Connect with us
Advertisement

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या २३ थपियो, ७३ पुग्यो

Published

on

काठमाडौँ — रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगर छन् ।

ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारू, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर रहेका छन् । कन्सुलर विभागले मृत्यु प्रमाणित भइसकेकाका परिवारलाई सम्पर्क गरी जानकारी दिइसकेका छन् । उनीहरूमध्ये धेरैजसो एक वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् ।

The number of Nepalis who lost their lives in the Russia-Ukraine war increased by 23, reaching 73

युद्धमा खटिएका र फर्किएका नेपालीका अनुसार रुसले युद्धसम्बन्धी पूर्ण तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ । रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ ।

रुसले पठाएको विवरणअनुसार नेपालबाट पठाइएका डीएनए नमुनामध्ये पछिल्लो पटक ८ जनाको मिलेको छ, जसमा नवलपरासीका हेमकुमार, दार्चुलाका ललितसिंह, सल्यानका ताराप्रकाश, मोरङका रोनल, प्यूठानका भीमबहादुर, म्याग्दीका छमबहादुर, बैतडीका अर्जुनदत्त र सुर्खेतका सुजन रहेका छन् ।

अन्यको डीएनए ‘रिपोर्ट’ आइसकेको छैन । कन्सुलर विभागले चैत २०८० र असोज २०८१ मा ५८ जनाका परिवारको डीएनए नमुना परीक्षणका लागि पठाएको थियो ।

त्यतिखेर पठाइएकामध्ये तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारले पठाएको डीएनए ‘रिपोर्ट’को नतिजा आएको छैन ।

त्यस्तै, गत असोजमा पठाइएको सुर्खेतका लक्ष्मण विष्ट, लालबहादुर पुनमगर र भरत कुँवर, सुनसरीका राजन राउत र महेन्द्र शाही, धादिङका मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, कपिल घर्तीमगर र माइतमान घर्ती, कपिलवस्तुका चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हीराबहादुर गुरुङ र श्यामध्वज गुरुङ, पाँचधरका सुजन जवेगु र जितेन्द्र केसी, गोरखाका गणेशबहादुर कुमाल, रामेछापका साधुराम प्रधान, भुवन पुनमगर, रोहन तामाङ र ज्ञानबहादुर मगर, डोटीका भीमबहादुर नेगी, देव तामाङ र विजयकुमार टमाटा, रूपन्देहीका विपिन विक, चन्द्रप्रकाश बीसी, सुवास तामाङलगायतको पनि डीएनए ‘रिपोर्ट’को नतिजा आएको छैन ।

रुस र युक्रेनबीचको १७ सय किमि सीमा क्षेत्रमा चलिरहेको युद्धमा रुसी सेनामा रहेर खटिएका नेपालीको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । रुस–युक्रेन युद्धमा अझै कैयौं नेपाली कार्यरत छन् । रुसी सेनामा भर्ती भएका सबै नेपालीको गत फागुनभित्र एकवर्षे करार अवधि समाप्त भइसकेको छ । रुसले नेपाली राहदानी बोकेकाको हकमा करारपत्र नवीकरण गरिदिएको छैन । तर रुसको राहदानी र नागरिकता लिएका नेपालीको हकमा भने रुसी सरकारले करारपत्र नवीकरण गरिदिएको छ । अहिले कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन ।

रुसका लागि निवर्तमान राजदूत मिलनराज तुलाधर नेपाल सरकारको अनुरोधपछि रुसले नेपालीको करारपत्र नवीकरण गर्न छोडेको बताउँछन् । सरकारले २०८० मंसिर तेस्रो साता नै कूटनीतिक नोट पठाउँदै नयाँ भर्ना रोक्न र नेपाल पठाउन आग्रह गरेको थियो । त्यसपछि नयाँ भर्ना नलिइएको घोषणा रुसले गरेको छ ।

२४ फेब्रुअरी २०२२ देखि रुस–युक्रेन युद्ध जारी छ । युक्रेनसँगको युद्धमा अनपेक्षित क्षति भोगेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक संख्या बढाउन विदेशी नागरिक भर्ती भएमा करिब ३ लाख रुबेल तलब र एक वर्षपछि सिधै रुसी नागरिकता दिने नीति ल्याएका थिए । त्यही कारण कतिपय नेपाली युवा मानव तस्करमार्फत भारत, खाडी र मलेसिया हुँदै मस्को पुगेर सेनामा भर्ती भएका थिए । रुसमै अध्ययनरत कतिपय नेपाली विद्यार्थी पनि सेनामा भर्ती भएर युद्धमैदानमा खटिएका थिए । रुसले आधिकारिक संख्या उपलब्ध नगराए पनि कम्तीमा १५ सय हाराहारी नेपाली त्यहाँको सेनामा भर्ना भएको अनुमान छ ।

रुसी सेनामा मृत्यु भएकाका परिवारले क्षतिपूर्ति पाउन पनि जटिल भइरहेको छ । केही परिवार क्षतिपूर्तिका लागि रुसमा नै गइरहेका छन् । कन्सुलर विभागका अनुसार हालसम्म ११ मृतकका परिवारले क्षतिपूर्ति दाबी गर्न कागजात बनाइसकेका छन् । तत्कालीन राजदूत तुलाधर रुसी सेनासरह नै नेपालीले पनि क्षतिपूर्ति पाउनुपर्ने बताउँछन् । ‘धेरैजसोको करारपत्रमै क्षतिपूर्तिका लागि इच्छाइएका हकदारको नाम लेखिएको छ, कतिपयकामा छैन, नभए पनि हकदारले दाबी गर्न पाउँछन्,’ तुलाधर भन्छन्, ‘हकवाला स्वयं रुसमा गयो भने पनि पैसा दिन्छ, क्षतिपूर्ति पाउने समय अलि अगाडि/पछाडि होला, तर पाइन्छ ।’ परिवारजन आफैं रुस गए पनि नगए पनि दूतावासको संलग्नता चाहिने र प्रक्रिया पनि दूतावासमार्फत नै अघि बढाउनुपर्ने उनको भनाइ छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

Banner

आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने

Published

on

आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।

आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक