धर्म / संस्कृति
संस्कृत भाषा र ज्ञानलाई जीवनवृत्तिको आधारमात्रै बनाइयोः वाचनप्रवीण दीनबन्धु पोखरेल
वाचनप्रवीण दीनबन्धु पोखरेल पूर्वीय र पाश्चात्य दुवै दर्शनमा ज्ञान भएका व्यक्ति हुन् । सरल र सरस भाषामा सङ्गीतको साथमा देशविदेशमा श्रीमद्भागवतका कथा सुनाई स्रोतालाई मुग्ध पार्ने क्षमता भएका उनी पाश्चात्य दर्शनका अध्येता पनि हुन् । धेरैलाई थाहा नहुन सक्छ संस्कृत भाषामा दख्खल राख्ने उनी अङ्ग्रेजी र विज्ञान विषयका पनि विद्यार्थी हुन् । उनीसँग निष्पक्ष खबरले धर्म, संस्कृति, पर्यटनलगायतका विषयमा गरेको वार्तालापको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
धर्म भनेको के हो ?
सामान्य अर्थमा धर्म भनेको धारण गर्नु हो । सत्वस्तु धारण गर्नु पनि धर्म हो । कुनै पनि प्राणीले जन्मसिद्ध गुण वा स्वभाव लिएर आएको हुन्छ त्यो पनि धर्म हो । जस्तै गाईले घाँस खान्छ, बाघले मासु खान्छ । गाईले घाँस नखाएर मासु खायो भने गाईको धर्म भएन । यसरी धर्मलाई प्रकृतिजन्य स्वभाव वा गुणलाई लिनुपर्छ । यो प्राकृतिक धर्म हो ।
अर्काे मानवीय धर्म हुन्छ । मानवीय धर्म भनेको दया, करुणा, प्रेम इत्यादि हो । मानवीय धर्म एउटै हुन्छ । मानिस जहाँ रहे पनि एउटै स्वभाव हुन्छ । अहिले चाहिँ मानव निर्मित विचार र दर्शनलाई पनि धर्म भन्ने गरेको पाइन्छ ।
वैदिक धर्म र सनातन धर्ममा के फरक छ ?
वेदबाट प्रतिपादित सिद्धान्तलाई अवलम्बन गर्ने धर्मलाई वैदिक धर्म भनिएको हो । सनातनको अर्थ चाहिँ ३ ओटा हुन्छ । सबैभन्दा जेठो पनि सनातन हो । पहिलेदेखि चलिआएकोलाई पनि सनातन भनिन्छ । प्रारम्भ र अन्त थाहा नभएको र निरन्तर चलिरहने प्रक्रियालाई पनि सनातन भनिन्छ । विश्वमा एक मात्र सनातन धर्म र वेदले प्रतिपादन गरेको धर्म हिन्दू धर्म हो । त्यसैले यसलाई वैदिक सनातन धर्म पनि भनिन्छ ।
धर्मभित्र हुने सम्प्रदाय चाहिँ के हो ?
प्रकृतिले हामीलाई ५ ओटा ज्ञानेन्द्रिय दिएको छ जसबाट हामी ज्ञान आर्जन गर्छौँ । त्यस्तै, परब्रह्म प्राप्तिका लागि हामीलाई ५ ओटा मार्ग दिइएको छ । ती ५ मार्ग (पञ्च आयान अर्थात् पाञ्चायन) बाट परब्रह्ममा पुग्न सक्छाँैँ । ती मार्गलाई नै हामी पाञ्चायन भनी पूजा गर्ने गर्दछौँ ।
जसरी हामी काठमाडौं जाँदा कोही उडेर जान्छौँ, कोही गुडेर जान्छौँ र कोही हिँडेर जाँदा पनि पुग्छौँ । त्यसैगरी, परब्रह्ममा पुग्ने मार्गलाई नै पाञ्चायन भनिएको हो । जसरी गए पनि परब्रह्म प्राप्ति हुने विश्वासमा ती मार्ग अवलम्बन गरिन्छ ।
पाञ्चायनमा गणेश, सूर्य, देवी, शिव र विष्णुलाई मान्ने गरिन्छ । गणेशलाई मान्ने गाणपत्य, शिवलाई मान्ने शैव, विष्णुलाई मान्नेहरू वैष्णव, सूर्यलाई मान्ने सौरमार्गी भए । सौरमार्गीमा गायत्री परिवारलगायत छन् । देवी अर्थात् शक्तिलाई मान्नेहरू शाक्त भए । सबै मार्गको गन्तव्य परब्रह्म प्राप्ति गर्नु नै हो ।
यी मार्गभित्र पनि व्यक्तिद्वारा प्रतिपादित सिद्धान्त र मत पाइन्छ । वैष्णव मार्गमा निम्बार्क, रामानुज आदि उपमार्ग पाइन्छ । सबै मार्गमा यस्तो उपमार्ग पाइन्छ । त्यसैले धेरै मार्ग, उपमार्ग, सम्प्रदाय आदिमा हिन्दू धर्म विभक्त भएजस्तो देखिए पनि गन्तव्य भने एउटै हो ।
त्यसो हो भने सनातन धर्म मान्नेले सबै मार्गको अवलम्बन गर्छन् त ?
