बेलबारीः यही असोज ११ गते बेलबारी नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखी बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । सो गठनका क्रममा राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी चयन गरी तदर्थ समिति बनाइएको र सो क्रममा ‘प्राज्ञ’ शब्दको नै भद्दा मजाक हुने गरी समिति गठन गरिएको भन्दै साहित्यकारले आपत्ति जनाएका हुन् ।
सो निर्णयलाई पुनर्विचार गरी भाषा, साहित्य, कला संस्कृतिमा सर्जकले पुर्याएको योगदानको आधारमा प्रतिष्ठान गठन गर्न माग गर्दै साहित्यकार केशु विरहीले नगरपालिकालाई ध्यानाकर्षपत्र बुझाएका छन् । नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालालाई उनले ज्ञापन पत्र बुझाएका हुन् ।
‘साहित्य साधक तथा अनुसन्धानकर्ताहरुको साझा संस्थाको रुपमा हेरिएको बेलबारी प्रज्ञा प्रतिष्ठानमा समावेश भएका र अब हुने सदस्यहरु राजनीतिक आस्था भन्दा पनि विज्ञताको आधारमा हुनुपर्नेमा ध्यानाकर्षण गराउन चाहन्छु’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘भाषा, साहित्य, कला संस्कृतिको सर्वाङ्गीण विकासका लागि गठन हुने यस्ता संस्थामा क्षमता र योग्यतालाई भन्दा पनि राजनीतिलाई मुख्य आधार बनाइयो भने यसले बेलबारीको भाषा, साहित्य, कला संस्कृतिको जगेर्ना गर्ने कुरामा सहमत हुन सकिन्नँ ।’
हालै गठित प्रतिष्ठानको तदर्थ समितिमा समेटिएका व्यक्तिहरुको कुनकुन क्षेत्रमा विज्ञता रहेको छ भन्ने बारेमा बेलबारीवासीले थाहा पाउनुपर्ने उनले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् ।
You must be logged in to post a comment Login