बुटवलः निर्वाचन आयोगका अनुसार रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेद्वारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेद्वारी खारेज भएको छ ।
उम्मेद्वारी खारेज हुनेमा नेकपा एकीकृत समाजवादीका राजु गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेद्वार हिमाल बस्यालको उम्मेद्वारी खारेज भएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनै जनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।
उम्मेद्वार गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतम बुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने रकम नतिरेको पाइएको छ । उनले २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचीमा राखेको थियो ।
भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।
३ जनाको उम्मेद्वारी खारेज भएपछि त्यसको सबैभन्दा बढी फाइदा एमालेबाट उम्मेद्वार रहेका विष्णु पौडेललाई पुग्ने अनुमान गरिएको छ ।
You must be logged in to post a comment Login