अर्थ
के यसरी नै हुन्छ त सुन्दरहरैँचाकाे विकास ? २८ लाखकाे भवनमा अनियमितता: ज्येष्ठ नागरिक समाज
विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माण भएको ज्येष्ठ नागरिक भवन विवादमा आएको छ । संघीय सरकारबाट प्राप्त रकमको २७ लाख ८५ हजार ८ सय ३७ रुपैयाँमा नगरपालिकाले २०७६ चैत २० गते सावना निर्माण सेवा दुहबी– ५ सुनसरीलाई भवन निर्माणको ठेक्का दिएको थियो ।
४० फिट लम्बाइ र ३२ फिट चौडाइ भएको भवनमा २ ओटा ढोका र ६ ओटा झ्याल रहेका छन् । सो भवन निर्माणका लागि नगरपालिकाका सब इञ्जिनियर अम्बिका गुरागाईले स्टिमेट तयार पारेका थिए । यस विषयमा जनप्रतिनिधिदेखि स्थानीयले उनीमाथि अनुसन्धान गर्नुपर्ने बताए । यसरी निर्माण हुने अन्य क्षेत्रमा पनि अनियमितता भएको हुन सक्ने स्थानीयको आरोप छ ।
बुधबार यो भवनको तस्बीरसहित सरकारका पूर्व सचिव भीम उपाध्यायले २८ लाखको भवन भन्दै सामाजिक सञ्जालमा राखेपछि यसले चर्चा पाएको हो । यसपछि नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल, इञ्जिनियर सुनिल अधिकारी, जनप्रतिनिधि, पत्रकार लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो । यस विषयमा सबैले अनियमितता भएको प्रष्ट देखिने एउटा गतिलो उदाहरण भएको बताएका थिए ।
उता भवनको ठेक्का लिएको सावना निर्माण सेवाका अब्दुल हुसेनले आफूले २०\२१ लाख रुपैयाँबराबरको काम गरेको र थप काम गर्न बाँकी रहेको बताए । २० लाख रुपैयाँ बराबरको के काम गर्नुभयो र बाँकी काम के गर्नुपर्नेछ भनी सोध्दा उनले सो कामको लागि आफूले ६ महिनाको समय थप पाएको र थपिएको समयमा काम पूरा हुने बताए । पेटी लगाउने, झ्याल तथा ढोका राख्ने र सोलारको काम बाँकी रहेको उनले बताए । अब ७\८ लाख रुपैयाँबराबरको काम हुन बाँकी रहेको भन्दै यस विषयमा आफूले थप नबोल्ने उनले फोन सम्पर्कमा बताए ।
लक्ष्मीनारायण मन्दिरको जग्गामा ज्येष्ठ नागरिकको सामुदायिक भवन निर्माण भएको हो । भवनका बारेमा वडा नम्बर ३ का वडाध्यक्ष जीवनप्रसाद ढुंगानाले आफूले निर्माण हुनुभन्दा पहिला बारम्बार उपभोक्ताबाट काम गर्नुपर्ने भन्दै अनुरोध गरेको बताए । त्यस क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले संघीय सरकारबाट प्राप्त बजेट सबै टेन्डर प्रकृयाबाट मात्र हुने बताएपछि यो भवन निर्माण भएको तर के कति लागतमा निर्माण हुुँदैछ भन्ने आफूलाई कुनै जानकारी नभएको बताए । ज्येष्ठ नागरिकको सामुदायिक भवन भनेको विषयमा आफू अनभिज्ञ रहेको उनको भनाइ थियो ।
वडा नम्बर ३ को ज्येष्ठ नागरिक समितिका अध्यक्ष भीमबहादुर कार्कीले यो भवनका विषयमा सबैसँग कुरा उठाएको र कसैबाट सुनुवाइ नभएको बताए । आफूहरुको नाममा आएको बजेटमा चरम भ्रष्टाचार भएको र यो भवन ज्येष्ठ नागरिक समितिका सदस्य कसैसँग पनि समन्वय नगरी निर्माण गरेको उनको भनाइ छ । २८ लाख खर्च भएको भनी लोकले नपत्याउने उनले बताए ।
यो ठाउँकै बदनाम हुने गरी काम गर्ने कर्मचारीबाटै भ्रष्टाचार भएको हुन सक्ने उनको भनाइ थियो । आँखामा छारो हाल्ने गरी इञ्जिनियरले घोटाला गरेको भन्दै यो भवनमा पाइला नटेकेको तर संघीय सांसद लालबाबु पण्डितले अनुगमन गर्ने भन्ने सुन्दा पहिलो पटक मंगलबार भवनमा टेकेको उनले बताए ।
यस विषयमा सांसद पण्डितसँग समेत असन्तुष्टि जनाएको उनले बताए । कतै न कतैबाट अनियमितता भएको हुन सक्ने पण्डितले बताएको उनले बताए । यो भवन सम्पन्न भएपछि ज्येष्ठ नागरिक समितिले जिम्मा लिन्छ भन्ने प्रश्नमा उनले यो भवन कुनै पनि हालतमा जिम्मा नलिने बताए ।
यस विषयमा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले आफू अनुगमन गर्न गएको तर इञ्जिनियरले नाप्ने भएकाले हेर्दा २० लाख सम्ममा निर्माण सम्पन्न हुन सक्ने देखिएको बताइन् । प्राविधिक इस्टिमेट हेर्दा पनि सामान्य नागरिकले पनि यसको विषयमा केही कमजोरी देख्ने उनको भनाइ थियो । प्राविधिकले नापजाँच गर्ने भए पनि हेर्दा त्यत्रो रकम नलाग्ने देखिएको उनले बताइन् । काम भएसम्मको मात्र भुक्तानी नगरले दिने उनको भनाइ छ ।
यस विषयमा नगरपालिकाका इञ्जिनियर सुनिल अधिकारीले यसको मूल्याङ्कन २४ लाखको भएको भन्दै अहिले हेर्दा १५ लाख सम्मको मात्र काम सम्पन्न भएको बताए ।
यो भवनका विषयमा जनप्रतिनिधिदेखि स्थानीयले विरोध जनाउँदै भ्रष्टचार भएको हुन सक्ने बताएका छन् । यस विषयमा बुझ्न नगरपालिकासँग इस्टिमेट माग्दा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईं कार्यालयभन्दा बाहिर भएकाले अन्य कर्मचारीले दिन आनाकानी गरेका थिए । आमनागरिकले २८ लाखमा कस्तो घर बनाउँथे होला र सरकारले बनाउने निर्माणमा यस्तो फितलो र लाजमर्दाे काम किन भइरहेको छ सबैले बुझ्न जरुरी छ ।
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: भवन निर्माणको विषयमा विवाद भएपछि ज्येष्ठ नागरिकले गर्याे पत्रकार सम्मेलन - निष्पक्षखबर