Connect with us
Advertisement

दरबार हत्याकाण्डः २१ वर्ष पूरा, घटना रहस्यमय, यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन

Published

on

काठमाडौंः नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा २०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो । राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन ।

यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए । सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो । यद्यपि, नेपाल सो समितिमा बसेनन् । उनले राजीनामा दिएका थिए ।

बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो । २६ गतेदेखि काम शुरु गरेको समितिलाई शुरुमा काम शुरु गरेको मितिले ३ दिन समय दिइएको थियो । पछि फेरि ४ दिन थपिएको थियो ।

समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो । पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ । दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो । र, तेस्रो भागमा घटनाको ‘यथार्थ विवरण’ उल्लेख थियो ।

तर, समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन । अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन् । सो प्रतिवेदनको तेस्रो भाग अर्थात् प्रतिवेदनमा भनिएको ‘घटनाको यथार्थ विवरण’लाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

भाग–३
घटनाको यथार्थ विवरण
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रबार राति घटेको घटनाको यथार्थ तथ्य सङ्कलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको सङ्कलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसंग सोधपुछ गर्ने कार्य गरियो । यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न बमोजिमको तथ्य खुल्न आएको छः–

१. नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो । नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ मुमा बडामहारानी भनिएको), श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यस पछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिबारका अन्य सदस्यहरू एवं शाही–नातेदारहरू गरी २४ जनालाई राति ७ः३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जनाबाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ । आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।

२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राति ७ः३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा समेतको भनाइबाट पुष्टि भएको छ । त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ । राति ८ बजे श्री ५ युवराजधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र–मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसूफको मोटर आफँैले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो ।

श्री ५ मुमा बडामहारानी बिलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राज भइबक्स्यो । राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राति करिब ८ः३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि बिलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो ।

३. श्री ५ युवराजाधिराजले ७ः३० बजे त्रिभुवन सदनको बिलियार्ड कोठामा केही समय एक्लै बिलियार्ड खेलिबक्सेको र त्यस क्रममा १÷२ पेग निट (पानी नराखी) Famous Grouse ह्वीस्की समेत पिइबक्सेको तथ्य मौसूफका एडिसी गजेन्द्र बोहरा र शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर ज.ब.रा. समेतको भनाइबाट देखियो । श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०–१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्वीस्कीको असरले हो कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा राजीव समेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएको प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ ।

४. श्री ५ युवराजाधिराज बिलियार्ड कोठामा रहँदाकै अवस्थामा राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भए बमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाँजा) र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारस मार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो । गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिब १ वर्षदेखि आफूले त्यस्तो चुरोट बनाइदिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए । श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ ।

५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकाले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राति ८ः१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१ः१४) देवयानी राणासँग कुरा भएको र दोस्रो पटक देवयानी राणाले राति ८ः१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४ः१४) कुरा भएको अभिलेखबाट देखियो । पुनः राति ८ः३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोवाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ ।

काडमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरु गजेन्द्र बोहरा र राजु कार्की तथा श्री ५ युवराजधिराजको मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ । श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समिति समक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो । देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्ड अनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्टता रहेको तथ्य पुष्टि भएको छ ।

६. देवयानी राणाले श्री ५ युवराजाधिराजसँगको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहको र राति ८ः२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लड्बराइरहेको जस्तो लागेकोले सरकारसँग अरु कुरा हुन नसकेको कारणले ‘श्री ५ युवराजाधिराजको स्वर अलि लड्बराइराखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ’ भनी उल्लेख गरेको पाइयो ।

७. देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्र बोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र बोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजिबक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालिसकेपछि श्री ५ युवराजाधिराज बाथरूम सवारी होइबक्सेको, बाथरुमभित्र वाकवाक गरिबक्सेको आवाज जमुना अधिकारी समेतले सुनेको र बाथरुमबाट निस्किबक्सेपछि श्री ५ युवराजाधिराजले ती दुवै जनालाई सुत्न आ–आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ ।

८. राति ८ः३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ९८१०२४३३९ नं. को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिबक्सेको दूरसञ्चारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागें, गुड नाइट, भोलि कुरा गरौंला’ भनिबक्सेको भन्ने निजको कथन रहेको छ ।

९. देवयानी राणासँग फोन सम्पर्क गरिबक्सेपश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हातहतियार समेत लिई खोपी बाहिर निस्किबक्सिँदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी ब्याग टक्रयाउँ सरकार ?’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन अहिले’ भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ ।

१०. श्री ५ युवराजाधिराज कम्ब्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरिबक्सी बिलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको, बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज बच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ ।

११. श्री ५ युवराजाधिराज सैनिक कम्ब्याट पोशाकमा बिलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङको बन्दुक (9 mm Caliber MP–5K Automatic Sub–machine Gun) द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल बिलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै बिलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ नजिक १२ बोरको बन्दुक (SPAS 12–L FRANCH SPA) फ्याँकी पुनः भित्र बिलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोप सहितको राईफल (5.5 mm Caliber Colt M–16) सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फायरिङ गरी श्री ५ युवराजाधिराज बिलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर, डा. राजीव शाही, महेश्वर कुमार सिंह समेतको भनाइ रहेको छ ।

१२. बिलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्ध फायरिङ गरेपश्चात् पछाडि सर्दैसर्दै पूर्व तर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य बिलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाइनिङ रुमबाट ब्वाइज शान्तबहादुर खड्का समेतले देखेको भनी निजले बताएको पाइयो । बिलियार्ड कोठाबाट पूर्व भित्री बगैँचामा जाने बाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ वडामहारानीको पछाडिपछाडि श्री ५ अधिराजकुमार निराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टर समेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झयाङ नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार निराजन पूर्वतर्फ टाउको परेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी बिष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पु¥याएको भन्ने पाइयो ।

१३. बिलियार्ड कोठामा भएको फायरिङपश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडिसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फायरिङको आवाज र ‘डाक्टर चाँडो बोलाऊँ…’ भन्ने आवाज सुनी भित्र गई बिलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैँ बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप रानासमेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ ।

१४. श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्याङको सातौं खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्याङको माथिल्लो भागमा रहेको ल्याण्डिङ एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ ।

१५. श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जहाँ श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकाली रहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ । श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm Caliber Glock Ges पिस्तोल र खोका समेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ । 5.56 Caliber M–16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनको क्रममा पाइएको छ ।

१६. उपर्युक्त बमोजिमको बिलियार्ड कोठा र सो कोठाको पूर्वी बगैँचा एवं खोपीमा जाने भर्याङमा भएको घटना पश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उद्धार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्याएकोमा अस्पताल पुर्याउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छः–
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(ग) श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९ः२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र ९ः५५ बजे अस्पतालमा मृत घोषित ।

(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(ज) श्री कुमार खड्गविक्रम शाह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह २०५८÷२÷१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८÷२÷२२ गते सोही अस्पतालमा बिहान ३ः४५ बजे मृत घोषित ।

(ञ) श्री धीरेन्द्र शाह २०५८÷२÷१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८÷२÷२२ गते बेलुकी ५ः५७ बजे सोही अस्पतालमा मृत घोषित ।

१७. माथि उल्लेख गरिएका १० (दश) जना बाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन ।

१८. घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टरलाई गम्भीर घाउ चोट लागेको तथ्य अस्पतालबाट प्राप्त घाउ चोट विवरणबाट देखिन्छ ।

१९. श्री ५ युवराजाधिराजलाई घटनाको तत्काल पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८÷२÷२८ को पत्र अनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्ब्याट) ज्याकेट, पाइण्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ । सो कपडा, पञ्जा, जुत्ता आदि र वेब बेल्ट समेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलो पहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा ‘बी’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ । मृतकहरू मध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘बी’ रहेको पाइन्छ ।

२०. श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्याउँदा पञ्जा लगाएको अवस्थामा पुर्याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ । सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ । सो एकजोर पञ्जा बाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन ।

२१. (क) 5.56 Caliber Colt M–16 A2 हतियार नं. A0073943 -Commando_ Automatic Rifle बाट प्रहार भएका ४७ वटा Cartridge Cases फेला परेको पाइयो । उक्त राईफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।

(ख) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm Caliber MP–5 K Automatic Submachine Gun बाट प्रहार भएको र उक्त बन्दुक को क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।

(ग) घटनास्थलमा फेला परेको २ वटा Cartridge Cases 9mm. Caliber MP–5 K Automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ । उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो ।

(घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं.को ः–16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको ०५६÷५÷३१ को माग बमोजिम निकासी भई शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह–सेनानी माधव भण्डारीले बताएको । सो हतियार श्री ५ युवराजधिराज समेत ट्रेकिङमा सवारी भइबक्सेको बेला साथमा लिई सवारी भएको । श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो ।

(ङ) एउटा पेस्तोल र 9mm. Caliber को बन्दुक १ समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भए बमोजिम २०५३÷१÷२७ र २०५६÷७÷२८ मा निकाशा भएको देखिन्छ । श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र बोहराको अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराजकै साथमा (जिम्मामा) रहेको थियो ।

(च) 9mm. G19 Glock नं. YY 334 नं. को पेस्तोल समेत २०५५÷१०÷२२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकासा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ ।

(छ) बिलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउ कुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun बाट सो घटनामा फायर भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन ।

२२. नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडिसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेट बाहेक सो घटना भएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षतः देखिन आएन । घटनास्थलको नक्सा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ ।

२३. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ । घटनाबाट पीडित घाइतेहरूको घाउ चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो । वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घाउचोटको कारण बन्दुकको गोली लागी परेको भन्ने देखियो । – नेपाल लाइभबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Published

on

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Continue Reading

Banner

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

Published

on

लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।

चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

Continue Reading

Banner

आज – ०६ जेठ २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक