९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्ता दिँदै प्रदेश सरकार

विराटनगरः प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले भाम ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रोत्साहन भत्ता वितरण गर्न थालेको छ ।

१ सय ४ वर्षीया चित्रलेखा श्रेष्ठ, १ सय १ वर्षीया शुभकुमारी उपाध्याय, १ सय वर्षीया कृष्णमाया खड्का र १ सय १ वर्षीय नारायणप्रसाद रेग्मीलाई नगद ५ हजार, दोसल्ला, उपहार दिएर प्रदेश मुख्यमन्त्री शेरधन राईले कार्यक्रमको शुरुवात गरेका छन् ।

प्रदेश सरकारले ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक ५ हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने घोषणा अनुरूप सो काम शुरु गरिएको राईले बताए । प्रदेश सरकार जनताको सुखदुःखमा उपस्थित हुने बताउँदै उनले सङ्घीयतामा जनताको घरदैलोमा २४ घण्टा सरकारको उपस्थिति हुने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिक गृह बनाउनका लागि मोरङको ग्रामथान गाउँपालिकामा ११ बिघा जग्गा खरीद गरी विस्तृत अध्ययन प्रतिवेदनका आधारमा निर्माणकार्य यस वर्षदेखि शुरु गरिने बताए । ज्येष्ठ नागरिकलाई निजी क्षेत्रको अस्पतालमा तोकिएको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट भएकोले उपयोग गर्न आग्र्रह गर्दै सार्वजनिक यातायातका साधनमा ज्येष्ठ नागरिकको सिट आरक्षण कडाइका साथै कार्यान्वयन गरिने घिमिरेले बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ज्येष्ठ नागरिक अनुभवको सङ्गालो भएकाले राज्यले सम्मान गर्नु कर्तव्य भएको बताइन् ।
सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, प्रदेश ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष भवानीप्रसाद दाहाललगायतले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

Spread the love



Leave a Reply

Your email address will not be published.