Connect with us
Advertisement

कोरोनाको संकटले बढ्यो आत्महत्याको जोखिम

Published

on

आत्महत्या विश्वव्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस विषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आइएको छ । यस वर्ष यो दिवसको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ रहेको छ ।

यो वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समचार हिजोआज आइरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।

नेपालमा पनि आत्महत्या पहिलेदेखि नै जनस्वास्थ्यको एउटा ठूलो समस्या र चुनौतीका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८\१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कुल संख्या ६ हजार २ सय ७९ जना रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन । अघिल्लो आर्थिक वर्षमा ५ हजार ७ सय ५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।

प्रकृतिक विपत्ति पर्दा, रोगव्याधि फैलिँदाजस्ता असहज र जोखिमपूर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ ।

त्यसैले आत्महत्या लकडाउनपछिको मात्र समस्या हो, लकडाउनपछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाइ सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउनपछिको तुलना गर्ने हो भने खासै फरक देखिँदैन । तर बढ्दै जाने संकेतहरु भने देखा पर्न थालेका छन् । बालबालिकामा भने यो बीचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ । जुन दुखद हो । आत्महत्या एकदमै संवेदनशील विषय हो ।

आत्महत्याको समाचारलाई अतिरन्जित र सनसनीपूर्ण बनाउनु हँुदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्याउँछ । डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढ्छ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् । आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो विश्वकै साझा समस्या हो।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा २५ व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीर रूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष विश्वमा सरदर ८\१० लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारीलगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गर्छन् । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । ‘मर्ने कसैको रहर हुँदैन…’ तर किन कोही व्यक्ति आत्महत्या गरेर आफ्नो जीवन आफैँ समाप्त पार्न खोज्छन् ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नुबाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । ऊ चरम निराशामा डुबेको हुन सक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्याधिक जाँड, रक्सी, लागूपदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।

व्यक्तिले आत्महत्या आफ्नो व्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ । धेरै जस्तो केसमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

जसरी कुनैकुनै शारीरिक रोगमा केही व्यक्तिहरु उच्च जोखिममा हुन्छन् । त्यसैगरी केही व्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केही उच्च जोखिममा हुन सक्छन् । जस्तो मानसिक रोग, डिप्रेसनमा रहेको, कुनै दुखद घटनाले धेरै प्रभावित, पटकपटक आत्महत्याको प्रयास गरेको, तनावपूर्ण पेशामा भएकाहरु, पारिवारिक झैझगडा, आर्थिक संकट भएका, बेरोजगार, लागू पदार्थको कुलतमा फसेका आदि ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्छ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पूर्वजन्मको पाप र अपराध ठान्छ । देवीदेवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानीमरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्च्याउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाइ, धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

‘हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ,
त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ…’

सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझैँ दुःख र निराशाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउन सक्छ । त्यो थोरै समयमा आफूले गरेको धैर्य र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईंले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ, मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुवाँलो लागेकोजस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो फाट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नाश भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसँगी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

(ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् । कसैलाई कुनै किसिमको मानसिक समस्या, आत्महत्याको सोच वा प्रयासजस्ता समस्या भएमा ती समस्या समाधानका लागि ९८१३५२७७३२ मा फोन गरी परामर्श लिन सकिन्छ ।)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading

Banner

सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो

Published

on

एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Continue Reading

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक