स्थानीय तह
जनप्रतिनिधिज्यूहरूलाई बधाई, शुभकामना र सल्लाह
एनपी भण्डारी
२०७९ सालको स्थानीय तहको चुनावको अन्तिम मत परिणाम आइसकेको छ । नयाँ जोश र जाँगरसहित जनप्रतिनिधिहरू गाउँपालिका र नगरपालिका भवनका कोठाहरूमा प्रवेश गर्दै हुनुहुन्छ । सर्वप्रथम नव निर्वाचित पालिका प्रमुख, उपप्रमुख लगायत सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई तथा पाँच वर्षे कार्यकालको धेरै धेरै शुभकामना ।
यो समय शुभकामना र बधाई बटुल्ने समय पनि होला । बधाई र शुभकामनाको थाम्नै नसक्ने गरी ओईरो लागिरहेको होला । तपाईं व्यस्त हुनुहुन्छ होला, रमाईरहनु भएको हुन सक्छ, सगुन खाँदै हुनुहोला, मन खुसी नै छ होला । तर तपाईंको जीवनको वास्तविक परीक्षा भने अब शुरु हुँदैछ भन्ने त अवश्य नै थाहा होला ।
आफ्नो गाउँ र नगरका सम्बन्धमा हजुरहरूलाई राम्रो जानकारी छैन होला त भन्नै मिल्दैन । तर कुनै एक पालिकाको बासिन्दा भएका कारण तपाईँका समयावधिमा हुने काम व्यवस्थित हुन सकून् भन्ने शुभकामना दिन मन छ । त्यसैले पुनः एकपल्ट दोस्रो शुभकामना छ ।
शुभकामनासँग चिन्ता पनि जोडिएका छन् । हाम्रो चिन्तालाई अस्वभाविक रूपमा नलिइदिनु होला । तपाईंले जीत निकाल्दै गर्दा हामीलाई पनि कौतुहलता बढेको मात्र हो । भावना छचल्किन खोजेका छन् । उब्जिएका भावना गुम्स्याएर राख्नु भन्दा समयमा नै प्रतिनिधि समक्ष सुझावको रूपमा तपाईं र दर्शक सामु राखिदिनु उचित ठान्छु । फुर्सद मिलाएर पढ्नु होला भन्ने विश्वास छ । त्यसैले हजुरहरूलाई केही बुँदागत सुझाव वा सल्लाह जे छन् राख्न चाहन्छुः
(१) तपाईं पारदर्शी बन्नुहोला भन्ने सल्लाह चढाउन मन लागेको छ । जनप्रतिनिधि पारदर्शी भएनन् भन्ने जनताका गुनासा छन् । त्यसैले, पारदर्शिताका लागि तपाईँले जतिसक्दो छिटो आफ्नो सम्पत्ति स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ । तपाईं आफैँ सार्वजनिक मानिस भइसक्नु भयो । तपाईंको सम्पत्ति कति छ भनेर जनताले थाहा पाउनुपर्छ । अनि पाँचवर्षे कार्यकाल समाप्त भएका दिन पनि सम्पत्ति सार्वजनिक गर्ने प्रतिबद्धता गर्नुपर्छ । यसबाट तपाईंले कमाउनुभयो कि जनताका सेवामा काम गर्नु भयो भन्ने कुरा जनताले तुलना गरेर हेर्न सक्नेछन् । यही बिन्दुमा चुक्नुभयो भने सुरुआत नै खल्लो हुन पुग्छ र हाम्रा शुभकामना खेर जान सक्छन् ।
(२) धेरै जनप्रतिनिधि उनका गलत र खराब सल्लाहकारले बिगारेका छन भन्ने देशव्यापी गुनासा छन् । जनताका प्रतिनिधि वरिपरि घुम्ने ठेकेदारले नेता बिगार्छन् भन्ने गुनासा बहुत छन् । त्यसैले, हाम्रो अनुरोध छ सल्लाहाकार र योजनाकार असल भन्दा असल र अब्बल भन्दा अब्बल छनोट गर्नुहोला ।
(३) तपाईंले नेतृत्व गर्ने गाउँ वा नगरले योजनाबद्ध विकास खोजेको हुनुपर्छ । त्यसका लागि गुरुयोजना महत्वपूर्ण हुनेछ । गुरुयोजना छैन भने त्यो विषय तपाईंको प्राथमिकतामा आउनुपर्छ । गुरुयोजना नै सुन्दर भविष्यका लागि राजमार्ग हो । गुरुयोजना विना व्यवस्थित विकास हुँदैन भन्ने थाहै होला । विज्ञहरू प्रयोग गरी बृहत गुरुयोजना बनाउनुहोला । यसैबाट तपाईंको नगरी अरु गाउँ नगरीसँग र संसारकै नगरहरूसँग पनि दाँजिने छ । गुरुयोजनाका लागि देशविदेशबाट सुझाव आउनेछन् । तपाईंको यो योजनाले नै आफ्नो नगरी न्युयोर्क, पेरिस, हङकङभन्दा विशिष्ट छ, उत्तम र भिन्न छ भनेर जनाउनेछ । यो विषयलाई हलुका नलिइदिनुहोला ।
(४) तपाईंले घोषणापत्रमा गर्छु भनेका कुरालाई पूरा गर्नै पर्छ । तपाईंले पूरा गर्ने वाचा पनि गर्नुभएको छ । त्यसैले घोषणापत्रका सवाललाई प्राथमिकीकरण (१,२,३) गरेर रणनीतिक र नगरको वार्षिक योजनामा ढाल्नुहोला । विपक्षीका घोषणापत्र अध्ययन गर्नु, गराउनु होला । त्यहाँ पनि राम्रा काम गर्ने भनिएका होलान् । तिनीहरूलाई पनि योजनामा समेट्नु भएमा विपक्षी पनि खुसी हुनेछन् नगर पनि राम्रो बन्दै जाला भन्ने लाग्छ ।
(५) वडाहरूको पनि पञ्चवर्षे र वार्षिक योजना बनाउन लगाउनुहोला ।
(६) दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनामा बजेट लगाउनुहोला ।
(७) हरेक वडाका गौरव होलान्, चिनारी होलान् । वडा चिनाउने योजनामा खर्च गर्नुहोला । तपाईंले पछि कार्यकाल सकिँदै गर्दा देखिने तिनै कुरा हुनेछन् ।
(८) शिक्षा र स्वास्थ्यका कुरा होलान् तर कम्तीमा पनि वर्षमा २ ओेटा जीर्ण भएका विद्यालयलाई नमुना बनाउनुहोला । शिक्षा र शिक्षकका सवाल बुझ्नुहोला । बाल कक्षामा पढाउने शिक्षक र विद्यालयमा दरबन्दी बुझ्नुहोला । राहत र अस्थायी शिक्षक कसरी पढाउँदै छन् बुझ्नुहोला । फुङ्ग उडेका विद्यालयलाई रङ्गीन बनाउने योजना दिनुहोला ।
(९) महिला कर्मचारीलाई महिनावारीको समयमा कम्तीमा पनि महिनामा १ दिन र सकिन्छ भने २ दिन बिदा दिनुहोला । यो काम नयाँ र तपाईंको हुनेछ । महिला कर्मचारी खुसी हुनेछन् पुरुष खुसी नहुने कुरै भएन ।
(१०) नगरमा क्याम्पस भए विश्वविद्यालय बनाउने आधार दिनुहोला । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने बन्दोबस्त मिलाउनुहोला ।
(११) युवा जागेको देख्नुभएकै छ । बेरोजगार युवा र खेलकुदप्रेमी युवालाई उनीहरूको योजनाका आधारमा कार्यक्रम बनाउने गर्नुहोला । विनाधितो ऋण दिन सकिन्छ होला ।
(१२) युवा रोजगारीका लागि स्रोत जुटाउन लाग्नुहोला । तपाईंको योजना भए स्रोत भेटिन्छ । योजनै छैन भने स्रोत भेटिँदैन ।
(१३) आदिवासी जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक, मधेसी होलान् । उनीहरूको भाषा संस्कृति संरक्षण गर्ने योजना गर्नुहोला ।
(१५) कम्तीमा पनि २ महिनामा १ पटक गाउँ तथा नगरवासीको बस्तीमा छिर्नुहोला । उनीहरू तपाईंसँग खासै धेरै केही पनि चाहँदैनन् जस्तो लाग्छ तर तपाईँलाई दुखेसो राख्न चाहन्छन् । सक्नुहुन्छ भने एकछाक जनताको घरमा खाना खाने कार्यक्रम राख्नुहोला ।
(१६) किसानलाई सबैले कपटपूर्ण, पूरा नहुने आश्वासन बाँड्छन् । तपाईंले पनि त्यही गर्नु भएको छ भने भन्नु केही छैन तर मेरो विचारमा जोत्ने जमिन किसानको पहिलो आवश्यकता माटोको परीक्षण हो । उनीहरूको माटो उनीहरूलाई नै चिनाइदिनुपर्छ । सधैँ मल र बिजन नपाएर किसान छटपटिन्छन् । कीटनाशक औषधी, बिजन र मलका कुरा सबैले गरेका छन् तर सजिलो देखिन्न । इन्डियामुखी मल छ । मल उत्पादन आफँै गर्न कतिपय नगरले गरेका छन् भन्ने सुनिएको छ । तपाईंले पनि त्यो विधि अपनाउन जरुरी छ ।
(१७) बासिन्दाले धारामा पानी झरोस् भन्ने चाहेका छन् । तपाईंको पालामा काकाकुल नगर बन्दा हामी खुसी हुनेछैनौँ शुभकामनाको अर्थ हुने छैन ।
(१८) विकासमा कुनै पूर्वाग्रह हुँदैन । यसअघि थालनी भएका दीर्घकालीन योजनाका कार्यलाई निरन्तरता दिनुहोला ।
(१९) अब्बल तर आर्थिक रुपमा कमजोर विद्यार्थीलाई लगानी गरी नगरमा डाक्टर उत्पादन गर्नुभयो भने जनताले राम्रै मान्लान् ।
(२०) अन्तराष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापना गर्नुभयो भने लगानी र नवीन तरिका आउला भन्ने लाग्छ ।
(२१) सुकुम्बासी बस्तीबाट भोट लिन निकै प्रयास गर्नुभयो नै होला । सुकुम्बासी बस्ती हँसाउने कार्यक्रम दिनुहोला । रासन कार्ड दिन सकिन्छ कि ? इन्डकसन चुलो दिन सक्नुहुन्छ कि ? कार्यक्रम बनाएर लगानीकर्ता खोज्ने हो कि ?
यी र यस्तै अरु पनि धेरै सुझाव थिए तर सबै यस पानामा नअटाउने भए । त्यसैले धेरै लेखिनँ, फेरि पनि भावना पोखिन लागेँ भने अरु सुझाव टक्र्याउँला नत्र कतै कोरेर कुनामा राखौँला । चुनाव जित्नुभएकोमा पुनः बधाई र शुभकामना छ, तपाईंको कार्यकाल सफल रहोस् । उही तपाईँको शुभचिन्तक ।
Facebook Comment
Banner
प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।
ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।
“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।
उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।
युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।
Banner
साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने,एन्फा निलम्बनको असर,
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।
योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।
नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।
साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’
‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’
उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login