Connect with us
Advertisement

एमालेबाट निकालिएपछि के गर्दैछन् भीम रावल ?

Published

on

धनगढी — सुदूरपश्चिम एमालेको राजनीतिमा २०५० सालयताको करिब अढाई दशकसम्म ‘एमाले भनेकै भीम रावल र भीम रावल भनेकै एमाले’ भन्ने जस्तो अवस्था थियो। रावलको त्यही राजनीतिक रापतापलाई पछ्याउने समर्थकको ताँती पनि बाक्लै थियो। तर जीवनको उत्तरार्धतिर आएर उनको त्यो राजनीतिक माहोलले कोल्टे फेेरेको छ।

पार्टीभित्रका गलत कार्यको आलोचना र अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएकै कारण राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव बनाइरहेका रावल एमालेबाट मिल्काइएका छन्। जीवनको करिब ५० वर्ष पार्टी निर्माणमा लगाएका रावललाई एमालेले अपमानपूर्ण ढंगबाट निष्काशित गरेको छ।

एमालेबाट निकालिएपछि रावलसँग विकल्पहरु सीमित भए। अछाम निर्वाचन क्षेत्र-१ बाट पाँच पटक निर्वाचन लड्दा तीनपटक जित र दुई पटक हार ब्यहोरेका रावललाई नेकपा एमालेले ०८१ पुस १० गते पार्टीबाट निष्काशित गर्‍यो । पार्टीबाट निकालिएपछि उनले वैकल्पिक राजनीतिक संगठन निर्माणको उद्घोष गरे ।

०८१ पुस १७ गते काठमाडौं पत्रकार सम्मेलन गरी ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका थिए । तर रावलले सुरुमा जुन रापताप देखाएका थिए, पछिल्लो समय त्यो सेलाउँदै गएको प्रतिक्रिया आइरहेका छन् ।

मातृभूमि जागरण अभियान घोषणा गरेलगत्तै उनी माघ पहिलो साता गृह जिल्ला अछाम पुगे । अछाममा आएर करिब एक महिना उनले विभिन्न ठाउँमा भेलाहरु आयोजना गरे, भेटघाट गरे र आफ्ना समर्थकहरुलाई संगठित गरे । त्यस क्रममा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरुमा पनि उनले दौडधुप गरे । अछाममा त एमाले त्यागेर रावलको अभियानमा आवद्ध हुने लहर नै चल्यो ।

एमालेमा रहेका सात हजार संगठित सदस्यमध्ये करिब तीन हजारले एमाले त्यागेर रावलले सञ्चालन गरिरहेको मातृभूमि जागरण अभियानमा आवद्ध भएको रावल निकट कार्यकर्ताहरुको दाबी छ । माघ अन्तिम साता धनगढीमा पनि भेला आयोजना गरेका थिए ।

सुदूरपश्चिमबाट फर्केपछि अभियान विस्तारका लागि उनी सुदूरपश्चिमेलीको ठूलो संख्या रहेको भारत प्रवास हानिए । भारतका मुम्बई, पुना, बैसुर लगायतका ठाउँमा आयोजित भेलाहरुलाई उनले सम्बोधन गरे, भेटघाट गरे ।

भारतबाट फर्केपछि सार्वजनिक गतिविधिमा नदेखिएका उनी चैत १८ गते कमल कोइरालालाई श्रद्धाञ्जली दिनका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा देखिए । त्यसबाहेक सार्वजनिक कार्यक्रममा देखिएनन् । चैत यताका करिब दुई महिना उनले कुनै सार्वजनिक गतिविधि गरेनन् ।

राष्ट्रिय राजनीतिमा उत्पन्न भएको आन्दोलनहरुको अवस्थाले मातृभूमि जागरण अभियानका गतिविधिहरुलाई केही समय रोकेको रावल बताउँछन् । ‘यसबीचमा शिक्षक आन्दोलन, राजासंस्थावादीको आन्दोलन, समाजवादी मोर्चाको प्रदर्शन लगायतका कारणले राष्ट्रिय राजनीतिलाई केही तरंगित गर्‍यो,’ रावलले भने, ‘यस बीचमा नवलपरासी, रुपन्देहीको देवदह, लमही, बाँके, कैलाली, टोली लगायत विभिन्न ठाउँमा भेटघाट गरेको छु । विभिन्न क्षेत्रका व्यक्तिहरुसँग आन्तरिक रुपमा घनिभुत ढंगले छलफल भेटघाट निरन्तर छ ।’

यही साता उनी कैलाली हुँदै पुनः अछाम पुगेका छन् । यस क्रममा रावलले कैलालीको घोडाघोडीमा भेला आयोजना गरे । त्यसबाहेक कैलालीको चौमाला, अत्तरिया र धनगढीमा पनि भेटघाट छलफल गरेको रावलले बताए । ‘रोपाइँको सिजन सुरु भएको र वर्षाको मौसम सुरु हुन लागेकाले भेला जमघट लगायत गतिविधिहरु केही समय रोकिन्छन् होला,’ रावलले भने ।

रावल आफू पार्टी घोषणाको आधार निर्माणको तीव्र तयारी गरिरहेको रहेको र त्यसमा स्पष्ट रहेको बताउँछन् । दुई साताअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियान अन्तर्गत अछामको सभालाई सम्बोधन गर्दै भीम रावललाई सहकार्यको प्रस्ताव गरेका थिए ।

सभामा प्रचण्डले भनेका थिए ‘यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । मैले तपाईं किन अरु ठाउँ भौतारिरहनु भएको छ । आउनुस् समय खेर नफाल्नुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने ।’ रावलले प्रचण्डको उक्त भनाइलाई अछाम पुगेका बेला व्यक्त गरिएको राजनीतिक शिष्टाचारका रुपमा टिप्पणी गरे ।

रावल विरोधमा हुँदा एमालेलाई कति फरक पर्ला ?

रावललाई एमालेले केही महिनाअघि मात्रै पार्टीबाट निष्काशित गरेको भए पनि पार्टीको चितवन महाधिवेशनपछि उनी लगभग पार्टी गतिविधिमा संलग्न थिएनन्, संलग्न गराइएको थिएन ।

०७९ को निर्वाचनका बेला अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएर पनि पार्टी केन्द्रले उनलाई टिकट नदिएपछि पार्टी नेतृत्वसँगको दूरी झन् धेरै तन्किएको थियो ।

त्यही बेलादेखि सुदूरपश्चिममा रावलका कारणले एमालेलाई धक्का लाग्ने अड्कलबाजी गरिएका थिए । भीम रावल असन्तुष्ट भएका कारणले कति हो, त्यो अध्ययनको विषय हो तर त्यो निर्वाचनमा एमालेले सुदूरपश्चिममा नराम्ररी धक्का खायो ।

संघका १६ मध्ये दुई र प्रदेशका ३२ मध्ये तीनवटा निर्वाचन क्षेत्रमा मात्र एमालेले प्रत्यक्ष निर्वाचन जित्न सक्यो । त्यसको प्रत्यक्ष वा परोक्ष कारक भीम रावललाई लगाइएको पाखाको असरका रुपमा अर्थ्याउनेहरु तमाम थिए । एमाले कार्यकर्ताहरु स्वमं पनि भीम रावलको निष्कृयता वा असहयोगका कारण असर खेप्नु परेको स्वीकार्छन् ।

यतिबेला एमालेबाट अलग्याइएपछि औपचारिक रुपमै अलग अभियान र पार्टी निर्माणको राजनीतिक यात्रामा जुटेपछि एमालेलाई थप धक्का लाग्ने कुरा लगभग निश्चित छ । त्यसैमा सुदूरपश्चिम एमाले चिरैचिरा र गुटैगुटमा विभक्त अवस्थामा छ । एक नेताले अर्को नेतालाई स्वीकार गरिरहेको अवस्था छैन ।

सुदूरपश्चिममा अहिलेका शीर्ष नेताहरु केन्द्रीय सचिव रहेका लेखराज भट्ट, दामोदर भण्डारी र कर्णबहादुर थापाबीच चरम बेमेल र शक्ति संघर्ष छ । अबको अध्यक्षमा विद्या भण्डारी हुनुपर्ने लविइङमा खुलेका कर्ण थापा अहिले पनि भीम रावललाई पार्टीमा अटाउनुपर्ने टिप्पणी गरिरहेका छन् । तर भट्ट र भण्डारीलाई भने रावल नहुँदा हाइसञ्चो झैँ भएको छ । एमाले कार्यकर्ताहरुका अनुसार आन्तरिक रुपमा न भण्डारीले भट्टलाई मान्छन् न भट्ट भण्डारीप्रति नै आश्वस्त छन् ।

नेता रावल एमालेभित्र आगामी दिनमा गुट, उपगुटको अन्तरविरोध थप चर्किने आकलन गर्छन् । ‘एमालेभित्र इमान्दार कार्यकर्ताहरुलाई चरम उकुसमुकुस छ । कुनै न कुनै रुपमा चाँडै विष्फोटको अवस्थामा पुग्ने देख्छु,’ रावल भन्छन्, ‘एमालेभित्रका देशभक्तहरु एक ठाउँमा उभिने छन् ।’

रावलको अभियानमा उत्रिएका अछामका पूर्व एमाले नेता प्रकाश शाह अहिलेकै अवस्था कायम रहे एमालेले आगामी निर्वाचनमा थप धक्का ब्यहोर्नुपर्ने दाबी गर्छन् । ‘अहिले एमालेको उपल्लो तहको नेता मातृभूमि जागरण अभियानमा नखुलेका भए पनि भित्रभित्र धेरै कोणमा छलफल र तयारी भइरहेको छ,’ शाहले भने ‘धेरैलाई पार्टी घोषणाको दिनको प्रतिक्षा छ । रावलको अभियान वा पार्टीमा लाग्नेहरुको ठूलो हिस्सा एमालेकै नेता कार्यकर्ताको हुने भएकाले एमालेलाई धक्का लाग्ने कुरा त प्रष्ट नै छ ।’ एकीकृत समाजवादीको ठूलो पंक्ति पनि रावलको समर्थनमा आउने कुरा भइरहेको उनले बताए ।

तर कतिपय एमाले नेताहरु भने भीम रावलले अबको दिनमा एमालेलाई खासै क्षति गर्न नसक्ने दाबी गर्छन् । एमाले अछामका उपाध्यक्ष तिलक कुँवर भन्छन्, ‘भीम रावल एमालेमै हुनुपर्थ्यो, त्यो बेग्लै कुरा भयो । तर अब पार्टीलाई कुनै असर पर्दैन, जति कमजोर गराउनुथियो गराइसके, जति असर पर्‍यो परिसक्यो,’ उपाध्यक्ष कुँवरले भने ‘०७९ को निर्वाचनमा रावलको सम्पूर्ण शक्ति एमालेविरुद्ध परिचालन भएर केही असर परेको हो । अब त उनको माहोल दिनप्रति दिन ओरालो लागेको अवस्थामा छ । पार्टीबाट बाहिरिँदा उनीप्रति जुन समर्थन देखिएको थियो, अहिले त्यो अवस्था छैन ।’

एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरका बुझाइमा अछामको १ नम्बर निर्वाचन क्षेत्रमा बढ्ता प्रभाव पर्नेछ र प्रदेशभर एमालेलाई केही न केही असर त परिहाल्छ । पार्टी नै गठन गरेर अघि बढेपछि प्रभाव विस्तार पनि हुन सक्ने उनको आकलन छ । ‘तर गैर कम्युनिष्ट पार्टी गठन गर्ने भन्ने कुराले सहानुभूति घट्ने देख्छु,’ कुँवर भन्छन् ‘पार्टी गठन गर्‍यो भने कस्ता कस्ता र कुन तहमा नेता कार्यकर्ता उनको समर्थनमा खुल्छन् भन्ने कुराले अर्थ राख्नेछ ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक