रोचक
एसिड छर्केर आँखा फुटाइदिन सक्ने पहेँलो बहुला कमिलाको आतङ्क
विराटचोकः दक्षिण भारतको तमिलनाडु राज्यका सातवटा गाउँमा सयौँ मानिसले एक किसिमको कमिलाले आतङ्क सिर्जना गरेको बताएका छन् ।
ती कमिलाले पशुचौपायालाई आक्रमण गरेको अनि अन्नबालीमा क्षति पुर्याएको उनीहरूको गुनासो छ । कमिलाका कारण आफ्नो जीविकोपार्जन जोखिममा परेको उनीहरू बताउँछन् ।
‘पहेँलो बहुला कमिला’लाई विश्वकै सबैभन्दा खराब अतिक्रमणकारी प्रजाति मान्ने गरिएको इन्टरनेशनल युनिअन फर कन्जर्भेसन अफ नेचर (आईयुसीएन)ले जनाएको छ ।
ती कमिलाले टोक्ने वा चिल्ने नगरे पनि तिनले आफ्नो शरीरबाट निष्कासन हुने फर्मिक एसिड छर्केर रासायनिक प्रतिक्रिया गराउन सक्छन् ।
यी कस्ता कमिला हुन्
यी कमिलाको वैज्ञानिक नाम एनोप्लोलेपिस ग्रासिलिप्स हो । यी कमिला साधरणतया उष्ण र अर्धोष्ण क्षेत्रमा बस्छन् । यी कमिला संयोजित रूपमा नभई जथाभावी हिँडडुल गर्छन् । कुनै अवरोध देखा परेको खण्डमा तिनको गतिविधि अझै अव्यवस्थित बन्छ ।
विज्ञहरूले यी कमिलाको सङ्ख््या चाँडै बढ्न सक्ने र यिनले ‘रैथाने वन्यजीवलाई ठूलो क्षति गराउन सक्ने’ बताएका छन् । अस्ट्रेलियाका धेरै ठाउँमा यी कमिलाले अतिक्रमण गरेको विवरण आएको छ ।
पहेँलो बहुला कमिलाका बारेमा अध्ययन गरेका कीटशास्त्री डा. प्रणय वैद्यले ती ‘अवसरवादी प्रजाति’ भएको बताए ।
‘उनीहरूलाई यो वा त्यो नै खानुपर्छ भन्ने छैन । उनीहरू जुनसुकै र सबै कुरा खाइदिन्छन्,’ उनले भने । उनका अनुसार तिनले अरू प्रजातिका कमिला, मौरी र बारुलाको पनि सिकार गर्छन् ।
प्रभावित गाउँको अवस्था के छ
अहिले प्रभावित भएका तमिलनाडुका गाउँहरू डिन्डिगुल जिल्लाको करन्तामलाई जङ्गलनजिकैका पहाडी क्षेत्रमा छन् । त्यहाँका धेरै मानिसहरू खेतीपाती गर्छन् र पशुचौपाया पाल्छन् ।
५५ वर्षीय किसान सेलेभाम भन्छन्, ‘हामी जङ्गलनजिकै जानेबित्तिकै कमिला हामीमाथि चढ्छन् । त्यसले चिलाउने र फोका उठ्ने हुन्छ । हामी पिउने पानी पनि लिएर जान सक्दैनौँ किनभने उनीहरूले त्यसलाई घेरिहाल्छन् । के गर्ने हामीलाई थाहा छैन ।’
गाउँलेहरूले बीबीसी तमिललाई पछिल्ला केही वर्षमा ती कमिला जङ्गलमा देखा पर्न थालेको बताएका छन् । तर यसरी यति ठूलो सङ्ख्यामा कमिला गाउँ नै पसेको यो पहिलो पटक भएको बताइएको छ । जङ्गलनजिकै बसोबास गरेका गोठालाहरूले कमिलाकै कारण बस्ती नै खाली गरिएको बताएका छन् ।
‘मेरो घरभरि नै कमिला आएपछि म त्यो ठाउँ छाडेर गाउँ आएँ । हामीले कमिला नियन्त्रण गर्न सकेनौँ । तिनको सङ्ख्या बढेको बढ्यै थियो,’ कमिलाले आफ्ना बाख्रालाई पनि आक्रमण भएको बताउने नागम्मलले भने ।
अधिकारीहरू के भन्छन्
स्थानीय वन अधिकारी प्रभुले बीबीसी तमिलसँग कुरा गर्दै आफूले विस्तृत अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने आदेश दिएको बताएका छन् । उनले प्रतिवेदन आएपछि मात्रै आफूले प्रतिक्रिया दिन सक्ने बताए ।
सरकारी पशुनिर्देशक डा. सिङ्गमुथुले ती कमिलाहरू ‘साधारण खालका कमिलाजस्तै देखिने’ बताए ।
उनी भन्छन्, ‘हामीलाई ती कमिला किन फैलिरहेका छन् भन्ने थाहा छैन । हामी तिनलाई कसरी नियन्त्रणमा लिने भन्न सक्दैनौँ । हामी मानिसहरू र चौपायाहरूले समस्या भोग्नुको कारण यही नै हो भनेर किटेर भन्न सक्दैनौँ ।’
उनले गाउँलेहरूलाई आफ्ना पशु चराउन जङ्गलमा नलैजान भनिएको बताए ।
सर्प पनि कमिलाको सिकार
गाउँलेहरूले आफ्ना चौपायाबाहेक सर्प र खरायो समेत यी कमिलाको आक्रमणमा परेर मारिएको बताएका छन् ।
डा. वैद्य ती कमिलाहरूले छर्किने फर्मिक एसिडका कारण जनावरहरूको आँखामा असर पर्न सक्ने बताउँछन् । उनले थपे, ‘तर यिनले विशेषगरी आँखालाई नै तारो बनाउँछन् भनेर कतै पनि अभिलेख गरिएको गरिएको छैन ।’
मानिसहरूमा एसिडले एलर्जी गराउन सक्ने भए पनि त्यसबाट ज्यानको जोखिम नहुने उनले बताए ।
विज्ञहरूले ती कमिलाका कारण उक्त क्षेत्रको पारिस्थितिक प्रणाली प्रभावित हुन सक्ने जनाएका छन् । गाउँलेहरूले कमिलाले चौपायाको आँखामा आक्रमण गरेको बताएका छन् ।
पहेँलो बहुला कमिला कति खतरनाक
यी कमिलाले अस्ट्रेलियाको क्रिसमस आइल्यान्डमा शुरुमा अतिक्रमण गर्दा त्यहाँबाट रैथाने कमिलाहरू विस्थापित भएको डा. वैद्य बताउँछन् ।
उनका अनुसार पहेँला बहुला कमिलाले अरू कमिलालाई आक्रमण गरेको र तिनको आहाराको स्रोतमा नियन्त्रण कायम गरेका थिए ।
उनीहरूले दशौँ लाख राता गँगटालाई मार्ने क्रममा तिनका आँखा फुटाउनुका साथै अङ्गभङ्ग गरिदिएका थिए ।
एउटा संरक्षण समूहसँग काम गरिरहेका कीटविज्ञ डा. प्रियदर्शन धर्मराजनले बाली नष्ट पार्न सक्ने लाईकीरासँग उनीहरूको सहजीवी सम्बन्ध रहेको बताए ।
उनी भन्छन्, ‘लाईले निकाल्ने दूधजस्तो पदार्थ यी कमिलाले खान्छन्, लाईकीरा बालीका लागि राम्रो होइन ।’
डा. धर्मराजन निरन्तर बढिरहेको तापक्रमका कारण अहिले अवस्था बिग्रिएको ठान्छन् ।
‘जब तापक्रम बढ्छ उनीहरूको मेटाबोलिक रेटृ पौष्टिक तत्व अन्तर्दहन गर्ने दरे पनि बढ्छ जसले गर्दा उनीहरूले धेरै खान्छन् । यो एउटा कारण हुन सक्छ,’ उनले भने ।
तर तथ्याङ्कबिना यसलाई पुष्टि गर्न नसकिने उनले बताएका छन् ।
प्रभावित क्षेत्रको मौसम प्रणालीबारे थप तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिनुपर्नेमा उनको जोड छ ।– बीबीसीबाट
Facebook Comment
Banner
नेप्सेमा सामान्य गिरावट
बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।
जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।
११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।
Banner
सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार,
मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।
नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।
छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।
त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशपत्रका आधारमा पनि छुट सुविधा लिन सकिने जनाइएको छ ।
नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतनिधिबीच भएको सम्झौता भएको बताइएको छ ।
सो सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकली चौधरीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नवीन दाहालले हस्ताक्षर गर्नुभएको छ ।
Banner
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य
आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।
सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।
काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।
ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।
ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।
पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login