विचार
चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउँछ
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहनलगायतका प्राय सबै क्षेत्रमा परेको छ ।
कोरोना संक्रमणका कारण यस वर्ष दशैंलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्था छैन ।
तर जस्तोसुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुँदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यस वर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दूरी कायम गरेर सुरक्षाका उपायहरु अपनाउँदै जोजो जहाँ छन् त्यहीँबाट दशैं मनाउनु नै उत्तम हुन्छ ।
दशंैको सबैभन्दा महत्त्वपूर्ण पक्ष आशीर्वाद लिने दिने र शुभकामनाको आदानप्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटघाट हुन नसके पनि वैकल्पिक रुपमा फोन वा सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।
चाडपर्वको धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व हुन्छ । दशैं, तिहारजस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाति र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ । साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।
किंवदन्तीअनुसार पनि दशैं असत्यमाथि सत्यको जीतको उत्सवका रुपमा मनाइन्छ । विजयको उत्सवले आत्मबल, आत्मविश्वास, जोश, जाँगर, हौसला बढाउने तथा नैराश्यतालाई हटाउने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तबरबाट स्वस्थ हुनु हो । दशैंजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वस्थ रहनका लागि मद्दत पुर्याइरहेका हुन्छन् ।
दशैं यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैं । चाडपर्वमा प्रायः सबैले सधंैको भन्दा फरक मीठो, मसिनो र पोसिलो खानेकुरा खाने गर्दछन् । दशैंमा विशेष रूपमा खाइने दही, चिउरा, घिउ, फलफूल, मिठाई, माछामासुजस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छ जसले शारीरिक रूपमा स्वस्थ रहन मद्दत पुर्याउँछ । दशैंमा पिङ खेल्दा शारीरिक व्यायाम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ । पिङ खेल्दा मनोरञ्जन पनि भइरहेको हुन्छ ।
दशैंको बेला ठूलाले सानालाई टीका लगाएर दिइने आशीर्वाद र एकअर्कामा गरिने शुभकामनाको आदानप्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्छ र सकरात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धनमा मद्दत गर्दछ ।
कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको सञ्चार हुनु अति आवश्यक छ ।
दशैंको रमझमले खुशीयाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैं कहिले आउला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन् । दशैंको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ बनाउँछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैं । विदेशिएका धेरै नेपालीहरू दशैंको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरु दशैंमा पनि घर फर्कन पाएनन् ।
नातिनातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैंले बढ्दै गएको पुस्तान्तरलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ ।
दशैंको बेला विभिन्न शक्तिपीठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सबल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।
मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोवैज्ञानिक पक्षलाई बुझी यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्वीकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।
दशैं नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बू, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टीका र जमरा लगाउने चलन संसारमा अन्यत्र पाइँदैन । दशंैमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ । तर चामलको टीका लगाउनु अन्नको सम्मान गर्नु हो । यसको महत्वलाई बुुझ्नु हो । यसले नेपाल कृषिप्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ ।
दशैंमा लगाइने रातो रङमिश्रित चामलको टीकाले मानिसमा ऊर्जा, जोश, जाँगर, उत्साह, साहस बढाउँछ । रातो रङ शक्ति, उत्साह, सौभाग्य र विजयको प्रतीक हो ।
दशैंमा टीकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैंमा जमरा लगाउनुको अर्थ जमराको औषधीय गुण र महत्वलाई झल्काउने प्रतीकको रूपमा लिनु पर्छ । दशैंमा टीका लगाएर दक्षिणा दिनु पनि आफैँमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋणसमेत लाग्न सक्ने हुँदा सक्नेले गच्छेअनुसार टीका लगाएर पैसा दिँदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।
यस वर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहसनहस भएको छ । धेरैको आर्थिक अवस्था कमजोर भएको छ ।
‘घाँटी हेरी हाड निल्नुपर्दछ’ भन्ने मान्यताअनुरुप आफ्नो गच्छेअनुसार बिना तडकभडक चाडपर्व मनाउनुपर्छ ।
‘दशैँ आयो, खाउँलापिउँला, के खाउँला, चोरी ल्याउँला’ अर्थात् जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनैपर्छ भन्ने सोचले दशैंलाई बोझिलो र तनावपूर्ण बनाउनु हँुदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन, आफूलाई उत्साहित गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनुपर्दछ । साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्नेजस्ता नकारात्मक पाटोलाई हटाउनु पर्छ ।
दशैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो । तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन् । मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहनाबाहेक अरु केही होइन बली प्रथा । यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैँले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन् । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिडचिडाहट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।
शाकाहारी व्यक्तिहरूलाई दशैंको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउँछ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुःखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमीकमजोरी, खराब आचरण, आसुरी र दुर्बल पक्षहरू, पाशविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो ।
दशंैमा विशेष गरी शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पूजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि अर्थपूर्ण र महत्वपूर्ण रहेको छ ।
(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login