नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।
‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं ।’
माओवादी प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने आफूहरुको मुख्य माग रहेको बताए । त्यसका लागि सरकारले कस्तो वातावरण बनाउँछ, त्यस अनुसार अघि बढ्ने उनले बताए । यसबारे सरकारसँग र अन्य विपक्षी दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने सापकोटाले जानकारी दिए ।
‘मुख्य कुरा छानबिन हो, व्यक्ति विशेषमा हाम्रो त्यति धेरै ध्यान छैन,’ उनले भने, ‘निरन्तर कुरा भइराख्या छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको स्थगित भएको छ । आज पनि मुख्य गरी सरकारसित र अर्कोतिर विपक्षी पार्टीहरुसित पनि कुराकानी गर्नुपर्ने छ ।’
भिजिट भिसा प्रकरण धेरै गम्भीर र महत्वपूर्ण विषय भएको बताउँदै उनले भने, ‘सकेसम्म छानबिनका लागि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि हुनुपर्छ भन्ने विषयमा आजको छलफलमा निष्कर्ष निक्लेको छ ।’













You must be logged in to post a comment Login