अर्थ
के यसरी नै हुन्छ त सुन्दरहरैँचाकाे विकास ? २८ लाखकाे भवनमा अनियमितता: ज्येष्ठ नागरिक समाज
विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माण भएको ज्येष्ठ नागरिक भवन विवादमा आएको छ । संघीय सरकारबाट प्राप्त रकमको २७ लाख ८५ हजार ८ सय ३७ रुपैयाँमा नगरपालिकाले २०७६ चैत २० गते सावना निर्माण सेवा दुहबी– ५ सुनसरीलाई भवन निर्माणको ठेक्का दिएको थियो ।
४० फिट लम्बाइ र ३२ फिट चौडाइ भएको भवनमा २ ओटा ढोका र ६ ओटा झ्याल रहेका छन् । सो भवन निर्माणका लागि नगरपालिकाका सब इञ्जिनियर अम्बिका गुरागाईले स्टिमेट तयार पारेका थिए । यस विषयमा जनप्रतिनिधिदेखि स्थानीयले उनीमाथि अनुसन्धान गर्नुपर्ने बताए । यसरी निर्माण हुने अन्य क्षेत्रमा पनि अनियमितता भएको हुन सक्ने स्थानीयको आरोप छ ।
बुधबार यो भवनको तस्बीरसहित सरकारका पूर्व सचिव भीम उपाध्यायले २८ लाखको भवन भन्दै सामाजिक सञ्जालमा राखेपछि यसले चर्चा पाएको हो । यसपछि नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल, इञ्जिनियर सुनिल अधिकारी, जनप्रतिनिधि, पत्रकार लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो । यस विषयमा सबैले अनियमितता भएको प्रष्ट देखिने एउटा गतिलो उदाहरण भएको बताएका थिए ।
उता भवनको ठेक्का लिएको सावना निर्माण सेवाका अब्दुल हुसेनले आफूले २०\२१ लाख रुपैयाँबराबरको काम गरेको र थप काम गर्न बाँकी रहेको बताए । २० लाख रुपैयाँ बराबरको के काम गर्नुभयो र बाँकी काम के गर्नुपर्नेछ भनी सोध्दा उनले सो कामको लागि आफूले ६ महिनाको समय थप पाएको र थपिएको समयमा काम पूरा हुने बताए । पेटी लगाउने, झ्याल तथा ढोका राख्ने र सोलारको काम बाँकी रहेको उनले बताए । अब ७\८ लाख रुपैयाँबराबरको काम हुन बाँकी रहेको भन्दै यस विषयमा आफूले थप नबोल्ने उनले फोन सम्पर्कमा बताए ।
लक्ष्मीनारायण मन्दिरको जग्गामा ज्येष्ठ नागरिकको सामुदायिक भवन निर्माण भएको हो । भवनका बारेमा वडा नम्बर ३ का वडाध्यक्ष जीवनप्रसाद ढुंगानाले आफूले निर्माण हुनुभन्दा पहिला बारम्बार उपभोक्ताबाट काम गर्नुपर्ने भन्दै अनुरोध गरेको बताए । त्यस क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले संघीय सरकारबाट प्राप्त बजेट सबै टेन्डर प्रकृयाबाट मात्र हुने बताएपछि यो भवन निर्माण भएको तर के कति लागतमा निर्माण हुुँदैछ भन्ने आफूलाई कुनै जानकारी नभएको बताए । ज्येष्ठ नागरिकको सामुदायिक भवन भनेको विषयमा आफू अनभिज्ञ रहेको उनको भनाइ थियो ।
वडा नम्बर ३ को ज्येष्ठ नागरिक समितिका अध्यक्ष भीमबहादुर कार्कीले यो भवनका विषयमा सबैसँग कुरा उठाएको र कसैबाट सुनुवाइ नभएको बताए । आफूहरुको नाममा आएको बजेटमा चरम भ्रष्टाचार भएको र यो भवन ज्येष्ठ नागरिक समितिका सदस्य कसैसँग पनि समन्वय नगरी निर्माण गरेको उनको भनाइ छ । २८ लाख खर्च भएको भनी लोकले नपत्याउने उनले बताए ।
यो ठाउँकै बदनाम हुने गरी काम गर्ने कर्मचारीबाटै भ्रष्टाचार भएको हुन सक्ने उनको भनाइ थियो । आँखामा छारो हाल्ने गरी इञ्जिनियरले घोटाला गरेको भन्दै यो भवनमा पाइला नटेकेको तर संघीय सांसद लालबाबु पण्डितले अनुगमन गर्ने भन्ने सुन्दा पहिलो पटक मंगलबार भवनमा टेकेको उनले बताए ।
यस विषयमा सांसद पण्डितसँग समेत असन्तुष्टि जनाएको उनले बताए । कतै न कतैबाट अनियमितता भएको हुन सक्ने पण्डितले बताएको उनले बताए । यो भवन सम्पन्न भएपछि ज्येष्ठ नागरिक समितिले जिम्मा लिन्छ भन्ने प्रश्नमा उनले यो भवन कुनै पनि हालतमा जिम्मा नलिने बताए ।
यस विषयमा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले आफू अनुगमन गर्न गएको तर इञ्जिनियरले नाप्ने भएकाले हेर्दा २० लाख सम्ममा निर्माण सम्पन्न हुन सक्ने देखिएको बताइन् । प्राविधिक इस्टिमेट हेर्दा पनि सामान्य नागरिकले पनि यसको विषयमा केही कमजोरी देख्ने उनको भनाइ थियो । प्राविधिकले नापजाँच गर्ने भए पनि हेर्दा त्यत्रो रकम नलाग्ने देखिएको उनले बताइन् । काम भएसम्मको मात्र भुक्तानी नगरले दिने उनको भनाइ छ ।
यस विषयमा नगरपालिकाका इञ्जिनियर सुनिल अधिकारीले यसको मूल्याङ्कन २४ लाखको भएको भन्दै अहिले हेर्दा १५ लाख सम्मको मात्र काम सम्पन्न भएको बताए ।
यो भवनका विषयमा जनप्रतिनिधिदेखि स्थानीयले विरोध जनाउँदै भ्रष्टचार भएको हुन सक्ने बताएका छन् । यस विषयमा बुझ्न नगरपालिकासँग इस्टिमेट माग्दा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईं कार्यालयभन्दा बाहिर भएकाले अन्य कर्मचारीले दिन आनाकानी गरेका थिए । आमनागरिकले २८ लाखमा कस्तो घर बनाउँथे होला र सरकारले बनाउने निर्माणमा यस्तो फितलो र लाजमर्दाे काम किन भइरहेको छ सबैले बुझ्न जरुरी छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: भवन निर्माणको विषयमा विवाद भएपछि ज्येष्ठ नागरिकले गर्याे पत्रकार सम्मेलन - निष्पक्षखबर