Connect with us
Advertisement

जोखिममा सुन्दरहरैँचाका विपन्न महिलाहरु

Published

on

४० वसन्त पार गरेकी सुन्दरहरैँचा वडा नं ५ को विपन्न मुसहर समुदाय निवासी रमावती मुसहर (परिवर्तित नाम) ले पाठेघरमा लागेको रोगले संसारबाट बिदा लिनुपर्ला भन्ने सोचेकै थिइनन् । तर त्यस्तै भयो, २०७६ सालमा पाठेघरमा समस्याले उनको प्राण लियो । त्यही साल नै अर्की २ दशक पनि पार नगरेकी अनिता ऋषिदेव (परिवर्तित नाम) गर्भवती भएकी थिइन् । दुःखको कुरा न बच्चालाई बचाउन सकियो न आमालाई नै बचाउन सकियो । सुत्केरी भएपछि शरीर सुन्निने, पेट सुन्निने समस्या भएको थियो । आर्थिक अभाव भएका कारण उनको समयमै राम्रो उपचार हुन सकेन र १ महिना पश्चात आमाको पनि मृत्यु भयो ।

यो घटना पश्चात सो समुदायमका महिलाहरुसँग यस विषयमा छलफल भयो । अन्य महिलालाई पनि यो समस्या छ कि भनी कुरा गर्दा एक पछि अर्को महिलाले आआफ्नो समस्या सुनाउँदै गए । धेरैमा भइरहेको समस्या सुने पश्चात् स्थानीय स्वास्थ्य चौकीमा परामर्श गर्दा नेपालमा धेरै महिलाहरुमा प्रजनन् स्वास्थ्य समस्या भएका कारण ज्यान गुमाउनु परेको पाइयो । यी रोगहरु सामान्य संक्रमणको रुपमा मात्र सीमित नरही क्यान्सरजस्तो प्राणघातक रोगमा परिणत पनि हुने गर्दछ, भन्ने जानकारी प्राप्त भयो ।

नेपालमा स्तन क्यान्सर पश्चात् पाठेघरको समस्याले महिलाहरुको मृत्यु हुने गरेको विभिन्न समाचार माध्यममार्फत् सूचना प्रवाह भइरहँदा पनि यसबारे अधिकांश मानिसहरुलाई थाहै छैन । अझ विपन्न समुदायका महिलाहरुमा स्वस्थ्य उपचार गर्न गराउन आर्थिक अभाव, सचेतनाको अभाव साथै धामी झाँक्रीलाई पहिले देखाउन जाने जस्ता अन्धविश्वास रहेको पाइन्छ । यसकारण धेरै महिलाहरुमा यौन रोग तथा पाठेघरको समस्या रहन सक्ने अनुमान रहेको जानकारी पाएपछि लुमन्ती (सुन्दरहरैँचा नगरपालिकामा कार्यरत गैरसरकारी संस्था) ले स्वास्थ चौकी तथा परिवार नियोजन संघ विराटनगरको सहकार्यमा ५ स्थानमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर राख्यो ।

घटना घटेकै स्थानमा लुमन्ती र वडा नं. ५ स्वास्थ्य चौकीको सहकार्यमा पहिलो चरणको शिविर समुदायमै राखियो । स्वास्थ्य चौकीमा परिक्षण सामग्री पर्याप्त व्यवस्था नभएका कारण जम्मा १७ जना लाई मात्र परीक्षण गर्न सकियो । जाँचको परिणामले ३ जनाको मात्र पाठेघर अवस्था राम्रो देखियो । बाँकी १४ जना मध्ये ११ जनामा यौनाङ्ग तथा पाठेघरमा संक्रमण देखियो र ३ जनामा पाठेघर झरेको देखियो । त्यसपछि सुन्दरहरैँचा नगरपालिकाका १२ वडाका २१ विपन्न समुदायहरुलाई लक्षित गरी ४ चरणको परिक्षण शिविरको आयोजना गरिएको थियो । जसमा परिवार नियोजन संघ विराटनगरले प्राविधिक सहकार्य गरेको थियो । ५ चरणको स्वास्थ्य परीक्षणको परिणामले २ सय १७ जना मध्ये ६४ प्रतिशतमा यौन रोग सम्बन्धी संक्रमण देखियो । ३ प्रतिशतको पाठेघर झरेको र ३१ प्रतिशतको अवस्था समान्य रहेको देखियो भने २ प्रतिशत महिलाहरु परीक्षण गर्नै डराएर परीक्षण गराएनन् । शिविरका दौरानमा स्वास्थ्यकर्मीले ‌औषधी प्रयोग गर्न दिएको सुझाव अनुसार कतिले औषधी प्रयोग गरे, गरेनन् भनी बुझ्दा धेरैले प्रयोग नगरेको भेटियो । यसका कारण आर्थिक अभाव भएकैले महिलाहरु रोगबारे जानकारी पाउँदापाउँदै पनि उपचार नगरेको र औषधी नखाएको पाईयो । केही महिलाहरु रोगबारे जानकार हुँदाहुदै पनि उपचारका लागि नगएको भेटियो ।

शिविरमा पाठेघर परीक्षण गरेकी वडा नं ९ की एक महिला सानै उमेरमा ३ जना छोरीकी आमा भइसकेकी थिइन् । शिविरको परीक्षणले उनलाई पाठेघरको समस्या गम्भीर रहेको देखाएको छ । यस्तो अवस्थामा पुनः अर्को बच्चा जन्माउन जोखिमपूर्ण छ उनलाई । जोखिमको डरभन्दा छोरा जन्माउनु पर्ने कर छ, उनलाई । विदेशबाट श्रीमान्ले पठाएको रकम जोहो गरेर ५० हजार जम्मा गरिसकेकी छिन् । उनी भन्छिन्, ‘यो रकम फेरि पनि छोरी बसेछ भने अप्रेसन गरेर फाल्नका लागि राखेकी हुँ ।’ पैसा हुदाँहुदै पनि उनले ‍औषधी किनेर खाएकी भने थिइनन् । समाजमा स्थापित पित्तृसत्तात्मक मान्यताका कारण परिवार र समाजको दबाबका कारण उनलाई जसरी भए पनि छोरा जन्माउनु छ । तर आफ्नै जीवन जोखिममा परिरहँदा पनि उनलाई औषधी खान भने कुनै चासो छैन ।

शिविरमा परीक्षणमा सहभागी सिनियर अनमी सन्जु शिवाकोटी भन्छिन्, ‘महिलाहरु लाजका कारण आफ्ना रोग लुकाउँछन् । थाहा भै भइहाले पनि सक्दो लुकाउँछन्, जबसम्म रोगले शरिरलाई गलाउदैन । यसको परिणाम धेरै महिलाहरुको मृत्यु भएको पाइन्छ ।’

राम्रो कुरा यस शिविरमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको भेटिएन तर अधिकांश संक्रमित भेटिए । परिवार नियोजन संघ विराटनगर शाखाका प्रमुख शंकर दाहाल भन्छन्, ‘महिलाहरुले व्यक्तिगत सरसफाइमा ध्यान नदिनु, रजस्वला हुदाँका बखत अपनाउनुपर्ने सरसफाइप्रति ध्यान नदिनु तथा अपरिपक्व शारीरिक अवस्थामै विवाह गर्नु र बच्चा जन्माउनुका कारण पनि यस्ता रोगको संकम्रमण बढेको हो । यस्ता संक्रमणको लामो समयसम्म उपचार नभएमा एचआईभी तथा पाठेघरको क्यान्सरको जोखिम सक्छ ।’

खुला र सामान्य रुपमा चर्चा नहुने यस्ता यौन रोगहरु चाहे महिला हुन् वा चाहे पुरुष दुवैले लुकाउने गरेको पाइन्छ । नेपाली समाजमा यी विषयमा छलफल लाजको दायराभित्र पर्दै आएको छ । यसका विषयमा छलफल गर्ने मानिसलाई ‘छाडा’ को संज्ञा दिने गरिएको छ । अझ महिलाहरुलाई यस विषयमा छलफल गर्नु भनेको निकै हिम्मतको विषय हुन्छ । यस्ता समस्याबारे छलफल गर्न वा कसैलाई सुचित गर्नु पर्यो भने, त्यो कुरा भनेपछि आउने प्रतिक्रियाका कारण मानशसक तनावको सामना गर्न पनि तयार बन्नुपर्ने हुन्छ । त्यसैले पनि धेरै महिलाहरु यस विषयमा कुरै गर्न चाहँदैनन् ।

करीब ५० विपन्न समुदायहरु भएको सुन्दरहरैँचाका २२ समुदायका थोरै जनसंख्या २ सय १७ महिलाहरु मात्रमा गरिएको भीआईए परीक्षणमा पनि ६७ प्रतिशतमा संक्रमण भेटिएको छ । यो आफैँमा गम्भीर समस्या हो । स्थानीय तहले शिविर राख्ने तथा जनचेतानामूलक कार्यक्रमका लागि योजना तथा बजेट विनियोजन गर्नु मात्र पनि प्रभावकारी नबन्न सक्छ जबसम्म सघन तवरमा कार्यक्रम कार्यान्वयन गर्न सकिँदैन ।

(लेखक सुन्दरहरैंचा नगरपालिकामा विगत ५ वर्षदेखि लुमन्ती संस्थासँग आबद्ध भई काम गर्दै आएकी छिन् ।)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक