Connect with us
Advertisement

दरबार हत्याकाण्डः २१ वर्ष पूरा, घटना रहस्यमय, यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन

Published

on

काठमाडौंः नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा २०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो । राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन ।

यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए । सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो । यद्यपि, नेपाल सो समितिमा बसेनन् । उनले राजीनामा दिएका थिए ।

बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो । २६ गतेदेखि काम शुरु गरेको समितिलाई शुरुमा काम शुरु गरेको मितिले ३ दिन समय दिइएको थियो । पछि फेरि ४ दिन थपिएको थियो ।

समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो । पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ । दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो । र, तेस्रो भागमा घटनाको ‘यथार्थ विवरण’ उल्लेख थियो ।

तर, समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन । अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन् । सो प्रतिवेदनको तेस्रो भाग अर्थात् प्रतिवेदनमा भनिएको ‘घटनाको यथार्थ विवरण’लाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

भाग–३
घटनाको यथार्थ विवरण
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रबार राति घटेको घटनाको यथार्थ तथ्य सङ्कलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको सङ्कलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसंग सोधपुछ गर्ने कार्य गरियो । यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न बमोजिमको तथ्य खुल्न आएको छः–

१. नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो । नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ मुमा बडामहारानी भनिएको), श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यस पछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिबारका अन्य सदस्यहरू एवं शाही–नातेदारहरू गरी २४ जनालाई राति ७ः३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जनाबाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ । आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।

२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राति ७ः३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा समेतको भनाइबाट पुष्टि भएको छ । त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ । राति ८ बजे श्री ५ युवराजधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र–मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसूफको मोटर आफँैले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो ।

श्री ५ मुमा बडामहारानी बिलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राज भइबक्स्यो । राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राति करिब ८ः३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि बिलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो ।

३. श्री ५ युवराजाधिराजले ७ः३० बजे त्रिभुवन सदनको बिलियार्ड कोठामा केही समय एक्लै बिलियार्ड खेलिबक्सेको र त्यस क्रममा १÷२ पेग निट (पानी नराखी) Famous Grouse ह्वीस्की समेत पिइबक्सेको तथ्य मौसूफका एडिसी गजेन्द्र बोहरा र शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर ज.ब.रा. समेतको भनाइबाट देखियो । श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०–१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्वीस्कीको असरले हो कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा राजीव समेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएको प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ ।

४. श्री ५ युवराजाधिराज बिलियार्ड कोठामा रहँदाकै अवस्थामा राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भए बमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाँजा) र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारस मार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो । गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिब १ वर्षदेखि आफूले त्यस्तो चुरोट बनाइदिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए । श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ ।

५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकाले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राति ८ः१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१ः१४) देवयानी राणासँग कुरा भएको र दोस्रो पटक देवयानी राणाले राति ८ः१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४ः१४) कुरा भएको अभिलेखबाट देखियो । पुनः राति ८ः३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोवाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ ।

काडमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरु गजेन्द्र बोहरा र राजु कार्की तथा श्री ५ युवराजधिराजको मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ । श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समिति समक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो । देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्ड अनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्टता रहेको तथ्य पुष्टि भएको छ ।

६. देवयानी राणाले श्री ५ युवराजाधिराजसँगको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहको र राति ८ः२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लड्बराइरहेको जस्तो लागेकोले सरकारसँग अरु कुरा हुन नसकेको कारणले ‘श्री ५ युवराजाधिराजको स्वर अलि लड्बराइराखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ’ भनी उल्लेख गरेको पाइयो ।

७. देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्र बोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र बोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजिबक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालिसकेपछि श्री ५ युवराजाधिराज बाथरूम सवारी होइबक्सेको, बाथरुमभित्र वाकवाक गरिबक्सेको आवाज जमुना अधिकारी समेतले सुनेको र बाथरुमबाट निस्किबक्सेपछि श्री ५ युवराजाधिराजले ती दुवै जनालाई सुत्न आ–आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ ।

८. राति ८ः३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ९८१०२४३३९ नं. को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिबक्सेको दूरसञ्चारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागें, गुड नाइट, भोलि कुरा गरौंला’ भनिबक्सेको भन्ने निजको कथन रहेको छ ।

९. देवयानी राणासँग फोन सम्पर्क गरिबक्सेपश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हातहतियार समेत लिई खोपी बाहिर निस्किबक्सिँदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी ब्याग टक्रयाउँ सरकार ?’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन अहिले’ भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ ।

१०. श्री ५ युवराजाधिराज कम्ब्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरिबक्सी बिलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको, बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज बच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ ।

११. श्री ५ युवराजाधिराज सैनिक कम्ब्याट पोशाकमा बिलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङको बन्दुक (9 mm Caliber MP–5K Automatic Sub–machine Gun) द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल बिलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै बिलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ नजिक १२ बोरको बन्दुक (SPAS 12–L FRANCH SPA) फ्याँकी पुनः भित्र बिलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोप सहितको राईफल (5.5 mm Caliber Colt M–16) सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फायरिङ गरी श्री ५ युवराजाधिराज बिलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर, डा. राजीव शाही, महेश्वर कुमार सिंह समेतको भनाइ रहेको छ ।

१२. बिलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्ध फायरिङ गरेपश्चात् पछाडि सर्दैसर्दै पूर्व तर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य बिलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाइनिङ रुमबाट ब्वाइज शान्तबहादुर खड्का समेतले देखेको भनी निजले बताएको पाइयो । बिलियार्ड कोठाबाट पूर्व भित्री बगैँचामा जाने बाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ वडामहारानीको पछाडिपछाडि श्री ५ अधिराजकुमार निराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टर समेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झयाङ नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार निराजन पूर्वतर्फ टाउको परेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी बिष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पु¥याएको भन्ने पाइयो ।

१३. बिलियार्ड कोठामा भएको फायरिङपश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडिसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फायरिङको आवाज र ‘डाक्टर चाँडो बोलाऊँ…’ भन्ने आवाज सुनी भित्र गई बिलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैँ बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप रानासमेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ ।

१४. श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्याङको सातौं खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्याङको माथिल्लो भागमा रहेको ल्याण्डिङ एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ ।

१५. श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जहाँ श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकाली रहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ । श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm Caliber Glock Ges पिस्तोल र खोका समेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ । 5.56 Caliber M–16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनको क्रममा पाइएको छ ।

१६. उपर्युक्त बमोजिमको बिलियार्ड कोठा र सो कोठाको पूर्वी बगैँचा एवं खोपीमा जाने भर्याङमा भएको घटना पश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उद्धार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्याएकोमा अस्पताल पुर्याउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छः–
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(ग) श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९ः२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र ९ः५५ बजे अस्पतालमा मृत घोषित ।

(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(ज) श्री कुमार खड्गविक्रम शाह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह २०५८÷२÷१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८÷२÷२२ गते सोही अस्पतालमा बिहान ३ः४५ बजे मृत घोषित ।

(ञ) श्री धीरेन्द्र शाह २०५८÷२÷१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८÷२÷२२ गते बेलुकी ५ः५७ बजे सोही अस्पतालमा मृत घोषित ।

१७. माथि उल्लेख गरिएका १० (दश) जना बाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन ।

१८. घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टरलाई गम्भीर घाउ चोट लागेको तथ्य अस्पतालबाट प्राप्त घाउ चोट विवरणबाट देखिन्छ ।

१९. श्री ५ युवराजाधिराजलाई घटनाको तत्काल पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८÷२÷२८ को पत्र अनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्ब्याट) ज्याकेट, पाइण्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ । सो कपडा, पञ्जा, जुत्ता आदि र वेब बेल्ट समेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलो पहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा ‘बी’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ । मृतकहरू मध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘बी’ रहेको पाइन्छ ।

२०. श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्याउँदा पञ्जा लगाएको अवस्थामा पुर्याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ । सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ । सो एकजोर पञ्जा बाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन ।

२१. (क) 5.56 Caliber Colt M–16 A2 हतियार नं. A0073943 -Commando_ Automatic Rifle बाट प्रहार भएका ४७ वटा Cartridge Cases फेला परेको पाइयो । उक्त राईफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।

(ख) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm Caliber MP–5 K Automatic Submachine Gun बाट प्रहार भएको र उक्त बन्दुक को क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।

(ग) घटनास्थलमा फेला परेको २ वटा Cartridge Cases 9mm. Caliber MP–5 K Automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ । उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो ।

(घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं.को ः–16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको ०५६÷५÷३१ को माग बमोजिम निकासी भई शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह–सेनानी माधव भण्डारीले बताएको । सो हतियार श्री ५ युवराजधिराज समेत ट्रेकिङमा सवारी भइबक्सेको बेला साथमा लिई सवारी भएको । श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो ।

(ङ) एउटा पेस्तोल र 9mm. Caliber को बन्दुक १ समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भए बमोजिम २०५३÷१÷२७ र २०५६÷७÷२८ मा निकाशा भएको देखिन्छ । श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र बोहराको अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराजकै साथमा (जिम्मामा) रहेको थियो ।

(च) 9mm. G19 Glock नं. YY 334 नं. को पेस्तोल समेत २०५५÷१०÷२२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकासा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ ।

(छ) बिलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउ कुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun बाट सो घटनामा फायर भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन ।

२२. नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडिसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेट बाहेक सो घटना भएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षतः देखिन आएन । घटनास्थलको नक्सा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ ।

२३. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ । घटनाबाट पीडित घाइतेहरूको घाउ चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो । वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घाउचोटको कारण बन्दुकको गोली लागी परेको भन्ने देखियो । – नेपाल लाइभबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य

Published

on

बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।

करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।

मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

Continue Reading

Banner

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय

Published

on

काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।

यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।

Continue Reading

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक