Connect with us
Advertisement

सरकारले ‘सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर’ भन्यो भन्नु हल्ला मात्रै: प्रधानमन्त्री

Published

on

विराटचोकः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सक्ने नागरिक आफैँ बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नु हल्ला मात्रै भएको बताएका छन् ।

कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने उनको दाबी छ । दशैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दशैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । टीका जमरा ग्रहण गर्ने क्रममा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न उनले आग्रह गरेका छन् । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नु हल्ला मात्र भएको बताए । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरेको भन्दै उनले भने, ‘सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ ।’
प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।

यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं । महाविनाशकारी भूँइचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसेर भएपनि यस परम्परालाई धान्यौं ।

पारिवारिक मिलनको चाडका रुपमा बर्षमा एकचोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरु मनायौं ।

यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं । पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घूलमिल हुने अवस्थामा छैनौं । सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौं ।

अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।

दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ ।

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।

सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् । गत बर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ । तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः फाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।

मैले भन्दै आएको छु, महामारी बिरुद्धको यस लडाईंमा हामी प्रत्येक सिपाही हौं । हामी हरेकको यस लडाईंमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा, अनि समुदाय र आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक छ । यसो भनिरहँदा, सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरुको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ । सँगसँगै स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय छ ।

कठीन घडीमा नै परिवार, नातागोता, छरछिमेकी र जनप्रतिनिधिहरुको सहयोगको महत्व हुन्छ । पीडाका घाउमा पारस्परिक सहयोग र एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ । आफैं संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ । संक्रमित विरामीहरु संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने र उपचार नपाउनेजस्तो स्थिति हुनुहुँदैन । अत्यन्त सावधानी र आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले विरामीहरुको मनोबल उच्च पार्न र छिटो निको बनाउन मद्दत पु¥याउँछ ।

यस महामारी विरुद्धको हाम्रो लडाईं राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित छैन र हुनुहुँदैन । कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन । फेरि पनि म दोहर्‍याएर स्पष्ट पार्न चाहन्छु, यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरुबाट विमुख हुनसक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु ।

यस्तो बेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि र औषधिहरु, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरुको परामर्शमा मात्रै नियमको पालना र औषधिहरु सेवन गर्नु उचित हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी छ ।

कोभिड–१९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आ–आफ्नो मोर्चामा हरेक खतरा र कठिनाई व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरु निरन्तर क्रियाशील हुनुहुन्छ । अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गर्दछु ।

यसपालीको बडा दशैं मनाइरहँदा म कोभिड–१९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दु:ख र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमणबाट विरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस महामारीको संक्रमणबाट आपूm जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो ।

त्यसैले, यसपालीको बडादशैं, हामी जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु ।

संक्रमणको संभावित खतरालाई ध्यानमा राखी मैले पनि यसपाली प्रधानमन्त्री निवासमा हुने ‘बडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु ।

दिदीबहिनी तथा दाजुभाइहरु,

जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ ।

अनुशासन, उच्च मनोवल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

बडादशैं २०७७ को सबैमा हार्दिक शुभकामना !

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading

Banner

होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।

इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।

दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।

आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।

उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।

चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।

दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक