Connect with us
Advertisement

गीति लेखनका सूत्रधार रत्नसमशेर थापाको जीवनी

Published

on

गीति लेखनका सूत्रधार अग्रज रत्न समशेर थापा अब हामी माझ रहेनन् । रहे त तिनै कालजयी सिर्जना । उनै सर्जक थापाको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरिएको छ ।

थापाको जन्म र बाल्यकाल
रत्न समशेर थापाका पूर्खाहरु काभ्रे जिल्लाको ओपी भन्ने ठाउँबाट बसाइँ सरी काठमाडौ आएका हुन् । उनका कुप्रा बाजे केशरसिंह थापाका दुई बहिनीहरु धीर शमसेरले विवाह गरेपछि एक जना फुपूकी सन्तानलाई शमसेर, र अर्की फुपूका सन्तानलाई जङ्गको उपाधी राणाहरुले दिएका हुन् ।

डायमण्ड शमसेरले नेपाली उपन्यास (सत्प्रयास) मा चन्द्र शमसेरका मामा केशरसिंह थापा भनी उल्लेख गरेको पाइन्छ । यिनै केशरसिंहका पनाति हुन् कवि तथा गीतकार रत्न शमसेर थापा ।

केशरसिंहका कान्छा छोरा पद्म शमसेरका ७ भाइ छोरामध्ये माइला छोरा तीर्थ शमसेर थापाका ४ सन्तानमध्ये एक मात्र छोराका रुपमा उनी १९९४ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मिए ।

आमा स्व. तुलाकुमारी जुद्ध शमसेरका हजुरिया कर्नेल स्व. इन्द्रबहादुर कार्कीकी छोरी हुन् । त्यसो त राणाकालमै बाबु तीर्थ शमसेरले कोलकोत्ताको सेन्ट जेभियर्स कलेजबाट स्नातक पास गरेका थिए ।

कमलपोखरीको मूलबाटोबाटै देखिने त्यो अग्लो तीन तले पुरानो ढाँचाको सेतो घरले हिजोसम्म शमसेर थापाहरुको पारिवारिक इतिहासको परिचय दिन्थ्यो । जहाँ थापाले बाल्यकाल रमाउँदै बिताएका थिए । तर २०७२ सालको महाभूकम्पले यसलाई भग्नावशेषमा बदलिदियो ।

शिक्षादीक्षाः
४\५ वर्षको उमेरमै श्रीपञ्चमीको दिन थापाले घरबाटै शिक्षा आरम्भ गरे । यो क्रममा महाकवि देवकोटादेखि रामप्रसाद जोशी, दाहाल सर, हीरारत्न र मोहनविक्रम यिनका गुरु रहे । दरबार हाइस्कुलबाट वि.स.२००९ मा म्याट्रिक दिए पनि उनले एकपल्ट असफलता बेहोर्नुपरेको थियो ।

२०१० मा विभिन्न कठिनाइका बाबजुद पनि उनलाई सफलता हात लाग्यो । तत्पश्चात थापाको उच्चशिक्षा त्रिचन्द्र कलेजमा शुरु भयो । उनी दिवा सेवाको कक्षामा विज्ञान विषय लिएर भर्ना भए । अतिरिक्त समयमा स्कुलको शिक्षक पनि बन्न पुगे । २०१२ मा दोस्रो वार्षिक परीक्षा दिँदै गर्दा उनी अचानक बेहोश भए । यही कारण उनको परीक्षा पूरा हुन सकेन । यसरी परीक्षा अड्केका र अलमलमा परेका थापा जोगबनीको चिनी कारखानामा जागिरे हुन पुगे । फेरि जागिरे जीवनबाट पनि हात धुँदै २०१५ मा काठमाडौं फर्किए ।

