काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर ३ देखि १० सम्म बाढीले क्षति पुगेको छ । यसैगरी रोशी गाउँपालिका र तेमाल गाउँपालिका पनि बाढी–पहिरोबाट प्रभावित भएका छन् ।
पनौती नगरपालिकामा गत वर्ष असोजको बाढीले क्षति पुर्याएपछि अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप फेरि बगेको छ । झन्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ ।
खेतबारीमा रोपिएका आलु लगायतका बाली पनि डुबानमा परेका छन् । रोशी गाउँपालिका–६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप पनि बगाएको छ ।
पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा बाढीले बढी क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी र बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ । बाढी प्रभावित क्षेत्रमा आज बिहानैदेखि मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
वर्षायाम सुरु नहुँदै थपियो चिन्ता
गत असोजको बाढी र पहिरोले क्षतविक्षत बनाएको काभ्रेमा अहिले वर्षायाम सुरु नहुँदै बाढीको प्रकोप सुरु भएको छ । यसले वर्षायाममा झन् बढी विपत्ति निम्त्याउने चिन्ता छ ।
गत वर्ष असोजमा आएको बाढीपहिरोका कारण काभ्रेमा ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७९ जना घाइते भएका थिए । यसैगरी स्थानीयका घर, कृषि, पशु, शिक्षा, सडक, सञ्चार, खानेपानी तथा विद्युत् क्षेत्रमा पनि करोडौंको क्षति पुगेको थियो ।
काभ्रेमा यति धेरै क्षति हुनुमा क्रसर उद्योगलाई जिम्मेवार ठानिएको थियो । जिल्ला अनुगमन समितिको २०८१ माघ ९ बसेको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो ।
















You must be logged in to post a comment Login