२०७४ सालको प्रतिनिधि सभा चुनावमा केही सय मतले मात्र हारजीत भएको क्षेत्र हो मोरङ- ६।
विराटनगर महानगरपालिकाका ८ वटा वडा पनि समावेश यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) नेता लालबाबु पण्डितले नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई ६ सय ७५ मतले हराएका थिए।
५ वर्षअघि मतगणनाको अन्तिम क्षणसम्म पनि रोचक बनेको यो निर्वाचन क्षेत्रमा फेरि राष्ट्रिय राजनीतिमा चर्चित यिनै दुई नेताबीच प्रतिस्पर्धा हुँदैछ।
मोरङ- ६ का मतदाताले के कुरालाई चुनावी मुद्दा बनाएका छन्- यसपालि यहाँको चुनावी हावा कतातिर बहँदै छ लगायत विषयमा विश्लेषण गर्न सेतोपाटी टिमले यो क्षेत्रका २५० बढी मतदातासँग कुराकानी गरेको छ।
हामीसँग कुराकानी गरेका धेरै मतदाता यसपालि पनि यहाँ शेखर र लालबाबुबीच नै मुख्य प्रतिस्पर्धा हुने ठान्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको ‘भिजिबल’ उपस्थितिले पनि यहाँको प्रतिस्पर्धामा रोचकता थपेको छ।
मुख्य प्रतिस्पर्धा उनै दुई नेताबीच भए पनि अन्तिम परिणाम भने पाँच वर्षअघिको भन्दा फरक आउने धेरैको आकलन छ।
५ वर्षमा शेखर र लालबाबु सम्मिलित दलहरूको गठबन्धन मात्र होइन, यी दुई जनाको राजनीतिक छवि र हैसियत पनि फेरिएको छ।
माधवकुमार नेपाल एमालेमा हुँदा लालबाबु उनी निकट थिए। गत वर्ष भएको एमाले विभाजनमा उनी नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा नगएर एमालेमै बसे। गत मंसिरमा भएको एमालेको दसौं महाधिवेशनमा उनी पार्टी पदाधिकारीका आकांक्षी थिए। तर अध्यक्ष केपी शर्मा ओलीले लालबाबुलाई पदाधिकारीमा समेटेनन्। महाधिवेशन चल्दै गर्दा चितवनबाट हिँडेका उनलाई पछि केन्द्रीय सदस्यमा राखिएको थियो तर उनले उक्त पद अस्वीकार गरे।
शेखर कोइरालाले भने पछिल्ला ५ वर्षमा पार्टीको आन्तरिक संगठन र राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाएका छन्। कांग्रेसको तेह्रौं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य चुनिएका शेखरले चौधौं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई चुनौती दिए। सभापति छान्न भएको दोस्रो चरणको मतदानमा ४० प्रतिशत मत पाएका उनी अहिले कांग्रेसमा संस्थापनइतर समूहका नेता बनेका छन्।
यो परिवर्तित सन्दर्भमा शेखर र लालबाबुबीच यसपालि कत्तिको कडा प्रतिस्पर्धा होला भन्ने धेरैको चासो छ। त्यस्तै चासोसहित हामीले विराटनगर महानगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२, सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ नम्बर वडा र बुढीगंगा गाउँपालिकाका सबै वडाका २५२ जना मतदातालाई भेट्यौं।
उनीहरूसँग कुरा गर्दा अघिल्लोचोटि थोरै मतान्तरले विजयी लालबाबुले त्यो निर्वाचनमा पाएको मत जोगाउन सक्ने स्थिति देखिन्न।
अघिल्लोचोटि लालबाबुलाई भोट हालेका धेरै मतदाताले हामीसँगको कुराकानीमा अहिलेसम्म कसलाई भोट हाल्ने निर्णय नगरिसकेको बताए। पाँच वर्षअघिका उनका कतिपय मतदाताले यसपालि शेखरलाई मत दिने बताए भने कतिले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीलगायत विभिन्न स्वतन्त्र उम्मेदवारहरूलाई मत दिने मन बनाइसकेका छन्। यो निर्वाचन क्षेत्र घुम्दा हामीले पाँच वर्षअघिको तुलनामा लालबाबुको ‘क्रेज’ धेरै नै घटेको पायौं। यसले गर्दा यसपालि यहाँ चुनाव जित्न शेखरलाई सजिलो देखिन्छ।
हामीले कुराकानी गरेका २५२ जना मतदातामध्ये ८२ जना अर्थात् साढे ३२ प्रतिशतले शेखरलाई मत दिने बताए। लालबाबुलाई मत दिन्छु भन्ने मतदाता संख्या ३९ जना अर्थात् झन्डै साढे १५ प्रतिशत मात्र छ। यसले लालबाबुका निम्ति यो चुनाव कति पेचिलो छ भन्ने देखाउँछ।
हामीले भेटेकामध्ये ५४ जना मतदाता अर्थात् झन्डै साढे २१ प्रतिशतले कसलाई भोट हाल्ने भनेर निर्णय गरिसकेका छैनन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्नमा भोट हाल्छु भन्नेहरू २६ जना अर्थात् १० प्रतिशतभन्दा बढी छन्। घन्टीमा भोट हाल्छु भन्ने कतिपय मतदाताले यो क्षेत्रमा उम्मेदवार यादवकुमार प्रधानको नाम भने बताउन सकेनन्।
हामीले कुराकानी गरेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल क्षेत्री कटवाललाई मत हाल्छु भन्नेहरू २१ जना अर्थात् झन्डै साढे ८ प्रतिशत छन्।
डोजर, खुकुरी क्रसलगायत अन्य विभिन्न चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवारहरूलाई भोट हाल्छु भन्ने ३० जना मतदाता पनि हामीले भेट्यौं।
अब २०७४ को निर्वाचनसँग तुलना गर्दा मोरङ- ६ मा कसको मत कतातिर सर्दैछ भन्ने हेरौं। त्यसले नै यसपालि कसले जित्न सक्छ भन्ने सबभन्दा बलियोसँग संकेत गर्नेछ।
हामीले भेटेका २५२ जनामध्ये अघिल्लोचोटिको चुनावमा लालबाबुलाई मत दिने ८९ जना थिए भने शेखरलाई भोट दिने ९४ जना। यसले अघिल्लो चुनावमा यी दुई जनाबीच भएको ‘काँटेका टक्कर’ झल्काउँछ। अन्तिम मतपरिणाममा पनि उनीहरूबीच ६ सय मतले हारजीत भएको थियो।
अघिल्लो पटक लालबाबुलाई मत दिएका ८९ मध्ये २७ जनाले मात्र यसपालि पनि उनलाई नै मत दिने बताए। जबकि अघिल्लोचोटि शेखरलाई भोट हाल्ने ९४ जनामध्ये ५९ जनाले उनलाई निरन्तरता दिने इच्छा देखाए। यसको अर्थ लालबाबुले अघिल्लो पटक पाएको ३० प्रतिशत मत मात्रै अहिलेसम्म पक्का गरेका छन्। शेखरले भने झन्डै ६३ प्रतिशत आफ्ना मतदाता आफैंसँग राख्न सकेका छन्।
यसबाहेक पहिले लालबाबुलाई भोट हालेका १३ जना मतदाता यसपालि शेखर कोइरालालाई मत दिने पक्षमा छन् भने शेखरबाट लालबाबुतिर सर्नेहरू हामीले एक जना पनि भेटेनौं। यसले पनि यसपालि मोरङ-६ मा चुनावको हावा शेखरतिर बगेको छ भन्ने देखाउँछ।
पाँच वर्षअघि चुनाव लड्दा लालबाबुको यहाँ अलग ‘क्रेज’ थियो। उनी ‘स्टार उम्मेदवार’ जस्ता थिए। त्यसैले उनले २०७० सालमा शेखर कोइरालालाई मत दिएका धेरै मतदातालाई तानेका थिए। पाँच वर्षको दौरानमा लालबाबुको साख र तागत मोरङ- ६ मा घट्नुका पछाडि केही कारण छन्।
पहिलो, बदलिएको गठबन्धन।
अघिल्लोचोटि उनी माओवादी केन्द्रसँगको वाम गठबन्धनबाट चुनाव लडेका थिए। यसपालि माओवादी केन्द्र मात्र होइन, एमालेबाट फुटेको एकीकृत समाजवादीको समर्थन पनि उनलाई छैन। यी दुवैले शेखरलाई समर्थन गरेका छन्।
बुढीगंगा गाउँपालिका वडा नम्बर ५ मा चिया पसल चलाउने शम्भु खत्वेले २०७४ सालमा लालबाबुलाई भोट दिएका थिए। यसपालि उनले शेखलाई भोट दिने बताए।
‘म माओवादी कार्यकर्ता हुँ। त्यस बेला एमालेसँगको वाम गठबन्धनका कारण मैले लालबाबुलाई भोट दिएँ,’ उनले भने, ‘गठबन्धन नहुँदा पनि भोट दिनैपर्ने गरी उनले त्यस्तो केही काम गरेनन्। त्यही भएर यसपालि हाम्रो भोट शेखरलाई जान्छ।’
गत वैशाखमा भएको स्थानीय चुनावमा यस क्षेत्रका वडाध्यक्ष उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने यहाँ माओवादीसँग ५ हजार ३ सय ५६ र एकीकृत समाजवादीसँग २ हजार ३ सय ६९ मत छ। वडाध्यक्षहरूले पाएको मतअनुसार यहाँको सबैभन्दा ठूलो पार्टी कांग्रेस हो। कांग्रेस वडाध्यक्ष उम्मेदवारले २८ हजार ४ सय २८ मत पाएका छन् भने दोस्रो स्थानमा रहेको एमाले वडाध्यक्ष उम्मेदवारले २५ हजार ५ सय ३६ मत पाएका छन्।
दोस्रो कारण हो, लालबाबुको खस्किँदो व्यक्तिगत साख। सामान्य प्रशासनमन्त्री हुँदा अन्य मुलुकका स्थायी बसोबास (पिआर) वा ग्रिनकार्ड लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेर उनले वाहवाही पाएका थिए। २०७४ कै चुनावी अभियान क्रममा साइकल चलाएर मतदाता घरदैलोमा पुगेका कारण पनि धेरैले उनलाई सादगी स्वभावको नेताका रूपमा चिनेका थिए। त्यही भएर यही क्षेत्रबाट दुई पटक निर्वाचित भएका शेखरलाई अर्को क्षेत्रबाट आएका उनले टक्कर दिएका थिए।
पाँच वर्षअघि पनि सेतोपाटी टिम यी दुई नेताबीचको प्रतिस्पर्धाको विश्लेषण गर्न यो क्षेत्रमा पुगेको थियो। त्यति बेला हामीले कुराकानी गरेका २ सय ३१ मध्ये १ सय ८ जनाले शेखरलाई भोट दिन्छु भनेका थिए लालबाबुलाई मत दिन्छु भन्ने ९९ जना थिए। यसपालि जसरी लालबाबुको भोट शेखरतिर जाँदै गरेको देखिन्छ, ठ्याक्कै त्यसैगरी पाँच वर्षअघि शेखरको भोट लालबाबुतिर बहँदै थियो। त्यति बेला हामीले २८ जना यस्ता मतदाता भेटेका थियौं जसले २०७० मा शेखरलाई भोट हालेका थिए तर २०७४ मा लालबाबुलाई भोट दिने निर्णय गरेका थिए। पहिला एमालेलाई मत दिएका ३ जनाले मात्रै शेखरलाई मत दिने बताएका थिए। कांग्रेसबाट एमालेतिर गएको यो मत नै अन्तिममा निर्णायक देखियो र लालबाबुले चुनाव जिते।
त्यो बेला सामान्य प्रशासन मन्त्री हुँदा उनले गरेका कामको चर्चा विराटनगर पनि पुगेको थियो।
‘उनी यो क्षेत्रका त होइनन्। यसअघि अन्तैबाट लडेका थिए,’ बुढीगंगा-१ का श्रीचन्द्र राईले भनेका थिए, ‘तर लालबाबु इमानदार र निष्कलंक मान्छे हो। उहाँ आएपछि यहाँको विकास हुन्छ भनेर कांग्रेस छोडर एमालेलाई भोट दिँदैछु।’
तर पछिल्लो पाँच वर्षमा उनको सादगी छविमा प्रश्न उठ्यो। एमालेकै कतिपय समर्थकहरूले लालबाबुबाट मन मरेको र यसपालि उनलाई भोट नदिने बताएका छन्।
सुन्दरहरैंचा, वडा नम्बर ४ की ४३ वर्षीया विमला कार्की लालबाबुबाट आफ्नो क्षेत्रमा विकास निर्माणको निम्ति कुनै पहल नभएको गुनासो गर्छिन्। अघिल्लोचोटि एमालेलाई मत दिएकी उनले यसपालि राप्रपालाई हाल्ने बताइन्।
‘मान्छे हिँड्ने बाटो त बनाउन सकेनन्, अरू के कुरा गर्नु,’ उनले भनिन्, ‘गाउँ जस्ताको तस्तै। गाउँका युवाहरू वैदेशिक रोजगारमा जान बाध्य छन्। किसानहरूले मल पाउँदैनन्। सडक पिच हुँदैन। अनि घरिघरि के भोट दिनु!’
सुन्दरहरैंचा वडा नम्बर ७, गोठगाउँका ६० वर्षीय केशव ओझाले पनि लालबाबुले जनताको दु:खसुखमा साथ नदिएको टिप्पणी गरे।
‘उहाँले फर्केर मुख देखाउनु भएन, विकास त परै जाओस्,’ उनले भने, ‘विकास भनेको त कसैले धेरै गर्ला, कसैले थोरै। तर नेता भएपछि जनतालाई मर्दापर्दा साथ दिनुपर्छ, उहाँ त हामीलाई दु:ख पर्दा हेर्नधरि आउनु भएन। मुख पनि देखिएन।’
यो असन्तुष्टिबीच सबै मतदाता लालबाबुले विकासको काम केही गरेनन् भन्ने पक्षमा छैनन्। कतिपयले लालबाबुले जितेर गएपछि मात्र आफ्नो गाउँ-टोलमा सडक पिच भएको सुनाए।
विराटनगर महानगरपालिका-७, पुरानो डिएसपी रोडका यातायात व्यवसाय गर्ने ३२ वर्षीय अनिलकुमार साहले उनकै पालामा आफ्नो घर अगाडिको बाटो पिच भएको बताए।
‘लालबाबुले केही सामुदायिक काममा सहयोग गर्नुभयो,’ उनले आफ्नो अफिस अगाडिको पिच बाटो देखाउँदै भने, ‘पहिले यो बाटो यस्तो थिएन, धुलाम्मे थियो। लालबाबुकै पहलमा यो पिच भयो। तर नाला सफा गर्ने काम हुन सकेन।’
उता शेखरले भने पाँच वर्षयता बढाएको आफ्नो पार्टीगत र राजनीतिक कदका कारण भोट तानिरहेको देखिन्छ।
विराटनगरमा हामीले भेटेका धेरै मतदाताले शेखरलाई राष्ट्रिय राजनीतिमा पहुँच बढाएका कारण भोट हाल्न लागेको बताएका छन्।
विराटनगर-६ का सुशीलकुमार पोद्धार काग्रेसलाई आन्तरिक रूपमा सुधार गर्न र राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउन पनि शेखरको खाँचो भएको बताउँछन्।
‘उनी नेतृत्वमा पुग्न सक्ने व्यक्ति हुन्,’ उनले भने, ‘यसपालि यहाँबाट जितेर गए भने उनले पार्टी र देशमा धेरै सुधार ल्याउने अपेक्षा छ।’
उनको जस्तै कुरा गर्छन्, विराटनगर-१२ का रतनकुमार थापा। कुनै राजनीतिक दलमा आवद्ध नभएका थापाले अघिल्लो पालि एक पटक हेरौं न भनेर लालबाबुलाई मत दिएका थिए।
यसपालि भने उनले निर्वाचन क्षेत्रका मुद्दाभन्दा पनि राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर मत दिने बताए।
‘अहिले शेरबहादुर देउवालाई चुनौती दिने कोही छ भने शेखर कोइराला नै हो। उहाँको ड्यासिङ पर्सनालिटी छ। यहाँबाट जितेर जानुभयो भने उहाँले कांग्रेसलाई पनि राम्रो बनाउनुहुन्छ कि भनेर भोट दिने सोचेको छु,’ उनले भने।
देउवालाई चुनौती दिँदा शेखरलाई एकातिर यस्ता स्वतन्त्र मतदाताको मत तान्न सहज भएको छ भने अर्कातिर पार्टीभित्रै देउवा पक्षको मत नआउने हो कि भन्ने चुनौती छ।
यही निर्वाचन क्षेत्रमा पर्ने सुन्दरहरैंचाको मेयरमा यसपालि शिव ढकाल पराजित भए। देउवा पक्षका ढकाललाई शेखर समूहले साथ नदिएकाले पराजय भोगेको चर्चा चुनाव सकिएको ६ महिनापछि पनि जारी छ।
यो कुरा शेखरलाई पनि थाहा छ। गत असोजमा सुन्दरहरैंचामा आयोजित पार्टीको एक कार्यक्रममा उनले त्यहाँका नेता-कार्यकर्तालाई भनेका थिए- म र देउवाजी त मिलिसक्यौं भने तपाईंहरू यहाँ वडामा किन झगडा गर्नुहुन्छ?
बलियो संगठन र हजारौं कार्यकर्ता भएका एमाले र कांग्रेस उम्मेदवारले जीतका लागि दौडधुप गरिरहँदा कुनै पार्टीमा नलागेका केही मतदाता भने यी दुवै दललाई छोडेर विकल्प खोज्नतिर पनि लागेका छन्।
सुन्दरहरैंचा-४ की ३० वर्षीया ललिता विष्ट पनि लालबाबु र शेखरलाई नै आलोपालो मत हाल्ने पक्षमा छैनन्। पहिले शेखरलाई मत दिएकी उनले यसअघि लालबाबुलाई मत हालेकी थिइन्।
यसपालि भने उनले निर्णय गर्न सकेकी छैनन्, भन्छिन्, ‘उही अनुहार पटकपटक उठ्न थाले। कति उनीहरूलाई नै भोट हाल्नु!’
राजनीतिक दलप्रतिको यस्तो असन्तुष्ट भोट केही मात्रामा कांग्रेसबाट पनि चुहिएर जाने स्थिति छ।
विराटनगर- ११, जनपथ टोलका ४१ वर्षीय व्यवसायी पुनीत पौडेलले अघिल्लो चुनावमा शेखर कोइरालालाई भोट हालेका थिए। तर यसपालि उनी स्वतन्त्र पार्टीको घन्टी चिह्नलाई दिने पक्षमा छन्। समानुपातिक भोट पनि उनी कांग्रेसको सट्टा राप्रपालाई हाल्ने निर्णयमा पुगेको बताउँछन्।
‘मेरो सर्कलमा यसपालि घन्टीलाई भोट हाल्ने कुरा चलिरहेको छ। काठमाडौ र धरानमा स्वतन्त्र युवा उम्मेदवारले जितेर जस्तो काम गरिरहेका छन्। त्यस्तै काम यसपालि चुनिएर जाने प्रतिनिधि सभा सदस्यले पनि गरोस् भन्ने हामी चाहन्छौं। त्यसैले यसपालि मेरो भोट घन्टीलाई जान्छ,’ उनले भने।
पहिलोचोटि संसदीय निर्वाचनमा मतदान गर्न लागेका मतदाताहरू त धेरैको रोजाइमा स्वतन्त्र उम्मेदवार देखिन्छ।
विराटनगर-४, इग्राही टोलका ३० वर्षीय सनुज यादव झन्डै साढे ९ वर्ष विदेशमा काम गरेर फर्किएका हुन्। त्योभन्दा अघिको चुनावमा उनी म्यादी प्रहरी भर्ना भएका थिए। त्यसैले उनी यसपालि पहिलोचोटि भोट हाल्दै छन्।
‘राजनीतिक दलका उम्मेदवारहरू म कसैलाई चिन्दिनँ। उनीहरूलाई भोट दिने मन पनि छैन,’ उनले भने, ‘म विदेशमा जाँदा रवि लामिछानेले वैदेशिक रोजगारमा अलपत्र परेका धेरै नेपालीको उद्धार गर्नुभयो। अहिले फेसबुकहरूमा बालेन शाह र हर्क साम्पाङ को चर्चा पनि सुनिरहेको छु। त्यसैले मेरो भोट त घन्टीलाई नै जान्छ।’
उनले घन्टी चिह्नका उम्मेदवारको नाम चाहिँ बताउन सकेनन्। मान्छे नै नचिनी भोट हाल्ने त भनेर सोध्दा उनको जवाफ थियो, ‘दलका उम्मेदवारहरूलाई पनि हामी सबैले कहाँ चिनेका छौं र! रविदाइको कार्यकर्ता जो भए पनि केही छैन, भोट उनैलाई हाल्ने हो।’
केही मतदातामा दलका उम्मेदवारप्रति वितृष्णा भए पनि मोरङ- ६ मा यसपालि पनि मुख्य प्रतिस्पर्धा शेखर र लालबाबुबीच नै हुने देखिन्छ। यो प्रतिस्पर्धामा लालबाबु अहिले पछि देखिएका छन्। २०७४ को जस्तै यसपालिको प्रतिस्पर्धालाई पनि रोचक बनाउन र जीत हात पार्न उनले अहिलेसम्म अनिर्णीत मतदाताको ठूलो हिस्सा आफ्ना पक्षमा पार्नु पर्ने हुन्छ। उनको घटदो ‘क्रेज’ का कारण त्यो त्यति सजिलो देखिन्न।
लालबाबुलाई अघिल्लो पटक मत दिएका २२ जना नै अहिलेसम्म अनिर्णीत छन्। कसलाई भोट हाल्ने टुंगो नभएका अनिर्णीत मतदातामध्ये पनि धेरैजसो फेरि लालबाबुलाई नै भोट हाल्ने पक्षमा देखिँदैनन्। शेखर कोइरालाका हकमा भने पहिले उनलाई भोट हालेर अहिले अनिर्णीतहरू १३ जना मात्र छन्।
अघिल्लो पटक लालबाबुलाई मत दिएकामध्ये २७ जनाले यसपालि राप्रपा, स्वतन्त्र पार्टी (घन्टी) र स्वतन्त्र उम्मेदवारलाई मत दिने बताएका छन्। शेखर कोइरालाका हकमा यी तीन ठाउँमा चुहिने मत संख्या २२ छ। यी मतदाताले स्वतन्त्र उम्मेदवारहरूमध्ये कुनै एकलाई भोट हाल्ने मन बनाइसके पनि कसलाई दिने भन्ने चाहिँ यकिन नगरेको बताए। यस्ता मतदाताले अरू राम्रो उम्मेदवार देखिएन भने आखिरमा घन्टीलाई नै हाल्न सक्ने पनि भनेका छन्।
स्वतन्त्र उम्मेदवारतर्फ झुकाव भएका यी मतदातालाई हामीले चुनावको दिनसम्म पुग्दा पहिले हाल्दै आएको राजनीतिक दललाई नै मत दिने हो कि भनेर पनि सोधेका थियौं।
हाम्रो यो प्रश्नमा उनीहरूको जवाफ थियो, ‘स्वतन्त्र उम्मेदवार कसलाई हाल्छौं भन्ने थाहा छैन तर दलका उम्मेदवारलाई चाहिँ दिँदैनौं।’
यस्तो भन्नेमा लालबाबुका पुराना मतदाताको संख्या धेरै थियो।
सुन्दरहरैंचा-७ का श्रवण घिमिरे दलहरूको गठबन्धनबाट आफूलाई वितृष्णा जागेको बताउँछन्। दल र दलका नेताहरू सत्ताको निम्ति कहिले एउटासँग, कहिले अर्कोसँग घाँटी जोडेर हिँडेको उनलाई चित्त बुझेको छैन। त्यही भएर यसअघि एमालेलाई भोट दिएका उनी यसपालि स्वतन्त्र उम्मेदवारलाई हाल्ने पक्षमा छन्।
‘अब पनि जनताको आँखाको पट्टि खुलेन भने देश बन्दैन,’ उनले भने, ‘बरू भोट खेर गए जाओस्। यसै पनि हामीले दिएको भोटले हाम्रो काम के भएको छ र! त्यसैले यसपालि स्वतन्त्रलाई नै हाल्ने हो। दलहरूलाई त चान्सै छैन।’
अघिल्लो चुनावमा मोरङ- ६ को कुल सदर मत ७४ हजार ८ सय ७३ थियो। त्यसमध्ये लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ अर्थात् ४५.३३ प्रतिशत र शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत अर्थात् ४४.४२ प्रतिशत मत पाएका थिए। – सेतो पाटीबाट
You must be logged in to post a comment Login