२०१६ बाट फेरि त्रिचन्द्र कलेजमा भर्ना भई आफ्नो उच्च शिक्षा अगाडि बढाए । यसैबेला स्व. नातिकाजी, नारायण गोपाल, सुशीला कंसाकार, दीपक अर्याल, उत्तम कुँवर, मदन रेग्मी, बालमुकुन्ददेव पाण्डे, डा. लोकविक्रम थापा, डा. पुष्करराज सत्याल, डा. ठाकुरप्रसाद पन्त, पाइलट स्व. शिवबहादुर थापा, बासुदेव त्रिपाठी, जनकनाथ प्याकुरेल आदि सहपाठी र सहकर्मीका रुपमा उनले पाए । विशेषगरी नारायण गोपाल, नातिकाजी, दीपक अर्याल र उनी कलेजको वार्षिक उत्सवमा निकै सक्रिय देखिन्थे । यसै समयमा आपसको सहयोग र संयोगबाट स्रोताको मन जित्दै समाजमा आफ्नो परिचय दिन सफल साबित भइसकेका थिए ।

यसै समयमा थापाको पहिलो गीत ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार…’ नारायण गोपालको स्वरमा पहिलो पटक रेडियो नेपालबाट प्रसार भएको थियो । साथै ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…’, ‘बिछोडको पीडा नसकी खप्न…’, ‘जाग, लम्क चम्क हे…’, ‘आँखाको भाका…’, ‘स्वर्गकी रानी….’, ‘मधुमासमा यो दिलको बाग…’, ‘कुञ्जमा गुञ्जियो…’, ‘मौन छु आँशु पिई…’, ‘सेरो र फेरो मेरो अँध्यारो पारी गयौ…’ गरी उनका कुल १० गीत नारायण गोपालले गाए । जुन गीत आज पनि कालजयी छन् ।

यसरी २०२२ मा स्नातक पूरा गरी २०२६ मा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरे । २०१० देखि शुरु भएको उच्च शिक्षा विभिन्न समस्याका बीचमा उनले २०२६ सालमा आएर पूरा भयो ।

दाम्पत्य जीवन र परिवार
४६ वसन्त पार गरेपछि सप्तरीको कञ्चनपुर निवासी २६ वर्षीया भैरवी बस्नेतसंग २०४२ बैशाख महिनामा उनको विवाह सम्पन्न भयो । विवाहको ४ वर्षको अन्तरमा २ छोराको जन्म भई ४ जनाको सुखी परिवार बन्यो ।

आर्थिक स्थिति
मध्यमवर्गीय थापा खलकको ठूलो परिवारमा जन्म भए पनि प्रायः सबैजसो सेनामा जागिरे भएकाले खासै आर्थिक संकटको स्थिति नआएको देखिन्छ । पुख्र्याैली सम्पत्तिको रुपमा कमलपोखरीको २२ रोपनी जग्गा अंशबन्डा भइसकेपछि उनी त्यहीँ अलग्गै आफ्नै निवासमा बसे । जागिर खासै नखाए पनि आफ्नै लेखनप्रति इमान्दार रही यसैलाई पेशा तथा कर्म क्षेत्र बनाएका छन् ।

पुरस्कार र सम्मान
नेपाल राष्ट्रिय पुस्तकालयद्वारा आयोजित गायन प्रतियोगितामा २०१४ मा पहिलो र छिन्नलता पुरस्कार २०४० तथा गद्दी आरोहण २०५३ उनले प्राप्त गरे । रेडियो नेपालद्वारा विशिष्ट कदरपत्र २०५३, साधना सम्मान र युगकवि पुरस्कार २०५६, मुक्ति पुरस्कार २०५६ नेपाल सम्मान २०५७, भीमनिधि तिवारी सम्मान २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८, प्रथम गोर्खा दक्षिण बाहु चौथो, बीपी स्मृति पुरस्कार र कान्तिपुर विशेष सम्मान इमेज लाइफ टाइम अचिभमेन्ट आदि उनले पाएका सम्मान तथा पुरस्कार हुन् ।

विदेश भ्रमण
विदेश भ्रमणमा दिल्ली, पाकिस्तान र मुम्बईको भ्रमण अरु भन्दा विशेष, विशिष्ट र अविष्मरणीय छन् ।

मुम्बईमा सङ्गीतकार जयदेवले गीत माग्दा आफूसँग गीत नहुनु र पाकिस्तानी सङ्गीतकार वाजिद अलि नासादले तुम्हारा बापका गीत ए हए कि नहीँ भन्दा घुँडा समाती नतमस्तक हुनु, दिल्लीमा प्रदीप रिमालले साहिर लुध्यन्बी लाई हि इज अल्सो पोएट फ्रम नेपाल भन्दा साहिरले यु मस्ट कम टु माइ प्लेस भन्नु र दिल्लीकै प्रमुख कवि गिरिजाकुमार माथोरले कविता वाचन गरेको सुनेपछि (आपका कविता विराट हे भन्नुस्) भन्नु उनका घतिला र दिमागी डिस्केटमा इरेज नै नहुने इभेन्टहरु हुन् । धुँदा पनि नजाने गरी बसेका सम्झनाका टाटाहरु हुन् । प्रसंशा चाहिन्छ र काम अनुसार पाउनुपर्छ भन्ने मान्यतामा अडिग थापा यसरी अरुले आफ्नो बारेमा व्यक्त गरेको कुराले प्रफुल्लित र आल्हादित मुद्रामा वर्षापछिको आकाश खुलेझैँ खुल्थे । जस्तै,

मलाई उठाउने तिमी नै हौ भन्दै गायक माणिक रत्नले १०५ प्रतिशतमा १०० नै क्रेडिट दिन्छु भन्दा उनी अहिलेसम्म आधाआधामै सम्झौता गरौं भन्दछन्, तर माणिक रत्नले नमान्दा ठीकै छ भनी हर्षित मुद्रामा स्वीकार्छन् ।

‘१०० भन्दा अर्को ५ मा जाँदा अतिशयोक्ति हुने हुनाले मैले एकल गायक तथा सङ्गीतकार भई उनीसँग काम गरे पनि कुनै ५ दिन सक्या छैन । किनकि अग्रज माणिकले सय मा सय दिई सकेपछी अब कुनै अतिरिक्त प्रतिशतको खाँचो छैन भन्ने मेरो ठम्याइ हो’, उनी भन्छन् ।

प्रभाव र प्रेरणा 
विशेषत घरेलु वातावरण, स्वर्गीय आमा, कान्छा मामा, काइँला काका मणि समशेर (जसले राग गाउँदा माइक नै फुट्लाजस्तो भएर १० फिट पर राख्नु पथ्र्याे), गायन शिरोमणि यज्ञराज शर्माले उनलाई सेतो साँढे भनी उपाधी नै दिएका थिए । उनीहरुकै प्रभाव र प्रेरणाद्वारा थापाले सानैमा तबला बजाउन सिके ।

रोमान्टिक कविहरुका कविता मन पराउने थापा अप्रत्यक्ष स्वदेशी तथा विदेशी कविहरुबाट प्रभावित भएको स्वीकार्छन् । उर्दू र हिन्दी लेखनमा साहिर लुदयान्बि, शकिल बदायी, मर्जु सुल्तानपुरी, राजा मेदि अलिखां, शैलेन्द्र, प्रदीप, गोपालसिंह नेपालीबाट उनी प्रेरित थिए । नेपालका अग्रज तथा समकालीन कवि तथा गीतकारहरु लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, रमेश धिताल, किरण खरेल, भीम विराग, भूपि शेरचन, वैरागी काइँला, ईश्वरबल्लभ, प्रेमविनोद नन्दन, मोहनहिमांशु थापा, मोहन कोइराला, कृष्णभक्त आबिाट उनी प्रेरित थिए ।

सानो उमेरमा स्रोता र पाठकमा आफ्नो वास्तविक नामबाट नआऔँ भन्ने विचारले होला, २००८ सालमा रचित उनको पहिलो रचना ‘मन पर्छ त्यो रात (आरएस मधुरको) नामबाट पटनाको म्याग्जिनमा छापियो । तर मित्र जनकनाथ प्याकुरेलको सुझावअनुसार वास्तविक नाम राखी रचना प्रकाशन गर्न थाले ।

अर्थपूर्ण र आफूलाई चुनौती दिने कुनै पनि विषयमा थापालाई अझै लेखौझैँ लाग्थ्यो । कलम र शरीरमा ताकत रहुन्जेल अष्टचिरञ्जीवीले काललाई जितेझैँ आफू पनि लेखनमा लागिरहने उनको भनाइ थियो ।

स्वागत गीत, देशभक्ति गीत, भजन, अभिनन्दन, चेतनामूलक गीत, प्रेमपूर्ण गीत, गजल, ठुमरीलगायत धेरै प्रकारका गीत उनले लेखेका छन् ।
जीवनलाई ईश्वरको वरदानको रुपमा लिने थापा धुनमा गीत लेख्न सक्नुको रहस्यमा सानैदेखि तालको आफूमा हुनु नै कारक भएको बताउँथे । अम्बर गुरुङको धुनमा लेख्न आफूबाहेक अरुले नसकेको उनी सुनाउँथे । यसको ज्वलन्त प्रमाण क्वायर लेखन हो । उनी विशेषत अन्त्यानुप्रास मात्र नमिलाई पुरै छन्दमा गीत लेख्न रुचाउँथे ।

यो उमेरसम्म मात्र गीति क्षेत्रलाई अँगाल्दै जागिरे जीवनको वास्ता नगरी आम्दानीविहीन क्षेत्रसँग झुमेर बस्न चाहनु र बस्न सक्नु, धैर्यको बाँधमा रत्तिभर हलचल आउन नदिनु, अत्यन्त ठूलो त्याग र निष्ठा भनी हामी सबैले स्वीकार्नैपर्छ ।

उनले नेपालका प्रायः सबै कलाकारसँग काम गरे । नारायण गोपाल, प्रेमध्वज प्रधान, माणिक रत्न, पन्नाकाजी, पीएल श्रेष्ठ, अम्बर गुरुङ, फत्तेमान, योगेश वैद्य, रुबि जोशी, भक्तराज आचार्य, नगेन्द्र हाडा, उदय समशेर, कनैया, दीप श्रेष्ठ, दीपक जङ्गम, दीपक खरेल, ओमविक्रम बिष्ट, रमेश ताम्राकार, रबिन शर्मा, निर्मल रिमाल, प्रकाश श्रेष्ठ, सुदेश शर्मा, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई, शिशिर योगी, एड्रिन प्रधान, नारायण ओली आदिसँग उनले काम गरे ।

गायिकाहरुमा तारादेवी, सुशीला कंसाकार, दिलमाया खाती, अन्जु (आसाम निवासी) अरुणा लामा, शान्ति ठटाल, मीरा राणा, ज्ञानु राणा, तारा थापा, सुक्मित गुरुङ, हसना श्रेष्ठ विमला सेन्चुरी, कुन्ती मोक्तान, संगीता राना, लोचन भट्टराई, विमला राई, सुनिता सुब्बारमनिला सोताङदेखि झुमा लिम्बू र मिलन अमात्य आदिसँग उनले काम गरे ।

त्यस्तै, भारतीय कलाकार उदितनारायण झा, सोनु निगम, कविता कृष्णामूर्ति, साधना सर्गम, पूर्णिमा आदिसँग उनले काम गरे ।

संगीतकारहरु नातिकाजी, शिवशंकर, प्रेम माणिक, नारायण गोपाल, अम्बर गुरुङ, हुतराज शर्मा, नोर्बु छिरिङ, सि.के. रसाइली, शान्ति ठटाल, तारादेवी, चन्द्रराज शर्मा, शुभबहादुर, गणेश परियार, कृष्णमान, दीपक जङ्गम, शम्भुजीत, शक्तिबल्लभ श्रेष्ठ, मदन दिप्बिम, मदन परियार, दीप तुलाधर, नारायण ओली, किशोर गुरुङ, शरद गुरुङ किशोर गुरुङ, शरद गुरुङ आदिसँग उनले काम गरेका थिए ।

चलचित्रतर्फ जुनी, भाग्यरेखा, २५ वसन्त, अन्याय, चोखो माया, सिमाना, अवतार, जमिन, रणभूमि, राजकुमार, संजोग, ग्रहण, घरसंसार, हतियार आदि चलचित्रमा उनले गीत लेखेका थिए ।

त्यस्तै, ‘दोभान’ गीति एल्बममा अम्बर गुरुङको एकल संगीत र थापाकाे रचना रहेकाे थियाे । त्यस्तै, आँखाको भाका आँखैले, घुम्तीमा , दाेभान,आऊ सुटुक्क  आदि उनका रचनामा निस्किएका गिति एल्बमहरु हुन् ।

ओभानो सिउँदो (२०२०) र रुझेका परेला (२०२५) मा पनि उनले लेखेका गीत रहेका छन् । चक्लाभरीको घाम (२०३६), ताराका काँचा रङ (२०६०) मा पनि उनले संगीत दिएका थिए ।

नारायण गोपालले थापाका १० गीतहरुलाई आफ्नै संगीतमा निरन्तर गाएका थिए । अम्बर गुरुङले एकल र संयुक्त गरी उनका ७ ओटा गीत गाएका छन् । प्रेमध्वजले २० ओटा गीत उनको संगीतमा गाएका छन् । माणिकरत्नले १५ ओटा जति गीत उनकै संगीतमा गाएका थिए । योगेश वैद्यले युगल २ र तारादेवीसँग गरी ७ ओटा गीत गाएका छन् । त्यसमध्ये आँखैमा …. उनको गीत स्नातकोत्तर तहको पाठ्यक्रममा राखिएको छ ।

मैले २०३५ देखि रत्न शमसेरका गीतहरु रेडियोबाट सुन्ने गरेको हुँ । शुरुमा यो शमसेर भन्ने नाम पनि गीत संगीतमा कसरी भन्ने लाग्थ्यो । दार्जिलिङमा पढेर काठमाडौ आएपछि करिब २०४५ देखि यसै क्षेत्रमा गाँसिएँ । विभिन्न कार्यक्रम तथा रेडियो नेपालमा म उनलाई देख्थेँ ।

२०५० सालपछि एक दिन म त्यो निवासमा पुगेँ । रमाइलो वातावरण बन्यो । २०५५ सालमा मैले उनको एउटा गीत सुनगाभा एल्बममा राखेँ । त्यो पंक्तिकारको एकल संगीत र रबिन शर्माको स्वरमा थियो । ( गीतको बोल ‘चाहे पाप भन या अपराध मैले त मीठो भूल गरें…’ भन्ने थियो ।

त्यसपछि रेडियो नेपालमै फत्तेमान र रबिन शर्माको साथमा तथा फत्तेमानको एकल गरी दुई गीत गर्यौँ । एड्रिन प्रधान, शिशिर योगी, डा. गोपालहरुसँग पनि काम गर्याैँ । यसको अलवा २०६८ मा गीतकार थापा र पंक्तिकारको एकल एल्बम आऊ सुटुक्क म्युजिक नेपालले बजारमा ल्यायो । यसरी थापासँग १ दर्जन भन्दा बढी गीतमा सँगै रहेर काम गर्ने अवसर मिल्यो ।

उहाँसँग सधैँ एक अग्रज र अनुजको आत्मिक सम्बन्ध कायम रह्यो ।
(ओली रेडियो नेपालमा संगीतकार रहेका छन् ।)

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक