कला / साहित्य
जनसांस्कृतिक महासंघलगायतले गरे प्रकाश सपूतको नयाँ गीत ‘पीर’ युट्युबबाट हटाउन माग
विराटचोकः नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन नेपाल जनसांस्कृतिक महासंघलगायतका ४ सङ्गठनले प्रकाश सपूतको नयाँ गीत ‘पीर’ युट्युबबाट हटाउन माग गरेका छन् ।
जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गरी सो गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको उल्लेख गरिएको छ ।
संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासंगिक दृश्य र संवाद राखेर चर्चामा आउने बदनियत राखेको उनीहरुको आरोप छ । यो भिडियो तत्काल युट्यूब च्यानलबाट हटाउन र सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्न माग गरेका छन् ।

यस्तो छ संयुक्त प्रेस विज्ञप्ति
२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्यूव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्यूव च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।
दश बर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको छ । भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साँधिएको छ । महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ । यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ। उनले विगतमा बजारमा ल्याएका अन्य म्यूजिक भिडियोहरुका कारण पटक पटक विवादित हुँदै आएका थिए । पछिल्लो भिडियोमा पनि उनले समाजको संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासांगिक दृश्य र संवाद राखेर आफु चर्चामा आउने वदनियत राखेका छन् ।
जनयुद्ध र जनआन्दोलनमा जीवनको वलिदानीलाई गौरव ठान्ने योद्धाहरु आज राष्ट्र, राष्ट्रियता र संविधानको रक्षा गर्ने महत्वपूर्ण अंगहरुको नेतृत्व गरिरहेका छन्। साथै उत्पादनसँगको संघर्षमा पनि सामुहिक रुपले आफ्नो जीवनयापनको निम्ति श्रमरत छन्। भलै हिजो उठाइएका कतिपय मुद्दाहरुमा सम्बोधन अपुग भएको छ तर जनयोद्धाहरुलाई जीविकाको कारण देखाई देह व्यापारमा लागेको देखाउनु निकै भ्रामक र दुराशयपूर्ण छ। सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मुलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण छ ।
सामन्तवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुका साथै वर्गीय, जातीय, लिङ्गीय एवं क्षेत्रीय उत्पीडन एवं सबैखाले विभेदको अन्त्य गर्न जनयुद्धको महत्वपूर्ण देन रहेको छ। हिजो जनताको न्यायपूर्ण विद्रोहलाई दवाएर सामन्तवादको रक्षामा तल्लीन प्रतिक्रियावादी राजनैतिक शक्तिहरु आजको संघीय लोकतान्त्रिक गणतन्त्रको हिमायती बन्न खोजेका छन्। उनीहरुको समेत उपहास हुने गरी निर्माण गरिएको म्यूजिक भिडियो प्रकाश सपुतको मात्र सिर्जना मान्न सकिदैन। यसको पृष्ठभूमिमा प्रतिगामी तत्वहरुले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ । भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश बर्षे जनयुद्धमा होमिएका महिलालाई देह व्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु÷जोड्नु अत्यन्तै दुःखद र आपत्तिजनक छ। यसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं। साथै उक्त म्यूजिक भिडियो युट्यूव च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौं ।
Facebook Comment
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login