सनातन धर्म मान्नेले सबै मार्गको अवलम्बन गरेको हुन्छ । त्यसैले त हामी पाञ्चायन पूजा गर्दछौँ । यो चाहिँ साकार रुप हो । परब्रह्म निर्गुण र निराकार छ त्यसैले जुन मार्ग अवलम्बन गर्दा पनि हुन्छ । त्यसैले वेदमा यसलाई ‘अहं ब्रह्मास्मि’ भनियो ।
ब्रह्म भनेको व्याप्त हो जुन शून्य हुन्छ । निर्गुण, निराकार हुन्छ । त्यो नै संसारमा सबैभन्दा शक्तिशाली पनि छ ।
अहिलेको विज्ञानको क्वान्टम फिजिक्सले पनि सबै वस्तु शून्यमा जान्छ भन्ने मानेको छ । शून्यमा शक्ति छ भन्ने मानेको छ । गड पार्टिकल भनेर विज्ञानले पनि नाम दिइसकेको छ । यसरी पूर्वीय दर्शनले जसरी ब्रह्मलाई मानेर त्यसलाई परमात्मा, ईश्वर आदि नाम दिएको छ त्यसरी नै विज्ञानले पनि मानेको छ ।
अहिले हिन्दू धर्मप्रति पश्चिमी देशका मानिस आकर्षित हुँदैछन्, फेरि हिन्दू धर्मावलम्बी पनि ठूलो मात्रामा क्रिश्चियन भइरहेका छन् । यस्तो किन हुँदैछ ?
अमेरिकाको वेस्ट भर्जिनियामा भारतको वृन्दावनभन्दा ठूलो वृन्दावन छ जसको नाम आनन्द वृन्दावन छ । बेलायतमा धेरै गोरे पुजारी छन् । युरोपमा भएका मेरा केही पश्चिमी मूलका साथीले भनेको आँकडा अनुसार ५ प्रतिशत युरोपेली हिन्दू भइसकेका छन् । अहिले हिन्दू धर्मको पवित्र ग्रन्थ गीतालाई बेल्जियम र नेदरल्याण्डले राष्ट्रिय ग्रन्थको रूपमा मान्यता दिएका छन् । गीता ग्रन्थ वेदव्यासले नेपालमा बसेर लेखेका हुन् । नेपालमा लेखिएको सो ग्रन्थलाई उनीहरूले राष्ट्रिय ग्रन्थ मानेका छन् ।
अक्सफोर्ड युनिभर्सिटीको भित्तामा संस्कृत श्लोक लेखिएका छन् । जर्मनीमा १० ओटा विश्वविद्यालय संस्कृत नाममा खोलिएका छन् । अमेरिकाको हार्बर्ड विश्वविद्यालयमा अहिले संस्कृत भाषा पढाइ हुन्छ । गुगल सर्च गरेर हेर्नुहोस् नासाका वैज्ञानिकहरू संस्कृत पढ्न थालेका छन् ।
अहिले लिसनिङ कम्प्युटर भन्ने प्रविधि आएको छ । त्यो प्रविधिमार्फत् सुनेर नै कम्प्युटरले लेख्न सक्छ । त्यो प्रविधिमा संस्कृत भाषाबाहेक सबै भाषा फेल भए । संस्कृतका शब्द, श्लोक र उच्चारणलाई त्यसले ब्रह्माण्डबाट जस्ताको तस्तै कपी गर्न सक्यो । संस्कृत भाषा विश्वको वैज्ञानिक भाषा भनेर पुष्टि भएको छ । संस्कृत भाषाका आधारमा लेखिएका ग्रन्थ र संस्कृत भाषाको आधारमा चलेको हिन्दू धर्मले विश्वव्यापी जागरण ल्याउन थालेको छ ।
ल्याटिन अमेरिकाको अर्जेन्टिना र चिलीतर्फ पनि यसको व्यापक मात्रामा प्रभाव परेको छ । अफ्रिकनहरू पनि संस्कृत भाषाप्रति आकर्षित भइरहेका छन् । उनीहरू बुझेर लागे ।
मेरै एउटा घटना भन्छु । अष्ट्रेलियाको ओलङ्गनमा एउटा व्यक्तिले घरमा पूजा गरेर बसेको, मन्दिर बनाएको देखेँ । त्यसपछि मैले उसलाई धर्म परिवर्तन गर्नुको कारण सोधेँ । ‘ह्वाइ डिड यु कन्भर्ट योर रिलिजन भनेर प्रश्न सोध्दा उसले ‘क्रिश्चियानिटी इज नट रिलिजन इट इज ओन्ली चाइल्ड किड्स ।’ अर्थात् क्रिश्चियानिटी धर्म होइन त्यहाँ बच्चालाई यसो नगर, उसो नगर भनेर सामान्य सिकाइने पाठजस्तो हो । त्यहाँ परमात्मा बोध गर्ने उपाय सरल भाषामा बताइएको छैन । त्यो नपाएपछि म हिन्दू बनेँ भनेको थियो ।
नेपाल बुद्धको देश हो, वेदको देश हो । वेद र बुद्ध अहिले विश्वव्यापी भएको छ । वेदको योग र बुद्धको ध्यान अर्थात् योग र मेडिटेसन भनेपछि मान्छे अहिले चर्च जान छाडेका छन् । ‘ह्वाइ गो टु चर्च, आइ कान्ट फाइन्ड एनिथिङ फर्म चर्च’ भन्न थालेका छन् । चर्चमा मैले केही पाइनँ योगा र मेडिटेसनबाट मैले साइन्स पाएँ भन्न थालेका छन् ।
योगा र मेडिटेसन नेपालमा जन्मिएको हो । अहिले विश्वव्यापी भएको छ । भारतले शालिग्राम हाम्रो हो भन्छ र बेच्छ तर शालिग्राम नेपालको कालीगण्डकी नदीमा मात्रै पाइन्छ । जुन नदी दामोदर कुण्डबाट बगेर आएको छ । नेपाल शालिग्रामको पनि देश हो । वेद, बुद्ध र शालिग्राम नै अहिले विदेशले हाम्रो हो भनिरहेको छ । यसलाई उजागर गर्न जरुरी छ । पूर्वीय दर्शन र वैदिक धर्मको उत्पत्तिस्थल नेपाल हो र नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको आभास हामी पाउँछौँ ।
पश्चिमाहरू हिन्दू धर्मप्रति आकर्षित हुनुको कारण पछि गएर हिन्दू धर्मप्रति नै प्रहार गर्नलाई हो जस्तो ठान्नुभएको छ कि छैन ?
म त्यसरी बुझ्दिनँ । उनीहरू हामीले भन्दा राम्ररी श्लोक उच्चारण गर्छन् । रसियामा लगभग १ करोड मानिस हिन्दू भइसकेका छन् त्यहाँ १४ करोडभन्दा बढी जनसङ्ख्या छ । ठाउँठाउँमा खोलिएका मन्दिर, हरेकृष्ण हरेराम भन्दै गरेको कीर्तन र संस्कृत तथा हिन्दू धर्ममा उनीहरूले पाएको जीवन, विज्ञान र अध्यात्म हेर्दा मैले त्यसलाई सकारात्मक रूपमा लिएको छु ।
त्यसो भए नेपालीहरू हिन्दू धर्म त्यागी क्रिश्चियन धर्मप्रति किन आकर्षित भइरहेका छन् ?
यसका केही कारण छन् । सबैभन्दा ठूलो कमजोरी हाम्रो हो । हामी पण्डितहरू बढी कर्मकाण्डी भयाँै । संस्कृत भाषा र ज्ञानलाई जीवनवृत्तिको आधारमात्रै बनाइयो । यहाँको दर्शन, विज्ञान र व्यवहारलाई समाजमा प्रस्फुटित गर्न सकेनौँ । जसले गर्दा यो विश्वसनीय हुन सकेन ।
अर्काे कारण भनेको हामीले जातिगत कुरा बढी ग¥यौँ । शास्त्रमा कहीँ उल्लेख नभएको छुवाछुतको कुरामा रुमल्लियौँ । वेद, पुराण, शास्त्रमा यस्तो विभेद कहीँ छैन, पछि कसैले लेखेकोलाई नै स्थापित ग¥यौँ । यो विकृतिलाई हामीले चिर्न सकेनाँै र धर्मले नै विभेद गरेजस्तो गरी त्यसलाई संस्थागत बनाइदियौँ । दलित भनिएको जातिको घरमा गएर पूजा नगर्ने गरेपछि त्यो जातिले बिस्तारै अपहेलित महसुुस गरी हिन्दू धर्ममा तिरस्कृत भएको महसुस गरी क्रिश्चियन धर्म अपनाएका हुन् ।
पछिल्लो समय धर्म परिवर्तनको नाममा पैसाको खोलो बगेको छ । मानिसको काम छैन, व्यापार व्यवसाय केही छैन तर बाइबल बाँडेकै भरमा महिनामा लाखौँ कमाउने व्यक्ति नेपालमा छन् । आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गराएको पाइन्छ ।
हामी केही खुला पनि भयौँ । बुझेर कोही पनि क्रिश्चियन भएको छैन । बाइबल पढेर, बाइबलबाट प्रभावित भएर धर्म परिवर्तन गर्ने १ जना मानिस पनि छैन । बाइबल मैले पनि पढेको छु । त्यहाँ मैले धेरै त्रुटि पाएँ । कहाँ प्रहार गर्दा यहाँको राष्ट्रियता, संस्कृति खलबलिन्छ भनी एउटा गिरोह नै मिसनको रुपमा लागेको मैले बुझेको छु । ३÷४ ओटा कारणले गर्दा हिन्दू धर्म त्यागी क्रिश्चियन धर्ममा लागेको पाइन्छ ।
हिन्दू धर्मले नारीलाई पनि विभेद गरेको छ भन्ने आवाज सुनिन्छ नि ?
होइन । नारीलाई विभेद गरेको छैन । हामी लक्ष्मी नभनी नारायण भन्दैनौँ, सीता नभनी राम भन्दैनौँ, राधा नभनी कृष्ण भन्दैनौँ । देवीभागवत् छ, कालिका उपपुराण छ । नारीलाई शक्तिको रूपमा लिइएको छ । अर्थको प्रधान लक्ष्मी, बुद्धिको प्रधान सावित्री, ज्ञानको प्रधान सरस्वती, प्रेमको प्रधान राधा, शक्तिको प्रधान दुर्गा भनेर हामी मान्छौँ । नारीलाई यसरी सम्मान गरिएको छ । कुरान र बाइबल पढ्नुहोस् त त्यहाँ नारीलाई मान्छे नै होइन भनेको छ । नारीको सम्मान हुने ठाउँमा देवता रमाउँछन् भनेर हाम्रोमा भनिएको छ ।
बेलाबेलामा पर्व सुधारको आवाज पनि उठ्छ । ०७७ सालको असोजमा भएको अधिक मासलाई हटाउनुपर्छ भन्ने आवाज उठ्छ, पर्व सुधार भनेको के हो ?
ज्योतिषको बारेमा मजस्ता अल्पज्ञले केही भन्न सकिँदैन । मेरो बिहङ्गम बुझाइ छैन । म ज्योतिषको विद्यार्थी होइन । हाम्रो ज्योतिषशास्त्रले शतप्रतिशत खगोलीय पिण्डको अध्ययन गर्छ । यो दिन यति बजेर यति मिनेट यति सेकेण्ड जाँदा ग्रहण लाग्छ भनेको बेला ग्रहण लागेको हुन्छ । त्यसैबाट ज्योतिषशास्त्र कति विश्वसनीय छ भन्ने थाहा हुन्छ । ज्योतिषशास्त्रको विश्वसनीयतामाथि प्रहार हुन थालेको हो कि जस्तो लाग्छ ।
हजुर अङ्ग्रेजी विषयको विद्यार्थी भए पनि संस्कृत भाषाप्रति कसरी आकर्षित हुनुभयो ?
मेरो संस्कृत अध्ययन पहिल्यै थियो । पारिवारिक पृष्ठभूमि त्यही थियो । पछि म अलि बढी संस्कृत भाषातर्फ लागेँ स्वाभाविक हो ।
म सानोमा विज्ञान पढेको मान्छे । अङ्ग्रेजीमा एमए गरेको मान्छे तर संस्कृतमा जीवन पाएँ । जसको प्रेरणा मेरो पिताजी नै हो । त्यसपछि मेरो इच्छा पनि हो ।
जब म यसभित्र घोत्लिएँ त्यसपछि आधिकारिक विद्यालयमा गरेको ज्ञानभन्दा बढी ज्ञान मैले यहाँ पाएँ र म यसप्रति नै आकर्षित भएर लागिरहेको छु । जीवन, जगत र परमात्मालाई बुझ्ने अवसर पाएँ ।
धर्ममा राजनीति किन हुन्छ ? नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न आवश्यक थियो कि थिएन ?
धर्ममा राजनीति नहोस् तर राजनीतिमा धर्म होस् भन्ने मेरो चाहना हो । एक जना पश्चिमा दार्शनिकले भनेका छन्, ‘पोलिटिक विदाउट स्पेसिलिजम इज ह्याण्डिक्याप ।’ धर्मबिनाको राजनीति अपाङ्ग हुन्छ । धर्म भनेको आफैँभित्रको जागरण हो । धर्म भनेर हिन्दू, बौद्ध, शिख, जैन आदि भन्न खोजेको होइन । जागृतिबिना कुनै पनि काम सम्पन्न हुन सक्दैन । एउटा पत्रकारलाई पनि जागृति चाहिन्छ, पण्डितलाई पनि चाहिन्छ र राजनीतिकर्मीलाई पनि चाहिन्छ । जागृति भनेको आन्तरिक ऊर्जा हो । त्यसैले उसलाई सफल बनाउँछ, ऊर्जाले गरिएको राजनीति सफल हुन्छ ।
हाम्रोमा प्रकृतिजन्य बोन धर्म थियो, किरात धर्म र बौद्ध धर्म प्रकृतिपूजक हुन् । वेदको जन्म नेपालमा भयो । वेद, वैदिक धर्म, प्रकृतिजन्य बोन, बौद्ध र किरात धर्मलाई ओमकार परिवारभित्र राखेर ओमकारसापेक्ष राष्ट्र घोषणा गरेको भए धेरै राम्रो हुन्थ्यो । के रहेछ ओमकारसापेक्ष भनेको भनेर अध्ययन गर्नको लागि विदेशबाट मानिस आउँथे ।
विश्वको एक मात्र यहुदी राष्ट्र बेथलियममा येशु ख्रीष्टको जन्म भएको स्थल भनेर हेर्न विश्वबाट २\३ करोड मानिस बर्सेनी जान्छन् । वेदको जन्म भएको, बुद्धको जन्म भएको र प्रकृतिपूजकको जन्म भएको स्थल नेपाल भनेर लबिङ गर्न पाए नेपालको समृद्धि हुन्थ्यो । निरपेक्ष राखेर के फाइदा ?
त्यसैले हिन्दू सापेक्ष भन्दा ओमकारसापेक्ष बनाउनुपर्छ । हिन्दू, बौद्ध, बोन, किरात सबै धर्मावलम्बीले ओमकार मान्छन् । यसले राष्ट्रलाई फाइदा पुग्नुका साथै विश्वमा पहिचान पनि बन्छ । विश्वका मानिस अध्ययन गर्न आउँछन् । आफ्नो पहिचानका लागि पनि यसो गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।
अर्थ सङ्कलनको लागि पुराण लगाउँदा धेरै रकम सङ्कलन हुन्छ तर त्यही उद्देश्य राखेर पुराणबिना सहयोग माग्दा कम रकम सङ्कलन हुन्छ, आस्थाका कारणले यस्तो भएको हो वा के हो ?
आस्थाले गरिएको चीज अलि सफल, अलि दिगो, अलि व्यापक र अलि फराकिलो हुन्छ । विद्यालय बनाउनुप¥यो भने चन्दा सङ्कलन हुँदैन । तर आस्थासँग जोडेर महायज्ञ वा पुराणको आयोजना ग¥यो भने धरै रकम सङ्कलन हुन्छ । नेपालीहरूमा आस्था अझै पनि छ । आस्थालाई गलत तरिकाले परिभाषित गरी प्रयोग गर्न हुँदैन ।
यही कुरालाई बुझेर नारायण गुरु (मेरा पिताजी)ले आस्थालाई समृद्धिसँग जोडेर सहयोग सङ्कलन गर्ने अभियान चलाउनुभयो । दानलाई सामाजिक हितमा लगाउने कामको थालनी गर्नुभयो । आस्थामा प्रेम भरेर समाजको समृद्धि गर्ने यो सफल पक्ष हो । अध्यात्मलाई जगाएर सामाजिक समृद्धि गर्न यसले सहयोग गरेको छ ।
अध्यात्मवाद र भौतिकवाद दुवै आवश्यक छ । आध्यात्मिकताको अन्धतामा मात्रै पनि हामी अघि बढ्नु हुँदैन । त्यसो गरियो भने त्यो जडता हुन्छ । भौतिकताको मात्रै विश्वासमा लाग्दा पनि त्यसले सामाजिक सम्बन्ध खल्बल्याउँछ । समाजलाई सन्तुलन गर्न आध्यात्मिकता र भौतिकता दुवै आवश्यक पर्छ ।
नेपालमा धार्मिक पर्यटक तान्नलाई हिन्दू र बौद्ध धर्मावलम्बीले कस्तो नीति लिनुपर्ला ?
सबभन्दा गहन प्रश्न हो यो । यहाँ किरात संस्कृति पनि छ । हिमालमा बोन संस्कृति पनि छ ।
नेपालमा पाथीभरा धाम छ, चतराधाम छ । हलेसी महादेव धाम छ, पशुपतिनाथ छ । मुक्तिनाथ छ ।
हाम्रो छिमेकी मुलुकमा झण्डै १ अर्बको सङ्ख्यामा हिन्दू छन् । विश्वमा डेढ अर्ब जनसङ्ख्या हिन्दूको छ । सवा अर्ब बौद्धमार्गी छन् । झण्डै ४ अर्ब अर्थात् विश्वको जनसङ्ख्याको ४० प्रतिशत जनसङ्ख्याको आस्थाको पुञ्ज नेपाल हो । हाम्रो देशको संस्कृतिलाई उजागर गर्न सकिएको छैन ।
पर्वतारोहण वा पर्या पर्यटनलाई मात्रै पर्यटनको रुपमा बुझ्नुहुँदैन । हिमाल हेर्न मात्रै पर्यटक आउँदैनन् । एक पटक हिमाल हेरेको पर्यटक अर्काे पटक फेरि त्यही हिमाल हेर्न आउँछ भन्न सकिँदैन । विश्व समुदाय तान्नका लागि यसका आयामहरू अलि फराकिलो बनाउनुपर्छ । ती आयाममध्ये धार्मिक पर्यटक सबभन्दा ठूलो आयाम हो । आध्यात्मिक पर्यटकमार्फत् नेपालको पर्यटन विकास गर्न सकिन्छ । हिमालले तान्ने भन्दा धेरै पर्यटक अध्यात्ममार्फत् तान्न सकिन्छ ।
काठमाडौंमा नेवारको आफ्नै संस्कृति छ । पूर्व आउनुभयो भने यहाँ लिम्बूको धान नाच छ, राईको चण्डी नाच छ । पश्चिमतिर जानुभयो भने मगरको कौरा छ, गुरुङहरूको सोरठी छ । सुदूर पश्चिममा जानुभयो देउडा नाच छ । तल थारुहरूको आफ्नै झ्याम्टा नाच छ । अन्य धेरै नाच छन् । सतार, धिमाल, मेचे, कोचेको पूर्वतिर आफ्नै नाच छ । संस्कृति, आस्था, धर्म, विश्वास र पूर्वीय दर्शनको उपयोग गरी पर्यटक तान्न सकिन्छ । कालान्तरसम्म पर्यटक आउने बाटो बन्न सक्छ ।
पर्वतारोहण र पर्या पर्यटन मात्रै पर्यटन होइन । आध्यात्मिक, सांस्कृतिक तथा धार्मिक पनि पर्यटक हुन् ।
नेपालमा धेरै धार्मिक स्थल हुँदाहुँदै पनि र भारतका तीर्थस्थल भन्दा नेपालका तीर्थस्थलको बढी महत्व हुँदाहुँदै पनि किन धेरै नेपालीहरू तीर्थाटनको लागि भारतमा जान्छन्, उनीहरूलाई नेपालमै रोक्न सकिँदैन ?
खप्तड बाबा भारतीय नागरिक, नेपालमा आएर तपस्या गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘आई गट ह्युमन लिभिङ पिस इन नेपाल ।’ साँच्चिकै परमानन्द पाएँ भन्नुभयो । शिवपुरी बाबा भारतमा जन्मिनुभयो, नेपालमा आएर तपस्या गर्नुभयो । सिद्ध हुनुभयो । जीवनसिद्ध महापुरुष बन्नुभयो । हुन त भारतमा पनि यस्तो ठाउँ छैन भन्न खोजेको होइन ।
पश्चिमाहरूले गड लिभ्स इन हिमालय भन्ने किताब लेखेका छन् । शिवले हिमाल किन रोज्नुभयो ? पर्वतकी छोरी पार्वतीलाई किन सान्निध्यमा राख्नुभयो ? वास्तवमा नेपाल आध्यात्मिक स्थलको केन्द्र हो । यसलाई हामीले उजागर गर्न सकेनौँ । पछि केही लेखहरू हरिद्वारलाई महत्व दिएर लेखियो । बद्री र केदारको महत्व दिएर लेख आए । त्यसैको प्रभावमा परेर नेपाली लाखौँ खर्च गरेर मुक्तिको खातिर ती तीर्थस्थल जान थाले । त्यहाँ पुगेपछि मुक्ति पाइन्छ भन्ने विश्वास छ । हामीले हाम्रा मठमन्दिरको उजागर गर्न सकेनौँ ।
पूर्वमा अहिले बालसन्त गुरुले यहाँका तीर्थको उजागर गर्न ठूलो भूमिका खेल्नुभएको छ । हुन त अरुले पनि गरिरहनुभएको होला तर उहाँले बोलेको मैले सुनेको छु । हाम्रा पूर्वीय स्थललाई आध्यात्मिक साधनास्थल बनाउन उहाँ लागिपर्नु भएको छ ।
चतरा, दन्तकाली, पाथीभरा, हलेसी, मुक्तिनाथ आदिको उजागर गर्न सके नेपाल धार्मिक आस्थाको पुञ्ज बन्न सक्ने ठूलो सम्भावना छ । नेपालीहरूले नेपाललाई आस्थाको पुञ्ज बनाउन नसके कसरी नेपालको समृद्धि हुन्छ । यो कार्यमा हामी नलागे को लाग्ने ? यो अभियानमा जुट्न सबैमा म अनुरोध गर्दछु ।
नेपाली हिन्दूलाई स्वदेशमै रोक्न र विदेशी धार्मिक पर्यटकलाई नेपाल ल्याउन के गर्नुपर्ला ?
हामी काम गर्दैछाँै । काठमाडौंको नागार्जुन नगरपालिकाको वडा नम्बर ७ मा चारधाम बनाउन लागिएको छ । नेपालबाट विदेशिइरहेको रकम रोक्न सो आध्यात्मिक केन्द्र र चारधाम बनाउन लागिएको हो । बद्रीनाथ, केदारनाथ जाँदा धेरैको ज्यान पनि गएको छ । नेपालको महिमा उजागर गरी नेपाललाई आध्यात्मिक केन्द्र बनाउन, आध्यात्मिक पर्यटक भित्र्याउन र नेपालप्रति विश्वको ध्यान आकर्षित गर्न सो आध्यात्मिक केन्द्र र धाम बनाउन लागिएको हो ।
त्यो धाम कस्तो हुनेछ, हालसम्म केकस्ता काम भएका छन् धाम निर्माणका लागि ?
माधव नेपाल प्रधानमन्त्री हुँदा २०६७ सालमा मन्त्री परिषद्को निर्णयबाट २४ रोपनी जग्गा प्राप्त भयो । २२ रोपनी जग्गामा काम भइरहेको छ ।
केपी ओली प्रधानमन्त्री हुँदा २०७२ सालमा त्यसको शिलान्यास भयो । अहिले त्यहाँ काम भइरहेको छ । प्रदेश सरकारले पनि सहयोग गरेको छ । भक्तजनको दान पनि आइरहेको छ । अहिले लगभग १० करोड खर्च भइसकेको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामी हाम्रो स्वधर्म, स्वसंस्कृति र स्वविचार, स्वभाषा, स्वआदर्शलाई लिएर अघि बढौँ । परधर्म, परविचार, परसंस्कृति पनि बुझौँ, तर आफ्नोपन नभुलौँ ।
Facebook Comment
Banner
ग्रिसबाट नेपाली युवतीको आर्तनाद :म बेचिएँ, उद्धार गरिपाउँ
विराटनगर ।
‘मलाई आशिका लामा (जिना चौधरी)ले एक पाकिस्तानीलाई २५ सय युरोमा बेचिदिइ,’ ग्रिसको कुनै अज्ञात स्थानबाट ह्वाट्सएपमा कुरा गर्दै समिक्षा बस्नेत (नाम परिवर्तन) ले भनिन्, ‘अहिले म बन्धकजस्तै छु, पासपोर्ट र मोबाइल सबै खोसिएको छ ।’
घरको ऋण तिर्ने र परिवारलाई सुखी राख्ने सपना बोकेर आठ महिनाअघि युरोपको यात्रामा निस्किएकी समिक्षाको सपना मात्र नभएर शरिर पनि बन्धक बनेको छ । झापा घर भई काठमाडौंको बालाजुमा बस्दै आएकी उनी कानुनी प्रक्रिया पूरा गरेरै कामदार भिसामा युरोपेली मुलुक सर्बिया पुगेकी थिइन् ।
‘सर्बिया पुगेर १३–१४ दिन काम मात्र के गरेका थियौं, त्यहाँको आन्तरिक राजनीतिक समस्याले हाम्रो भिसा रद्द भयो’, उनले आफ्नो पीडा सुनाइन् । सर्बियामा बस्न पनि नसकिने र घर फर्किन पनि ऋणले थिचिएको अवस्थामा उनले सामाजिक सञ्जाल टिकटकमा ‘आशिका लामा’ नामको अकाउन्ट भेटिन् ।
आशिकाले उनलाई ग्रिस पु¥याइदिने र त्यहाँ राम्रो कमाइ हुने सपना देखाइन् । ‘१ हजार २ सय युरोमा ग्रिस पु¥याइदिने र त्यो पैसा पनि काम गरेपछि तिर्न मिल्ने आश्वासन पाएपछि मैले विश्वास गरे’, ती युवतीले भनिन् । ऋणमा डुबेकी र भविष्य अन्धकार देखेकी उनलाई आशिकाको प्रस्ताव अन्धकारमा देखिएको उज्यालो जस्तै लाग्यो ।
तर, उनले सोचेजस्तो भएन । उनी सर्बियाबाट ग्रिसको भूमि त पुगिन् । तर, त्यहाँ त उनी बेचिएर पुगेकी रहिछिन् । आशिकाबाट आफू एक पाकिस्तानी नागरिकलाई २५ सय युरोमा बेचिएको उनले थाहा पाइन् । आशिकाले समिक्षा जस्ता धेरै नेपाली युवतीलाई पाकिस्तानी दलालसँग पुर्याउने गरेकी रहिछिन् । ‘यहाँ आएपछि हाम्रो पासपोर्ट, मोबाइल सबै खोसियो,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म १३–१४ घण्टा कृषि फार्ममा प्याज, आलु र खुर्सानी टिप्ने काममा लगाइन्छ ।’
दिनभरि काम गरेर ५० युरो कमाए पनि उनीहरुको हातमा १५ युरो मात्रै थमाइन्छ । बाँकी पैसा रासनपानी र ऋण तिरेको भनेर दलालले नै राख्छ । उनले आफू सर्भिया जाँदा झण्डै ९ लाख खर्च गरेको पनि बताइन् ।
‘आठ महिना भयो, मैले घरमा एक रुपैयाँ पठाउन सकेको छैन । घरमा सम्पर्क गर्न पनि पाउँदिनँ,’ उनले भनिन् । यो नारकीय जीवनबाट उम्किन उनले एकपटक भाग्ने प्रयास पनि गरिन् । तर, उनी समातिइन् र कडा निगरानीमा राखियो । ‘भाग्ने प्रयास गरेपछि मलाई अरु नेपालीबाट छुट्याएर पाकिस्तानीहरुको बीचमा राखिएको छ’, उनले भनिन्, ‘भनेको मानेन भने पिट्छन्, मार्दिन्छु भनेर चक्कु देखाएर तर्साउँछन् ।’
अहिले उनीसँग आफ्नो पासपोर्ट वा कुनै परिचय खुल्ने कागजात पनि छैन । आफूले बल्लतल्ल किनेर लुकेर मोबाइल प्रयोग गरेको बताउने उनले भनिन्, ‘म घरको एक्लो छोरी, धेरै डराउने मान्छे हुँ’, उनले भनिन्, ‘१० पटक सोचेर हिम्मत जुटाएर तपाईंलाई सम्पर्क गरेकी हुँ । मलाई मार्न पनि सक्छन् ।’
उनीजस्तै त्यहाँ लगभग ३० जना नेपाली र अन्य देशका गरी ५० भन्दा बढी कामदार बन्धक बनाइएको उनी बताउँछिन् । तर, डरका कारण कोही पनि बोल्न सक्ने अवस्थामा छैनन् ।‘कृपया मलाई यहाँबाट निकालिदिन सहयोग गरिदिनुहोस्,’ उनले भनिन्, ‘म घर फर्कन चाहन्छु ।’ उनले आफूलाई यो अवस्थामा पु¥याउने आशिका लामा (जिना चौधरी) र उनका पाकिस्तानी साझेदार सनि भनिने रहेको दाबी गरेकी छिन् । उक्त गिरोहमा माथिल्लो स्थानसम्म पहुँच बनाएका नेपालीहरु पनि संलग्न रहेको थाहा पाएको उनको दाबी छ ।
हाम्रोमतबाट साभार
Banner
सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब,
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो ।हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
सुवेदीले हायु परिवारको घरमा सामान्य तोडफोड गरे जस्तो देखिएको बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।
वडाध्यक्ष रविन श्रेष्ठले यो हायु परिवारको घर जंगलबीच एकान्तमा रहेकाले छिमेकीले पुग्न पनि २० मिनेटजति हिँड्नुपर्छ । यो घरमा उर्मिला, छोराबुहारी, छोरी, नातिनातिनी, ज्वाइँसहित १६ जना रहेको श्रेष्ठले बताए । उनीहरू परिवार नै सबै एकैचोटि हराएपछि घटनालाई रहस्यमय मानिएको श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार हायु परिवारको भान्छाका लागि बनाइएको छाप्रोमा आगो लागेको भेटिएको छ। गाईवस्तु र कुखुरा भने पाखैमा छाडेको अवस्थामा फेला परेका उनले बताए ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष बुद्धिनारायण बरालले हायु परिवारका सदस्यहरूले सामाजिक सुरक्षा भत्ता बुझेर पालिकाबाट गएको बताए । हायु जातिलाई सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । त्यहीकारण उनीहरूलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। उनीहरू सबै घरबाट गायब भएको कम्तीमा दुई दिन भइसकेको अनुमान जनप्रतिनिधिले गरेका छन् ।
अहिले हायु परिवारको घरमा प्रहरी, जनप्रतिनिधि र छिमेकी जम्मा भएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले ठोस तथ्य नभेटिएसम्म केही भन्न नसकिने जनाएको छ।
Banner
अनेरास्ववियुको महाधिवेशन: यी हुन् अध्यक्षका आकांक्षी
मातृ पार्टी नेकपा (एमाले) ले ३२ वर्षे उमेरहद लगाउन परिपत्र गरेसँगै अनेरास्ववियुमा आकांक्षीको लर्को लागेको छ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू हुँदैछ।
एमालेको ‘नर्सरी’ मानिएको अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। जेठ २८ गतेसम्म अधिवेशन चल्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन्। त्यसो त ३२ वर्षमुनिका र नियमित विद्यार्थीमात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान लागू हुने भएपछि केन्द्रीय सदस्यहरूले समेत अध्यक्षको आकांक्षा देखाउन थालेका छन्। त्यसो हुँदा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ।
१७ सदस्यीय पदाधिकारीमा उमेरहद लागू हुँदा १२ जना बाहिरिनेछन्। पाँच जना सचिव मात्रै ३२ वर्ष मुनिका छन्।
अहिले तिनैमध्येबाट अध्यक्ष बनाउने चर्चा चलिरहेको छ। यद्यपि सचिवभन्दा मुनिकाले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्। सोहीअनुसार विधानको मस्यौदा तयार पारेर लाने तयारी भइरहेको छ।
अनेरास्ववियुको अध्यक्ष समिक बडालले पार्टीले निर्देशन दिइसकेको अवस्थामा ३२ वर्षे उमेरहद लागू हुने बताए। त्यहीअनुसार विधानको मस्यौदा बनाएर अधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने उनले जानकारी दिए।
‘पार्टीबाट निर्देशन र परिपत्रसमेत आइसकेकाले सोहीअनुसार विधान मस्यौदा तयार पारेर अधिवेशनमा लैजान्छौं,’ उनले भने।
उनकाअनुसार अधिवेशनमा आयोजकसमेत गरेर करिब १५ सय प्रतिनिधि हुनेछन्। प्रतिनिधि व्यवस्था उपसमितिको बैठक मंगलबार बस्दैछ। यसले प्रतिनिधिको संख्या यकिन गर्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा. सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ।
नेतृत्वले मुख नखोलिसकेकाले कसकसका बीचमा प्रतिस्पर्धा हुन्छ भनेर अहिले नै निर्क्यौल गर्न गाह्रो भएको एक प्रतिनिधिले जानकारी दिए।
अहिलेसम्मको परिस्थिति हेर्दा प्रवक्तासमेत रहेका सचिव प्रकाश पौडेल र धामीबीच प्रतिस्पर्धाको बलियो सम्भावना छ।
३२ वर्षे उमेरहद नलाग्दा महासचिव नरेश रोकाया अध्यक्षका बलिया आकांक्षी थिए। महाधिवेशनको हलले फैसला गर्नुअघि नै पार्टीले उमेरहदको प्रबन्ध राख्न निर्देशन दिइसकेकाले उनी बाहिरिने निश्चितै छ।
त्यस्तै चार उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, मर्यादा विष्ट पनि उमेर हदका कारण बाहिरिँदैछन्।
मौजुदा कमिटीका अध्यक्ष, उपाध्यक्षहरूले ककसलाई समर्थन गर्छन् भनेर नखुलिसकेकाले प्रतिस्पर्धीको आकलन गर्न गाह्रो भएको एक पदाधिकारीले बताए।
सचिव प्रकाश पौडेलले आफूले तहगत कमिटी पार गर्दै आएको अध्यक्षको स्वाभाविक दाबेदार रहेको बताए।
‘संगठनले दिएको सबै जिम्मेवारी पूरा गरेको छु। स्कुल कमिटीदेखि जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै गण्डकी प्रदेश अध्यक्ष बनेको थिएँ। त्यस्तै संगठनको केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै सचिव बनेको छु। यहाँसम्मको कामको मूल्यांकन गरेर प्रतिनिधिहरूले अध्यक्षको जिम्मेवारी दिनुहुनेछ भन्ने ठानेको छु,’ उनले भने।
उनले केही दिनमा संगठनको २४ महिने कार्यकालको योजनासहित आफ्ना कार्यक्रमहरू सार्वजनिक गर्ने र त्यसलाई प्रतिनिधिहरूको बीचबाट अनुमोदन गराउने तयारी रहेको उनले बताए।
सचिव अञ्जना शिवाकोटीले पनि अनेरास्ववियुको चौथो महिला अध्यक्ष बनेर इतिहास रच्ने अभियानमा आफू रहेको बताइन्।अनेरास्ववियुमा यसअघि रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल अध्यक्ष भइसकेका छन्।
मधेस प्रदेश इन्चार्जसमेत रहेकी उनी तेक्वान्डोको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। अनेरास्ववियुलाई सबै तह र तप्का विद्यार्थीहरूको अगुवा संगठन बनाउनुपर्ने उनको बुझाइ छ।
‘तहगत कमिटी पार गर्दै खारिएर आएको छु। प्रतिनिधिहरूले अध्यक्षकै रूपमा हेर्न चाहेको बताइरहनुभएको छ, त्यसैले उत्साहित पनि छु,’ उनले भनिन्।
अर्का सचिव डा. सुजन कडरियाले विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटो दिन नै आफूले उम्मेदवारी दिन लागेको बताए।
निजी र सार्वजनिक क्षेत्रले दुईथरी जनशक्ति उत्पादन गरिरहेको, वर्तमान शिक्षा प्रणालीमा निजी र सार्वजनिक क्षेत्रले पठाउने पाठ्यक्रममै भिन्नता रहेकाले यसैलाई एजेन्डा बनाएर मैदानमा प्रस्तुत हुने उनले बताए। उनी काठमाडौं विश्वविद्यालयबाट अनेरास्ववियुमा जोडिएका हुन्।
‘मैले शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नेछु। नियमित विद्यार्थीले नै अनेरास्ववियुको नेतृत्व गर्ने निर्णय हुँदा मेरो दाबी बलियो र स्वभाविक पनि रहन्छ,’ उनले भने।
एमालेको परिवर्तित नीतिअनुसार जनसंगठनको केन्द्रीय कमिटीमा दुई तहको मात्रै संरचना रहनेछन्। पदाधिकारीको संख्या ९ मात्रै रहनेछ। सचिवालय र केन्द्रीय कमिटी मात्रै हुनेछ भने केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login