विचार
आर्य–खस कामरेडहरु, एक नम्बर प्रदेशको नाम ‘किरात’ किन नहुने ?
निनाम लोवात्ती
हाल एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा तातो बहस र छलफल भइरहेको देखिन्छ । त्यसरी बहस र छलफल गर्ने क्रममा एक पक्षले ‘अरुण, वरुण, अरुण–कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने वकालत गर्ने गरेको देखिन्छ ।
अर्को पक्षले ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम रहनुपर्ने÷ राख्नुपर्ने भनी आवाज उठाइरहेका छन् । तर प्रदेश एकको नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात–लिम्बुवान–कोचिला’ अझ ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउनेहरूको स्वरचाहिँ साह्रै मसिनो र मधुरो स्वरमा सुनिने गरेको देखिन्छ । यस्तो हुनुमा नेपालका मूलधारका भनिने मिडियाहरूले यी नामहरूका सम्बन्धमा प्रचारप्रसार नगरिदिनु र साथ नदिनु नै हो । त्यसैले एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा हाल भइरहेको तातो बहस र छलफलका क्रममा ‘अरुण, वरुण, अरुण–कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने भनी वकालत गर्नेहरूकै हाली मुहाली देखिन्छ । किनभने, मूलधारका भनिने मिडियाहरूले त्यही भर्सनलाई मात्रै महत्व दिइरहेका छन् ।
तर, उनीहरूले ल ठीकै छ, भिन्न मतलाई पनि ठाउँ दिऊँ महत्व दिऊँ ! भोलि के हो, के हो ? भनेर दूरदृष्टि राखेर ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम हुनु पर्छ भन्नेहरूको पनि लेख रचना छापौँ, स्थान दिऊँ भनेर सोचे जस्तो लाग्दैन । हुन पनि हो, झट्ट सुन्दा र देख्दा, ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ जातीय नाम जोडिएर आएको जस्तो लागेता पनि ‘किरात’ नाममा त नेपालका आर्य, खस समूहका बाहुन, क्षेत्री, ठकुरी, दशनामी–सन्न्यासी, रानाभाट, दलित आदि र आदिवासी जनजाति सहमत हुँदा के फरक पर्ला ? के बिग्रेला ? कि आकाशै खसिहाल्छ, धरती नै फाटिहाल्छ ?
त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ नाम राख्दा शुद्ध रूपमा जाति नाम जस्तो लागेर राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रै पर्ने हुनाले कम्तीमा ‘किरात’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भने किरात शब्द प्राचीन धर्मग्रन्थहरूमै पनि उल्लेख गरिएको छ । त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर\ नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भइसकेका छन् । किनभने, किरात भनेर आफूलाई दाबी गर्ने जातिहरू अहिले दुई दर्जनभन्दा पनि बढी रहेका छन् । जस्तै आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बू, याक्खा, सुनुवार आदि छन्, जुन जातिहरूलाई किरात भनेर चिनिन्छ, अथवा उनीहरूले आफूलाई किराँती भनी चिनाउँछन् ।
हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरूले विश्वकै सबैभन्दा पुरानो सभ्यता र व्यापक रूपमा फैलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरातीहरु हजारौँ वर्षअघि ब्रह्मपुत्र तथा गंगा नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एशिया महादेशको दक्षिण एशिया, दक्षिण पूर्व एशिया, मध्य एशियामा आवाद गरेका थिए । त्यस्तै कश्मीर पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ ।
किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, वाल्मीकि रामायण र महाभारत (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौँ उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक साहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किरात सभ्यताका बारेमा प्रशस्तै चर्चापरिचर्चा गरिएको पाइन्छ ।
त्यसैले एक नम्बर प्रदेशका किराती मूलका माननीयहरू मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरूका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्न्यासी, दलितका साथै मधेसी आदि जातजातिका माननीय ज्युहरूले पनि ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन प्रदेश नम्बर एकको सिङ्गो संसद्ले एक मतले पारित गर्नुहोस् । तपाईँहरूले यसो गर्नुभएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरूलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राजवंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एशियाका विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाई आएका थिए ।
यसरी कुनै बेला एशियाको ठूलो भू–भागमा फैलिएका किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हुँदै र आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौँ समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एशियाको पनि सगरमाथा क्षेत्र हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरूको बसोबास रहेको छ ।
यसरी सानो भू–भागमा मात्रै आफूलाई प्रस्ट रूपमा किराती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भौगोलिक एकीकरण भएसँगै आफ्ना पिता पुर्खाहरूले स्थानीय स्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलियतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरूले जानाजानी वा अरूको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ भनी लेखाउन÷भनाउन वा लेख्न÷भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरूको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व सङ्कटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राई करण’को मारमा परेको भेटिन्छ \देखिन्छ ।
त्यसैले आशा गरौं, सन्निकट आउन लागेको प्रदेश नम्बर एकको हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशका सबै राजनीतिक दलका माननीयहरूले किरात प्रदेश नामका लागि एक ढिक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । यस कार्यका लागि विभिन्न राजनीतिक दलका हाइ कमान्डका नेताहरूले पनि एक नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न आफ्ना दलका माननीयहरूलाई एक मतले निर्देशन दिनुहोस् । किनभने, ‘किरात प्रदेश’ नाम राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थमा उल्लेख भएका प्रसङ्ग आदिका साथै एक नम्बर प्रदेशको भूभागमा इतिहासको लामो कालखण्डदेखि बसोबास गर्दै आएका किराती महाजातिभित्रका साढे दुई दर्जन बढी जातिहरूको अपनत्वलाई पनि स्वीकारेको अर्थमा लिन सकिन्छ ।
त्यसैले फगत जाति नाम मात्रै नसम्झनुहोस् । ठूला राजनीतिक दलका ठूला नेताहरूका साथै आर्य खस समूहका घागडान तर, आदिवासी जनजाति समुदायप्रति अनुदारवादी रुझान राख्ने बुद्धिजीवी कामरेडहरु, छातीमा हात राखेर खुलस्तसँग भन्नुहोस्, ‘कोशी’ प्रदेश नाम हुने तर, कुनै हालतमा ‘किरात’ प्रदेश नाम नहुने के कारण छ ? – कपुरी न्युजबाट
Facebook Comment
Banner
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।
एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।
आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login