विराटचोकः आज शेयर बजार सूचक नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० बिन्दुमा बन्द भएको छ । योसँगै नेप्से यस वर्षकै सबैभन्दा न्यून बिन्दुमा अडिएको छ । २०७७ चैत २५ गते नेप्से २५०६.६२ बिन्दुमा अडिएको थियो । त्यसपछि बढेको नेप्से गत कात्तिक ४ गते २५१०.७३ बिन्दुमा अडिएर यस आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको थियो । आज सो बिन्दुभन्दा पनि तल नेप्से ओर्लिएको हो ।
आज सेन्सेटिभ इण्डेक्स ६.८५ अंक घटेको छ । आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिनको तुलनामा हिजो बढेको बजारमा साढे ४ अर्बको शेयर किनबेच भएको थियो । आज भने ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको छ । आज २ सय ३१ कम्पनीको ४९ हजार ७ सय ४१ पटकको कारोबारमा ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका थिए ।
व्यापार र सामुहिक लगानी कोषको सूचक समान ०.८२ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत घटेको छ । बोनस पाउनको लागि आज अन्तिम दिन भएको प्राइम कमर्सियल बैंकको आज सबैभन्दा धेरै कारोबार भएको छ । सो बैंकको १२ करोड ३६ लाख ४७ हजार ८ रुपैयाँको शेयर किनबेच भएको छ । महालक्ष्मी विकास बैंक र आइसीएफसी फाइनान्सको ११ करोडभन्दा बढीको र अपि पावरको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज मूल्य बढ्ने शीर्ष १० कम्पनीमध्ये ७ वटा सामुहिक लगानी कोषका कम्पनीहरु छन् ।
आईसीएफसी फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६५ प्रतिशत घटेको छ । कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ६७ हजार ८ सय ७२ रुपैयाँ कायम भएको छ ।
You must be logged in to post a comment Login