विराटचोकः पूर्वकै चर्चित सुकुना बहुमुखी क्याम्पसले एक समारोहका बीच क्याम्पसमा अध्ययनरत १ सय ३ जना विद्यार्थीलाई ८ लाख ५३ हजार ३ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । क्याम्पस परिषद्को पन्ध्रौ बैठकको अवसर पारी शुक्रबार उनीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।

विभिन्न सङ्घ÷संस्था तथा दाताबाट स्थापना गरिएको, अक्षयकोषको ब्याज र क्याम्पसको आन्तिरक स्रोत समेतबाट कक्षा ११ र १२ तथा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल रहेका थिए । सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु सभापति सन्तोष लिम्बूले छात्रवृत्ति वितरणमा प्राप्ताङ्कलाई मात्रै प्राथमिकता दिँदा गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुने गरेको बताए । सो प्राविधिक त्रुटिलाई हटाउने प्रयासस्वरुप गरीब तथा जेहेन्दार विद्यार्थीलाई चाँडै नै छात्रवृत्ति वितरण गरिने बताए ।
अक्षयकोष दाताको तर्फबाट बोल्दै पूर्व क्याम्पस प्रमुख रामप्रसाद काफ्लेले जेहेनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भनेर वितरण गरिएको छात्रवृत्ति निष्पक्ष ढङ्गले वितरण भएमा विद्यार्थी पढाइप्रति थप उत्साहित हुने बताए । अक्षयकोष दाता व्यक्ति तथा विभिन्न संघसंस्थाले गरेको यो सह्रानीय कामको अनुशरण हुन सकेमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई थप सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनमा अक्षयकोष दाताको मुख्य भूमिका रहेको बताए । ४ वर्षमा ३० देखि १ सय २० प्रतिशतसम्म विद्यार्थीको सङ्ख्या बढ्नुमा छात्रवृत्तिका साथै अध्यापन शैलीमा आएको परिवर्तन भएको उनको भनाइ थियो । प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँदै उनले इञ्जिनियरिङ विषय अध्यापनका लागि सम्बन्धन प्राप्त गर्न सके नगरवासीले प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने परिस्थितिको अन्त्य हुने बताए ।
कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले स्मार्ट कक्षा सञ्चालनको लागि पहल भइरहेको बताए ।
छात्रवृत्ति वितरण समारोहका तस्बिरहरुका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
https://www.facebook.com/NispakshyaKhabarDotCom/photos/pcb.665197584924725/665196174924866/


You must be logged in to post a comment Login