पौराणिक कथन अनुसार–
बलि सप्तचिरजीवीहरू मध्ये एक हुन् । ऊनी विष्णुका प्रसिद्ध भक्त, परोपकारी तथा एक महान् योद्धा थिए । उनका पिताको नाम विरोचन थियो । उनी वैरोचन राज्यका सम्राट थिए, जसको राजधानी महाबलिपुर थियो । असुरहरुका गुरु शुक्राचार्य उनका गुरु भएकाले उनलाई असुरहरुकै राजा मानिएको हो । बलि सबै युद्ध कौशलमा निपुण थिए। उनीहरुलाई हराउन विष्णुले वामन अवतार लिएका थिए । असुरगुरु शुक्राचार्यको प्रेरणाले उनले देवताहरूलाई जितेर स्वर्गीय संसारमा कब्जा गरे ।
समुद्र मन्थनबाट प्राप्त रत्नहरुको लागि जब असुरहरू र देवहरू बीच युद्ध भयो, तब असुरहरूले आफ्नो मायावी शक्ति प्रयोग गरी देवताहरूलाई युद्धमा पराजित गरे । त्यसपछि राजा बलिले विश्वजीत र सयौं अश्वमेध यज्ञ गरेर तिनै लोकहरू आफ्नो नियन्त्रणमा लिए । पछि जब अन्तिम अश्वमेध यज्ञको समापन हुँदै थियो, तब राजा बलिले विष्णुको वामन अवताररूपी ब्राह्मणसँग वचन हारेर तिनै लोक दान गरे । शुक्राचार्यले चेतावनी दिए पनि बलि राजा दानबाट पछि हटेनन् । त्यसैकारण बलिदान भनेर आजसम्म पनि सम्मान गर्ने गरिन्छ ।
वामनले दक्षिणास्वरुप तीन कदम जमीन मागेका थिए । बलि राजाको सङ्कल्प पूरा हुनेबित्तिकै विशाल रूप लिएर पहिलो दुई पाइलामा पृथ्वी र स्वर्ग नापे । बाँकी दानको लागि, केही बाँकी नरहेपछी बलिले आफ्नो टाउको थापे । यसरी उनले आफ्नो वचन पूरा गरे । राजा बलिको यही उदारता र दानवीर हुनुको परिचयलाई युगौँयुगसम्म स्मरणीय रहोस् भन्ने हेतुले देउसी भैलोमा बलि राजाको नाम लिने प्रचलन रहेको मान्न सकिन्छ ।
ऐतिहासिक मान्यता अनुसार–
देउसी भैलो गीतको उत्पत्तिबारे धेरैले धेरै थरी अनुमान लगाएका छन् । ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने पंक्तिका आधारमा हिन्दू मिथकका राजा बलि र मगर राजा बलिहाङ यो गीतका पात्र हुन् कि भन्ने अनुमान गरिन्छ । जुम्लामा भने खस राज्यकालका जुम्ली राजा बलिराज कल्याल शाहीले देउसी भैलो खेल्ने परम्परा शुरू गरेको मान्यता अझै पनि पाइन्छ ।
१४ औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकुको फौजसँग सामना ग¥यो । यसै युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसीभैलो खेल्न लगाएको केही इतिहासविद्हरू बताउँछन् ।
‘खस जातिको इतिहास’ पुस्तकका लेखक एवम् इतिहासविद् बालकृष्ण पोखरेलले निधनको केही समय अघि बताएका थिए, ‘लडाइँमा बलिराजका छोरा वत्सराजले शत्रुलाई छक्क पारे । अन्त्यमा सबै फौज मारिँदा एक्लो वत्सराज खडा रहे । ‘मर्नु भन्दा अगाडि तँलाई के चाहिन्छ ?’ भनेर सोध्दा ‘मलाई तरबार पक्रेर मुसलमानको सबभन्दा बहादुर नेतासँग युद्ध गरेर मर्नु छ । जसरी म भुइँमा छु त्यसरी ऊ पनि भुइँमा ओर्लियोस् र मलाई मारोस् । एक्लैले सक्दैन भने दश जना आए पनि हुन्छ’ भनेर भने । यसो भनेपछि आक्रमणकारी छक्क प¥यो । कस्तो बहादुर रहेछ भनेर ओर्लेर अंकमाल गरेर मीत लगायो । र मीतज्यूलाई घर फर्किनका लागि बाटो खर्च जुटाउन बलिराजले आफ्नो राज्यभर चन्दा उठाउन पठाए ।’
पोखरेलले आफूले यो किस्सा अरबी र फारसी पुस्तकमा पाएको तर लिपि दोषका कारण वत्सराजको नाम बहरूज हुन गएको पनि बताएका थिए ।
बलिराजबारे कर्णालीमा धेरै किंवदन्ती सुनिन्छ, तर उनको यो युद्धको किस्सा भने नेपाली इतिहासका दस्तावेजमा भेटिँदैन । ‘खस साम्राज्यको इतिहास’ पुस्तकमा पोखरेलले वत्सराज कल्यालवंशीहरूको उपमा भएकाले वत्सराज र बलिराज बाबु–छोरा नभएर एकै पात्र पनि हुन सक्ने लेखेका छन् ।
पोखरेलका अनुसार बलिराजले सामना गरेका ती कुख्यात लडाकु तैमूर थिए । बलिराजको शासनकाल शुरू हुँदा अर्थात् मङ्गोल योद्धा तैमूरले भारतमा विध्वंस मच्चाइरहेका थिए । तैमूर–इ–लङ्ग र ‘तैमूर द लेम’ अर्थात् लङ्गडो तैमूर भनिने ती लडाकू भारत विजय गर्ने उद्देश्यले हाल उज्वेकिस्तानमा पर्ने समरकन्दबाट आएका र दिल्लीलाई ध्वस्त बनाएर उत्तरतिर लागेका थिए ।
इतिहासको विश्लेषण गर्दा उत्तरी भारतमा तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने देउसी गीत गाउनु सान्दर्भिक देखिन्छ । यद्यपि नेपाली अध्ययनले यसको पुष्टि गर्नु जरूरी छ । – गोपाल पाल्पाली आचार्यको फेसबुक वालबाट
You must be logged in to post a comment Login