Connect with us
Advertisement

आधुनिक मानिसको उत्पत्तिबारे नयाँ खुलासा

Published

on

‘कोब्रा’ को निष्कर्षः आधुनिक मानव कम्तीमा दुई भिन्न पुर्खाहरूको उत्तराधिकारी

छोटो समयमा मानव उदविकास इतिहासको पटक पटक लेखन र पुनर्लेखनको बाटोमा आनुवंशिक अध्ययनले अध्येताहरूलाई डोहोर्‍याइरहेको पाइन्छ।

विश्वभरका विख्यात आनुवंशिक प्रयोगशालाहरूमा जारी डिएनए अध्ययनले मानव उदविकासको इतिहासमा रूचि राख्नेहरूलाई उसैगरी तरंगित र आश्चर्यचकित बनाउने काम पनि चलिरहेको छ।

तीन लाख पन्ध्र हजार वर्षअघि मोरक्कोको जेबेल इरहौदमा एउटा जिवाश्म पाइएको थियो। आजसम्म प्राप्त आधुनिक मानव भनिने होमो–सेपियन्सको सबभन्दा पुरानो जिवाश्म त्यसैलाई मानिन्छ।

कुनै मानव समूहबाट तीन लाख वर्षअघि भिन्न स्वरूपमा उदविकास भएर सुरूमा अफ्रिका र पछि बाँकी विश्वमा फैलिएका मानिसको उत्तराधिकारी नै आजका हामी मानिस हौं भन्ने एउटा आमधारणा छ। यो पुरामानवशास्त्रीय अध्ययनको क्षेत्रमा पछिल्ला केही दशकदेखि सघन भएको पाइन्छ।

अफ्रिकामा उद्भव भएपछि विभिन्न चरणमा होमो–सेपियन्सको समूह अफ्रिका बाहिर आए पनि त्यसले आफ्नो उत्तराधिकार छाड्न सकेन। यसरी अफ्रिकाबाट आप्रवासनका लागि बाँकी भूगोलमा विस्तारित हुने प्रयास होमो–सेपियन्सले दुई लाख दस हजार वर्षभन्दा पहिलेदेखि सुरू गरेको थियो। यो कुरा ग्रिसमा भेटिएको दुई लाख १० हजार वर्ष पुरानो होमो–सेपियन्सको जिवाश्मले प्रमाणित गरेको छ।

इसराइल, युरोपका विभिन्न भाग, मध्य एसिया र साउदी अरेबियामा एक लाख ८० हजारदेखि ८८ हजार वर्षसम्म पुराना होमो–सेपियन्सको जिवाश्म पाइए पनि तिनका उत्तराधिकारी आजको विश्वभरको जनसंख्यामा रहेको पाइँदैन।

आजभन्दा लगभग सत्तरी हजार वर्षअघि अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्किएको होमो–सेपियन्सको समूह नै आजका अफ्रिका बाहिरका तमाम मानव जनसंख्याको पुर्खा रहेको तथ्यमा आनुवंशिक अध्येता र आधुनिक नृवंशशास्त्रीहरू एकमत छन्।

यसरी करिब सत्तरी हजार वर्षअघि होमो–सेपियन्स अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्किएको परिघटनालाई नृवंशशास्त्रीहरूले अफ्रिका निस्क्रमण सिद्धान्त अर्थात् ‘आउट अफ अफ्रिका हाइपोथेसिस’ का रूपमा अर्थ्याएको पाइन्छ। अफ्रिकाबाट निस्किएर विस्तारित हुने क्रममा युरोप र एसियामा होमो–सेपियन्स (आधुनिक मानव) भन्दा अर्कै प्रजातिको मानवका रूपमा परिचित होमो–नियन्डरथलेन्सिस (नियन्डरथल मानव) र हामो डेनिसोवन (डेनिसोवन मानव) सँग एकापसमा यौन सम्बन्ध कायम भई अन्तरप्रजनन प्रक्रिया सम्पन्न भएको र एकअर्कामा आनुवंशिक सम्मिश्रण गराएको तथ्य आनुवंशशास्त्रीहरूले सार्वजनिक गरिसकेका छन्।

म्याक्स प्लांक इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजी, हार्वर्ड मेडिकल स्कुल, होवार्ड मेडिकल युनिट, रेख रिसर्च ल्याब, अक्सफोर्ड जेनेटिक ल्याब लगायतले यस्तो पलियोजेनेटिकको क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्।

आजको दिनमा विश्वमा मौजुद आधुनिक मानव जनसंख्यामा नियन्डरथल, डेनिसोवन, हब्बिट्स लगायत अन्य भिन्नै मानव प्रजातिको आनुवंशिक उत्तराधिकार रहेको तथ्यले मानवशास्त्रीय अध्ययनमा रूचि राख्नेहरूमा रोमाञ्च र तरंग पैदा गरेको थियो। त्यसलाई भत्काउँदै मंगलबार प्रसिद्ध विज्ञान जर्नल ‘नेचर’ मा प्रकाशित आनुवंशिक जर्नल आलेखले पलियोजेनेटिक्स र पलियोएन्थ्रोपोलोजीको क्षेत्रमा एक कसिमको कम्पन, तरंग, आश्चर्य र रोमाञ्च पैदा गरेको छ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका अध्येताहरू ट्रेभर कजिन, एउलविन स्कल्ली र रिचर्ड डुरविनको अनुसन्धानात्मक अध्ययनको निचोड मार्च १८ मा ‘नेचर’ मा प्रकाशित भएको केही घण्टा नबित्दै मानवशास्त्रीय अध्ययनमा सामेल तमाम आनुवंशीविद, नृवंशशास्त्री, पुरातत्वविदहरूमा हलचल पैदा भएको छ।

अध्येताहरूले आफ्नो अनुसन्धनात्मक आलेखमा उल्लेख गरेका छन् — आजभन्दा करिब १५ लाख वर्षअघि एउटा प्राचीन मानव जनसंख्या दुई भिन्न स्वरूपमा विभाजित/विकसित भयो। ‘ए’ र ‘बी’ गरी दुई भिन्न मानव समूहमा विभाजित सो जनसंख्या आजभन्दा तीन लाख वर्षअघि पुनः एकअर्काको सम्पर्कमा आए। एकआपसमा समागम गरेर आनुवंशिक सम्मिश्रण गराए। त्यसरी दुई भिन्न जनसंख्याको आनुवंशिक सम्मिश्रणको परिणाममा एउटा अर्कै स्वरूपको मानव विकास भयो। र, त्यो नै आधुनिक मानव भनिने होमो–सेपियन्स हो।

अध्येताहरूका अनुसार आधुनिक मानवको उदयमा समूह ‘ए’ ले ८० प्रतिशत र समूह ‘बी’ ले २० प्रतिशत आनुवंशिक योगदान दिएको छ। अर्थात्, आधुनिक मानवमा ८० प्रतिशत ‘ए’ नाम दिइएको मानव वंशको उत्तराधिकार छ र २० प्रतिशत ‘बी’ नाम दिइएको मानव समूहको उत्तराधिकार छ।

लामो समयसम्म पुरामानवशास्त्रीय अध्ययनको क्षेत्रमा के ठानिन्थ्यो भने — हामी आधुनिक मानव भनिने होमो–सेपियन्स एउटा सग्लो एकल जनसंख्याको उत्तराधिकारी हौं। आज संसारभर छरिएर रहेका आधुनिक मानवको पुर्खा करिब तीन लाख १५ हजार वर्षअघि अफ्रिकामा उदविकास भयो। र, एकल पुर्खाबाट जन्मिएका सन्तानहरू विस्तारित भएर बाँकी संसारभर फैलिए।

विगत दुई दशकयताका अध्ययनहरू यसमै केन्द्रित थिए। मंगलबार नेचर जर्नलमा प्रकाशित आलेखले भने यो एकल वंशजको उत्तराधिकारी हो भन्ने मान्यतालाई थप जटिल बनाइदिएको छ। त्यसमा प्रश्न उठाइदिएको छ। यो अध्ययनले हामी कम्तीमा दुई भिन्न मानव समूहको मिश्रणको परिणाम हौं भन्ने तथ्य सार्वजनिक गरेर मानव उदविकासको अध्ययनको क्षेत्रमा सनसनी नै मच्चाइदिएको छ।

यसअघिका अध्ययनहरू पनि होमो–सेपियन्समा नियन्डरथल, डेनिसोवन, हब्बिट्स सहितका मानव समूहको आनुवंशिक उत्तराधिकार रहेकामा सचेत थिए। तैपनि ती मिश्रणहरू करिब ५० हजार वर्षअघि अफ्रिकाबाट बाहिरिएको जनसंख्यामा मात्रै भएको उल्लेख छ। अफ्रिका बाहिरको जनसंख्यामा नियन्डरथलले २ प्रतिशत आनुवंशिक मिश्रण गराएको र त्यही मात्रा हाराहारीमा डेनिसोवनको आनुवंशिक योगदान रहेकामा त्यस्ता अध्ययनहरूको सहमति छ।

नयाँ अध्ययनले भने नियन्डरथल, डेनिसोवनहरूको आनुवंशिक मिश्रण आधुनिक मानवमा हुनुभन्दा धेरै पहिले नै दुई छुट्टै मानव समूहको आनुवंशिक मिश्रणको परिणाम स्वरूप आधुनिक मानवको उदय भएको निष्कर्ष निकालेको छ।

अनुसन्धानात्मक आलेख सार्वजनिक भएपछि प्रेस नोट जारी गर्दै अध्येता एइल्विनले भनेका छन्, ‘हाम्रो इतिहास हामीले सोचेभन्दा बढी समृद्ध र सोचेभन्दा बढी जटिल छ।’

जीनको पूर्ण सिक्वेन्स गर्दै, त्यसको उन्नत (एड्भान्स) विश्लेषण गरेर, डिएनए परिणाम हेर्दै यो नतिजा निकालिएको अध्येताहरूले जनाएका छन्।

अफ्रिका, एसिया, युरोप र अमेरिकाको जनसंख्याको डिएनए सिक्वेन्स गरेको ‘थाउजेन्ड (1000) जिनोम प्राजेक्ट’ र ‘ह्युमन जिनोम डाइभर्सिटी प्रोजेक्ट’ को अध्ययनको डिएनए डेटा प्रयोग गर्दै त्यसको विश्लेषणात्मक निष्कर्ष निकालिएको अध्येताहरूले जनाएका छन्।

थाउजेन्ड जिनोम प्रोजेक्टका डेटाहरूलाई ‘कम्प्युटेसनल अल्गोरिदम’ प्रयोग गर्दै कसरी प्राचीन मानवहरू एकापसमा छुट्टिएका थिए र ती कसरी कालान्तरमा फेरि एकापसमा गाभिए भनेर अध्येताहरूले हेरेका थिए। उक्त अध्ययनलाई उनीहरूले रिसर्च ‘कोब्रा’ मोडल नाम दिएका थिए।

मानव पुर्खा १५ लाख वर्षअघि साझा पुर्खाबाट दुई भिन्न समूहमा विभाजित भएपछि एउटा समूहमा जनसंख्या वृद्धिमा अवरोध आई निकै सानो संख्यामा खुम्चिएको उक्त अध्ययनले देखाएको छ।

उक्त समूहको जनसंख्या दस लाख वर्ष जतिको अवधिमा सुरूमा खुम्चिँदै, पछि क्रमशः बढ्दै गएको उनीहरूको धारणा छ। त्यही समूहले पछिबाट आधुनिक मानवमा ८० प्रतिशत जति आनुवंशिक उत्तराधिकारको योगदान गरेको देखिन्छ। त्यही समूहबाटै  नियन्डरथल र डेनिसोवनको पुर्खाको समेत उदविकास भएको पनि उक्त अध्ययनको निष्कर्ष छ।

अर्को समूहबाट (जसले आधुनिक मानवमा २० प्रतिशत आनुवंशिक योगदान गरेको पाइएको छ) प्राप्त जीनले आधुनिक मानवलाई परिस्थिति र वातावरण अनुकूल आफूलाई बदलाव गर्ने (प्राकृतिक छनौटको सिद्धान्त) का लागि मद्दत गरेको अध्येताहरूले उल्लेख गरेका छन्।

उनीहरूका अनुसार, उक्त समूहबाट हाम्रो जीन तत्वहरूमा निकै कम योगदान भएको भए पनि, जति प्राप्त भएको छ, त्यसले मस्तिष्क सञ्चालन र स्नायु प्रशोधनका लागि चाहिने तत्वहरूमा उल्लेखनीय योगदान गरेको देखिन्छ। यसले आधुनिक मानवको उदविकास, परिमार्जन र विकासको चरणमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।

त्यसरी हाम्रो उदयमा महत्त्वपूर्ण आनुवंशिक उत्तराधिकार प्रदान गर्ने हाम्रा पुर्खा समूह को थिए भन्ने चाहिँ अध्ययनले किटान गरेर उल्लेख गर्न सकेको छैन।

अध्येताहरूले लेखेका छन्, ‘ती रहस्यमय पुर्खाहरू यिनै थिए भनेर किटानी गर्न सकिँदैन। त्यसबखत अफ्रिका र अफ्रिका बाहिर समेत उपस्थित होमो–इरेक्टस र होमो–हाइडेलवर्गेन्सिस थिए कि भन्नेमा हामी बढी केन्द्रित छौं। तर किटान गरेर भन्न थप अनुसन्धान जरूरी छ।’

उनीहरूको निष्कर्ष छ — अन्तर प्रजनन र आनुवंशिताको आदानप्रदानले जीवहरूको संसारमा नयाँ प्राणीको उदयमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

यसरी आज मौजुदा होमो–सेपियन्स एउटा सग्लो (सिंगल) जनसंख्याको उत्तराधिकारी नभई, कमसेकम दुई या सोभन्दा बढी मानव समूहको सम्मिश्रणबाट उदय भएको यो नयाँ दाबीले थप अनुसन्धानात्मक विवाद र प्रतिवादहरूको सामना गर्ने भने निश्चय नै छ।

( सेतो पाटी डट कम साभार )

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक