विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा ‘नझरेका फूलहरू’को १८ औं शृङ्खला अन्तर्गत शुक्रबार गणेश रसिक पलेँटी साँझ सम्पन्न भएको छ ।
साहित्य, कला र सङ्गीतको संरक्षण र संम्बद्र्धन गर्ने उद्देश्यले स्रष्टालाई सम्मान गर्दै आएको र अहिलेसम्म ३ दर्जन बढी स्रष्टाहरूलाई सहभागिता गराई सम्मान गरिसकेको प्रस्तोता केपी घिमिरेले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, साहित्यकार मनु मञ्जिल, अमृतप्रसाद आचार्य, मीरा राई, गायक साजन राई, गणेश लामा आँशु, सङ्गीतकार जेबी थुलुङ, रमेश कार्कीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य आर्कषणको रुपमा रहेका सङ्गीतकार तथा गायक गणेश रसिकको एकल साँझ शुरु हुन अघि गायक अजर जङ्गमले आफ्ना केही गीत प्रस्तुत गरेका थिए । प्रणय दिवसको विशेष अवसरमा आयोजना गरिएको कार्यक्रममा गायक तथा सङ्गीतकार गणेश रसिकले आफ्नै कालजयी दर्जन गीतहरू प्रस्तुत गरेका थिए । उनलाई लाइभ सङ्गीतमा साथ दिन गायिका कृतिका राई, तवलावादक अनुप दियाली, बाँसुरीमा मित्र मगर, गितारमा, क्यासिनोमा भीम केरुङ र गौरव सुब्बाले सहयोग गरेका थिए ।

यसरी शुरु भयो रसिकको साँझ, के भने उनले ?

‘गीतसँगै आज गज्जबको सञ्जोग परेको छ । कृष्ण प्रणामी मन्दिरको सभाहल, भगवान् कृष्णलाई प्रेमको प्रतीकको रुपमा मानिन्छ । संसारमा जति गीत लेखिए सबैभन्दा धेरै प्रेमका गीत लेखिएका छन् । प्रेम बाँड्ने दिन देश प्रेमको गीत, मानिसको प्रेमको गीत, जीवन जगतको गीतसँगै यो ५४ वर्षे साङ्गीतिक जीवनमा धेरै अनुभव रहेका छन् ।’

पलेँटी साँझमा उनले भने, ‘आजभोलि हाम्रो पुस्ताको गीत सुन्दैनन् । अहिले हेर्ने, नाच्ने गीत आए हामीले सुन्ने गीत गाउने हो ।’ ‘नाच्ने गीत आए सुन्ने समयको मान्छे’ भन्दै कार्यक्रममा पहिलो गीत २०३१ सालतिर सिर्जना गरेको देशको प्रेमप्रति समर्पित गीत ‘सुन नेपाली हो….’ गाएपछि सय बढी दर्शकहरूले उनलाई साथ दिएका थिए । उनले ओइलिएको फूल भगवान् र स्रोतालाई नि चल्दैन भन्दै दोस्रो गीत गाए । २०२५ सालतिर लाहुरे परिवारबाट काठमाडौं जाँदाको भोगाइलाई चित्रण गर्दै रचना गरिएको गीत जुन संसार जित्नेहरूप्रति समर्पित भएको गीत सुनाएका थिए । उनी गीतसँगै सो गीत जन्मनुको र गाउनुको इतिहास (रचनागर्भ) र कहानी पनि सुनाउँथे ।

‘लडेर हेर्ने नेपाली छाती कर्दैले चिरेछ…’ सुनाउँदा गीतमा डुब्दै स्रोताले आनन्द लिइरहेका थिए । तेस्रो गीत शुरु गर्नुपूर्व उनले आफ्नो विगत सम्झिए । कर्मथलो इलाम र काठमाडौँ रहे पनि भोजपुरमा आफू जन्मिएको र ढाकर बोकेर चतराबाट हिँडेर भोजपुर जानुपर्दाको दुःखपूर्ण जिन्दगीको भोगाइलाई समेटिएर लेखिएको गीत ढाकरको कथा ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर ‘झुप्रोमा बस्छिन्, ती मेरी आमा उनलाई सम्झेर.’ बोलको गीत गाए । दर्शकलाई बीचबीचमा सामान्य परिवेशमा लाई रमाइलो पार्न खप्पिस गायक रसिकले दर्शक स्रोतालाई हँसाइरहेका थिए ।

‘यी सबै इतिहास भए हिजो हामी कस्ता थियौँ कस्तो थियो इतिहास…’ यो गीतका माध्यमबाट देखाउन चाहेको कुरा उनले बीचबीचमा भनिरहेका थिए । कोही लाहुर जान, कोही मरुभूमि, काठमाडौंमा भेटेको भाइ प्रवीण गुरुङको सम्झनामा २५ वर्ष अगाडि प्रवीणको घर पोखरा जाँदा आमाले हिँड्ने बेलामा उनलाई दिएको आशिष ‘तेरो केश नझरोस्, हिँड्दा ठेस नलागोस् जहाँ गए पनि आफ्नो देशको माया गरेस्…’ सम्झिरहने उनले सुनाए ।

मरुभूमिमा बसेर आमालाई छोराले सम्झेर गाएको गीत भन्दै ‘झुप्रोमा बस्छिन् ती मेरी आमा मलाई सम्झेर…’ गीत सुनाएका थिए । ‘मेरो गीत नै यस्तो छ’ म जस्तै सरल छ । हामी नेपाली नै दुःखी छौँ भन्दै उनले ताप्लेजुङमा हिमाल चढ्दाको दुःख र देशप्रेम सम्झिए । गोरालाई सधैँ काँधमा बोकेर हिमाल चढाउने शेर्पाले ‘गोरा दाइ तिमीलाई सधैँ काँधमा बोकेर हिमाल चढाउँछु । तिमी म¥यौ भने पर्देशमा मर्नेछौ म मरेँ भने आफ्नो भूमिमा’ भरियाको देश र हिमालको गीत ‘याङ्जीमा, तिम्रो निम्ति हिमाल चढ्दा म¥यो नसम्झ’ गाउँदा साँच्चै आफ्नो देशको माटोको माया झल्काइरहेको आभास भएको थियो ।

पहिलो पल्ट १९ वर्षको उमेरमा लेखिएको गीत ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै… गाइसकेपछि उनले भने, ‘यो हाम्रो तालै यस्तो छ हजुर, गर्मीले पसिना भिज्छ, हामी लेकमा बस्ने मान्छे, कोट नलगाऊँ भने औपचारिक कार्यक्रममा लगाउनै प¥यो ।’ यसो भनिरहँदा फेरि दर्शकले हाँसेर उनलाई थप साथ दिइरहेका थिए ।
उनले तेह्रथुमका अभि सुवेदी काठमाडौंबाट घर जाँदा उकालीमा लेखेको गीत दर्शकलाई सुनाएका थिए । ‘संसार अचम्मको छ प्रेममा नहुने कुरो पनि हुन्छ’ भन्दै ६५ वर्षीय पुरुष र २२ वर्षकी युवतीको पे्रम सम्बन्धलाई कथामा जोड्दै ‘लाखौँ जुनी कम हुन्छ तिमीसँग माया…’ बोलको गीत प्रस्तुत गरेका थिए । उनले राणाकालमा सानै उमेरमा बिहे हुने, अनि पढ्ने भारत जानुपर्ने अवस्थालाई चित्रण गर्दै १० वर्षमा बिहे भएर पढ्न गएको श्रीमान् तन्नेरी भएर १२ वर्षपछि घर फर्कदा घर नै बिर्सिएको कथात्मक गीत पनि सुनाए । घर बिर्सिएपछि एउटा घरमा महिलासँग बास माग्दै गरेको कथात्मक गीत ‘घरबेटी नानी, आँगनीमा देऊ न मलाई बास…’. सुनाउँदा दर्शकले समेत साथ दिएका थिए । उनको यो गीत धेरै चर्चित छ ।

वासु शशीले लेखेको ‘मसँग एउटा तारा छ…’ गीत पनि उनले सुनाएका थिए । गायनका बीचबीचमा उनले भने ‘हामी सिनेमाको गीत सुन्छाँै त्यस्तै कथा गर्दै गाउँछौँ । फिक्कलमा लेखेको गीत डुब्न लागेको घाम र उदाउन लागेको जूनको गीतलाई गीतका माध्यमबाट प्रस्तुत गरेका थिए यो प्रेमको गीत पनि भएको उनले उल्लेख गरे ।
‘म हेर्दैछु तिमीलाई पश्चिमको घाम भएर…’ ए है है लगायत अन्य धेरै गीत सुनाएका थिए । पश्चिमदेखि पूर्वको भाकालाई कथामा डोहो¥याएर दर्शक सामु कथाका माध्यमबाट गीत गाउन कला भएका बहुप्रतिभाशाली गायक हुन् । रसिकले देशभक्ति गीतबाट शुरु गरेको एकल साङ्गीतिक साँझलाई देशभक्तिका साथै इतिहास सम्झाउने गीत गाएर पलेँटी साँझलाई बिट मारेका थिए ।

रेडियो सुसेलीबाट प्रशारण हँुदै आएको ‘नझरेका फूलहरू’ कार्यक्रमका प्रस्तोता केपी घिमिरेले पलेँटी साँझको कल्पना गरी यो कार्यक्रम केही वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएका छन् । १८ औं शृङ्खला सफल बनाउनका लागि सुन्दरहरैंचा र बेलबारी नगरपालिकाले सहयोग गरेका थिए ।
पलेँटी साँझमा बिराटनगर,दमक, इटहरी, बिर्तामोड, मिक्लाजुङ, इलाम, धनकुटा, लगायत क्षेत्रबाट साहित्य कला क्षेत्रका व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा मुख्य प्रायोजक जय दुर्गे इलेक्ट्रोनिक्स विराटचोक रहेको थियो । यस्तै सह प्रायोजक सामाजिक सेवाका लागि युवा अभियान नेपाल (वाइएसएस) रहेको थियो । साढे ८ बजेदेखि ३ घण्टासम्म सञ्चालन भएको कार्यक्रम कवि छवि वैरागी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका महासचिव सन्तोष वान्तवाले गरेका थिए ।
You must be logged in to post a comment Login