Connect with us
Advertisement

मालश्री धुनको मूलमन्थन

Published

on

नेपालको सांस्कृतिक इतिहासमा सङ्गीतको निकै महत्वपूर्ण स्थान रहेको छ । विशेषतः सांस्कृतिक अनुष्ठान, धार्मिक एवम् आध्यात्मिक साधना, तन्त्र–सम्मोहनको अभ्यास र परम्पागत आभिचारिक उपचार पद्धतिमा सङ्गीतले प्रभावकारी भूमिका खेल्दछ ।

त्यसकारण सङ्गीतलाई साधकको आध्यात्मिक समुन्नतिको एउटा आधार मानिन्छ । सङ्गीतका विविध आयामहरूमध्ये भक्तिसङ्गीतले गहन शान्ति र आध्यात्मिकतालाई परिष्कार गर्छ । त्यसो त, सङ्गीतलाई जीवनका विविध आयामहरूमा जोडिन्छ । युद्धकला र आमसञ्चार त्यसका केही उदाहरणहरू हुन् ।

नेपालको साङ्गीतिक एवम् सांस्कृतिक इतिहासमा मालश्री सङ्गीत (धुन) को विशेष स्थान छ । शरद ऋतुको आगमनसँगै आउने धार्मिक एवम् सांस्कृतिक पर्व परम्पराले वातावरण र पर्यावरणलाई थप सङ्गीतमय बनाएको हुन्छ । मूलतः दसैंमा बज्ने मालश्री धुन धार्मिकता एवम् आध्यात्मिकता बोकेको नेपालको मौलिक धुन हो जुन धर्म, संस्कृति र आध्यात्मिकताको त्रिवेणी बनेको छ । कतिपय सङ्गीत साधकहरूले मालश्री धुनलाई दशैंको पर्यायवाचीको रूपमा परिभाषित गरेका छन् ।

नामङ्करणको आधार
लोकभाषामा मालश्रीलाई मालासिरी भनिएको देखिन्छ । नेवारी सङ्गीतको इतिहासको अध्ययन गर्दा यसलाई मालसी वा मारश्री भनिएको कुरालाई सङ्गीतका अध्येयता रामशरण दर्नालले परिचर्चा गरेका छन् । उनका अनुसार भारतीय विद्वान् पण्डित दामोदरले संस्कृत भाषामा लेखेको ‘सङ्गीत’ पुस्तकमा मालश्रीलाई मालसी नै भनिएको छ । हिन्दी भाषामा मालवश्री पनि भनिने यस धुनलाई दशैं वा कुनै माङ्गलिक अवसरमा गायन तथा वादन गरिने विशेष प्रकारको लयलाई मालश्री भनी नेपाली बृहत् शब्दकोषले परिभाषित गरेको छ ।

इतिहास
मालश्री धुनको इतिहासमा हालसम्म गहन अध्ययन नभएको प्रतीत हुन्छ । सङ्गीतका साधकहरू इतिहासको खोजीभन्दा पनि साधनामै रम्ने हुँदा यसको अध्ययन नभएको तर्क गर्न सकिन्छ । सामाजिक र सांस्कृतिक अध्येयताहरूले पनि यस विषयमा त्यति धेरै अध्ययन गरेको देखिँदैन । लिच्छविकालका अभिलेखहरूमा सङ्गीत र नाटक विषयका सन्दर्भहरू (धनबज्र बज्राचार्य, लिच्छविकालका अभिलेख) पाइएता पनि मालश्री धुनबारे केही सङ्केत छैन । मल्लकालमा भने सङ्गीतको राम्रो विकास भएको अभिलेखात्मक एवम् ऐतिहासिक सामग्रीहरूबाट प्रमाणित हुन्छ । तत्कालीन राजाहरूले धारण गरेको विरुदावली र लेखाएका प्रशस्तिको अध्ययनबाट सङ्गीत, अभिनय र नाटकमा उनीहरूको अभिरुचि रहेको पुष्टि हुन्छ (राजकुमार सुवेदी, मध्यकालीन मुद्राहरूमा धार्मिक तथा सांस्कृतिक प्रभाव, विद्यावारिधि उपाधिका लागि तयार पारिएको अप्रकाशति शोधपत्र, पृष्ठः १०७–११४) ।

भक्तपुरका राजा जितामित्र मल्लले राख्न लगाएको ने.सं. ७९७ को कुमारी चोकस्थित अभिलेखमा मालश्री गीतको सङ्केत परेको इतिहासकारहरूले चर्चा गरेका छन् (संशोधनमण्डलबाट प्रकाशित अभिलेख सङ्ग्रह सातौं भागको पृष्ठः २४–२५) । संशोधन मण्डलले प्रकाशित गरेको यसै सन्दर्भलाई आधार लिएर सङ्गीतका एक अन्वेषकले मल्लकालमै मालश्री सङ्गीतको विकास र विस्तार भएको चर्चा गरेका छन् (रामशरण दर्नाल, नेपाली सङ्गीत संस्कृति, पृष्ठः ११२) । त्यस्तै जगत्ज्योति मल्लले आफ्नो पुस्तक ‘गीतपञ्चक’ मा मालश्री गीत लेखेको अन्वेषक दर्नालले उल्लेख गरेका छन् (ऐजन, पृष्ठः ११३) ।

हिन्दू धर्मको साथसाथै बौद्ध धर्म, संस्कृति र कला, वास्तुकलाको राम्रो विकास भएको पुरातात्विक एवम् ऐतिहासिक प्रमाणहरू पर्याप्त छन् । विशेषतः तान्त्रिक साधनाको सम्पादन एवम् अनुष्ठान गरिने बौद्धचर्या सङ्गीतमा मालश्री रागका धुन, लय र तालमा सिर्जना गरिएकोे अन्वेषक दर्नालले बताएका छन् (ऐजन पृष्ठ) ।

शाहकालमा आएर मालश्री धुनले अझ व्यापकता पायो । शक्ति, साधना र उपासनामा भक्तिसङ्गीतको विशेष महत्व हुन्छ । मल्ल तथा शाह राजहरूले आफूमा निहीत शक्ति उजागर एवम् आत्मजागरणका लागि मालश्री धुनलाई अपनाएको हुन सक्ने हनुमानढोका दरबार परिसरमा अनुसन्धान गरेका सुवासकृष्ण डङ्गोलको तर्क छ ।

आज पनि हनुमानढोका दरबारमा फूलपाती भित्र्याउँदा मालश्री धुनको विशेष महत्व हुँदा हर्षबढाइँ र शक्ति प्रदर्शनमा यस धुनको प्रयोग गरिएको डङ्गोलको तर्क रहेको छ । राजा श्री ५ पृथ्वीनारायण शाहले गुरु गोरखनाथ र देवी मनकामनाको समर्पणमा मालश्री धुनमा आधारित गीत लेखेको अध्येयताहरू बताउँछन् । त्यस्तै राजा रणबहादुर शाहले देवी भैरवीको आराधनाका लागि ‘राग मालश्री’ शीर्षकमा गीत तयार गरेको पुरातत्वविद् जनकलाल शर्माले उल्लेख गरेका छन् (जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य) ।

मालश्री धुन काठमाडौंमा मात्रै केन्द्रित भएन, पछि यो देशैभरि फैलियो । खस भाषाको उत्पत्तिस्थल मानिने उपत्यका, लामाथाडास्थित कनकसुन्दरीको देवीथानमा गाइने दशैं गीतको सङ्कलन र त्यसको व्याख्या अध्येयता प्रदीप रिमालले गरेका छन् (कर्णाली लोक संस्कृति, खण्ड ५ पृष्ठः १३) । यी सन्दर्भहरूबाट हेर्दा मालश्री गीत राष्ट्रव्यापी रुपमा फैलन गई यो राष्ट्रिय एकताको आधार बन्न गएको लेखकको पेटबोलीबाट थाहा हुन्छ ।

देशैभरि वादन, गायन एवम् अभिनयात्मक प्रस्तुति गरिने मालश्री धुनको विषयमा आजभन्दा १०० वर्ष अगाडि नै अध्ययन भएको देखिन्छ । अन्वेषक डा ध्रुवेशचन्द्र रेग्मीका अनुसार गोरखाका मर्दनसिंह थापाले मालश्री गीतहरूको सङ्कलन गरी ‘वृहद् मालश्री गीत’ नामक पुस्तक तयार गरेका थिए (रेग्मीसँग मिति २०७९।०६।१३ मा गरिएको फोनवार्ता) । यसरी हेर्दा मालश्री धुनले जनस्तरमा भिजेर राष्ट्रिय मान्यता पाएको महसुस गर्न सकिन्छ । वर्तमान समयमा भने विभिन्न लोकबाजा, आधुनिक बाजा तथा सुगम सङ्गीतमा समेत यो धुनको प्रयोग गरी गायन एवम् वादनको प्रस्तुति गरिन्छ ।

पहिचानको प्रश्न
धार्मिक एवम् सांस्कृतिक अभ्यास र मालश्री धुनको इतिहासको सम्बन्ध नेवारी समुदायसँग निकट देखिन्छ । मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको सिर्जना, संरक्षण र त्यसको निरन्तरताको लागि काठमाडौं उपत्यकाका नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको देखिन्छ । अमूर्त संस्कृतिको निरन्तरता र मालश्री धुनको साइनोलाई हेर्दा त्यस तर्कमा अस्वभाविकता झल्किँदैन । शारदीय ऋतु अर्थात दशैंमा काठमाडौं उपत्यकाका सयौं शाक्त पीठहरूमा बजाइने यो धुनले पनि उल्लिखित तर्कलाई प्रमाणित गर्न जोडबल गर्छ । नेवारी सङ्गीतको लामो इतिहास रहेको छ ।

मल्ल शासकहरू र तात्कालिक जनसमुदाय कलाप्रेमी, सम्पदाप्रेमी र सङ्गीतप्रेमी थिए भन्ने तथ्य इतिहासका पानामा अङ्कित छन् । काठमाडौं बाहेक नेपालका अन्य धार्मिक तीर्थस्थल र विशेषतः शाक्तपीठहरूमा मालश्री धुन बज्ने गर्छ । उत्पत्तिगत दृष्टिकोणले हेर्दा काठमाडौंबाटै यो सङ्गीत संस्कृतिको रुपमा देशका अन्य भू–भागमा प्रशारित भयो कि भारतीय सङ्गीत परम्पराको प्रभाव मालश्री धुनमा प¥यो भन्ने प्रश्न नउठ्ने होइन । तर, जुनसुकै लोकसङ्गीत वा लोकधुनमा सङ्गीतको व्याकरणीय ध्वनिको सम्बन्ध रहने हुँदा मालश्री धुनमा भारतीय शास्त्रीय सङ्गीत परम्पराको प्रभाव छ भन्ने तर्कलाई सङ्गीतकार ध्रुवेशचन्द्र रेग्मी अस्वीकार गर्छन् । उनका अनुसार भारतीय शास्त्रीय परम्परामा आधारित भन्नुभन्दा आफ्नै मौलिक हिमवत्खण्डीय सङ्गीत परम्परामा मालश्री धुनको सिर्जना भएको छ भन्ने उनको तर्क बढी मौलिक, आधिकारिक र वैज्ञानिक लाग्छ । यद्यपि यस विषयमा विद्वान्हरूबीच मतमतान्तर नभएको भने होइन ।

नेपाल र भारतबीच सयौं वर्षको सामाजिक–सांस्कृतिक एवम् धार्मिक सम्बन्ध रहेको ऐतिहासिक आधारमा एक–आपसमा सांस्कृतिक अन्तर्घुलन हुनु स्वाभाविक छ । नेपालको धार्मिक–सांस्कृतिक परम्परामा आफ्नो पन, पहिचान, मौलिकता एवम् आधिकारिकताको अटुट प्रवाह रहेजस्तै नेपाली सङ्गीतको इतिहासमा आफ्नै मौलिकता बोकेको मालश्री धुन हिमवत्खण्डको साझा सांस्कृतिक पहिचान हो ।

लोकधुन कि शास्त्रीय राग ?

भाषा पहिला कि व्याकरण पहिला भनेजस्तै लोक धुन पहिला कि सङ्गीतको व्याकरण अर्थात् राग पहिला भन्ने बालसुलभ जिज्ञासा नउठ्ने होइन । तर साधारण बुझाइमा पहिले त प्राकृतिक अर्थात् लोक धुन नै हो । यसै प्राकृतिक धुनलाई साधना, परिमार्जन र परिष्कार गरेपछि नै यसले व्याकरण, विज्ञान वा शास्त्र वा रागको स्वरुप लिन्छ भन्ने तर्क हो ।

मालश्री धुनको प्रसङ्गमा माथि उल्लिखित जिज्ञासामूलक प्रश्न जोडिन्छ । कतिपय अन्वेषकले नेपाली मौलिक धुन मालश्री धुनलाई भारतीय शास्त्रीय परम्परासँग जोडेका छन् । ‘शास्त्रीय सङ्गीतमा उत्तर भारतीय पद्धतिअनुसार रागिनी मालश्रीलाई कल्याण थाटको रागको रागिनीहरूमध्ये छैटौं रागिनीसँग मालश्री धुन मिल्दोजुल्दो देखिन्छ भन्ने अध्येयता रामशरण दर्नालको तर्क रहेको छ’ (रामशरण दर्नाल, नेपाली सङ्गीत र संस्कृति, पृष्ठः ११५) । तर उनको यस तर्कमाथि अन्य सङ्गीतका अध्येयताहरूले प्राज्ञिक बहस आजसम्म नगरेको प्रतीत हुन्छ ।

गायन तथा वादनको अभ्यास परमपराअनुसार वादी ‘प’बाट उठान हुने हुँदा मालश्री धुन शास्त्रीयतामा आधारित देखिन्छ भन्ने तर्क शास्त्रीय सङ्गीत प्रशिक्षक रामचन्द्र अञ्जानको रहेको छ (मिति २०७९।६।१३ मा गरिएको फोनवार्ता) । दर्नाल र अञ्जानको तर्कअनुसार मालश्री धुन शास्त्रीयतामा आधारित भए तापनि यसमा नेपाली सङ्गीतका साधकहरूले आफ्नो पन, पहिचान र मौलिकतालाई धार्मिकता, आध्यात्मिकता र सांस्कृतिक अनुष्ठानसँग जोडेर जीवन्त बनाएका छन् ।

मालश्री धुन नेपाली मौलिक धुन नै हो भन्ने तर्क बढी सुनिन्छ । साहित्यकार चित्तधर हृदयले पनि मालश्री धुनलाई शास्त्रीयतामा आधारित रहेको बताएका छन् । उनका अनुसार यो काफी घाँटमा पर्ने रागसँग मिल्न जान्छ (नेपाल सांस्कृतिक, नेपाल सङ्गीत, पृष्ठः ३०) ।

त्यसो त शास्त्रीय सङ्गीतको विविध रागहरूमध्ये ‘राग–मालश्री’ पनि एक रहेको अन्वेषक डा. ध्रुवेशचन्द्र रेग्मीले बताएका छन् । रेग्मीका अनुसार परम्पगत रुपमा नेपालमा प्रचलनमा रहेको मालश्री धुन शास्त्रीय राग काफी र पिलुसँग मिल्दोजुल्दो देखिन्छ । तर शास्त्रीय सङ्गीतमा उल्लेख भएको मालश्रीसँग नेपालमा प्रचलित मालश्री धुनको कुनै सम्बन्ध र प्रभाव परेको देखिँदैन । लोकधुन भइकन पनि यो शास्त्रनिकट छ तर यो किन यसमा थप विकास भएन भन्ने प्रश्न उठ्न सक्छ । ध्रुवेशचन्द्र रेग्मीका अनुसार यो धुन यति परिष्कृत छ कि यसलाई चलाइयो भने यसको मौलिकता नै बिग्रन सक्छ । यसकारण यसमा थप विकास र विस्तार गर्न आवश्यक नै भएन । माथिका छलफलबाट नेपाली मालश्री धुन नेपाली सङ्गीत साधकहरूले तयार गरेको शास्त्रअनुरुपको लोकधुन हो, जुन विज्ञानसम्मत र वस्तुपरक छ भन्दा अत्युक्ति नहोला ।

मूलमन्थन
साहित्य, सङ्गीत र संस्कृति जनताको सम्पत्ति हो । यति हुँदाहुँदै पनि यो राजनीतिबाट पृथक रहन सक्तैन । सत्ता प्राप्तिको प्रक्रियामा र प्राप्त सत्तालाई टिकाउन शासकले आफू निहित कुनै एक धर्म, संस्कृति र भाषालाई माध्यम बनाएको देखिन्छ । आमबुझाइमा दशैंलाई नेपालीको साझा सांस्कृतिक पर्व मानिन्छ । बहुसङ्ख्यक नेपालीले मनाउने हुँदा यसलाई साझा चाड भनिएको इतिहासकार महेशराज पन्तको कथन छ (महेशराज पन्त, जनैपूर्णिमादेखि रानीपोखरीसम्म, पृष्ठः ६) । तर यसरी स्थापित दशैं भाष्यमा आलोचकहरूले प्रश्न उठाएको छन् ।

दशैं, सत्ताबाट अन्य समुदायमा लादियो कि जनसमुुुदायले सहर्ष स्वीकार गरे भन्ने प्रश्नमा बहस हुन जरुरी छ । तर आलोचकहरूले दशैं बहुसङ्ख्यकको चाड नभई आफ्नो सत्ता र शक्ति टिकाउन जबर्जस्ती लादिएको शासकहरूको चालबाजी हो भन्ने प्रतिकथनको भाष्य स्थापित गरेका छन् (युग पाठकद्वारा लिखित माङ्गेना नामक पुस्तकका विभिन्न पृष्ठहरू) ।

त्यस्तै, शाही सत्ताले प्रतिपादन गरेको राष्ट्रियताको भाष्यलाई मजबुत बनाउन विभिन्न बिम्ब, प्रतीक र मिथकहरूको गलत प्रयोग गरिएको व्याख्याकार सिकेलालको प्रतिकथन रहेको छ (नेपाली राष्ट्रियताः चिन्तन र अभिव्यक्ति, पृष्ठः १४) ।

त्यस्तै, समाजशास्त्री चैतन्य मिश्रले हिन्दू राज्यको संवैधानिकता र त्यसअन्तर्गत परिचालन गरिने सांस्कृतिक साम्राज्यवादको हतियारको रुपमा दशैंलाई प्रयोग गरिएको भन्ने राजनीतिक व्याख्या गरेका छन् (चैतन्य मिश्र, बदलिँदो नेपाली समाज, पृष्ठः १९१) ।

माथि उल्लिखित तर्कहरूका आधारमा दशर मालश्री धुनको सम्बन्धबारे केलाउनु उचित हुन्छ । मूलतः दशैं शक्ति, उपासना र साधनाको पर्व हो । यसलाई राजामहाराजा र शासकहरूले शक्ति, शौर्य, वीरता र विजयउत्सवको प्रदर्शनीको रुपमा प्रयोग गरे । किनभने व्यक्तिमा वीर भाव र साहस जगाउन यस्ता सांस्कृतिक अनुष्ठानहरूले विशेष भूमिका खेलेका हुन्छन् । दशैंमा मालश्रीधुन बजाउनुको मुख्य उद्देश्य साधकमा निहीत शौर्य र आध्यात्मिकताको भाव जगाउनु नै हो ।

यसकारण दशैंसँग मालश्री धुनको सम्बन्ध रहेको हुनुपर्छ । माङ्गलिक अवसरमा गाइने एक विशेष प्रकारको धुन वा लय भनी नेपाली शब्दकोषले मालश्री धुनको परिभाषा दिएता पनि दशैं बाहेक अन्य समयमा यो धुन सुनिँदैन । त्यसकारण दशैं र मालश्री धुनको किन तादात्म्य देखाइयो ? यो अनुसन्धानको विषय हो ।

सङ्गीत अन्वेषक ध्रुवेशचन्द्र रेग्मीले मालश्री धुनमा करुण, वीर, शान्त र प्रेम रसको अभिव्यक्त भएको हुन्छ भनेका छन् । एउटा शासक वा नायकमा यी गुणहरू हुनुपर्छ भन्ने साहित्यको शास्त्रीय भनाइ छ । यसकारण मालश्री धुनमा वीर भाव पाइने हुनाले शासकहरूले विशेष गरी सैन्य अभ्यासमा यो धुन प्रयोग गरे कि भन्ने तर्क गर्न सकिन्छ । किनभने युद्धमा सङ्गीतको अभ्यास गर्नु पूर्वीय सभ्यताको पहिचान र परम्परा पनि हो । मालश्री धुनको ऐतिहासिकताबारे जान्न त्यति धेरै अभिलेखात्मक साक्षीहरू प्राप्त छैनन् । तर पनि उपत्यकावासी नेवारी समुदायकै देन हो मालश्री धुन भन्नेमा दुई मत छैन ।

निष्कर्ष
कृषिकर्ममा रम्ने र सङ्गीतलाई जीवनको अभिन्न अङ्ग मान्ने नेवारी समुदाय (विशेषगरी ज्यापु समुदाय) ले आजका दिनसम्म पनि परम्परागत शिल्प र अभ्यासको रुपमा मालश्री धुनको सिर्जना र अभ्यास गरेको समाज अध्येयता यादव देवकोटाको तर्क रहेको छ (मिति २०७९।६।१३ गतेको कुराकानीमा आधारित) । तर यसको ऐतिहासिकतालाई वर्तमानमा जोड्ने विषयमा प्रमाणको अभावमा समस्या खडा भएको छ । वस्तुतः मालश्री धुन शासकहरूसँगै नेपाल प्रवेश ग¥यों कि यहीँको रैथाने ज्ञान परम्पराबाट यो विकास भयो भन्नेमा थप अध्ययनको आवश्यकता छ ।

नेवारी समुदायले शारदीय उत्सवमा प्रयोग गर्ने मालश्री धुनलाई सत्ताले प्रयोग गरेको हुन सक्ने अध्येता यादव देवकोटाको भनाइ छ । सारमा, मालश्री धुन ऐतिहासिक र सांस्कृतिक परम्पराको निरन्तरताको रुपमा नेवारी समुदायले परिष्कार र परिमार्जन गर्दै आएको वस्तुनिष्ठ सत्य हो । उत्पत्तिगत आधारको इतिहास हेर्दा यो हिमवत्खण्डीय क्षेत्रको पहिचान हो, राजनीतिक कोणबाट समाजशास्त्रीहरूले दशैंको जे जसरी व्याख्या गरे तापनि मालश्री धुनलाई दशैंको भाष्यसँग जोडेर सत्तालाई मजबुत बनाउन बिम्ब र प्रतीकको रुपमा प्रयोग गरियो भन्ने आलोचकहरूको प्रश्नमा बहसको खाँचो छ । मूलतः यो नेपाली संस्कृति, प्रकृति र पर्यावरणबाट सिर्जित नेपालको मौलिक धुन हो, जुन शास्त्रसम्मत छ । – इकान्तिपुर डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक