Banner
एमालेबाट निकालिएपछि के गर्दैछन् भीम रावल ?
धनगढी — सुदूरपश्चिम एमालेको राजनीतिमा २०५० सालयताको करिब अढाई दशकसम्म ‘एमाले भनेकै भीम रावल र भीम रावल भनेकै एमाले’ भन्ने जस्तो अवस्था थियो। रावलको त्यही राजनीतिक रापतापलाई पछ्याउने समर्थकको ताँती पनि बाक्लै थियो। तर जीवनको उत्तरार्धतिर आएर उनको त्यो राजनीतिक माहोलले कोल्टे फेेरेको छ।
पार्टीभित्रका गलत कार्यको आलोचना र अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएकै कारण राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव बनाइरहेका रावल एमालेबाट मिल्काइएका छन्। जीवनको करिब ५० वर्ष पार्टी निर्माणमा लगाएका रावललाई एमालेले अपमानपूर्ण ढंगबाट निष्काशित गरेको छ।
एमालेबाट निकालिएपछि रावलसँग विकल्पहरु सीमित भए। अछाम निर्वाचन क्षेत्र-१ बाट पाँच पटक निर्वाचन लड्दा तीनपटक जित र दुई पटक हार ब्यहोरेका रावललाई नेकपा एमालेले ०८१ पुस १० गते पार्टीबाट निष्काशित गर्यो । पार्टीबाट निकालिएपछि उनले वैकल्पिक राजनीतिक संगठन निर्माणको उद्घोष गरे ।
०८१ पुस १७ गते काठमाडौं पत्रकार सम्मेलन गरी ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका थिए । तर रावलले सुरुमा जुन रापताप देखाएका थिए, पछिल्लो समय त्यो सेलाउँदै गएको प्रतिक्रिया आइरहेका छन् ।
मातृभूमि जागरण अभियान घोषणा गरेलगत्तै उनी माघ पहिलो साता गृह जिल्ला अछाम पुगे । अछाममा आएर करिब एक महिना उनले विभिन्न ठाउँमा भेलाहरु आयोजना गरे, भेटघाट गरे र आफ्ना समर्थकहरुलाई संगठित गरे । त्यस क्रममा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरुमा पनि उनले दौडधुप गरे । अछाममा त एमाले त्यागेर रावलको अभियानमा आवद्ध हुने लहर नै चल्यो ।
एमालेमा रहेका सात हजार संगठित सदस्यमध्ये करिब तीन हजारले एमाले त्यागेर रावलले सञ्चालन गरिरहेको मातृभूमि जागरण अभियानमा आवद्ध भएको रावल निकट कार्यकर्ताहरुको दाबी छ । माघ अन्तिम साता धनगढीमा पनि भेला आयोजना गरेका थिए ।
सुदूरपश्चिमबाट फर्केपछि अभियान विस्तारका लागि उनी सुदूरपश्चिमेलीको ठूलो संख्या रहेको भारत प्रवास हानिए । भारतका मुम्बई, पुना, बैसुर लगायतका ठाउँमा आयोजित भेलाहरुलाई उनले सम्बोधन गरे, भेटघाट गरे ।
भारतबाट फर्केपछि सार्वजनिक गतिविधिमा नदेखिएका उनी चैत १८ गते कमल कोइरालालाई श्रद्धाञ्जली दिनका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा देखिए । त्यसबाहेक सार्वजनिक कार्यक्रममा देखिएनन् । चैत यताका करिब दुई महिना उनले कुनै सार्वजनिक गतिविधि गरेनन् ।
राष्ट्रिय राजनीतिमा उत्पन्न भएको आन्दोलनहरुको अवस्थाले मातृभूमि जागरण अभियानका गतिविधिहरुलाई केही समय रोकेको रावल बताउँछन् । ‘यसबीचमा शिक्षक आन्दोलन, राजासंस्थावादीको आन्दोलन, समाजवादी मोर्चाको प्रदर्शन लगायतका कारणले राष्ट्रिय राजनीतिलाई केही तरंगित गर्यो,’ रावलले भने, ‘यस बीचमा नवलपरासी, रुपन्देहीको देवदह, लमही, बाँके, कैलाली, टोली लगायत विभिन्न ठाउँमा भेटघाट गरेको छु । विभिन्न क्षेत्रका व्यक्तिहरुसँग आन्तरिक रुपमा घनिभुत ढंगले छलफल भेटघाट निरन्तर छ ।’
यही साता उनी कैलाली हुँदै पुनः अछाम पुगेका छन् । यस क्रममा रावलले कैलालीको घोडाघोडीमा भेला आयोजना गरे । त्यसबाहेक कैलालीको चौमाला, अत्तरिया र धनगढीमा पनि भेटघाट छलफल गरेको रावलले बताए । ‘रोपाइँको सिजन सुरु भएको र वर्षाको मौसम सुरु हुन लागेकाले भेला जमघट लगायत गतिविधिहरु केही समय रोकिन्छन् होला,’ रावलले भने ।
रावल आफू पार्टी घोषणाको आधार निर्माणको तीव्र तयारी गरिरहेको रहेको र त्यसमा स्पष्ट रहेको बताउँछन् । दुई साताअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियान अन्तर्गत अछामको सभालाई सम्बोधन गर्दै भीम रावललाई सहकार्यको प्रस्ताव गरेका थिए ।
सभामा प्रचण्डले भनेका थिए ‘यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । मैले तपाईं किन अरु ठाउँ भौतारिरहनु भएको छ । आउनुस् समय खेर नफाल्नुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने ।’ रावलले प्रचण्डको उक्त भनाइलाई अछाम पुगेका बेला व्यक्त गरिएको राजनीतिक शिष्टाचारका रुपमा टिप्पणी गरे ।
रावल विरोधमा हुँदा एमालेलाई कति फरक पर्ला ?
रावललाई एमालेले केही महिनाअघि मात्रै पार्टीबाट निष्काशित गरेको भए पनि पार्टीको चितवन महाधिवेशनपछि उनी लगभग पार्टी गतिविधिमा संलग्न थिएनन्, संलग्न गराइएको थिएन ।
०७९ को निर्वाचनका बेला अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएर पनि पार्टी केन्द्रले उनलाई टिकट नदिएपछि पार्टी नेतृत्वसँगको दूरी झन् धेरै तन्किएको थियो ।
त्यही बेलादेखि सुदूरपश्चिममा रावलका कारणले एमालेलाई धक्का लाग्ने अड्कलबाजी गरिएका थिए । भीम रावल असन्तुष्ट भएका कारणले कति हो, त्यो अध्ययनको विषय हो तर त्यो निर्वाचनमा एमालेले सुदूरपश्चिममा नराम्ररी धक्का खायो ।
संघका १६ मध्ये दुई र प्रदेशका ३२ मध्ये तीनवटा निर्वाचन क्षेत्रमा मात्र एमालेले प्रत्यक्ष निर्वाचन जित्न सक्यो । त्यसको प्रत्यक्ष वा परोक्ष कारक भीम रावललाई लगाइएको पाखाको असरका रुपमा अर्थ्याउनेहरु तमाम थिए । एमाले कार्यकर्ताहरु स्वमं पनि भीम रावलको निष्कृयता वा असहयोगका कारण असर खेप्नु परेको स्वीकार्छन् ।
यतिबेला एमालेबाट अलग्याइएपछि औपचारिक रुपमै अलग अभियान र पार्टी निर्माणको राजनीतिक यात्रामा जुटेपछि एमालेलाई थप धक्का लाग्ने कुरा लगभग निश्चित छ । त्यसैमा सुदूरपश्चिम एमाले चिरैचिरा र गुटैगुटमा विभक्त अवस्थामा छ । एक नेताले अर्को नेतालाई स्वीकार गरिरहेको अवस्था छैन ।
सुदूरपश्चिममा अहिलेका शीर्ष नेताहरु केन्द्रीय सचिव रहेका लेखराज भट्ट, दामोदर भण्डारी र कर्णबहादुर थापाबीच चरम बेमेल र शक्ति संघर्ष छ । अबको अध्यक्षमा विद्या भण्डारी हुनुपर्ने लविइङमा खुलेका कर्ण थापा अहिले पनि भीम रावललाई पार्टीमा अटाउनुपर्ने टिप्पणी गरिरहेका छन् । तर भट्ट र भण्डारीलाई भने रावल नहुँदा हाइसञ्चो झैँ भएको छ । एमाले कार्यकर्ताहरुका अनुसार आन्तरिक रुपमा न भण्डारीले भट्टलाई मान्छन् न भट्ट भण्डारीप्रति नै आश्वस्त छन् ।
नेता रावल एमालेभित्र आगामी दिनमा गुट, उपगुटको अन्तरविरोध थप चर्किने आकलन गर्छन् । ‘एमालेभित्र इमान्दार कार्यकर्ताहरुलाई चरम उकुसमुकुस छ । कुनै न कुनै रुपमा चाँडै विष्फोटको अवस्थामा पुग्ने देख्छु,’ रावल भन्छन्, ‘एमालेभित्रका देशभक्तहरु एक ठाउँमा उभिने छन् ।’
रावलको अभियानमा उत्रिएका अछामका पूर्व एमाले नेता प्रकाश शाह अहिलेकै अवस्था कायम रहे एमालेले आगामी निर्वाचनमा थप धक्का ब्यहोर्नुपर्ने दाबी गर्छन् । ‘अहिले एमालेको उपल्लो तहको नेता मातृभूमि जागरण अभियानमा नखुलेका भए पनि भित्रभित्र धेरै कोणमा छलफल र तयारी भइरहेको छ,’ शाहले भने ‘धेरैलाई पार्टी घोषणाको दिनको प्रतिक्षा छ । रावलको अभियान वा पार्टीमा लाग्नेहरुको ठूलो हिस्सा एमालेकै नेता कार्यकर्ताको हुने भएकाले एमालेलाई धक्का लाग्ने कुरा त प्रष्ट नै छ ।’ एकीकृत समाजवादीको ठूलो पंक्ति पनि रावलको समर्थनमा आउने कुरा भइरहेको उनले बताए ।
तर कतिपय एमाले नेताहरु भने भीम रावलले अबको दिनमा एमालेलाई खासै क्षति गर्न नसक्ने दाबी गर्छन् । एमाले अछामका उपाध्यक्ष तिलक कुँवर भन्छन्, ‘भीम रावल एमालेमै हुनुपर्थ्यो, त्यो बेग्लै कुरा भयो । तर अब पार्टीलाई कुनै असर पर्दैन, जति कमजोर गराउनुथियो गराइसके, जति असर पर्यो परिसक्यो,’ उपाध्यक्ष कुँवरले भने ‘०७९ को निर्वाचनमा रावलको सम्पूर्ण शक्ति एमालेविरुद्ध परिचालन भएर केही असर परेको हो । अब त उनको माहोल दिनप्रति दिन ओरालो लागेको अवस्थामा छ । पार्टीबाट बाहिरिँदा उनीप्रति जुन समर्थन देखिएको थियो, अहिले त्यो अवस्था छैन ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरका बुझाइमा अछामको १ नम्बर निर्वाचन क्षेत्रमा बढ्ता प्रभाव पर्नेछ र प्रदेशभर एमालेलाई केही न केही असर त परिहाल्छ । पार्टी नै गठन गरेर अघि बढेपछि प्रभाव विस्तार पनि हुन सक्ने उनको आकलन छ । ‘तर गैर कम्युनिष्ट पार्टी गठन गर्ने भन्ने कुराले सहानुभूति घट्ने देख्छु,’ कुँवर भन्छन् ‘पार्टी गठन गर्यो भने कस्ता कस्ता र कुन तहमा नेता कार्यकर्ता उनको समर्थनमा खुल्छन् भन्ने कुराले अर्थ राख्नेछ ।’
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login