Connect with us
Advertisement

सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजाय

Published

on

सुरज कुमार र उनकी पत्नी उत्तरा

श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ ।

मानिस अपराधको यो हद पार गर्न सक्छ भनेर पत्याउनु हुन्छ ? नपत्याइ सुखै छैन । कुनै फिल्मको बनावटी कथाजस्तै लाग्ने यो सत्य घटना हाम्रै छिमेकी मुलुक भारतको हो ।

सर्पलाई हतियारको रुपमा प्रयोग गरेर तेस्रो प्रयासमा श्रीमतीको हत्या गर्न सफल भएको अपराधको यो दुर्लभ शैली भारत केरलाका सुरज कुमारले अपनाएका हुन् । उनलाई अदालतले आजीवन काराबासको सजायँ सुनाएको छ ।

यसरी गरे हत्या

सुरज कुमारले विश्वकै विषालुमध्येको एक गोमन सर्प ७ हजार भारुमा खरिद गरेका थिए । भारतमा सर्पको व्यापार अवैध छ । त्यसैले सुरजले दक्षिणी राज्य केरलाका सपेरा सुरेश कुमारसँग गोप्य रुपमा पाँच फिट लामो गोमन सर्प खरिद गरेका थिए । उनले प्लास्टिकको एउटा भाँडोमा राखे । भाँडोभित्र सर्प नमरोस् भनेर उनले हावा छिर्ने सानो प्वाल पनि बनाएका थिए । सर्प बोकेर उनी ४४ किलोमिटरको टाढा रहेको आफ्नो ससुराली गए ।

सर्पलाई राखिएको भाँडोको अनुसन्धान गर्दै एक अनुसन्धान अधिकृत

त्यहाँ उनकी पत्नी उत्तरा पहिलेदेखि थिइन् । उत्तरा सर्पले डसेको उपचारको सिलसिलामा माइतीमा थिइन् । सर्पले पहिलोपटक डसेपछि उनी उपचारको लागि ५२ दिनसम्म अस्पताल बसेकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइत गएकी थिइन् । सुरुमा उनलाई रसेल वाइपर नामक विषालु सर्पले डसेको थियो । त्यसको उपचारका लागि उनको खुट्टामा तीन पटक अपरेशन गर्नु परेको थियो ।

गत मे ६ तारिखको दिन राति सुरजले श्रीमती उत्तरालाई एक गिलास जुस खान दिए । त्यो जुसमा उनले बेहोस हुने औषधि मिसाएका थिए । उत्तरा बेहोस् भएपछि उनले गोमन सर्पलाई झोलाबाट निकाले र श्रीमतीको शरीरमाथि खसालिदिए । तर सर्पले उत्तरालाई डसेन । सुरजले भाग्न खोजेको त्यो सर्पलाई फेरि समातेर श्रीमतीतिर फ्याँके । यसपटक पनि सर्पले डसेन ।

सुरजले तेस्रो पटक प्रयास गरे । यसपटक भने उनले सर्पको गर्धनमा समातेर उत्तराको वायाँ हाततर्फ लगे । रिसाएको त्यो गोमन सर्पले यसपटक भने उत्तरालाई डस्यो । त्यसपछि उनले त्यो सर्पलाई त्यही भाँडोभित्र बन्द गरेर राखे । जुस पिलाएको भाँडो सफा गरे, सर्पलाई चलाउन प्रयोग गरेको लठ्ठी नष्ट गरे, आफ्नो मोबाइलको कल रेकर्ड डिलिट गरे अनि श्रीमती सुतेकै कोठामा सुते ।

अर्को दिन बिहानपख उत्तराकी आमा कोठाभित्र आउँदा उत्तरा ओछ्यानमा सुतिरहेकी थिइन् । उत्तराको मुख खुल्लै थियो र बायाँ हात एकातर्फ झुण्डिरहेको थियो । परिवारका सदस्यहरुले उत्तरालाई अस्पताल पुर्याए । तर डाक्टरहरुले उनको मृत्यु भइसकेको घोषणा गरे ।

उत्तराको मृत्यु भएको कोठा

पोष्टमार्टम रिपोर्टबाट पत्ता लाग्यो कि उत्तराको मृत्यु विषको कारण भएको छ । अस्पतालले प्रहरीलाई फोन गरेर जानकारी दियो । त्यसपछि थप अनुसन्धानको क्रममा उत्तराको मृत्युको कारण सर्पको विष र बेहोस बनाउने औषधि भएको पत्ता लाग्यो ।

उत्तराका आमा–बुवाले मृत्यु असामान्य भएको भन्दै अनुसन्धानका लागि प्रहरीमा निवेदन दिए । प्रहरीले सोधपुछका लागि उनकै श्रीमान सुरजलाई पक्राउ गर्यो । ७८ दिन लामो अनुसन्धानबाट पत्ता लाग्यो कि सुरजले नै आफ्नी श्रीमतीलाई सर्पले डसाएर हत्या गरेका हुन् ।

हत्याको योजना

सुरज र उत्तराबीच एक मेट्रोमोनियल ब्रोकरमार्फत चिनजान भएको थियो । सुरजका बुवा अटो रिक्सा चालक थिए र आमा गृहिणी थिइन् । उत्तरा सुरजभन्दा तीन वर्ष कान्छी थिइन् । उनी नयाँ कुरा सिक्न गाह्रो हुने ‘लर्निङ डिसएबिलिटी’बाट पीडित थिइन् ।

उत्तरा सम्पन्न परिवारकी थिइन् । उनका बुवा रबरको ब्यापारी थिए र आमा स्कुलको प्रिन्सिपलबाट सेवा निवृत्त भएकी थिइन् ।

सुरज र उत्तराबीच बिहे हुँदा सुरजले ७६८ ग्राम सुन, एक सुजुकी सेडान कार र चार लाख भारु नगद दाइजोस्वरुप लिएका थिए । त्यसबाहेक पनि उत्तराको हेरचाहका लागि भनेर उनका आमा–बुवाले हरेक महिना आठ हजार भारु अतिरिक्त दिंदै आएका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले एक वर्ष अगाडिदेखि नै श्रीमतीको हत्या गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार चार महिनाको अवधिमा श्रीमतीको हत्या गर्न तीन पटक कोसिस गरेका थिए ।

प्रहरी नियन्त्रणमा सुरज कुमार

स्थानीय एक बैंकमा कलेक्सन एजेण्टको रुपमा काम गर्दै आएका सुरजको चिनजान गत वर्ष फेब्रुअरी महिनामा सर्प पक्रने काम गर्दै आएका सुरेशसँग भएको थियो । तीनै सुरेशसँग सुरजले पहिलो पटक रसेल वाइपर नामको सर्प १० हजार रुपैयाँ भारुमा किनेका थिए । उनले त्यो सर्पलाई एउटा भाँडोमा राखेर आफ्नो घरको दाउराको रासमुनि लुकाएर राखे ।

२७ फेब्रुअरीको दिन उनले घरको पहिलो तलामा त्यो सर्पलाई छाडिदिए र श्रीमती उत्तरालाई पहिलो तल्लामा गएर आफ्नो मोबाइल फोन ल्याइदिन भने । उत्तरा मोबाइल फोन लिन गएको बेला फर्समा सर्पलाई देखिन् । त्यसपछि उनी डराएर चिच्याइन् । श्रीमती कराएको सुनेर सुरज श्रीमती भएको ठाउँमा गए र सर्पलाई घरबाट बाहिर निकाले ।

२ मार्चको राति सुरजले फेरि कोसिस गरे । यसपटक उनले श्रीमती सुत्ने समयमा त्यही सर्पलाई बेडरुममा ल्याएर छाडिदिए । यस पटक त्यो सर्पले उत्तराको खुट्टामा डस्यो । उत्तरा चिच्याइन् । सुरजले त्यो सर्पलाई झ्यालबाट बाहिर फ्याँके ।

उत्तराका बुवा विजयसेनन विद्यधरन भन्छन्, ‘केरलामा सर्पले डस्नु सामान्य जस्तै भइसकेको छ । त्यसैले पहिलो पटक हामीले केही गडबडी छ कि भनेर आशंका गरेनौं ।’ भारतमा हरेक वर्ष ६० हजार जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको तथ्यांक छ ।

अनुसन्धानको क्रममा सुरजले आफ्ना साथीहरुसँग उनकी श्रीमतीलाई नागले सपनामा श्राप दिएकाले उनको मृत्यु सर्पको डसाइबाट नै हुनेवाला छ भनेर भनेको पत्ता लागेको छ

उत्तराको उपचारका लागि आईसीयू बेड भएको अस्पताल पत्ता लगाउन राति दुई घण्टाभन्दा बढी समय लाग्यो । उत्तरालाई शरीर सुन्निने र रक्तस्राब हुने समस्या थियो । तीन पटकसम्म अपरेशन गरेर स्वास्थ्यका सुधार भएपछि उनी आराम गर्न कोल्लमस्थित आफ्नो माइतमा आएकी थिइन् ।

सुरज भने छोरा र आमा–बुवासँग पथानमथिट्टा भन्ने ठाउँको आफ्नो घरमा थिए । उनी घरमै बसेर एकपटक फेरि श्रीमतीको हत्याको योजना बनाउन थाले ।

हत्याको योजनामा इन्टरनेटको सहारा

एकजना अनुसन्धान अधिकृत अनुप कृष्ण भन्छन्, ‘जब उनकी पत्नी अस्पतालमा थिइन्, सुरज भने विषालु सर्प पत्ता लगाउन इन्टरनेटमा खोजी गरिरहेका थिए ।’

सुरजले सन् २०१९ मा छोरो ध्रुव जन्मिएपछि नै श्रीमतीको हत्याको योजना बनाएका थिए । उनको इन्टरनेट हिस्ट्रीबाट थाहा हुन्छ कि उनले विषालु सर्पका बारेमा खोजी गरेका थिए र युट्युबमा सर्पका भिडियोहरु हेरेका थिए, जसमा रसेल वाइपर सर्प कति खतरनाक हुन्छ भन्ने भिडियो पनि थियो ।

अनुसन्धानको क्रममा सुरजले आफ्ना साथीहरुसँग उनकी श्रीमतीलाई नागले सपनामा श्राप दिएकाले उनको मृत्यु सर्पको डसाइबाट नै हुनेवाला छ भनेर भनेको पत्ता लागेको छ ।

अनुसन्धान अधिकृतका अनुसार सुरजले आफ्नी श्रीमतीलाई मारेर, उसको धन सम्पत्ती आफ्नो बनाएर अर्कै महिलासँग बिहे गर्न चाहन्थे ।

प्रहरीका प्रमुख अनुसन्धान अधिकृत अपुकुट्टन अशोकले भनेका छन्, सुरजले श्रीमतीको हत्या गर्न सावधानीपूर्वक योजना बनाए र तेस्रो प्रयासमा सफल भए ।

उत्तरालाई सर्पबाट दुईपटक डसाइएको थियो

अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले श्रीमतीको हत्याका लागि एउटा मात्र होइन, दुईवटा सर्प किनेका थिए । सुरजले गोमन सर्प किन्नु अगाडि रसेल वाइपर सर्प पनि किनेका थिए । जसले केही महिना अगाडि मात्र उत्तरालाई डसेको थियो ।

सर्प पक्रनेवाला सुरेशले पनि सुरजलाई दुईवटा सर्प बेचेको प्रहरीसमक्ष स्वीकारी बयान दिएका छन् ।

अभियोजन पक्षले सुरजको कल रेकर्ड, इन्टरनेट हिस्ट्री, घरको पछाडि फेला परेको मृत गोमन सर्प, परिवारको कारमा भेटिएको नशालु पदार्थ जस्ता प्रमाणहरु जुटाएर मुद्दा दायर गरेको थियो ।

अदालतसमक्षम पशु चिकित्सक र डाक्टरहरुसहित ९० भन्दा बढी व्यक्तिहरुले वयान दिएका थिए । साथै गोमन सर्प, सपेरा र मान्छेको डमी प्रयोग गरेर यो घटनाक्रमलाई रिक्रिएट गरिएको थियो ।

एक पशु चिकित्सक मविश कुमारले अदालतसमक्ष भनेका छन्– गोमन सर्प घरको झ्यालबाट कोठाभित्र गएर दम्पत्तीको सुत्ने कोठासम्म पुग्ने सम्भावना निकै कम हुन्छ । रातिको बेला गोमन सर्प धेरै सक्रिय हुँदैन । हरेक पटक हामीले त्यो सर्पलाई डमीमाथि खसाउँदा त्यो चिप्लिएर खस्थ्यो र कोठाको अँध्यारो ठाउँमा गएर लुक्थ्यो । हामीले गोमनलाई उक्साउँदासमेत त्यसले डस्ने कोसिस गरेन । त्यसपछि डाक्टरले गोमनको गर्धन समातेर प्लास्टिकले बाँधिएको कुखुराको मासुको एक टुक्रामा डसाउने खोजेपछि मात्र डस्यो । मासुमा डसेको दुरी र सुरजकी पत्नी उत्तराको वायाँ हातमा सर्पले डसेको दुरी समान जस्तै थियो ।

न्यायाधीश एम मनोजले सुरजलाई जन्मकैदको सजायँ सुनाउँदै भनेका छन्, ‘यो जघन्य हत्याको मामिला हो । सुरजले उत्तराको हत्या गर्ने योजना बनाए र उनलाई एक गोमन सर्पले डसेर मृत्यु भएकोजस्तो देखाउन खोजे ।’ – अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक