथा पुरस्कार हुन् ।

विदेश भ्रमण
विदेश भ्रमणमा दिल्ली, पाकिस्तान र मुम्बईको भ्रमण अरु भन्दा विशेष, विशिष्ट र अविष्मरणीय छन् ।

मुम्बईमा सङ्गीतकार जयदेवले गीत माग्दा आफूसँग गीत नहुनु र पाकिस्तानी सङ्गीतकार वाजिद अलि नासादले तुम्हारा बापका गीत ए हए कि नहीँ भन्दा घुँडा समाती नतमस्तक हुनु, दिल्लीमा प्रदीप रिमालले साहिर लुध्यन्बी लाई हि इज अल्सो पोएट फ्रम नेपाल भन्दा साहिरले यु मस्ट कम टु माइ प्लेस भन्नु र दिल्लीकै प्रमुख कवि गिरिजाकुमार माथोरले कविता वाचन गरेको सुनेपछि (आपका कविता विराट हे भन्नुस्) भन्नु उनका घतिला र दिमागी डिस्केटमा इरेज नै नहुने इभेन्टहरु हुन् । धुँदा पनि नजाने गरी बसेका सम्झनाका टाटाहरु हुन् । प्रसंशा चाहिन्छ र काम अनुसार पाउनुपर्छ भन्ने मान्यतामा अडिग थापा यसरी अरुले आफ्नो बारेमा व्यक्त गरेको कुराले प्रफुल्लित र आल्हादित मुद्रामा वर्षापछिको आकाश खुलेझैँ खुल्थे । जस्तै,

मलाई उठाउने तिमी नै हौ भन्दै गायक माणिक रत्नले १०५ प्रतिशतमा १०० नै क्रेडिट दिन्छु भन्दा उनी अहिलेसम्म आधाआधामै सम्झौता गरौं भन्दछन्, तर माणिक रत्नले नमान्दा ठीकै छ भनी हर्षित मुद्रामा स्वीकार्छन् ।

‘१०० भन्दा अर्को ५ मा जाँदा अतिशयोक्ति हुने हुनाले मैले एकल गायक तथा सङ्गीतकार भई उनीसँग काम गरे पनि कुनै ५ दिन सक्या छैन । किनकि अग्रज माणिकले सय मा सय दिई सकेपछी अब कुनै अतिरिक्त प्रतिशतको खाँचो छैन भन्ने मेरो ठम्याइ हो’, उनी भन्छन् ।

प्रभाव र प्रेरणा 
विशेषत घरेलु वातावरण, स्वर्गीय आमा, कान्छा मामा, काइँला काका मणि समशेर (जसले राग गाउँदा माइक नै फुट्लाजस्तो भएर १० फिट पर राख्नु पथ्र्याे), गायन शिरोमणि यज्ञराज शर्माले उनलाई सेतो साँढे भनी उपाधी नै दिएका थिए । उनीहरुकै प्रभाव र प्रेरणाद्वारा थापाले सानैमा तबला बजाउन सिके ।

रोमान्टिक कविहरुका कविता मन पराउने थापा अप्रत्यक्ष स्वदेशी तथा विदेशी कविहरुबाट प्रभावित भएको स्वीकार्छन् । उर्दू र हिन्दी लेखनमा साहिर लुदयान्बि, शकिल बदायी, मर्जु सुल्तानपुरी, राजा मेदि अलिखां, शैलेन्द्र, प्रदीप, गोपालसिंह नेपालीबाट उनी प्रेरित थिए । नेपालका अग्रज तथा समकालीन कवि तथा गीतकारहरु लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, रमेश धिताल, किरण खरेल, भीम विराग, भूपि शेरचन, वैरागी काइँला, ईश्वरबल्लभ, प्रेमविनोद नन्दन, मोहनहिमांशु थापा, मोहन कोइराला, कृष्णभक्त आबिाट उनी प्रेरित थिए ।

सानो उमेरमा स्रोता र पाठकमा आफ्नो वास्तविक नामबाट नआऔँ भन्ने विचारले होला, २००८ सालमा रचित उनको पहिलो रचना ‘मन पर्छ त्यो रात (आरएस मधुरको) नामबाट पटनाको म्याग्जिनमा छापियो । तर मित्र जनकनाथ प्याकुरेलको सुझावअनुसार वास्तविक नाम राखी रचना प्रकाशन गर्न थाले ।

अर्थपूर्ण र आफूलाई चुनौती दिने कुनै पनि विषयमा थापालाई अझै लेखौझैँ लाग्थ्यो । कलम र शरीरमा ताकत रहुन्जेल अष्टचिरञ्जीवीले काललाई जितेझैँ आफू पनि लेखनमा लागिरहने उनको भनाइ थियो ।

स्वागत गीत, देशभक्ति गीत, भजन, अभिनन्दन, चेतनामूलक गीत, प्रेमपूर्ण गीत, गजल, ठुमरीलगायत धेरै प्रकारका गीत उनले लेखेका छन् ।
जीवनलाई ईश्वरको वरदानको रुपमा लिने थापा धुनमा गीत लेख्न सक्नुको रहस्यमा सानैदेखि तालको आफूमा हुनु नै कारक भएको बताउँथे । अम्बर गुरुङको धुनमा लेख्न आफूबाहेक अरुले नसकेको उनी सुनाउँथे । यसको ज्वलन्त प्रमाण क्वायर लेखन हो । उनी विशेषत अन्त्यानुप्रास मात्र नमिलाई पुरै छन्दमा गीत लेख्न रुचाउँथे ।

यो उमेरसम्म मात्र गीति क्षेत्रलाई अँगाल्दै जागिरे जीवनको वास्ता नगरी आम्दानीविहीन क्षेत्रसँग झुमेर बस्न चाहनु र बस्न सक्नु, धैर्यको बाँधमा रत्तिभर हलचल आउन नदिनु, अत्यन्त ठूलो त्याग र निष्ठा भनी हामी सबैले स्वीकार्नैपर्छ ।

उनले नेपालका प्रायः सबै कलाकारसँग काम गरे । नारायण गोपाल, प्रेमध्वज प्रधान, माणिक रत्न, पन्नाकाजी, पीएल श्रेष्ठ, अम्बर गुरुङ, फत्तेमान, योगेश वैद्य, रुबि जोशी, भक्तराज आचार्य, नगेन्द्र हाडा, उदय समशेर, कनैया, दीप श्रेष्ठ, दीपक जङ्गम, दीपक खरेल, ओमविक्रम बिष्ट, रमेश ताम्राकार, रबिन शर्मा, निर्मल रिमाल, प्रकाश श्रेष्ठ, सुदेश शर्मा, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई, शिशिर योगी, एड्रिन प्रधान, नारायण ओली आदिसँग उनले काम गरे ।

गायिकाहरुमा तारादेवी, सुशीला कंसाकार, दिलमाया खाती, अन्जु (आसाम निवासी) अरुणा लामा, शान्ति ठटाल, मीरा राणा, ज्ञानु राणा, तारा थापा, सुक्मित गुरुङ, हसना श्रेष्ठ विमला सेन्चुरी, कुन्ती मोक्तान, संगीता राना, लोचन भट्टराई, विमला राई, सुनिता सुब्बारमनिला सोताङदेखि झुमा लिम्बू र मिलन अमात्य आदिसँग उनले काम गरे ।

त्यस्तै, भारतीय कलाकार उदितनारायण झा, सोनु निगम, कविता कृष्णामूर्ति, साधना सर्गम, पूर्णिमा आदिसँग उनले काम गरे ।

संगीतकारहरु नातिकाजी, शिवशंकर, प्रेम माणिक, नारायण गोपाल, अम्बर गुरुङ, हुतराज शर्मा, नोर्बु छिरिङ, सि.के. रसाइली, शान्ति ठटाल, तारादेवी, चन्द्रराज शर्मा, शुभबहादुर, गणेश परियार, कृष्णमान, दीपक जङ्गम, शम्भुजीत, शक्तिबल्लभ श्रेष्ठ, मदन दिप्बिम, मदन परियार, दीप तुलाधर, नारायण ओली, किशोर गुरुङ, शरद गुरुङ किशोर गुरुङ, शरद गुरुङ आदिसँग उनले काम गरेका थिए ।

चलचित्रतर्फ जुनी, भाग्यरेखा, २५ वसन्त, अन्याय, चोखो माया, सिमाना, अवतार, जमिन, रणभूमि, राजकुमार, संजोग, ग्रहण, घरसंसार, हतियार आदि चलचित्रमा उनले गीत लेखेका थिए ।

त्यस्तै, ‘दोभान’ गीति एल्बममा अम्बर गुरुङको एकल संगीत र थापाकाे रचना रहेकाे थियाे । त्यस्तै, आँखाको भाका आँखैले, घुम्तीमा , दाेभान,आऊ सुटुक्क  आदि उनका रचनामा निस्किएका गिति एल्बमहरु हुन् ।

ओभानो सिउँदो (२०२०) र रुझेका परेला (२०२५) मा पनि उनले लेखेका गीत रहेका छन् । चक्लाभरीको घाम (२०३६), ताराका काँचा रङ (२०६०) मा पनि उनले संगीत दिएका थिए ।

नारायण गोपालले थापाका १० गीतहरुलाई आफ्नै संगीतमा निरन्तर गाएका थिए । अम्बर गुरुङले एकल र संयुक्त गरी उनका ७ ओटा गीत गाएका छन् । प्रेमध्वजले २० ओटा गीत उनको संगीतमा गाएका छन् । माणिकरत्नले १५ ओटा जति गीत उनकै संगीतमा गाएका थिए । योगेश वैद्यले युगल २ र तारादेवीसँग गरी ७ ओटा गीत गाएका छन् । त्यसमध्ये आँखैमा …. उनको गीत स्नातकोत्तर तहको पाठ्यक्रममा राखिएको छ ।

मैले २०३५ देखि रत्न शमसेरका गीतहरु रेडियोबाट सुन्ने गरेको हुँ । शुरुमा यो शमसेर भन्ने नाम पनि गीत संगीतमा कसरी भन्ने लाग्थ्यो । दार्जिलिङमा पढेर काठमाडौ आएपछि करिब २०४५ देखि यसै क्षेत्रमा गाँसिएँ । विभिन्न कार्यक्रम तथा रेडियो नेपालमा म उनलाई देख्थेँ ।

२०५० सालपछि एक दिन म त्यो निवासमा पुगेँ । रमाइलो वातावरण बन्यो । २०५५ सालमा मैले उनको एउटा गीत सुनगाभा एल्बममा राखेँ । त्यो पंक्तिकारको एकल संगीत र रबिन शर्माको स्वरमा थियो । ( गीतको बोल ‘चाहे पाप भन या अपराध मैले त मीठो भूल गरें…’ भन्ने थियो ।

त्यसपछि रेडियो नेपालमै फत्तेमान र रबिन शर्माको साथमा तथा फत्तेमानको एकल गरी दुई गीत गर्यौँ । एड्रिन प्रधान, शिशिर योगी, डा. गोपालहरुसँग पनि काम गर्याैँ । यसको अलवा २०६८ मा गीतकार थापा र पंक्तिकारको एकल एल्बम आऊ सुटुक्क म्युजिक नेपालले बजारमा ल्यायो । यसरी थापासँग १ दर्जन भन्दा बढी गीतमा सँगै रहेर काम गर्ने अवसर मिल्यो ।

उहाँसँग सधैँ एक अग्रज र अनुजको आत्मिक सम्बन्ध कायम रह्यो ।
(ओली रेडियो नेपालमा संगीतकार रहेका छन् ।)

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

डिजेलको तुलनामा बिजुलीको गाडी कति सस्तो, कति महँगो?

