विचार
कोरोनाको संकटले बढ्यो आत्महत्याको जोखिम
आत्महत्या विश्वव्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस विषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आइएको छ । यस वर्ष यो दिवसको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ रहेको छ ।
यो वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समचार हिजोआज आइरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।
नेपालमा पनि आत्महत्या पहिलेदेखि नै जनस्वास्थ्यको एउटा ठूलो समस्या र चुनौतीका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८\१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कुल संख्या ६ हजार २ सय ७९ जना रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन । अघिल्लो आर्थिक वर्षमा ५ हजार ७ सय ५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।
प्रकृतिक विपत्ति पर्दा, रोगव्याधि फैलिँदाजस्ता असहज र जोखिमपूर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ ।
त्यसैले आत्महत्या लकडाउनपछिको मात्र समस्या हो, लकडाउनपछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाइ सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउनपछिको तुलना गर्ने हो भने खासै फरक देखिँदैन । तर बढ्दै जाने संकेतहरु भने देखा पर्न थालेका छन् । बालबालिकामा भने यो बीचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ । जुन दुखद हो । आत्महत्या एकदमै संवेदनशील विषय हो ।
आत्महत्याको समाचारलाई अतिरन्जित र सनसनीपूर्ण बनाउनु हँुदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्याउँछ । डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढ्छ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् । आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो विश्वकै साझा समस्या हो।
विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा २५ व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीर रूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष विश्वमा सरदर ८\१० लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् ।
यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारीलगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गर्छन् । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।
प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । ‘मर्ने कसैको रहर हुँदैन…’ तर किन कोही व्यक्ति आत्महत्या गरेर आफ्नो जीवन आफैँ समाप्त पार्न खोज्छन् ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नुबाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । ऊ चरम निराशामा डुबेको हुन सक्छ ।
आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्याधिक जाँड, रक्सी, लागूपदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।
व्यक्तिले आत्महत्या आफ्नो व्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ । धेरै जस्तो केसमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।
जसरी कुनैकुनै शारीरिक रोगमा केही व्यक्तिहरु उच्च जोखिममा हुन्छन् । त्यसैगरी केही व्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केही उच्च जोखिममा हुन सक्छन् । जस्तो मानसिक रोग, डिप्रेसनमा रहेको, कुनै दुखद घटनाले धेरै प्रभावित, पटकपटक आत्महत्याको प्रयास गरेको, तनावपूर्ण पेशामा भएकाहरु, पारिवारिक झैझगडा, आर्थिक संकट भएका, बेरोजगार, लागू पदार्थको कुलतमा फसेका आदि ।
मानसिक रोग जोसुकैलाई लाग्न सक्छ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पूर्वजन्मको पाप र अपराध ठान्छ । देवीदेवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानीमरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्च्याउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाइ, धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।
‘हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ,
त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ…’
सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझैँ दुःख र निराशाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउन सक्छ । त्यो थोरै समयमा आफूले गरेको धैर्य र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईंले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ, मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुवाँलो लागेकोजस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो फाट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नाश भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।
आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसँगी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।
(ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् । कसैलाई कुनै किसिमको मानसिक समस्या, आत्महत्याको सोच वा प्रयासजस्ता समस्या भएमा ती समस्या समाधानका लागि ९८१३५२७७३२ मा फोन गरी परामर्श लिन सकिन्छ ।)
Facebook Comment
Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Banner
क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग
सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच रु १०१,४६० (एक लाख एक हजार चार सय साठी रुपैयाँ) उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।
सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login