Connect with us
Advertisement
Advertisement

साढे ३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका शेरधन राईले भने, ‘मेरो कार्यंकालमा १७ वटा मुख्य काम भएका छन्’

Published

on

विराटचोकः शनिबार रातिदेखि प्रदेश र प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । कार्यकाल समाप्त हुनुभन्दा पहिले प्रदेश नम्बर १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले आफूले गरेको कामको विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । आफूले गरेका मुख्य काममध्ये १७ कामको विवरण उनले प्रस्तुत गरेका छन् । पहिलो वर्ष काम गर्ने तरिका सिक्नमै खर्च भएको उनले उल्लेख गरेका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरणको पूर्ण पाठः

सबैमा सेवा, नमस्ते अनि अभिबादन !
आजबट प्रदेशसभा र प्रतिनिधीसभाको कार्यकाल पुरा हुदैछ !!
संस्थापक प्रथम मुख्यमन्त्रीको रुपमा ३ बर्ष ६ महिना ७ दिन बहाल रहँदा र प्रदेशसभाको कार्यकाल पुरा हुदै गर्दा मैले केही कुराहरुको स्मरण गर्दै भन्नैपर्छ !!!

सर्बप्रथम,
–मलाई संघीयता कार्यान्वयनका लागी ७ खम्बा मध्ये पहिलो खम्बाको रुपमा प्रदेश नं १ मा (प्रथम मुख्यमन्त्रीको हैसियतमा) काम गर्न मेरो पार्टी नेकपा (एमाले) ले पठाएकोमा नेकपा (एमाले) र पार्टीका श्रद्वेय अध्यक्ष केपीशर्मा ओलीप्रति बिशेष धन्यबाद र आभार प्रकट गर्दछु ।

–म मुख्यमन्त्री बन्नका लागी सर्बसम्मत दलको नेता हुने स्थिती बनेन, निर्बाचनको माध्यमबाट चुनिने क्रममा मलाई मतदान गरी निर्बाचीत गराउने मेरो दलका माननीय सदस्यहरुलाई बिशेष धन्यबाद भन्न चाहन्छु ।

–मेरो मन्त्रिमण्डलमा रहेर मलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने र सहयोग गर्ने सबै मन्त्रि, राज्यमन्त्रीहरुलाई पनि बिशेष धन्यबाद भन्न चाहन्छु ।

–सिंगो प्रदेशसभा, माननीय सभामुख,उपसभामुख र सबै माननीय सदस्यहरुको सदभाव सहयोग प्रति कृतज्ञता सहित धन्यबाद भन्न चाहन्छु ।

–संगसंगै प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश लगानी प्रधिकरण लगायत प्रदेश सरकारका प्रमुख सचिबहरु, मन्त्रालयका सचिवहरु र सिंगो निजामती कर्मचारी प्रशासन, सुरक्षा निकाय एबं निजीक्षेत्र, मिडिया हाउस लगायत सबै संचारकर्मीहरु प्रति पनि प्राप्तभएको सहयोग, सदभाव र शुभेच्छाप्रति हार्दिक आभार र धन्यबाद भन्न चाहन्छु ।

–मेरो सचिवालयका सबै सदस्यहरु, सल्लाहकार सदस्यहरु सबैलाई हार्दिक धन्यबाद भन्न चाहन्छु ।

अब थोरै अनुभव र कामका कुराहरु पनि शेयर गर्न सान्दर्भिक ठान्दछु ।
=तीन तहको संघीयता हाम्रा लागी पहिलो अनुभव, प्रयोग र अभ्यास थियो ।
=तर केन्द्रिय सरकारको मन्त्री भएर काम गरिसकेको र संघीयताको मर्म, भावना र स्पीरिट धेरै हदसम्म बुझेको नाताले अनि शुन्य अवस्थाबाट गुन्द्री र पिरामा बसेर काम शुरु गर्नुपर्छ भन्ने पुर्ब मनस्थिती तयार गरेर गएको हुनाले खासै असहज, अप्ठ्यारो केही महशुस गर्नु परेन ।
=पहिलो एक बर्ष प्रदेश संरचनालाई उभ्याउने, खुट्टा टेकाउने र हिडाउने आधार तयार गर्दा नै बित्यो भन्दा फरक पर्दैन ।
=म नामका लागी, निजी स्वार्थका लागी मुख्यमन्त्री बन्न प्रदेशमा झरेको थिएन, संबिधान र संघीयताको कार्यन्वयन गर्दै केन्द्रिय अनुभव सहित प्रदेश संरचनालाई संस्थागत गर्न र प्रदेशको बिकास र समृद्विका लागी केही खाकाहरु कोर्दै थोरै भएपनि समृद नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा जोडिएर योगदान गरौं, राम्रो थिती बसाऔं, सही प्रणाली स्थापना गरौं, जसबाट खुसी र गर्बको अनुभुति लिन सकौं, मेरो जम्मा यति थियो स्वार्थ र सपना ।

म पाँच बर्षको लागी निर्बाचीत भएको भएता पनि ३ बर्ष ६ महिना ७ दिन मात्र मुख्यमन्त्रीको रुपमा रहे म बहाल रहँदा गरेका कामहरुलाई मैले गरे भनेर भन्नैपर्छ ।
जस्तैः–

१.६ दर्जन भन्दा बढी कानुन ऐनहरु र सयौंको संख्यामा कार्यबिधी एबं नियमावलीहरुको तर्जुमा ।

२.प्रदेश सरकारको लागी आवश्यक स्थायी र अस्थायी संरचनाहरुको स्थापना ।

३.आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समृद्व प्रदेशको मुल दृष्टिकोण तय गर्नु ।

४.भौतिक पुर्बाधार बिकासका कामहरु सन्तुलित ढंगले प्रदेश भरि अगाडी बढाउदै ६२ भन्दा बढी बहुबर्षीय सडक तथा सडकपुलहरुको निर्माण कार्य शुरु गर्नु र धेरै जसो बनी सक्नु । त्यसैगरी ८१ भन्दा बढी सबै पालिका केन्द्र र महत्वपुर्ण बजारकेन्द्र र राजमार्गहरु जोडने गरी मुख्यमन्त्री ग्रामीण सडकहरुको निर्माण कार्य अगाडी बढाउनु ।

५.बिराटनगर घिनाघाट हरैचा सडक (फोरल्याण्डको) निर्माण गर्नु उदाहरणीय रहनु ।

६.सबै जसो झोलुंगेपुलहरु बनिसक्नु ।

७.खेलकुद मैदान, रंगशाला, सभाभवनहरु, खानेपानी सिंचाईका ठुलठुला आयोजनाहरुको सुरुवात गर्दै सम्पन्न हुने प्रक्रियामा रहनु ।

८.रुपान्तरणकारी परियोजनाहरुको छनौट हुनु र मुन्दुम ट्रेल लगायत पर्यटन पुर्बाधारका आर्कषक पार्कहरु निर्माण हुनु ।

९.झण्डै ३ सयभन्दा बढी बिधालयहरुमा आइटि शिक्षा संचालन गर्नु । बिधालय नर्सिंग कार्यक्रम संचालन गर्नु ।

१०.पहिलो प्रादेशिक बिश्व बिधालयको रुपमा मनमोहनप्राबिधिक बिश्वबिधालयको स्थापना गर्नु ।

११.स्वीस सरकारबाट १ अर्ब अनुदान सहयोग लिने एकमात्र प्रदेशमा पर्नु ।

१२.स्वास्थ्य क्षेत्रमा उल्लेख्य कामहरु गर्नु र कोभिड १९ को रोकथाम र नियण्त्रणमा चालिएका कदमहरु देशमै उदाहरणीय रहनु ।

१३.लागु औषध र दुर्ब्यसनमुक्त, सक्षम र असल नागरिकयुक्त प्रदेश बनाउने उधेश्यका साथ लागु औषध र दुर्ब्यसनका बिरुद्व म अघि बढछु भन्ने नाराका साथ सगरमाथा टिन्स क्लब मार्फत झण्डै २ लाख बिधार्थीहरुलाई संगठीट गरी परिचालन गर्नु ।

१४.सिमा सुरक्षा, नागरिक सुरक्षा र बिपद आदिमा सुरक्षा निकायहरुको प्रभावकारी परिचालनका लागी सवारी साधन लगायत अन्य सामाग्रीहरु उपलब्ध गराउदै प्रभावकारी रुपमा समन्वय गर्न सक्नु ।

१५.मुख्यमन्त्री ड्यासबोर्ड संचालनमा ल्याई डिजीटल प्रदेशको अवधारणालाई अगाडी बढाउनु ।

१६.छरितो मन्त्रीमण्डल बनाएर चुस्त रुपमा मितब्ययी ढंगले काम गर्नु र कुनैपनि खाले बिकृति र बेथितीहरुलाई जन्मन, हुर्कन नदिई सरकारको नेतृत्व गर्नु ।

१७.प्रदेश राजधानी टुंग्याउनु ।

अन्य थुप्रै महत्वपुर्ण कार्यहरु छन जसलाई गोजी पुस्तिकाको रुपमा सार्बजानिक गरिसकिएको छ ।

अन्तमा मैले एउटा कुरामा स्पष्टिकरण दिनैपर्छ । त्यो केहो भने, म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर मेरो कारणले प्रदेशले नाम नपाएको भने होइन । हामीले राजधानी टुंग्याउयौं तर नाम टुंग्याउन दलहरु तयार भएनन । मैले तोक्ने कुरा थिएन । यो नितान्त प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा थियो अर्थात दुईतिहाई माननीय सदस्यहरुको मतबाट टुंग्याउनुपर्ने संबैधानिक ब्यवस्था रहेको बिषय हो । सरकार प्रमुखको हैसियतमा मैले छलफल, परामर्श र सहजीकरण गर्ने मात्रको जिम्मेवारी थियो त्यो पहल गर्दा गर्दै पनि सबै दलहरु तयार नभएकोले आ–आफ्नै बिचार भावना र मान्यतामा अडिक रहेको र अर्को तर्फ कोभिड १९ को महामारीका कारण बाक्लो छलफल हुन सकेन संगसंगै अनपेक्षित राजनितीक घटनाक्रमका कारण मैले सरकार छोडनु परयो । जुन कुरा सबैमा बिदितैछ । यसरी म बहाल रहेको बेला नाम टुंगिन सकेन । म भन्दा पछि दुईजना मुख्यमन्त्री हुनुभो वहाँहरु रहेको बेला प्रदेशले नाम पाएको भए स्वाभाविक रुपमा फलानाले राख्न नसकेको नाम मैले राखे, अथवा उस्को पालामा राख्यो भन्ने ठाउँ हुन्थ्यो, बजारमा कुराहरु बिकाउन सकिन्थ्यो । तर वहाँहरु रहेको बेला पनि नाम नआएपछि अब त्यो ठाउँ रहेन र मेरो थाप्लोमा मात्र दोष रहेन । तर म आफु बहाल रहेको बेला प्रदेशको नामांकन हुन नसके बापतको मेरो भागमा पर्ने जिम्मेवारी म बोक्न तयार रहेको कुरा निसंकोच भन्न चाहन्छु ।

यसरी मैले इमान्दारीतापुर्बक आफ्नो स्वच्छ र निष्कलंकित छबीलाई कायम गर्दै म जति समय जिम्मेवारीमा रहेर काम गरे, यसमा म पुर्ण सन्तुष्टि र सफल रहेको मैले बोध गरेकोछु । आगामी दिनमा पनि जिम्मेवारीमा रहँदा वा नरहँदा त्यही इमान्दारीता, नैतिक मुल्य र स्वच्छताको जगमा उभिएर देश र जनताको सेवामा सर्मपित भइरहने बचनबद्वता ब्यक्त गर्दछु ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सरोज र पूजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

Published

on

विराटनगरः सरोज चौधरी र पूजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पूजा मिस थारु आइकन घोषित भएका हुन् ।

थारु आइकनको उपाधि जितेसँगै सरोज र पूजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअप साहिल र सुजताले जनही ३० हजार र सेकेण्ड रनरअप विप्लव र सन्ध्याले जनही २० हजार नगद पुरस्कार पाएका छन् ।

उनीहरुलाई कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा, माओवादी नेता अमनलाल मोदी, एमाले नेता विनोद ढकाल, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष कनुलाल चौधरी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

नोबेल मिस्टर एण्ड मिस थारु आइकनको यो तेस्रो सिजन हो । अघिल्ला २ संस्करण झैँ यस पटक पनि प्रतियोगितालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको थियो ।

Continue Reading

Banner

लेगुवा झरना हुँदै अरुणको तीरैतीरै

Published

on

सुरज कोइराला
पूर्वी नेपालका पहाड आफैंमा सुन्दर र रमणीय छन् । यहाँका पखेरा, कान्ला, कन्दरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका छन् । जीवनको शुरुवातदेखि नै तराई बसेकाको लागि यहाँका दृश्य हरेक दिन अलौकिक हुन्छन् ।

जीवन जिउने कार्यमा पेशाको सिलसिलामा केही महिनादेखि तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसोबास भइरहेको छ । करिब दुई वर्षको बसाइ यस जिल्लामा रहने निश्चित जस्तै नै रहेको छ । यही अवसरमा केही स्थानको यात्रा गर्ने निश्चयका साथ यात्रा प्रारम्भ गरियो ।

यात्राको सुनिश्चितता भएसँगै अघिल्लो दिनदेखि नै यात्राका लागि आवश्यक सरसामान तयार गरियो । भोलिपल्ट बिहान ७ बजे सबैजना आ—आफ्नो झोला बोकी गाडीमा तयार भएर यात्राका लागि प्रस्थान गरियो ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार प्रवेश गर्न तथा बाहिर निस्किन अरु जिल्ला जस्तो कहाँ सहज छ र ! यहाँका सडक असार साउनमा धान रोप्न ठिक्क पारे जस्तो हिलाम्मे छन् । म्याङलुङदेखि जिरीखिम्तीसम्मको करिब १० किमीको दूरी पार गर्न हम्मेहम्मे नै प¥यो । जिरीखिम्ती बजारदेखि बसन्तपुरसम्म चाहिँ सडक कालोपत्रे भएको रहेछ । यहाँको दृश्य अवलोकन गर्दै करिब ९ बजेको आसपासमा खाजा खान पर्यटकीय स्थल वसन्तपुरमा गाडी रोक्ने सल्लाह बमोजिम एकछिनलाई विश्राम लिइयो ।

यहाँ हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा तथा गर्मी छल्न आन्तरिक पर्यटकहरूको घुइँचो थामिनसक्नु हुन्छ । एकछिनको चिया खाजापछि वसन्तपुरबाट लेगुवा झरनाको लागि बाटो लागियो ।

वसन्तपुर बजारभन्दा अलि अघि गएपछि उतरतर्फबाट उन्नति नामक आयोजनाले निर्माण गरेको सडकको ट्रयाकबाट लेगुवातर्फ लागियो । बाटोमा रहेका फाटफुट घर तथा बस्ती छिचोल्दै करिब डेढ घण्टाको कच्ची बाटोको यात्रा तय गरियो । स्थानीय तथा पथप्रदर्शक मित्रको घरमा गाडी रोकी त्यहाँबाट पैदल लेगुवा झरनातर्फ लागियो । यस स्थानको स्थानीय बासिन्दा भएको कारण उक्त झरनाको बारेमा जानकारी लिँंदै बाटोमा भएका हरियाली फाँटको सुन्दर दृश्यलाई मोबाइल तथा आँखामा कैद गर्दै झरनातर्फ अघि बढिरह्यौं ।

गुमनाम जस्तै रहेको यो झरनामा आजकल फाट्टफुट्ट व्यक्तिहरू अवलोकन गर्न आउने रहेछन् । हालसालै गएको पहिरोका कारण झरनाको वास्तविक सुन्दरतामा केही कमी आएको रहेछ । झरनाको बारेमा जानकारी लिँंदै करिब एक घण्टाको उकालीओरालीपछि झरना स्थल आइपुगियो ।

थकित मुद्रामा पुगेका सबै जनाको थकान झरनाको पानी देख्नेबित्तिकै स्वतः हराएर गएको अनुभूति भयो । अप्ठ्यारो ठाउँ भएकाले झरनाको मुनि नै पुग्न नसकिए पनि सिँचाइका लागि बनाइएको कुलोमा उभिएर भित्ता समाएर एकछिन प्रकृतिसँग दिल खोलेर रमाइयो ।

यात्राका गन्तव्य अरु स्थान पनि भएकाले झरनासँग त्यहीं बिदा मागी पुनः स्थानीय पथप्रदर्शक सँगै उहाँको घरमा बिहानको खाना खाएर उहाँको आतिथ्यताको हार्दिक आभार प्रकट गर्दै त्यहाँबाट बिदा भइयो । वसन्तपुरदेखि आएको बाटो जस्तै करिब अरु १ घण्टाको उस्तै यात्रा गरी लेगुवाघाट पुगियो । लेगुवा घाट जहाँबाट धनकुटा, भोजपुर र संखुवासभा तीन जिल्ला जाने बाटो छुट्टिन्छ । प्रदेशका प्रभावशाली व्यक्तिहरूको जिल्ला भएको कारणले पनि त्यहाँको बाटो कालोपत्रे भएको रहेछ । लेगुवा घाटको उत्तरतर्फको बाटो अलि पर पुगेपछि सभा खोला पार गरेपछि त्यहाँको खोलाको ताजा माछा खाने विचार गरियो । एउटा पसलमा गएर गाडी रोकियो ।

त्यहाँ साँच्चिकै स्थानीय माछा पाइने रहेछ । माछाको स्वादसँगै केही चिसो पिएर फेरि गन्तव्यतर्फ प्रस्थान गरियो ।

केही समयको अन्तरालपछि हामी संखुवासभाको प्रख्यात स्थल तुम्लिङटार पुग्यौं । हाम्रो यात्राको उद्देश्य अलिक पर रहेकाले तुम्लिङटार बजार नघुमी सीधै गन्तव्यतर्फ अघि बढियो । बजारबाट करिब ३ किमी जति पर पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुगियो । तर दिउँसो माछा मासु सेवन गरेका कारण भोलिपल्ट बिहान मात्र दर्शन गर्ने सल्लाह गरी अरुण नदीको किनारै किनार अघि बढियो ।

अरुण नदीले वारी संखुवासभा र पारी भोजपुर छुट्याएको रहेछ । हाम्रो गन्तव्यस्थल खोला पारी भोजपुर जिल्लामा अवस्थित रहेको र पारी जान झोलुङ्गे पुल मात्र भएकाले गाडीलाई वारी नै राखी नदीलाई नमन गर्दै पारी रहेको मकालु इको रिसोर्टतर्फ लागियो । यात्राको निर्णयसँगै अघिल्लो दिन नै कोठा बुक गरेकाले बास नपाइने हो कि भन्ने चिन्ताबाट मुक्त भइएको थियो ।

दिनभरि यात्राबाट भएको थकानसँगै झोला कोठामा बिसाएर रिसोर्टको वातावरण नियाल्न आतुर भइयो । कलकल बग्ने अरुणको बगरमा चारैतिरबाट हरिया पहाडले घेरिएको ठाउँ वास्तवमै अति सुन्दर थियो । प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा शहरी सुविधायुक्त रिसोर्टको बसाइ अविश्वसनीय थियो ।

केही समय अरुण नदीसँगै किनारमा सुस्ताएर फेरि रिसोर्टभित्र नै रमाइलो गर्ने निर्णय भयो । दिउँसो सभा खोलाको माछाको तृप्ति नभए पनि पेटले खाजाको माग गरेसँगै स्वीमिङ पुलको मज्जा लिँदै खाजा खानेतर्फ लागियो ।

केहीबेर स्वीमिङ पुलमा रमाइयो । रातिको खाना खाएर आ–आफ्नो कोठामा गई आराम गरियो । पहाडको चिसो वातावरणबाट विश्राम लिई न्यानो तथा तराईको कोलाहलबाट शान्त र हरियालीको आनन्द लिन दुवै क्षेत्रका लागि उपयुक्त स्थान भएको ठम्याई साथ भोलिको यात्राका लागि आज थकाइ मार्न ओछ्यानमा पल्टियौं ।