Published

on

चीनसँगको सीमावर्ति रसुवा नाकाबाट गत साउन र भदौमा १२ सय ३० वटा गाडी आयात भएका थिए। तीमध्ये २३ वटा डिजेल गाडी थिए भने बाँकी सबै बिजुली गाडी।

यो तथ्यांकले बिजुली गाडीको प्रयोग कसरी द्रुत गतिमा बढिरहेको छ भन्ने देखाउँछ।

निजी कार मात्र होइन, सार्वजनिक यातायातमा पनि बिजुली गाडीको प्रयोग बढ्दो छ। कतिपयले डिजेलभन्दा बिजुली गाडीबाट राम्रो आम्दानी हुन्छ भनिरहेका छन्। केहीले भने सुरूमा फाइदा भए पनि ब्याट्री फेर्नुपर्दा धेरै खर्च लाग्छ भन्छन्।

वास्तविकता के हो त? डिजेलको तुलनामा बिजुली गाडी कति सस्तो छ वा कति महँगो छ?

यो स्टोरीमा हामीले दुइटा फरक रूटको सार्वजनिक यातायातमा बिजुली गाडी (इभी) चलाउने दुई जना व्यवसायी/चालकसँग कुरा गरेका छौं। सँगसँगै, सार्वजनिक यातायातमा बिजुली गाडी प्रवर्द्धन गरिरहेको ‘दीगो क्लिन इनर्जी’ का अध्यक्ष राजन रायमाझीलाई पनि सोधेका छौं।

सुरूमा यातायात व्यवसायीहरूको कुरा सुनौं।

रामेछापका सागर बस्नेतले इभी चलाउन थालेको १५ महिना भयो। उनको १० सिटको इभी भ्यान काठमाडौं-रामेछाप रूटमा चल्छ। करिब ४३ लाख रूपैयाँ पर्ने यो गाडी उनले १८ लाख नगद भुक्तानी र बाँकी किस्तामा किनेका हुन्। मासिक किस्ता ७२ हजार रूपैयाँ छ।

‘किनेदेखि खासै धेरै खर्च गर्नुपरेको छैन,’ सागरले भने, ‘महिनाको साढे २ लाख रूपैयाँसम्म कमाइ हुन्छ। चार जनाको परिवार राम्ररी चलेको छ। थोरै बचत पनि गर्दैछु।’

 

उनी पहिले यही रूटमा डिजेल गाडी चलाउँथे। प्रत्येक ट्रिपमा ६ हजार रूपैयाँको डिजेल लाग्थ्यो। अहिले बिजुली खर्च एक हजार रूपैयाँभन्दा कम छ। इन्धनमा मात्र प्रतिट्रिप ५ हजार रूपैयाँ बचत भइरहेको उनी बताउँछन्।

सागरको एउटै चिन्ता छ — ब्याट्री फेर्नुपर्दा लाखौं पर्ने हो कि!

‘कसैले १० लाख भन्छन्, कसैले १५ लाख,’ उनले भने, ‘भविष्यमा ब्याट्रीलाई लाग्न सक्ने खर्च अहिल्यै छुट्याएर राख्ने गरेको छु।’

नुवाकोटका छविलाल परियारले पनि ११ सिटको बिजुली माइक्रो किनेर काठमाडौं-त्रिशूली रूटमा चलाएको दुई वर्ष भयो। लगभग ४५ लाख रूपैयाँमा किनेका हुन्। त्यसमध्ये १३ लाख रूपैयाँ तिरिसके। महिनाको ९२ हजार ५ सय रूपैयाँ किस्ता तिरिरहेका छन्। कमाइ डेढ लाख रूपैयाँ हुन्छ।

पहिले यही रूटमा प्रतिट्रिप ३ हजार रूपैयाँको डिजेल जान्थ्यो। अहिले ६ सय रूपैयाँको बिजुली भए पुग्छ। ट्रिपमै २४ सय रूपैयाँ बचत भइरहेको उनी बताउँछन्।

‘अहिलेसम्म त राम्रै छ। पछि ब्याट्री फेर्दा २०-२५ लाख नै खर्च हुन्छ भन्ने सुनेको छु। त्यसपछि त किस्ता तिर्न सकिँदैन होला,’ उनले भने, ‘सार्वजनिक यातायातमा बिजुली गाडी बढाउने हो भने बैंक ब्याजदर, ब्याट्री खर्च र पाटपुर्जा समेतमा सहुलियत दिनुपर्छ। चार-पाँच वर्षपछि ब्याट्री फेर्दा १०-१२ लाखमै आउने हो भने बल्ल डिजेल गाडीभन्दा फाइदा हुन्छ।’

व्यवसायीहरूको अनुभवपछि अब दीगो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझीको कुरा सुनौं।

उनले एउटै रूटमा चल्ने र समान सिट क्षमता भएका यात्रुवाहक बिजुली गाडी र डिजेल गाडीको लागत-खर्च तुलना गरेर देखाए।

रायमाझीका अनुसार ११ सिटे बिजुली गाडीको मूल्य भन्सार छुटसमेत हिसाब गर्दा करिब ४५ लाख ४५ हजार रूपैयाँ पर्छ। त्यति नै सिटको डिजेल गाडीलाई भन्सार छुटसहित ४६ लाख ५० हजार तिर्नुपर्छ। त्यसैले यी दुईबीच मूल्यमा खासै भिन्नता नभएको उनले बताए।

‘सञ्चालन खर्च भने आनका तान फरक छ,’ उनले भने, ‘मानौं यी दुवै किसिमका गाडी काठमाडौं-सिन्धुली रूटमा चल्छन्। यो रूटमा एक वर्ष गुड्दा बिजुली गाडीले लगभग ४८० किलोवाट बिजुली खपत गर्छ भने डिजेल गाडीलाई १२ हजार लिटर डिजेल चाहिन्छ।’

प्रचलित मूल्यअनुसार ४८० किलोवाट बिजुलीको खर्च २ लाख ४१ हजार ९२० रूपैयाँ हुन्छ। डिजेल खर्च भने १७ लाख ८८ हजार रूपैयाँ पर्छ। भन्नुको मतलब, बिजुली गाडी चलाउँदा इन्धनमा मात्र वर्षको १५ लाख ४६ हजार रूपैयाँ बचत हुन्छ।

अब ब्याट्री फेर्नुपर्ने अवस्थाको कुरा गरौं।

‘सामान्यतया बिजुली गाडी चार लाख किलोमिटर गुडेपछि ब्याट्री फेर्नुपर्ने हुन्छ। चार लाख किलोमिटर गुड्दासम्म ब्याट्री चार्ज गर्न करिब चार लाख रूपैयाँ लाग्छ। त्यसपछि नयाँ ब्याट्री फेर्दा १५ लाख नै लाग्यो भने पनि चार वर्षको जम्माजम्मी खर्च १९ लाख हुन्छ,’ रायमाझीले भने, ‘यही कुरा डिजेल गाडीमा हिसाब गर्दा चार लाख किलोमिटर गुड्दासम्म कम्तीमा ५० हजार लिटर डिजेल चाहिन्छ। यो भनेको लगभग ८० लाख रूपैयाँ हो। अब भन्नुस्, डिजेल गाडी सस्तो पर्‍यो कि बिजुली गाडी?’

बिजुली गाडी सञ्चालकले पछि ब्याट्री फेर्नलाई भनेर हरेक ट्रिपमा केही रकम छुट्याएर राख्ने हो भने एकैपटक भार नपर्ने उनको भनाइ छ।

रायमाझीको कम्पनी दीगो क्लिन इनर्जीले अहिलेसम्म ११, १४, १६ र १९ सिटे बिजुली गाडी बजारमा ल्याएको छ, जुन विभिन्न ठाउँमा सार्वजनिक यातायातका रूपमा प्रयोग भइरहेका छन्। यसले कार्गो र पिकअप भ्यानमा पनि बिजुली गाडी बिक्री गर्छ।

सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग बढाउन राज्यले खासै सहयोग नगरेको उनी बताउँछन्।

उनले यसमा भन्सार महसुलको उदाहरण दिए।

पेट्रोल र डिजेलबाट चल्ने निजी गाडीको भन्सार महसुल २५० देखि ३०० प्रतिशत छ। बिजुलीबाट चल्ने निजी गाडीमा भने ५० प्रतिशत तिरे पुग्छ। यसमा २०० प्रतिशतसम्मको अन्तर देखिन्छ। यही अन्तर व्यावसायिक प्रयोजनका डिजेल र बिजुली गाडीको हकमा एकदमै नमिल्दो छ। व्यावसायिक प्रयोजनका डिजेल गाडीको भन्सार महसुल ४० प्रतिशत छ। जबकि, ११ देखि १४ सिटको बिजुली गाडी ल्याउँदा २२ प्रतिशत भन्सार तिर्नुपर्छ। १५ सिटभन्दा माथिको गाडीलाई पनि १ प्रतिशत भन्सार लाग्छ।

‘व्यावसायिक प्रयोजनका डिजेल र बिजुली गाडीको भन्सारमा खासै अन्तर छैन,’ उनले भने, ‘जति सहुलियत निजी बिजुली गाडीले पाइरहेको छ, त्यति सहुलियत सार्वजनिक वा व्यावसायिक बिजुली गाडीलाई छैन। जबकि यसको उल्टो हुनुपर्थ्यो। यो कुरा लगातार उठाउँदा पनि सुनुवाइ भएको छैन।’

सार्वजनिक बिजुली गाडीमा बैंकिङ समस्या पनि रहेको उनले बताए।

उनका अनुसार निजी बिजुली गाडी किन्दा जुनसुकै बैंकले सात वर्षका लागि ८० प्रतिशतसम्म लगानी गरिदिन्छ। सार्वजनिक गाडीमा भने ६० देखि ७० प्रतिशत मात्र लगानी गर्छ। त्यो पनि बिनाधितो ऋण पाइँदैन।

‘पहिले डिजेल गाडीमा एकदमै कम नाफा हुन्थ्यो। व्यवसायीहरू किस्ता तिर्न सक्थेनन्। त्यसैबाट डराएर बैंकहरूले बिजुली गाडीमा कडाइ गरिरहेका छन्। तर यसमा फाइदा धेरै छ। डिजेल गाडीजस्तो ट्र्याकिङको समस्या छैन। कुन चार्जिङ स्टेसनमा कुन गाडी चार्ज भयो भनेर सजिलै थाहा हुन्छ,’ रायमाझीले भने, ‘बैंकहरूले लगानी गर्न डराउनु पर्दैन।’

ब्याट्री फेर्दा बढी खर्च हुने भएकाले भविष्यमा बिजुली गाडी महँगो पर्छ भन्ने अनुमान पनि सही नभएको उनको भनाइ छ।

‘हरेक दिन डिजेल हाल्दा हजारौं रूपैयाँ खर्च हुन्छ। त्यसको सट्टा ब्याट्री फेर्दा लाग्ने खर्च तुलनात्मक कमै हुन्छ,’ उनले भने, ‘भविष्यमा ब्याट्री फेर्नुपर्छ भनेर अहिल्यै चित्त दुखाउनु पनि सही होइन। समय पुगेपछि त फेर्नुपर्छ नै।’

सार्वजनिक यातायात व्यवसायीहरू बिजुली गाडीको प्रयोग बढाउन चार्जिङ स्टेसनहरू धेरै र भरपर्दो हुनुपर्ने बताउँछन्।

चालक सागर बस्नेतले काठमाडौं-रामेछाप रूटकै उदाहरण दिए। यो रूटमा ठाउँठाउँमा चार्जिङ स्टेसन भए पनि कहिलेकाहीँ बिजुली नहुनु वा भोल्टेज कम हुनुले समस्या पर्ने गरेको उनको अनुभव छ। अरू कम्पनीको चार्जिङ स्टेसनमा नयाँ गाडीले चार्ज गर्न नपाउने समस्या पनि छ।

उनले गएको वैशाखमा आफूले झेलेको एउटा समस्या सुनाए —

उनी ८ जना यात्रु लिएर रामेछापबाट काठमाडौं आउँदै थिए। मूलकोट नजिकको चार्जिङ स्टेसन पुग्दा साँझ ४ बजेको थियो। तर बत्ती नभएकाले पुग्नेबित्तिकै चार्ज गर्न पाएनन्। त्यो दिन राति ९ बजे मात्र बत्ती आयो। एक घन्टा चार्ज गरेर १० बजे हिँडेको उनले बताए।

‘तुरून्तै चार्ज गर्न पाएको भए ८ बजे काठमाडौं आइपुगिन्थ्यो, बित्थामा रातको १ बज्यो,’ उनले भने, ‘यात्रुहरूलाई फकाउँदा फकाउँदा हैरान भएँ। आखिरमा घरघरै पुर्‍याएपछि मात्र छुट्कारा पाएँ। भोलिपल्ट रामेछाप जाने पालो पनि पाइएन।’

केही चार्जिङ स्टेसनमा जेनेरेटर राखिएको भए पनि सधैं काम गर्दैन। बिजुली नहुँदाको विकल्प नभएसम्म ढुक्कले इभी चलाउन नसकिने उनको भनाइ छ।

यसबारे दीगो क्लिन इनर्जीका रायमाझीसँग कुरा गर्दा उनले चार्जिङ स्टेसनहरूको क्षमता बढाउने काम भइरहेको बताए। दीगोले नेपालका विभिन्न ठाउँमा चार्जिङ स्टेसन पनि निर्माण गरेको छ, जहाँ चार्जिङका अतिरिक्त रेस्टुरेन्ट, वासरूम लगायत थुप्रै सुविधा छन्।

‘काठमाडौं-सिन्धुली रूटकै कुरा गर्ने हो भने पहिले मूलकोट नजिकै रामटारमा मात्र चार्जिङ स्टेसन थियो। अहिले ३५ ठाउँमा छन्,’ उनले भने, ‘चार्जिङ स्टेसन बढेसँगै बिजुली ‍गाडीको माग पनि बढेको छ। सुरूमा हामीले तीनवटा बिजुली बस चलाएको बिपी राजमार्जमा अहिले दुई हजारभन्दा धेरै बिजुली गाडी चल्छन्।’

सार्वजनिक बिजुली गाडी प्रवर्द्धनमा सरकारी असहयोग भने सुधार हुनुपर्ने उनको भनाइ छ।

उनले एउटा उदाहरण दिए — दीगो क्लिन इनर्जीले डेढ वर्षअघि ७२ वटा गाडी मगाएको थियो। ती गाडीमा फोल्डिङ सिट भएको भन्दै ६ महिना भन्सारमै रोकियो।

‘फोल्डिङ सिट भएकाले बढी भन्सार तिर्नुपर्छ भनियो। निजी गाडीमा पनि त फोल्डिङ सिट हुन्छ नि, होइन?’ उनले भने।

रायमाझीका अनुसार अहिले सडकमा चल्ने कुल बिजुली गाडीमध्ये ३० प्रतिशत मात्र सार्वजनिक वा व्यावसायिक प्रयोजनका छन्।

‘सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग बढाउने हो भने सरकारले भन्सार महसुलदेखि बैंकिङ लगानीमा समेत सुधार गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘व्यवसायीहरूलाई दीर्घकालीन फाइदा हुन्छ भनेर विश्वास दिलाउन सकियो भने मात्र धेरैभन्दा धेरै डिजेल गाडीलाई बिजुलीले प्रतिस्थापन गर्न सक्छ। त्यसपछि बल्ल देशले आर्थिक र वातावरणीय रूपमा बिजुली गाडीको लाभ पाउनेछ।’

Continue Reading

Banner

काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई जरिवाना पत्र

Published

on

काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।

पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो ।

उक्त जरिवानाको पत्र पुर्‍याउन हिजो (आइतबार) महानगरको टोली आफैं पार्टी कार्यालय पुगेको थियो।यद्यपि, उक्त कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै पत्र बुझ्न अस्वीकार भएको थियो । ‘हिजो नै इमेल र हुलाकमार्फत हामीले जरिवानाको पत्र पठाएका छौँ,’ ती सदस्यले भने, ‘कुनै रेस्पोन्स आएको छैन ।’एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको थियो ।महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख गरेको छ ।एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।

Continue Reading

Banner

रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।

Published

on

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।

उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो । आइतबार सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरे ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक