Banner
रुग्ण अर्थतन्त्र सुधार्ने अवसर
नेपाल विश्वकै दुई विशाल मुलुकबीच अवस्थित छ । ती दुई मुलुकका अर्थतन्त्र भीमकाय पहाडजस्तै स्थिर छन् । यी दुई बलिया देशबीचको कसिलो डोरीमा स्थिर अर्थतन्त्र चलिरहँदा नेपाल कमजोर रूपमा धर्मराएर हिँड्दै छ । नेपाल भौगोलिक रूपमा समृद्ध छ । प्रचुर सम्भावना बोकेको छ । तर, पनि चर्को व्यापार घाटा बेहोरिरहेको छ ।
युवा पलायनको अवस्था जर्जर छ । युवा पलायन हुनुमा राजनीतिक र दलीय स्वार्थ प्रमुख कारण रहेका छन् । राजनीतिक दलहरूको निहित स्वार्थ, प्रचारबाजी, अनुचित पूर्वाधारले बढाएको ऋण भार, चरम भ्रष्टाचारका कारण युवा विदेश पलायन भइरहेका छन् । र, यही कारण नेपालको अर्थतन्त्र रुग्ण बनेको छ । थिलथिलो भएको छ ।
अर्थतन्त्रको सुधार राजनीतिक दलका अतिरञ्जित नाराले हुँदैन । समृद्धिको रटानले हुँदैन । घाँटीको नसा फुट्ने भाषण पनि समृद्धिको आधार बन्न सक्दैन । समृद्धि व्यवहारमा देखिनुपर्छ । कामले पुष्टि हुनुपर्छ । यसलाई समयसापेक्ष आर्थिक तथा मौद्रिक नीतिले सुधार गर्न सकिन्छ । सम्भावनालाई यथार्थमा बदल्न देशको पुँजी बजारमा गहिरो सुधार आवश्यक छ ।
अहिलेको अवस्थामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सीमित जनताको पहुँच, न्यून तरलता, कमजोर प्रविधि र अपारदर्शी नियमन प्रणालीबाट ग्रस्त छ । विश्व बैंकको अध्ययनअनुसार आर्थिक वृद्धिको दिगो आधार तयार पार्न पुँजी बजारको गहिरो र समावेशी विकास अपरिहार्य हुन्छ । नयाँ उद्यम विशेष गरी स्टार्टअपहरूले बैंकबाट ऋण पाउन नसक्ने अवस्थामा सेयर बजारमा जान सक्ने वातावरण निर्माण गर्न सक्नुपर्ने थियो । तर, अहिलेको संरचनाले यस्ता संस्थालाई प्रवेश दिन सक्दैन । किनकि यसमा प्रविधिका साथसाथै राष्ट्र बैंकको नीति पनि बाधक देखिन्छ ।
युरोपले १५० वर्ष लगाएर गरेको विकासमा चीनले ४० वर्षमै कायापलट गरिदियो । र, आफूलाई विश्व बजारमा अब्बल प्रतिस्पर्धीका रूपमा स्थापित गरिदियो । यसको कारण के हो ? गरिबीको रेखामुनि रहेको चीन आज आधुनिक वित्तीय सुशासन, प्रविधिमैत्री बैंकिङ प्रणाली कायम गर्दै विश्वकै पुँजीगत लगानीको केन्द्रबिन्दु बनेको छ । तर, त्यसो हुँदा पनि विदेशी लगानीको अनुपातमा चिनियाँ जनताकै लगानीले चीन बनेको तथ्यांक छ । देङ सियाओ पिङले सन् १९७८ मा तेस्रो उच्चस्तरीय राजनीतिक बैठक आह्वान गर्ने बेलामा चीन संसारकै गरिब मुलुकको सूचीमा थियो । सन् १९७९ मा २७० अमेरिकी डलर प्रतिव्यक्ति आय भएको चीन सन् २०२४ सम्म कसरी १३ हजार ४४५ अमेरिकी डलर पुर्याउन सफल भयो ? नेपालको हालको आर्थिक संरचना चीनको सन् १९७८ को अवस्थाजस्तै कृषि निर्भर, राज्यप्रधान, निजी क्षेत्र कमजोर र वित्तीय प्रणाली अपरिपक्व छ ।
सहुलियत र निगरानीसहितको विशिष्ट ऋण र पुनरावृत्त कार्यक्रममार्फत साना, मझौला कृषि व्यवसायलगायत निर्यात उन्मुख उद्योगका खुला मौद्रिक नीति कार्यान्वयन हुन जरुरी छ । गैरउत्पादक क्षेत्रमा फसेको बैंक ऋणलाई निकासा दिने र अत्यधिक जोखिमलाई निरुत्साहित गर्न ऋण जोखिममाथि कडा निर्देशिका ल्याउन जरुरी छ । राष्ट्र बैंकले ‘काउन्टरसाइक्लिकल क्यापिटल बफर’ का रूपमा ‘म्याक्रोप्रुडेन्सियल’ उपकरण प्रस्तुत गर्न जरुरी छ । यसले बैंकहरूलाई अत्यधिक जोखिम क्षेत्रमा ऋण प्रवाह गर्नबाट वञ्चित गर्छ । विश्वव्यापी आर्थिक संकटको प्रतिरक्षात्मक कानुन ‘बासिल फ्रेमवर्क’ तृतीय दस्तावेजअनुसार बैंकका ऋणलाई जोखिम मुक्त पार्ने र व्यापार सञ्चालनका ऋणलाई अनुगमन गर्दै खुकुलो बनाउँदै लग्न जरुरी छ ।
कानुनी जटिलताको अन्त्य
प्रवासमा रहेका नेपालीलाई वित्तीय क्षेत्रमा लगानीका लागि कानुन खुकुलो बनाउन जरुरी छ । नेपालले रेमिट्यान्सलाई लगानीमा परिणत गर्ने कुरा सिद्धान्तः सही भए पनि रेमिट्यान्सको अधिकतम हिस्सा आयातित वस्तु खरिदमै प्रयोग भएको देखिन्छ । राष्ट्र बैंकले कानुन खुकुलो नबनाउने हो भने त्यो रेमिट्यान्सले देश बन्दैन । अतः आप्रवासी नेपालीले पनि नेपाली कम्पनीमा प्रत्यक्ष वा धितोपत्रको माध्यमबाट लगानी गर्न पाउने परिस्थिति विद्यमान छ । त्यसो गर्नाले बजार पनि चलायमान हुन्छ र व्यापारीमा पनि उत्साह थपिन्छ । नेपाल धितोपत्र बोर्डको हाल ६०–७० प्रतिशत लगानी बैंक, बिमा कम्पनी र जलविद्युत्जस्ता ठूला आयोजनामा केन्द्रित छन् । यसलाई स्थिर राख्दै नयाँ परियोजनामा कृषि, आईटी, पर्यटनजस्ता साना तथा मझौला व्यवसायीलाई प्राथमिकता दिन छिटोछरितो कार्यविधिको निर्माण गरी विदेशमा रहेका आप्रवासी नेपालीलाई नियन्त्रित तर प्रत्यक्ष लगानीको अवसर दिनुपर्छ । यसले समग्रमा नेपाली धितोपत्र बजारको आकार पनि बढाउँछ । बजारमा पनि उत्साह थप्छ ।
राष्ट्र बैंकले पुँजी बजार सुधारमा अप्रत्यक्ष तर महत्त्वपूर्ण भूमिका खेल्छ । केन्द्रीय बैंकले आधुनिक प्रविधिको प्रयोग गरेर वित्तीय पहुँच, नियमन तथा वित्तीय समावेशितामा क्रान्तिकारी सुधार ल्याउन सक्छ । जसरी भारतीय रिजर्भ बैंकले ‘इनफाइड पेमेन्ट इन्टर फेस’ (यूपीआई) ल्याएर डिजिटल भुक्तानीमा क्रान्ति ल्यायो । यसले साना व्यापारीदेखि ठूला कम्पनीसम्मलाई डिजिटल प्रणालीमा समेट्यो । साथै आरबीआईले स्टार्टअप–उन्मुख रेगुलेटरी स्यान्ड बक्स नीति लागू गर्यो । यसले प्रविधिमा आधारित वित्तीय नवप्रवर्तनलाई उत्प्रेरणा दियो । चीनले ‘टेक–सपोर्टेड रियल टाइम मार्केट म्यानेजमेन्ट’ प्रणाली अपनाएर पुँजी बजार नियमनमा प्रविधिको भरपुर उपयोग गरिरहेको छ ।
वित्तीय क्षेत्रमा बलियो पूर्वाधार
यसले लगानी सुनिश्चित गर्छ । नेपालमा कसरी ठूला र नयाँ लगानीकर्ता भित्र्याउने भन्ने विषयमा राजनीतिज्ञ र अर्थशास्त्रीहरूको माझमा धेरै छलफल हुने गर्छ । तर, पुराना लगानीकर्तालाई प्रोत्साहन र भएको लगानीलाई कसरी चलायमान बनाउने भन्ने उपकरणबारे विरलै छलफल हुन्छ । नेपाली लगानी बजारले ठूलो लगानी भित्र्याउने तयारी गरेको छ । जस्तै, कागजी फारमबाट सेयर कारोबार डिजिटल प्रणालीमा प्रवेश गरेको छ । तर, सेयर बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । विश्वका उदीयमान र ठूला अर्थतन्त्र सेयर कारोबार ‘टी वान’ मोडल प्रयोग गर्छन् । सरल भाषामा त्यो भनेको सेयर बेचेको भोलिपल्टसम्म लगानीकर्ताको खातामा पैसा आउँछ । त्यस्तो हुँदा भोलिपल्ट अरू क्षेत्रमा लगानी रोज्न पाउँछ । तर, नेपालमा ‘टी थ्री’ मोडलले गर्दा बेचेको रकम प्राप्त गर्न न्यूनतम तीन दिन लाग्छ । यसले गर्दा ढिलो कारोबार हुने र बजार पनि सुस्त हुने गर्छ ।
नेपालको वित्तीय साधनहरूमा विविधता ल्याउने हो र पुँजी बजारलाई गहिरो बनाउने हो भने लगानीकर्ताको सहभागिता बढाउनैपर्छ । विदेशी लगानीकर्तालाई पनि ठाउँ दिनुपर्छ । ‘इन्डेक्स फन्ड’, ‘एक्सचेन्ज ट्रेडेड फन्ड’ (ईटीएफ) र ‘डेरिभेटिभ्स’ लाई जिम्मेवारीपूर्वक भित्र्याउँदै वित्तीय उपकरण र पूर्वाधार निर्माणलाई बलियो बनाउनुपर्छ । र, यसको सुरुवात नेप्से इन्डेक्स फन्डबाट गर्दा जनतामा उपकरणबारे जान्न पनि सहज हुन्छ । त्यसपछि अन्य बैंकलगायत थुप्रै क्षेत्र समावेश गर्न सक्नुपर्छ । राष्ट्र बैंकले फाइनटिच कम्पनीलाई नियमनसहितको स्वतन्त्रता प्रदान गर्नुपर्छ । रेगुलेटरी स्यान्ड बक्स सुरु गर्नुपर्छ । जहाँ स्टार्टअपहरूले सुरक्षित रूपमा नवप्रवर्तन गर्न सकून् ।
दीर्घकालीन लगानी प्रवर्द्धन
नेपालमा पछिल्लो समय देखिएको सहकारी संस्थाहरूको वित्तीय संकटले हामीलाई गम्भीर चेतावनी दिएको छ । हामी अझै पनि वित्तीय स्थायित्वको आधारभूत संरचनाबाट टाढा छौं । लाखौं सर्वसाधारणको बचत जोखिममा छ । वित्तीय अनुशासनमा कमजोरी देखिएको छ र नियमनकारी संस्थाको क्षमतामा प्रश्न उठेको छ । सहकारीको दुर्घटनाबाट सिक्दा ‘वित्तीय क्षेत्र प्रवर्द्धन तथा जोखिम व्यवस्थापन कोष’ निर्माण गर्न जरुरी छ ।
जोखिमपूर्ण वित्तीय क्षेत्र निरीक्षण तथा समयमा जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने स्थिति छ । यसमा सरकारी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय तथा दातृ संघसंस्थाको समर्थनमा कोष निर्माण गर्नुपर्छ । जसले वित्तीय प्रविधिको स्टारअपलाई टेवा दिन सक्छ । यसले वित्तीय साक्षरता गर्ने वा गराउने संस्थालाई सेवा प्रवाह वा आर्थिक सहयोग गर्न सक्छ ।
वित्तीय क्षेत्रजस्तै इन्डेक्स फन्ड वा कुनै कम्पनीको सेयरमा तीन वर्षभन्दा बढी समयावधिका लागि लगानी गर्ने व्यक्ति वा संस्थालाई पुँजीगत लाभ कर छुटजस्ता सुविधा दिँदा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न सकिन्छ । यी उपकरणले पुँजी बजारलाई गहिरो, विविधतायुक्त, प्रविधिमैत्री र नेप्सेको समय सापेक्षित आधुनिकीकरण गर्दै पुँजी बजारमा विदेशी लगानी पनि भित्रिने वातावरण बन्छ ।
चीनको पिपुल्स बैंकले नियामक स्यान्ड बक्स सुरु गर्यो । जसले ‘अलि पे’, ‘वी बैंक’, ‘जे डी फाइनान्स’ जस्ता फिनटेक कम्पनीलाई सीमित प्रयोगका लागि अनुमति दियो । त्यसले स्मार्ट ऋण प्रणालीजस्ता अति प्रविधियुक्त आविष्कारका कामलाई प्रोत्साहन गर्यो ।
अतः चीन र भारतले उत्पादनमा आधारित ऋण, सरकारी ग्यारेन्टी र प्रविधि आधारित कृषिमा जोड दिएका छन् । राष्ट्र बैंकले पनि ग्रामीण बैंकलाई लक्षित गरेर कृषि प्राविधिक ऋण अनुदान कार्यक्रम ल्याउन सक्छ । र, स्यान्ड बक्स नीति, डिजिटल भुक्तानी प्लेटफर्म, डेटा–संरक्षित ऋण प्रवाह प्रणाली नेपालमा विकास गर्न सकिन्छ । एनआरबीले यूपीआईजस्तै तथा प्रणाली तथा ई–एनआरबी वालेट सिर्जना गरेर मोबाइल केन्द्रित डिजिटल अर्थतन्त्रलाई विस्तार गर्न सक्छ ।
भारतीय रिजर्भ बैंकले झैं डिजिटल ऋण दिने प्लेटफर्मलाई नियमन गर्दै पारदर्शिता, डेटा गोपनीयता र ब्याजदरको स्पष्टता अनिवार्य बनाउन आवश्यक छ । यसले बजारमा उपभोक्ता संरक्षणलाई बलियो र विश्वसनीय बनाउँछ । त्यसैले डिजिटल वित्तीय पहुँच विस्तार गर्न ‘रेगुलेटरी स्यान्ड बक्स’ एक प्रभावकारी मोडल हो । यसले स्टार्टअपहरूलाई नियमनको जोखिमबिनै सीमित अवधिमा परीक्षण गर्न अनुमति दिन्छ । भारतीय र चिनियाँ केन्द्रीय बैंकहरूले यसबाट उल्लेखनीय प्रगति गरेका छन् । नेपाल राष्ट्र बैंकले पनि यो मोडल तत्काल लागू गर्नुपर्छ ।
नेपाल अहिले आर्थिक संक्रमणको अत्यन्त संवेदनशील मोडमा उभिएको छ । देशको अर्थतन्त्र दीर्घकालीन असन्तुलन, व्यापार घाटा र जनशक्ति पलायनको त्रिकोणभित्र फसेको छ । यस्तो अवस्थामा नीतिगत भाषणभन्दा व्यवहारमा आधारित वित्तीय रूपान्तरण आवश्यक छ । जसले उत्पादकतालाई बढावा दिन्छ, युवालाई देशभित्र समेट्छ र पुँजी बजारलाई नवप्रवर्तनशील बनाउँछ । चीन र भारतले अपनाएका सुधारका बाटा केवल प्रेरणादायी मात्र होइनन्, नेपालका लागि अत्यावश्यक नक्सा बन्न सक्छन् ।
राष्ट्र बैंकको नेतृत्वमा अब स्पष्ट आर्थिक दूरदृष्टि र समयसापेक्ष मौद्रिक रणनीति आवश्यक भइसकेको छ । अनुत्पादक क्षेत्रको ऋण विस्तारले देशको वित्तीय स्थायित्व डगमगाउँछ । राष्ट्र बैंकले अब बैंकहरूलाई उत्पादक र निर्यातमुखी क्षेत्रमा कर्जा प्रवाहका लागि प्रोत्साहन दिनुपर्छ । भारतको जस्तै, ‘प्राथमिक कृषि ऋण अनिवार्यता नीति’ नेपालमा लागू गरिनु उपयुक्त हुनेछ । नेपालको समृद्धिको कथा नाराबाट होइन, नीतिबाट लेखिन्छ । आजको आवश्यकता केवल मौद्रिक सूचकहरूको समायोजन होइन, वित्तीय प्रणालीको चरित्र रूपान्तरण गर्नु हो । राष्ट्र बैंकले उत्पादन, प्रविधि, पारदर्शिता र नवप्रवर्तनमा आधारित नयाँ नीति र ढाँचा प्रस्तुत गर्न सकेमा नेपालले पनि ‘विकासशील’ को कोष्ठकबाट बाहिर निस्कने आधार तयार गर्नेछ । यो समय ‘वित्तीय समावेशीकरणको युग’ सुरुवात गर्ने उपयुक्त क्षण हो । राष्ट्र बैंक त्यसको प्रणेता बन्न तयार होस् र त्यसमा सफलता हासिल गरोस् ।
Facebook Comment
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login