विराटचोकः दक्षिण भारतको तमिलनाडु राज्यका सातवटा गाउँमा सयौँ मानिसले एक किसिमको कमिलाले आतङ्क सिर्जना गरेको बताएका छन् ।
ती कमिलाले पशुचौपायालाई आक्रमण गरेको अनि अन्नबालीमा क्षति पुर्याएको उनीहरूको गुनासो छ । कमिलाका कारण आफ्नो जीविकोपार्जन जोखिममा परेको उनीहरू बताउँछन् ।
‘पहेँलो बहुला कमिला’लाई विश्वकै सबैभन्दा खराब अतिक्रमणकारी प्रजाति मान्ने गरिएको इन्टरनेशनल युनिअन फर कन्जर्भेसन अफ नेचर (आईयुसीएन)ले जनाएको छ ।
ती कमिलाले टोक्ने वा चिल्ने नगरे पनि तिनले आफ्नो शरीरबाट निष्कासन हुने फर्मिक एसिड छर्केर रासायनिक प्रतिक्रिया गराउन सक्छन् ।
यी कस्ता कमिला हुन्
यी कमिलाको वैज्ञानिक नाम एनोप्लोलेपिस ग्रासिलिप्स हो । यी कमिला साधरणतया उष्ण र अर्धोष्ण क्षेत्रमा बस्छन् । यी कमिला संयोजित रूपमा नभई जथाभावी हिँडडुल गर्छन् । कुनै अवरोध देखा परेको खण्डमा तिनको गतिविधि अझै अव्यवस्थित बन्छ ।
विज्ञहरूले यी कमिलाको सङ्ख््या चाँडै बढ्न सक्ने र यिनले ‘रैथाने वन्यजीवलाई ठूलो क्षति गराउन सक्ने’ बताएका छन् । अस्ट्रेलियाका धेरै ठाउँमा यी कमिलाले अतिक्रमण गरेको विवरण आएको छ ।
पहेँलो बहुला कमिलाका बारेमा अध्ययन गरेका कीटशास्त्री डा. प्रणय वैद्यले ती ‘अवसरवादी प्रजाति’ भएको बताए ।
‘उनीहरूलाई यो वा त्यो नै खानुपर्छ भन्ने छैन । उनीहरू जुनसुकै र सबै कुरा खाइदिन्छन्,’ उनले भने । उनका अनुसार तिनले अरू प्रजातिका कमिला, मौरी र बारुलाको पनि सिकार गर्छन् ।
प्रभावित गाउँको अवस्था के छ
अहिले प्रभावित भएका तमिलनाडुका गाउँहरू डिन्डिगुल जिल्लाको करन्तामलाई जङ्गलनजिकैका पहाडी क्षेत्रमा छन् । त्यहाँका धेरै मानिसहरू खेतीपाती गर्छन् र पशुचौपाया पाल्छन् ।
५५ वर्षीय किसान सेलेभाम भन्छन्, ‘हामी जङ्गलनजिकै जानेबित्तिकै कमिला हामीमाथि चढ्छन् । त्यसले चिलाउने र फोका उठ्ने हुन्छ । हामी पिउने पानी पनि लिएर जान सक्दैनौँ किनभने उनीहरूले त्यसलाई घेरिहाल्छन् । के गर्ने हामीलाई थाहा छैन ।’
गाउँलेहरूले बीबीसी तमिललाई पछिल्ला केही वर्षमा ती कमिला जङ्गलमा देखा पर्न थालेको बताएका छन् । तर यसरी यति ठूलो सङ्ख्यामा कमिला गाउँ नै पसेको यो पहिलो पटक भएको बताइएको छ । जङ्गलनजिकै बसोबास गरेका गोठालाहरूले कमिलाकै कारण बस्ती नै खाली गरिएको बताएका छन् ।
‘मेरो घरभरि नै कमिला आएपछि म त्यो ठाउँ छाडेर गाउँ आएँ । हामीले कमिला नियन्त्रण गर्न सकेनौँ । तिनको सङ्ख्या बढेको बढ्यै थियो,’ कमिलाले आफ्ना बाख्रालाई पनि आक्रमण भएको बताउने नागम्मलले भने ।
अधिकारीहरू के भन्छन्
स्थानीय वन अधिकारी प्रभुले बीबीसी तमिलसँग कुरा गर्दै आफूले विस्तृत अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने आदेश दिएको बताएका छन् । उनले प्रतिवेदन आएपछि मात्रै आफूले प्रतिक्रिया दिन सक्ने बताए ।
सरकारी पशुनिर्देशक डा. सिङ्गमुथुले ती कमिलाहरू ‘साधारण खालका कमिलाजस्तै देखिने’ बताए ।
उनी भन्छन्, ‘हामीलाई ती कमिला किन फैलिरहेका छन् भन्ने थाहा छैन । हामी तिनलाई कसरी नियन्त्रणमा लिने भन्न सक्दैनौँ । हामी मानिसहरू र चौपायाहरूले समस्या भोग्नुको कारण यही नै हो भनेर किटेर भन्न सक्दैनौँ ।’
उनले गाउँलेहरूलाई आफ्ना पशु चराउन जङ्गलमा नलैजान भनिएको बताए ।
सर्प पनि कमिलाको सिकार
गाउँलेहरूले आफ्ना चौपायाबाहेक सर्प र खरायो समेत यी कमिलाको आक्रमणमा परेर मारिएको बताएका छन् ।
डा. वैद्य ती कमिलाहरूले छर्किने फर्मिक एसिडका कारण जनावरहरूको आँखामा असर पर्न सक्ने बताउँछन् । उनले थपे, ‘तर यिनले विशेषगरी आँखालाई नै तारो बनाउँछन् भनेर कतै पनि अभिलेख गरिएको गरिएको छैन ।’
मानिसहरूमा एसिडले एलर्जी गराउन सक्ने भए पनि त्यसबाट ज्यानको जोखिम नहुने उनले बताए ।
विज्ञहरूले ती कमिलाका कारण उक्त क्षेत्रको पारिस्थितिक प्रणाली प्रभावित हुन सक्ने जनाएका छन् । गाउँलेहरूले कमिलाले चौपायाको आँखामा आक्रमण गरेको बताएका छन् ।
पहेँलो बहुला कमिला कति खतरनाक
यी कमिलाले अस्ट्रेलियाको क्रिसमस आइल्यान्डमा शुरुमा अतिक्रमण गर्दा त्यहाँबाट रैथाने कमिलाहरू विस्थापित भएको डा. वैद्य बताउँछन् ।
उनका अनुसार पहेँला बहुला कमिलाले अरू कमिलालाई आक्रमण गरेको र तिनको आहाराको स्रोतमा नियन्त्रण कायम गरेका थिए ।
उनीहरूले दशौँ लाख राता गँगटालाई मार्ने क्रममा तिनका आँखा फुटाउनुका साथै अङ्गभङ्ग गरिदिएका थिए ।
एउटा संरक्षण समूहसँग काम गरिरहेका कीटविज्ञ डा. प्रियदर्शन धर्मराजनले बाली नष्ट पार्न सक्ने लाईकीरासँग उनीहरूको सहजीवी सम्बन्ध रहेको बताए ।
उनी भन्छन्, ‘लाईले निकाल्ने दूधजस्तो पदार्थ यी कमिलाले खान्छन्, लाईकीरा बालीका लागि राम्रो होइन ।’
डा. धर्मराजन निरन्तर बढिरहेको तापक्रमका कारण अहिले अवस्था बिग्रिएको ठान्छन् ।
‘जब तापक्रम बढ्छ उनीहरूको मेटाबोलिक रेटृ पौष्टिक तत्व अन्तर्दहन गर्ने दरे पनि बढ्छ जसले गर्दा उनीहरूले धेरै खान्छन् । यो एउटा कारण हुन सक्छ,’ उनले भने ।
तर तथ्याङ्कबिना यसलाई पुष्टि गर्न नसकिने उनले बताएका छन् ।
प्रभावित क्षेत्रको मौसम प्रणालीबारे थप तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिनुपर्नेमा उनको जोड छ ।– बीबीसीबाट
You must be logged in to post a comment Login