फाइल तस्बिरः
जनकपुरः मिथिला क्षेत्रकै पवित्र मानिने ‘जितिया पर्व’ मिथिलाञ्चल क्षेत्रमा शुरु भएको छ । यसको व्रत बस्न पवित्रताको आवश्यकता पर्दछ ।
महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
पर्वको दोस्रो दिन उपवास बसिन्छ भने तेस्रो दिन बिहान व्रत सम्पन्न हुने गर्छ । व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले कथा भन्ने र तन्नेरीले सुन्ने चलन छ ।
उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न नपाउने मान्यता छ ।
व्रत बस्नु अघिल्लो दिन नै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । दोस्रो दिन काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरुले ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ ।
प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको बताइन्छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । यस पर्वलाई खड् जितिया पनि भनिन्छ ।
व्रतको बारेमा एउटा किंवदन्ती छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकी हुन् भन्ने विश्वास गरिन्छ ।
You must be logged in to post a comment Login