काठमाडौंः धादिङको धार्के गाउँपालिकामा मानसिक स्वास्थ्यसम्बन्धी १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमण र लामो समयको लकडाउनले जनजीवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्या देखिएको हुनाले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
मनोरोग उपचार तथा पुनःस्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गरेका थिए । शिविरबाट एक सयभन्दा बढीले सेवा लिएको ढकालले बताए ।
शिविरमा आएकाहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । शिविरमा आएकामध्ये ३ जनामा कडा खालको मानसिक स्वास्थ्य समस्या देखिएकाले उनीहरुलाई आवासीय उपचारको प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालिकाभित्र रहेका र मानसिक रोगको औषधी सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्ने बताइन् ।
धार्के गाउँपालिकाले स्थानीय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका तयार पारी मानसिक स्वास्थ्यका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले सबै वडाहरुमा एक– एक जना मनोपरामर्शदाताको पनि व्यवस्था गरेको छ ।
You must be logged in to post a comment Login