बिहानीको समयमा तातो चियाको चुस्कीसँगै नयाँ यात्रा शुरुवात गरियो । हिजो गरेको वाचासँगै मनकामनाको दर्शन गरेर मात्र यात्रा अघि बढाउने भइयो । न्यानो सत्कार साथै प्रकृतिको सुन्दरतालाई नियाल्ने मौका दिएकोमा रिसोर्टलाई धन्यवाद दिँंदै पुनः आउने वाचा गरी अरुण नदीलाई फेरि पनि नमन गरी मनकामनातर्फ अघि बढियो ।

किंवदन्ती अनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान मानिन्छ । उक्त स्थानलाई सतीघाट समेत भनिन्छ । यहाँ हरकोहीले मनले चिताएको कुरा पूरा हुने विश्वासले मनकामनाको नामले प्रख्यात रहेको छ । केही समयको धार्मिक दर्शनपछि पुनः यात्रा संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ अघि बढाइयो ।

करिब १२ किलोमिटरको यात्रापछि बजार क्षेत्र प्रवेश गरियो । लसुन प्याज तथा छाते सक्खरको लागि खाँदबारी बजार प्रसिद्ध रहेछ । संयोगवश उक्त दिन हाट लाग्ने दिन परेकोले हाट हेर्ने अवसर समेत प्राप्त भयो । कोसेली स्वरूप छाते सख्खर खरिद गरी बिहानी खाना खाई यात्रालाई म्याङलुङतर्फ मोडियो ।

हामीसँग दुईवटा विकल्प थियो, पुनः त्यही बाटो फर्किने वा नयाँ रुट प्रयोग गर्ने । सबैको साझा सहमतिमा नयाँ बाटो भई फर्किने निर्णय बमोजिम अघि लागियो । नयाँ बाटो प्रयोग गर्दा यात्राको दूरी पनि केही कम रहेछ । दूरी कम हुनासाथ बाटोको उचाइ भने निकै उकालियो । धनकुटाको चानुवा हुँदै डाँडागाउँ करिब ९ किलोमिटर जति ठाडो उकालो लागेपछि बाटो केही समथर भयो । कालोपत्रे चाहिँ समाप्त भई बिग्रिएको ट्रयाकमा फेला परियो ।

लगभग पौने घण्टाको सवारी पछि पुनः संखुवासभा जिल्लाकै मुडे बजार पुगियो र त्यहाँ रहेको यलम्बर पार्क घुम्न गाडी रोकियो । बजार क्षेत्रबाट नै देखिने पार्क यहाँका बासिन्दाको इतिहासको धरोहरको रूपमा रहेको बुझियो । एकछिन यलम्बर पार्कको अवलोकन गरेपछि फेरि गन्तव्यतर्फ लागियो ।

अघिल्लो दिनको यात्राको शुरुवातदेखिको दृश्यलाई मनमा सजाउँदै त्यो चिसो झरनाको पानी, अरुणको कलकल आवाज, त्यो प्राकृतिक सुन्दरता, धार्मिक भावनाको आनन्द लिंँदै बाटोका कठिनाइलाई भुलेर म्याङलुङमा आई पुनः अर्को यस्तै यात्रा तय गर्ने अठोटसहित विश्राम गरियो ।

(लेखक जलस्रोत तथा सिंचाइ विकास डिभिजन तेह्रथुममा अधिकृत स्तर छैटौं तहमा कार्यरत छन्।) – अनलाइन खबरबाट

Continue Reading

Banner

बारामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु, २४ जना घाइते

Published

on

हेटौंडाः नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उपचारको क्रममा हेटौंडा अस्पतालमा १२ जना तथा चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल अस्पताल, हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । सडकबाट सय मिटर तल झरेको बस वर्षाले चिप्लो भएको घुम्ती बाटोमा तीव्र गतिका कारण चालकले नियन्त्रण गर्न नसक्दा चिप्लिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक