Connect with us
Advertisement

नेपाली सडकमा हाइड्रोजनबाट चल्ने गाडी गुडाउने बाटो खोल्दै सरकार

Published

on

सरकारले हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि कानुनी बाटो खोल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता सवारी साधन आयात र दर्ता गर्न अनुमति दिनेगरी कानुन बनाउने भएको हो । यसअघि मन्त्रालयले राय सल्लाह माग्दै सार्वजनिक गरेको राष्ट्रिय यातायात नीति २०८१ मा यो विषय समेटिएको छ । मन्त्रालयले सो नीतिका लागि प्राप्त राय सुझाव सङ्कलन गरेर मस्यौदालाई परिमार्जन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निर्माण तथा यातायात महाशाखाका सहसचिव कृष्णराज पन्तले हाइड्रोजन इन्धनयुक्त सवारी साधनको प्रयोगसम्बन्धी कुनै राय सुझाव प्राप्त नभएको जानकारी दिए ।

“मस्यौदा वेबसाइटमा राय सुझावका लागि राखेका थियौँ । हाइड्रोजन इन्धनबाट चल्ने गाडीको विषयमा सकारात्मक वा नकारात्मक कुनै पनि राय सुझाव आएनन्,” पन्तले भने, “हामीले राय सुझाव सङ्कलन गरेर मस्यौदा परिमार्जन गरी कानुन मन्त्रालयमा पठाएका थियौँ । त्यहाँबाट केही परिमार्जन गर्नु भनेर हामीलाई पठाएको छ । अहिले त्यसैको काम हुँदैछ ।”

सहसचिव पन्तले अगाडि भने, “हामीले प्रस्ताव गरेको मस्यौदा पारित भएको अवस्थामा नेपालमा हाइड्रोजनबाट चल्ने सवारीसाधनहरू पनि आयात वा बिक्रीका लागि बाटो खुल्नेछ ।”

उनका अनुसार सो नीतिको मस्यौदाका बारेमा अझै पनि मन्त्रालयको वेबसाइटबाट राय सुझाव पठाउन सकिन्छ । काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापा सरकारको यो कदमलाई सकारात्मक रूपमा लिन्छन् । उनका अनुसार ऊर्जा मन्त्रालयले पनि हाइड्रोजनलाई यातायातको साधनमा प्रयोग गर्न आवश्यक नीति, नियम र निर्देशिका बनाउने तयारी गरिरहेको छ ।

यसका लागि मन्त्रालयले हाइड्रोजन सम्बन्धी आधिकारिक संस्थागत संरचना निर्माण गर्न एउटा समिति गठन गरेको छ, जसमा डा. थापा विज्ञ सदस्यको रूपमा रहेका छन् । “नेपाल सरकारले भोलि हाइड्रोजन सम्बन्धी कुनै कानुन, निर्देशिका वा वैदेशिक सहयोग तथा प्रविधिमा सहकार्य गर्नुपरेमा एउटा छुट्‍टै संस्थागत संरचना आवश्यक पर्छ,” उनी भन्छन्, “अहिले पेट्रोलियम पदार्थका लागि नेपाल आयल निगम, विद्युत्‌का लागि नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्ड जस्ता संस्थाहरू भए जस्तै हाइड्रोजनको लागि पनि एउटा छुट्‍टै निकाय जरुरी हुन्छ ।”

उक्त समितिले नेपाल सरकारको पोर्टफोलियोभित्र हाइड्रोजन सम्बन्धी संस्थाको संरचना कहाँ राख्ने र यसको कार्यविधि कस्तो बनाउने भन्ने विषयमा काम गरिरहेको उनले जानकारी दिए । थापाका अनुसार यस संरचनाले हाइड्रोजन सम्बन्धी सम्पूर्ण काम एउटै निकायबाट हुने व्यवस्था मिलाउनेछ, जसले गर्दा विभिन्न मन्त्रालयबिच समन्वय गर्न सहज हुनेछ ।

नेपालमा हाइड्रोइजनलाई विभिन्न तवरबाट प्रयोग गर्नका लागि नेपालका सरकारी निकायहरूले आपसमा सहकार्य गरिरहेको उनले सुनाए । तर, हाइड्रोजनसँग सम्बन्धित नीतिको मस्यौदा आए पनि त्यसलाई अगाडि बढाई कार्यान्वयनमा ल्याउन ढिलाइ भइरहेको थापाको भनाइ छ ।

“नीतिलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियम र निर्देशिका बन्न नसक्दा नीति आएर पनि कार्यान्वयन हुन सकेको छैन,” उनले अगाडि भने , “तर, अब संस्थागत संरचना निर्माण भएपछि नीति कार्यान्वयनमा आउनेछ ।”

उद्योग मन्त्रालयले पनि हाइड्रोजनबाट मल कारखाना खोल्ने, फलाम खानीलाई प्रशोधन गर्ने र अन्य औद्योगिक प्रयोगका सम्बन्धमा छलफल गरिरहेको छ । यातायात मन्त्रालयले हाइड्रोजनबाट चल्ने गाडीको नम्बर प्लेट, कर र अन्य सुविधाका बारेमा छलफल गरिरहेको छ । त्यस्तै ऊर्जा मन्त्रालयले हाइड्रोजन सम्बन्धी संस्थाको संरचना र विद्युत्‌को दरभाउ निर्धारण गर्ने विषयमा काम गरिरहेको छ ।

त्यसका साथै अर्थ मन्त्रालयले हाइड्रोजन व्यवसायमा कर छुट र बजेट व्यवस्थापनका विषयमा छलफल गरिरहेको छ । डा. थापाका अनुसार काठमाडौँ विश्वविद्यालयले हाइड्रोजन सम्बन्धी सुरक्षा मापदण्डको अध्ययन गरिरहेको छ र यस सम्बन्धी प्रतिवेदन पनि तयार पारिएको छ ।

“हामीले नेपालमा हाइड्रोजन सम्बन्धी सुरक्षाको मापदण्ड कस्तो हुनुपर्छ भनेर अध्ययन गरेका छौँ,” उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा भएका मापदण्डलाई पनि विश्लेषण गरी नेपालमा सुरक्षित रूपमा हाइड्रोजन कसरी प्रयोग गर्ने भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।”

ऊर्जा मन्त्रालय अन्तर्गतको समितिले संस्थागत संरचनालाई चाँडै टुङ्ग्याउने र त्यसपछि हाइड्रोजन सम्बन्धी मापदण्ड लागु गर्ने अपेक्षा गरिएको छ । डा. थापाका अनुसार यदि सरकारले चाहेमा अहिले नै काठमाडौँ विश्वविद्यालयले अनुसन्धानका लागि ल्याएको हाइड्रोजन गाडी चलाउन अनुमति दिन सकिन्छ ।

तर, व्यावसायिक रूपमा हाइड्रोजन गाडी चलाउन र यसको व्यवसाय विस्तार गर्नका लागि संस्थागत संरचना आवश्यक पर्छ । डा. थापाले आगामी दुई-तीन महिनाभित्र संस्थागत संरचना तयार हुने र त्यसपछि हाइड्रोजन इन्धनको प्रयोगले गति लिने विश्वास व्यक्त गरे ।

डा. थापाको नेतृत्वमा काठमाडौँ विश्वविद्यालयले १८ कात्तिक २०८० मा पहिलो हाइड्रोजन फ्युल सेल कार नेपाल भित्र्याएको थियो । विश्वविद्यालयले दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार नेपाल ल्याएको छ । झन्डै ८० लाख रुपैयाँ खर्च गरेर ल्याइएको उक्त हाइड्रोजन कार अझैसम्म पनि निर्वाध रूपमा चल्न भने सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २०७९ मा एक कार्यक्रममा बोल्दै हाइड्रोजन गाडीमा चढ्ने नेपालको पहिलो प्रधानमन्त्री बन्ने धोको भएको आशय राखेका थिए । तर, प्रधानमन्त्रीका रूपमा उनले हाइड्रोजनयुक्त कार चढ्ने मौका भने पाएनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने भदौ २०८१ मा नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट चल्ने उक्त कार चढ्ने अवसर पाएका थिए ।

 त्यससँगै उनी नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट चल्ने गाडी चढ्ने नेपालको पहिलो प्रधानमन्त्री बनेका छन् । काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोस्रो चरणमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले हाइड्रोजन गाडी चढ्नुका साथै हाइड्रोजन रिफिलिङ स्टेसनको उद्घाटन समेत गरेका थिए ।

त्यस क्रममा बोल्दै उनले सरकारले आवश्यक पर्ने नीति नियम तर्जुमा गर्दै ग्रीन हाइड्रोजन प्रविधिलाई व्यावसायिक प्रयोजनमा सकेसम्म चाँडो लैजाने प्रतिबद्धता जनाएका थिए

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक