Connect with us
Advertisement

बस्तीबस्तीबाट उठौं, नेता होइन देश बनाउन जुटौँ

Published

on

अहिलेको विश्व परिवेशमा नेपालको ऐतिहासिक र प्राकृतिक महत्वको पक्षबाट हेर्ने हो भने नेपाल सर्वश्रेष्ठ देश हुनुपर्ने हो तर नेपालको अवस्था नाजुक र गरिबीले आहत बनेको छ । देशमा राजनीतिक थिति छैन, समाजमा नैतिकता छैन, शिक्षामा गुणस्तर छैन, नेतामा क्षमता छैन, सडक, बत्ती, पानी, बिजुली, सञ्चार, रोजगार, कृषि, खाद्य, स्वास्थ्य जुन क्षेत्र हेरे पनि कहालीलाग्दो अवस्था के कारणले छ होला ?

हिजो राजनीति गर्नेहरूले आफ्नो राजनीति सुरक्षित गर्नको लागि नयाँ आउने पुस्तालाई निषेध गर्न राजनीति भनेको बिग्रिने बाटो हो भनियो, राजनीति गंर्नेलाई परिवारमा र समाजमा अपहेलना गर्ने गरियो । फलस्वरूप राजनीतिमा अब्बल र क्षमतावान व्यक्तिहरू आउन चाहेनन् । समाजमा अरु सबै बाटो बन्द भएर बेकाम बसेका अनुत्पादक जनशक्ति नै राजनीतिकर्मी बनेर देशको नेतृत्व गरिरहेका छन् । एउटा देश सफल हुन राजनीति पनि संवेदनशील प्राविधिक विषय हो जस्तो कि एउटा जहाजले उडान भर्नको लागि प्राविधिक रुपमा सक्षम पाइलटको नेतृत्व आवश्यक हुन्छ त्यसरी नै देश कुशलतपूर्वक चल्नको लागि प्राविधिक रुपमा सक्षम नेतृत्व आवश्यक पर्छ । जेल बसेको राजनैतिक अनुभव पेश गरेर सत्तामा पुग्ने मानिसको मानसिकता जहिले पनि बदलाको मनोदशाबाट गुज्रिएको हुन्छ जसले राजनीतिमा निकास निस्किँदैन ।

अहिलेका युवामा राजनीतिको बुझाइ र जवाफदेहिता नभएर नै राजनीतिले सही दिशा लिन नसकेको हो । अहिलेका सत्ता सञ्चालकहरू युवालाई कुनै पनि बहानामा विदेश जान प्रेरित गरेर सत्ता सधैँ आफ्नो हातमा लिन चाहन्छन् र युवाले पनि आफ्नो हैसियतले भ्याउने देश खोजेर गइदिने र रेमिट्यान्स पठाएर नेताको स्वार्थ पूरा गरिरहेका छन् । अहिले पनि अब्बल किसिमका सक्षम विद्यार्थीहरू राजनीतिलाई तुच्छ र अप्राविधिक विषयको रुपमा लिन्छन् । डाक्टर इन्जिनियर पाइलटजस्तै तुरुन्त जागिर मिल्न सहयोगी हुने विषय अध्ययनमा रुचि देखाउँछन् । तर राजनीतिको हालत खराब छ यसलाई सुधार्नुपर्छ भनेर राजनीतिशास्त्र अध्ययन गर्ने युवा प्राय शून्य छन् । कोही राजनीतिशास्त्र अध्ययन गर्छन् भने पनि अन्य सबै विकल्प सकिएका र आफ्नो पढेको डिग्री देखाउन मात्र राजनीतिशास्त्रका विद्यार्थी बनेका छन् । राजनीति शास्त्रमा अध्ययन, खोज र अनुसन्धान गर्ने विश्वविद्यालय र क्याम्पसहरू पनि अत्यन्तै खराब हालतमा गुज्रिएका छन् । प्राध्यापकहरू पनि निर्वाहमुखी अध्यापन गराइरहेका छन् ।

अबको देश निर्माणको काम पनि युवाको जिम्मेवारी भएकाले युवाहरूले अब सोच्ने बेला भएको छ । हाम्रो देशले समृद्धिको खोजीमा धेरै पटक शासन पद्धति फेरिसकेको छ । अहिले पनि केही शक्तिहरू शासन प्रणालीलाई दोषी ठान्दै भूमिगत युद्ध गरिरहेका छन् । हामीले नेतृत्वको संरचना बलियो बनाउन सकेनौं भने जस्तोसुकै वा जुनसुकै शासकीय प्रणाली आए पनि कुनै फरक पर्नेछैन । हामीले शासकीय पद्धतिको नाम फेरेर केही हुँदैन जबसम्म आधारभूत रुपमै शासन गर्ने प्रणाली र देशको प्रशासकीय व्यवस्थामा सुधार हुँदैन शासकीय प्रणालीको नाम फेरेर केही हुँदैन ।

हिजो पञ्चायत व्यवस्था हुँदा शासन गर्ने व्यक्ति र अहिले गणतन्त्र आएपछि शासन गर्ने व्यक्ति एकै छ भने हामी कसरी कार्यसम्पादन राम्रो खोज्न सक्छौं ? राजतन्त्र होस् कि प्रजातन्त्र होस्, लोकतन्त्र होस् कि गणतन्त्र होस् शासन गर्ने व्यक्ति जहिले पनि उही छन् भने हामीले शासकीय पद्धतिको नाम फेरेर केही हुन्छ ? आफूलाई राजनीतिज्ञ भन्ने एउटा मान्छेले एक पटक होइन दुई पटक होइन ६ पटकसम्म सरकारको नेतृत्व गर्छ र हरेक पटक उसलाई असक्षम भएको भनेर हटाइएको हुन्छ भने फेरि उही व्यक्ति कसरी सक्षम हुन्छ ? केही महिनामै कसरी सक्षम हुन्छ ? एक पटक असक्षम भएर वा राजनीतिक परिणाम दिन नसकेर हटाइएको मानिस फेरि ल्याउनु भनेको देश धेरै पछि धकेलिनु हो ।

कसैको नेतृत्वमा सकारात्मक पहलहरू वा देश निर्माणमा कुनै ठोस योजना बनेको भए वा उसको नेतृत्वमा देशले मुहार फेर्ने कुनै काम भएको भए उसलाई फेरि सरकारको नेतृत्व दिनु स्वाभाविक हो तर जसको कार्यकालमा देश नउठ्ने गरी डुबाइएको हुन्छ उसलाई बारम्बार नेतृत्वमा किन ल्याइन्छ ? के युवा असक्षम भएर हो ? एउटा सक्षम मानिसको नेतृत्वमा देशले मुहार फेर्न धेरै समय लाग्दैन भने एउटा असक्षम मानिसले भविष्यका पुस्तालाई समेत पछाडि धकेलिने गरी देशलाई अँध्यारोमा पुर्याउँछ । अहिले देशको अवस्था हेर्ने हो भने यो शताब्दीकै पिछडिएको मुलुकको रुपमा नेपाल उभिएको छ ।

देशको अर्थतन्त्र त्यतिकै डामाडोल छ, अर्थिक बजेट भन्दा माथि वैदेशिक ऋणको भारी छ, वैदेशिक ऋण पनि कुनै उत्पादनमूलक उद्योग, स्थायी संरचना निर्माण, विकास आदिमा भएको भए पनि ठीकै हुन्थ्यो । त्यो ऋण पनि देशको प्रशासनिक खर्च जुटाउन गरिएको छ । न कुनै उत्पादनको नीति छ, न कुनै औद्योगिकरण नीति, न राज्यको भरपर्दो आयको बाटो तय गरिएको छ, न राज्यको अर्थतन्त्रको दिशा नै तय छ, न राज्यको कुनै आर्थिक क्यालेन्डर नै छ । देशको कूटनीतिक सम्बन्ध झनै भद्रगोल छ । छिमेकीसँगको व्यापार सम्बन्ध होस् या सीमा सुरक्षाको विषय राज्यको नीति के हो भन्ने मित्रराष्ट्रलाई त परको कुरो हाम्रै कुटनीतिक नियोग हरूलाई पनि थाहा छैन । न कूटनीतिक प्रोटोकल छ न कुनै योजना छ । शैक्षिक र स्वास्थ्य क्षेत्रमा माफियाहरूले कब्जा जमाई कालोबजारी गरिरहेका छन् त्यो पनि राज्यको नेतृत्व गर्नेहरूकै लगानीमा ।
भ्रष्ट्राचारको जालो उतिकै कहाली लाग्दो छ । शिक्षामा भ्रष्टाचार, स्वास्थ्यमा भ्रष्टाचार, सरकारी युनिफर्ममा भ्रष्टाचार, पुलिस सैनिकको रासनमा भ्रष्टाचार, महामारीमा किनिएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, नियुक्तिमा भ्रष्टाचार, न्यायमा भ्रष्टाचार, मालपोत, अदालत, पुलिस, यातायात सम्म भ्रष्टाचार । प्रशासनदेखि मसानघाटसम्म र पात्रोदेखि कात्रोसम्म, मन्दिरदेखि चर्पीसम्म भ्रष्टाचार नभएको शायद कुनै क्षेत्र छैन, । त्यसमा पनि राज्यको नेतृत्व गर्नेहरूकै सम्धी, साला, साली रखवाली, श्रीमती, भतिजा, भान्जी, बुहारीहरूले नै भ्रष्टाचार गर्ने गरेका छन् ।

सबै संस्थान नातेदारको अखडा, नीतिनियम र कानुनको क्याबिनेटदेखि सडकमा समेत धज्जी उडाउने तिनै सम्धीहरू, ठूलाठूला भ्रष्टाचारका काण्डदेखि भट्टी पसलमा परेका लफडा समेत मिलाउने मन्त्रीहरू हुन्छन् । विश्वविद्यालयहरूको हालत उस्तै छ, स्वास्थ्य संस्थाहरूमा निर्देशक कमिसनको मात्रामा भर पर्ने स्थिति छ । अधिकांश युवाहरू देशबाहिर छन् कोही रहरले त कोही करले । राज्यमा शासकहरूले श्रम सम्झौताको नाममा युवा बिक्री वा करारनामा गराउँदै विदेश निर्यात गरिरहे । गलत कामको विरोध वा विद्रोह गर्न सक्ने युवालाई विदेश निर्यात गरेपछि यहाँ सत्ताधारीहरूले जे गर्दा पनि हुने स्थिति छ ।

न्याय क्षेत्र इतिहासमै सबभन्दा नाजुक अवस्थामा पुगेको छ, न्यायको सामान्य सिद्धान्तले सम्पादन हुने न्याय पनि मोलतोलका साथ बिक्री हुनु, पहुँचवालाहरू कानुनभन्दा धेरै माथि हुनु र निर्दोषलाई फसाउने फाँसीवादी मनोवृत्ति शासकमा बढ्दै गएको अवस्थामा अब पनि हामी युवाले देश नसम्हाले हामीले मात्र होइन हाम्रा पुस्तौंपछिका सन्तति पनि यसरी नै लाचार भएर बाँच्नेछन् । कुनै विदेशी अध्यागमनमा पुगियो भने नेपाली पासपोर्ट देख्दैमा हेप्न शुरु हुन्छ नेपालीलाई, चाहे नेपालमा जस्तोसुकै हैसियतको नागरिक होस् । विदेशिएका अधिकांश नेपालीले तेस्रो दर्जाको काम गर्नुपर्ने अवस्था छ । आर्थिक अनुदानको नाममा नेपाललाई दुनियाँको दास बनाइएको छ ।

स्वाभिमान र सार्वभौमिकताको धज्जी उडाइएको छ । छिमेकी देशको सामान्य प्रशासकीय अधिकृत आएर प्रधानमन्त्री र राष्ट्रपतिलाई कुनै प्रोटोकलबिना नै भेटेर उल्टो धम्क्याएर जान्छ । अझ त्यस्ता सामान्य कर्मचारीलाई भेट्न आफैं उच्च ओहोदामा आसीनहरू जाने गरेका छन् । देशमा एउटा मधेसीले आफ्नो देशको अपनत्व महसुस गर्न सकेको छैन, दलितहरू कुटिएका छन्, निर्धाहरू लुटिएका छन् । जनजातिले पहिचानको लागि भन्दै लड्नुपरेको छ । खस आर्यहरूमाथि अपमान भइरहेको छ । जातिजातिमा विभेद गरिएको छ, नागरिकलाई राज्यको स्रोत साधनबाट वञ्चित गरी भारतीय व्यापारीहरूलाई श्रोत र साधनको मालिक बनाइएको छ । कालोबजारी र तस्करहरूको चंगुलमा फसेको छ देश । अब पनि युवा चुप लागेर बस्ने हो भने कति पुस्तासम्म विश्वका अपमानित नागरिक भएर बस्ने ?

विभिन्न पार्टीमा आस्था राखेर राजनीति गर्न चाहने युवाहरू ! अब ढिलो नगर्नुहोस, तपाईले प्रयोग भइसकेका र असफल भइसकेका व्यक्तिलाई नेता मानेर देशलाई नरकको बाटोमा नलैजानुहोस्, तपाई युवाहरू अगाडि बढ्नोस् । भिजनसहितको राजनीतिक थिति बसाउन अर्जुनले पितामह भीष्ममाथि वाण वर्षाएका थिए भने हामी हाम्रा मिति गुज्रेका पुराना नेतालाई अवकास दिऔँ र हाम्रो भविष्य हामी आफैँ कोरौं ।
हजुरबाहरू शुभचिन्तक हुन सक्छन्, अभिभावक हुन सक्छन् तर तपार्इँ हाम्रो काम गर्न सक्दैनन् । हाम्रा बाले हाम्रो भलो चाहेर पनि हामीले चाहेजस्तो काम गर्न सक्नुहुन्न भने केपी ओली जो दलाल र भ्रष्ट्राचारीको घेरामा बाँधिएर बसेका छन् उनले तपाई हाम्रो काम गर्छन् भनेर कसरी सोच्ने ? शेरबहादुर देउवा जो सरकारी ऐस आराम र कुर्सीसँग इमान, जमान र राजनीतिक पथ पनि विसर्जन गर्छन उनलाई कति पटक चटके प्रधानमन्त्री बनाउने ? पाँच पटक प्रधानमन्त्री बनेर अहिलेसम्म गर्न नसकेको कुन चाहिं काम गर्लान् भनेर उनलाई अपनाउने ? कथित जनयुद्धको नाममा सत्रौं हजार मानिसको रगतले स्थापित भएका प्रचण्डले उत्पीडित जनतालाई बाँडेका सपना खोई ? बुहारी मन्त्री, छोरी मेयरलगायत सम्पूर्ण आफन्तको सेट नै सरकारी विलासी सुविधा लिने पदमा पुर्याउन हो तपाईले गोली छातीमा थाप्नु भएको ? युवा साथीहरू तपाई आउनुहोस् नेतृत्व गर्न । मेरो नेता यो होइन, अब तपाईको नेता तपाई नै हो किनकि तपाईलाई बुझ्ने ओली, देउवा प्रचण्ड या कुनै सण्डमुण्ड होइन तपाईँ नै हो ।

राष्ट्रप्रति इमानदार युवा नेतृत्व भयो भने सम्भव हुन्छ भन्न कुनै माक्र्सवाद, लेनिनवाद, माओवाद वा पूँजीवाद पढ्नु वा रट्नुपर्छ, नारा लगाउनुपर्छ बन्दुक पड्काउनुपर्छ भन्ने होइन । सोच र प्रणाली विकास गर्नुपर्छ भन्ने कुरा हाम्रै देशका महान युवा व्यवस्थापक कुलमान घिसिङबाट बुझ्न सकिन्छ, जान्न सकिन्छ । लथालिङ्ग र भताभुङ्ग भएको, ३६ अरब सञ्चित घाटा र वार्षिक ९ अरब घाटामा भएको नेपाल विद्युत प्राधिकरण जसले देशमा १८ घण्टा लोडसेडिङ गथ्र्याे त्यसको व्यावस्थापन जिम्मा लिएर कुलमान घिसिङले आफ्नो नेतृत्व क्षमताको परिचय दिए । ४ वर्षे कार्यकालको व्यवस्थापन जिम्मा लिएको वर्ष दिनभित्र देशलाई लोडसेडिङमुक्त बनाई संस्थाको ऋण चुक्ता गरेर ६ अरब सञ्चित नाफासहित ११ अरब वार्षिक मुनाफा आर्जन गर्ने संस्था बनाउन उनी सफल भए । सक्षम युवा नेतृत्व पायो भने देशले पनि ५ वर्षमा वैदेशिक ऋण चुक्ता गरी, व्यापार घाटा अन्त्य गरी मुनाफा आर्जन गर्न किन सक्दैन र ?

यो राष्ट्र बचाउन, आफ्नो भविष्य कोर्न र आफ्ना बाल बच्चालाई तपाई हामीलाई जस्तो अन्योलबाट मुक्त राख्न आज तपाईको नेतृत्व आवश्यक छ, भोलि हाम्रो बच्चाहरूको पालो हुनुपर्छ । हाम्रो हजुरबाको पालामा पनि ओली, देउवा र प्रचण्ड, बुवाको पालामा पनि तिनीहरू नै, अहिले हाम्रो पालामा पनि तिनीहरू नै अनि भोलि हाम्रा बच्चाहरूको पालामा पनि तिनीहरू नै नेता भएर कस्तो परिवर्तन हुन्छ ? कसरी आउँछ समृद्धि ?

हिजो जे भयो अब त्यो गल्ती हुन दिनु हुँदैन । आज तपाई हाम्रो पालो हो भोलि हाम्रा बालबच्चाको पालो हो । तपाई हामीले पनि बालबच्चाको पालो आइसकेपछि हाम्रो दाबी छोडेर उनीहरूलाई नेतृत्व सुम्पिनु पर्दछ । यो थिति बस्नुपर्छ, यो संस्कार बन्नुपर्छ अनि मात्र समय सापेक्ष समृद्धि आउँछ नत्र नेपाल सदाको लागि पिछडिएको देशको सूचीबाट कहिल्यै हट्ने छैन ।

अहिलेको आवश्यकता भनेको कसले शासन सत्ता चलाउने भन्ने होइन, कसरी शासन सत्ता चलाउने भन्ने हो । हामीले हाम्रै पालामा शासन प्रणालीको विकास गर्नुपर्छ जसमा माक्र्सवाद, लेनिनबाद, माओवाद वा पूँजीवाद होइन ‘नेपालवाद’ को विकास हुनुपर्छ । जहाँ हरेक नेपालीले आफूलाई यो देशको अधिकारसम्पन्न सम्मानित नागरिक महसुस गर्न सकोस् साथै शासन व्यक्तिले होइन उन्नत व्यवस्थाले गर्दैछ भन्ने महसुस होस् र राज्यका अङ्गहरू सम्धी, ज्वाइँ, सालासाली र आफन्तहरुको साङ्गठनिक अपराध गर्ने अखडा होइन भन्ने विश्वासको विकास होस् ।

व्यक्तिको लहडमा शासन गर्ने प्रवृत्तिको अन्त्य गरी आम युवाले तय गरेको प्रणालीमा सत्ता सञ्चालन हुने व्यवस्था हुनुपर्याे । जहाँ शासन सत्तामा कुनै सुधार चाहिए व्यक्ति होइन प्रणाली अद्यावधिक गर्ने व्यवस्था हुनु पर्दछ । जसमा आउने पुस्ताले सजिलै आफ्नो आवश्यकता अद्यावधिक गर्न सकून् त्यसको लागि कुनै युद्ध, द्वन्द्व वा अस्थिरता नहोस् । युवा साथीहरू यसरी हामी अरुबाट होइन आफैँबाट शासित हुनुपर्छ ।

आजको समयमा एउटा शिक्षित बाबुले त छोराछोरीको आकांक्षा बुझ्न सक्दैनन् भने हजुरबा उमेरका व्यक्तिले हामीले चाहेको परिवर्तन स्थापित गर्छन् भनेर कल्पना गर्नु नै गलत हुन्छ । तर हामी कल्पना मात्र होइन अपेक्षा नै गरिरहेका छौं । युवाहरूमा नैराश्यता, डिप्रेसनजस्ता समस्या उत्पन्न भई आत्महत्या गर्ने र अन्य अपराध गर्ने क्रमलाई यसले रोक्नेछ ।

अतः युवा साथीहरू हामीले समाजमा विकृति विसंगतिसँग लड्दै भ्रष्टाचारीहरूलाई सामाजिक बहिष्कार गर्ने, आर्थिक क्रान्तिको लागि प्रविधिको विकास र प्रशिक्षण दिने सभ्य समाजको मोडल तयार पार्नुपर्छ । क्लष्टर बनाई आधुनिक समाज निर्माण गर्ने, व्यक्तित्व विकास गर्दै देश निर्माणमा युवाहरूलाई प्रोत्साहन र हौसला दिने गर्नुपर्छ । सम्पूर्ण युवाहरू देश निर्माणका नेतृत्व हुन् कुनै अमुक व्यक्तिबाट चामत्कारिक परिवर्तनको अपेक्षा नगरौं । चामत्कारिक शासन व्यवस्था निर्माण गरी हरपल चामत्कारिक परिवर्तनका संवाहक बनौँ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक