विराटचोकः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नम्बर १ को मोरङसहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावितको जिल्लाको सूचीमा राखेको छ । काठमाडौ उपत्यकाका ३ वटै जिल्ला अति प्रभावितको सूचीमा परेका छन् ।
नेपाल सरकार (सचिवस्तर) को बिहीबारको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ, ललितपुर, भक्तपुर, मोरङ, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, दाङ, सुर्खेत, बारा र बागलुङलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रद्वारा जारी जरुरी अपिलमा यी जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भए पनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभइदिन अनुरोध गरेको छ ।
यसैगरी सबै अस्पतालहरुले अनिवार्य रुपमा ‘फिभर क्लिनिक’ सञ्चालन गर्न तथा कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन तथा परीक्षणको व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।
कोभिड–१९ को संक्रमणबाट जोगिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न र गराउन भूमिका खेलिदिन तथा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन पनि मन्त्रालयले आम नागरिकमा अनुरोध गरेको छ ।
You must be logged in to post a comment Login