Connect with us
Advertisement
Advertisement

एमालेले बिर्सिएको हर्कले समाएको लय

Published

on

गएको स्थानीय चुनावमा सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ले अप्रत्यासित जित निकाले । नेकपा एमालेको गढ मानिएको धरानमा एमालेको यो पराजयले कार्यकर्ताहरुमा निराशा त ल्यायो नै, उम्मेदवार छनोट प्रक्रियाका विषयमा पनि प्रश्नचिन्ह उठायो । कमिटिगत प्रणालीमा चुनावको समिक्षा के कति भयो, त्यो बाहिर आएको छैन । तर, आम एमालेका नेता कार्यकर्ता यतिखेर पश्चतापमा छन् । मनमोहन अधिकारी जस्ता त्यागी र इमान्दार नेताले चुनाव जितेको धरान यतिखेर एमालेका लागि बेचैनीको केन्द्र बनेको छ । नयाँ पुस्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता र दलका नेताहरुप्रति आजित भएकाहरु खुसी छन् ।

मनमोहन मात्र होइन त्यहाँ मेयर जितेका ध्यानबहादुर राई र मनोज म्याङ्बोसम्म आइपुग्दा वामपन्थीहरुप्रतिको पकड उत्तिकै थियो । धरानमा सहभागितामूलक योजनाहरु सफल हुन्थे । धरान मात्र होइन, बाहिरतिर पनि उत्तिकै चर्चा हुन्थ्यो । एक लाख नगरपालिकाले हालेको काममा धरानेहरुले दोब्बर रकम हालेर काम गर्छन् भनेर भन्ने सन्देश थियो । सहभागितामूलक योजनाहरु सञ्चालन गर्न धरानलाई नमुना मानिन्थ्यो । त्यसको नेतृत्व एमालेले गरेको थियो । यस्ता अभियानका कामहरु तराई झर्दै जाँदा त्यति सफल थिएनन् ।

नेकपा एमालेको सरकारले २०५१ सालमै अघि सारेको आफ्नो गाउँ आफै बनाउ एउटा उत्कृष्ट मोडल थियो । जुन मोडलले अहिले धेरै फड्को मारेको छ । आफ्नो गाउँ आफै बनाउ भनेर एमालेले हरेक गाविसमा दिएको ३ लाखमा काम सुुरु गर्दा गाउँगाउँमा मान्छेहरु श्रमदानका लागि ताँती लागेर आउथे । वास्तवमा यो श्रमदानको लय जनतासँग जोड्ने ठुलो कसी थियो । यसैको बलमा एमालेले देशव्यापी रुपमा संगठन विस्तार गर्यो । दलहरुका लागि सबैभन्दा ठुलो कुरो विकासमा जनता जोड्नु हो । यही जोडाइले एमाले देशको ठुलो पार्टी बन्यो ।

एमालेका स्थायी समिति सदस्य गुरु बराल त्यतिखेरको सम्झना गर्दै भन्छन्, ‘एमालेको नेतृत्वामा ठुलाठुला श्रमदानहरु हुन्थे । तर, आज हामीले त्यसलाई बिर्सदा अरु कसैले समातेका छन् । जबजको एउटा पाटो जनतासँग जोडिनु पनि हो । त्यो हामीले बिर्सियौँ ।’यतिखेर धरानमा एमाले र मेयर हर्क साम्पाङबीच असझदारी देखिन्छ । यो कहाँ गएर टुंगिने हो थाहा छैन । तर, गुरु बरालले भने जस्तो एमाले भने जनतासँग जोडिरहनु पर्छ । यहि नजोडिँदा र युवा पंक्तिलाई नसमेट्दा एमाले अहिले घेराबन्दीमा छ । राजनीतिक रुपमा घेराबन्दी जस्तो देखिएपनि यदि एमालेले जनतासँग जोडिने र युवा पंक्तिलाई समेट्ने स्प्रिड लिएको भए अहिलेको घेराबन्दीले कुनै असर पर्ने थिएन् । बरु धरानको सन्दर्भमा कम्तिमा सय दिन मेयरका गतिविधिलाई एमालेले निस्फिक्री छोडिदिनु पथ्र्यो । त्यसो गरेको भए परिपक्क राजनीति देखिन्थ्यो । यसतर्फ एमालेको नेतृत्वको ध्यान जानु जरुरी छ ।

साथै एमालेले आफूले आफ्नो पुराने पृष्ठभूमिलाई बिर्सिएर त्यो लय अरुलाई पक्रन दिने होइन् । त्यसको जस आफूले लिने हो । यस्ता खालका जनतासँग जोडिने र श्रमदानको विषय कम्युनिस्टहरुको नीति हो ।

एमालेले आफूले जितेका पालिकामा नलजाइकन, अप्ठ्यारो नमानीकन, मैलो लाग्छ कि नभनीकन श्रमसँग जोडिएका अभियान गर्दै राम्रै हुन्छ । नीतिगत नेतृत्व गर्दै राम्रा राम्रा निर्णय गर्ने र जनतालाई जोड्ने विषयमा एमाले अब चुक्नु हुँदैन ।
पूर्वेली प्रेस डट कमबाट

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सरोज र पूजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

Published

on

विराटनगरः सरोज चौधरी र पूजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पूजा मिस थारु आइकन घोषित भएका हुन् ।

थारु आइकनको उपाधि जितेसँगै सरोज र पूजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअप साहिल र सुजताले जनही ३० हजार र सेकेण्ड रनरअप विप्लव र सन्ध्याले जनही २० हजार नगद पुरस्कार पाएका छन् ।

उनीहरुलाई कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा, माओवादी नेता अमनलाल मोदी, एमाले नेता विनोद ढकाल, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष कनुलाल चौधरी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

नोबेल मिस्टर एण्ड मिस थारु आइकनको यो तेस्रो सिजन हो । अघिल्ला २ संस्करण झैँ यस पटक पनि प्रतियोगितालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको थियो ।

Continue Reading

Banner

लेगुवा झरना हुँदै अरुणको तीरैतीरै

Published

on

सुरज कोइराला
पूर्वी नेपालका पहाड आफैंमा सुन्दर र रमणीय छन् । यहाँका पखेरा, कान्ला, कन्दरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका छन् । जीवनको शुरुवातदेखि नै तराई बसेकाको लागि यहाँका दृश्य हरेक दिन अलौकिक हुन्छन् ।

जीवन जिउने कार्यमा पेशाको सिलसिलामा केही महिनादेखि तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसोबास भइरहेको छ । करिब दुई वर्षको बसाइ यस जिल्लामा रहने निश्चित जस्तै नै रहेको छ । यही अवसरमा केही स्थानको यात्रा गर्ने निश्चयका साथ यात्रा प्रारम्भ गरियो ।

यात्राको सुनिश्चितता भएसँगै अघिल्लो दिनदेखि नै यात्राका लागि आवश्यक सरसामान तयार गरियो । भोलिपल्ट बिहान ७ बजे सबैजना आ—आफ्नो झोला बोकी गाडीमा तयार भएर यात्राका लागि प्रस्थान गरियो ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार प्रवेश गर्न तथा बाहिर निस्किन अरु जिल्ला जस्तो कहाँ सहज छ र ! यहाँका सडक असार साउनमा धान रोप्न ठिक्क पारे जस्तो हिलाम्मे छन् । म्याङलुङदेखि जिरीखिम्तीसम्मको करिब १० किमीको दूरी पार गर्न हम्मेहम्मे नै प¥यो । जिरीखिम्ती बजारदेखि बसन्तपुरसम्म चाहिँ सडक कालोपत्रे भएको रहेछ । यहाँको दृश्य अवलोकन गर्दै करिब ९ बजेको आसपासमा खाजा खान पर्यटकीय स्थल वसन्तपुरमा गाडी रोक्ने सल्लाह बमोजिम एकछिनलाई विश्राम लिइयो ।

यहाँ हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा तथा गर्मी छल्न आन्तरिक पर्यटकहरूको घुइँचो थामिनसक्नु हुन्छ । एकछिनको चिया खाजापछि वसन्तपुरबाट लेगुवा झरनाको लागि बाटो लागियो ।

वसन्तपुर बजारभन्दा अलि अघि गएपछि उतरतर्फबाट उन्नति नामक आयोजनाले निर्माण गरेको सडकको ट्रयाकबाट लेगुवातर्फ लागियो । बाटोमा रहेका फाटफुट घर तथा बस्ती छिचोल्दै करिब डेढ घण्टाको कच्ची बाटोको यात्रा तय गरियो । स्थानीय तथा पथप्रदर्शक मित्रको घरमा गाडी रोकी त्यहाँबाट पैदल लेगुवा झरनातर्फ लागियो । यस स्थानको स्थानीय बासिन्दा भएको कारण उक्त झरनाको बारेमा जानकारी लिँंदै बाटोमा भएका हरियाली फाँटको सुन्दर दृश्यलाई मोबाइल तथा आँखामा कैद गर्दै झरनातर्फ अघि बढिरह्यौं ।

गुमनाम जस्तै रहेको यो झरनामा आजकल फाट्टफुट्ट व्यक्तिहरू अवलोकन गर्न आउने रहेछन् । हालसालै गएको पहिरोका कारण झरनाको वास्तविक सुन्दरतामा केही कमी आएको रहेछ । झरनाको बारेमा जानकारी लिँंदै करिब एक घण्टाको उकालीओरालीपछि झरना स्थल आइपुगियो ।

थकित मुद्रामा पुगेका सबै जनाको थकान झरनाको पानी देख्नेबित्तिकै स्वतः हराएर गएको अनुभूति भयो । अप्ठ्यारो ठाउँ भएकाले झरनाको मुनि नै पुग्न नसकिए पनि सिँचाइका लागि बनाइएको कुलोमा उभिएर भित्ता समाएर एकछिन प्रकृतिसँग दिल खोलेर रमाइयो ।

यात्राका गन्तव्य अरु स्थान पनि भएकाले झरनासँग त्यहीं बिदा मागी पुनः स्थानीय पथप्रदर्शक सँगै उहाँको घरमा बिहानको खाना खाएर उहाँको आतिथ्यताको हार्दिक आभार प्रकट गर्दै त्यहाँबाट बिदा भइयो । वसन्तपुरदेखि आएको बाटो जस्तै करिब अरु १ घण्टाको उस्तै यात्रा गरी लेगुवाघाट पुगियो । लेगुवा घाट जहाँबाट धनकुटा, भोजपुर र संखुवासभा तीन जिल्ला जाने बाटो छुट्टिन्छ । प्रदेशका प्रभावशाली व्यक्तिहरूको जिल्ला भएको कारणले पनि त्यहाँको बाटो कालोपत्रे भएको रहेछ । लेगुवा घाटको उत्तरतर्फको बाटो अलि पर पुगेपछि सभा खोला पार गरेपछि त्यहाँको खोलाको ताजा माछा खाने विचार गरियो । एउटा पसलमा गएर गाडी रोकियो ।

त्यहाँ साँच्चिकै स्थानीय माछा पाइने रहेछ । माछाको स्वादसँगै केही चिसो पिएर फेरि गन्तव्यतर्फ प्रस्थान गरियो ।

केही समयको अन्तरालपछि हामी संखुवासभाको प्रख्यात स्थल तुम्लिङटार पुग्यौं । हाम्रो यात्राको उद्देश्य अलिक पर रहेकाले तुम्लिङटार बजार नघुमी सीधै गन्तव्यतर्फ अघि बढियो । बजारबाट करिब ३ किमी जति पर पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुगियो । तर दिउँसो माछा मासु सेवन गरेका कारण भोलिपल्ट बिहान मात्र दर्शन गर्ने सल्लाह गरी अरुण नदीको किनारै किनार अघि बढियो ।

अरुण नदीले वारी संखुवासभा र पारी भोजपुर छुट्याएको रहेछ । हाम्रो गन्तव्यस्थल खोला पारी भोजपुर जिल्लामा अवस्थित रहेको र पारी जान झोलुङ्गे पुल मात्र भएकाले गाडीलाई वारी नै राखी नदीलाई नमन गर्दै पारी रहेको मकालु इको रिसोर्टतर्फ लागियो । यात्राको निर्णयसँगै अघिल्लो दिन नै कोठा बुक गरेकाले बास नपाइने हो कि भन्ने चिन्ताबाट मुक्त भइएको थियो ।

दिनभरि यात्राबाट भएको थकानसँगै झोला कोठामा बिसाएर रिसोर्टको वातावरण नियाल्न आतुर भइयो । कलकल बग्ने अरुणको बगरमा चारैतिरबाट हरिया पहाडले घेरिएको ठाउँ वास्तवमै अति सुन्दर थियो । प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा शहरी सुविधायुक्त रिसोर्टको बसाइ अविश्वसनीय थियो ।

केही समय अरुण नदीसँगै किनारमा सुस्ताएर फेरि रिसोर्टभित्र नै रमाइलो गर्ने निर्णय भयो । दिउँसो सभा खोलाको माछाको तृप्ति नभए पनि पेटले खाजाको माग गरेसँगै स्वीमिङ पुलको मज्जा लिँदै खाजा खानेतर्फ लागियो ।

केहीबेर स्वीमिङ पुलमा रमाइयो । रातिको खाना खाएर आ–आफ्नो कोठामा गई आराम गरियो । पहाडको चिसो वातावरणबाट विश्राम लिई न्यानो तथा तराईको कोलाहलबाट शान्त र हरियालीको आनन्द लिन दुवै क्षेत्रका लागि उपयुक्त स्थान भएको ठम्याई साथ भोलिको यात्राका लागि आज थकाइ मार्न ओछ्यानमा पल्टियौं ।

बिहानीको समयमा तातो चियाको चुस्कीसँगै नयाँ यात्रा शुरुवात गरियो । हिजो गरेको वाचासँगै मनकामनाको दर्शन गरेर मात्र यात्रा अघि बढाउने भइयो । न्यानो सत्कार साथै प्रकृतिको सुन्दरतालाई नियाल्ने मौका दिएकोमा रिसोर्टलाई धन्यवाद दिँंदै पुनः आउने वाचा गरी अरुण नदीलाई फेरि पनि नमन गरी मनकामनातर्फ अघि बढियो ।

किंवदन्ती अनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान मानिन्छ । उक्त स्थानलाई सतीघाट समेत भनिन्छ । यहाँ हरकोहीले मनले चिताएको कुरा पूरा हुने विश्वासले मनकामनाको नामले प्रख्यात रहेको छ । केही समयको धार्मिक दर्शनपछि पुनः यात्रा संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ अघि बढाइयो ।

करिब १२ किलोमिटरको यात्रापछि बजार क्षेत्र प्रवेश गरियो । लसुन प्याज तथा छाते सक्खरको लागि खाँदबारी बजार प्रसिद्ध रहेछ । संयोगवश उक्त दिन हाट लाग्ने दिन परेकोले हाट हेर्ने अवसर समेत प्राप्त भयो । कोसेली स्वरूप छाते सख्खर खरिद गरी बिहानी खाना खाई यात्रालाई म्याङलुङतर्फ मोडियो ।

हामीसँग दुईवटा विकल्प थियो, पुनः त्यही बाटो फर्किने वा नयाँ रुट प्रयोग गर्ने । सबैको साझा सहमतिमा नयाँ बाटो भई फर्किने निर्णय बमोजिम अघि लागियो । नयाँ बाटो प्रयोग गर्दा यात्राको दूरी पनि केही कम रहेछ । दूरी कम हुनासाथ बाटोको उचाइ भने निकै उकालियो । धनकुटाको चानुवा हुँदै डाँडागाउँ करिब ९ किलोमिटर जति ठाडो उकालो लागेपछि बाटो केही समथर भयो । कालोपत्रे चाहिँ समाप्त भई बिग्रिएको ट्रयाकमा फेला परियो ।

लगभग पौने घण्टाको सवारी पछि पुनः संखुवासभा जिल्लाकै मुडे बजार पुगियो र त्यहाँ रहेको यलम्बर पार्क घुम्न गाडी रोकियो । बजार क्षेत्रबाट नै देखिने पार्क यहाँका बासिन्दाको इतिहासको धरोहरको रूपमा रहेको बुझियो । एकछिन यलम्बर पार्कको अवलोकन गरेपछि फेरि गन्तव्यतर्फ लागियो ।

अघिल्लो दिनको यात्राको शुरुवातदेखिको दृश्यलाई मनमा सजाउँदै त्यो चिसो झरनाको पानी, अरुणको कलकल आवाज, त्यो प्राकृतिक सुन्दरता, धार्मिक भावनाको आनन्द लिंँदै बाटोका कठिनाइलाई भुलेर म्याङलुङमा आई पुनः अर्को यस्तै यात्रा तय गर्ने अठोटसहित विश्राम गरियो ।

(लेखक जलस्रोत तथा सिंचाइ विकास डिभिजन तेह्रथुममा अधिकृत स्तर छैटौं तहमा कार्यरत छन्।) – अनलाइन खबरबाट

Continue Reading

Banner

बारामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु, २४ जना घाइते

Published

on

हेटौंडाः नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उपचारको क्रममा हेटौंडा अस्पतालमा १२ जना तथा चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल अस्पताल, हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । सडकबाट सय मिटर तल झरेको बस वर्षाले चिप्लो भएको घुम्ती बाटोमा तीव्र गतिका कारण चालकले नियन्त्रण गर्न नसक्दा चिप्लिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक