Connect with us
Advertisement

साइकलको पाउदानी चलाउँदै, प्रकृतिको काखमा पुग्दै

Published

on

विराटचोकः स्वास्थ्यका लागि साइक्लिङ’ भन्ने नाराका साथ साइक्लिष्टहरू निरन्तर उत्तरी मोरङ, सुनसरी र धनकुटाको दक्षिणी क्षेत्रमा पसिना चुहाइरहेका छन् । कोभिड–१९ का कारण भएको लकडाउन र त्यसपछिको समयमा पनि उनीहरूले साइक्लिङ अभ्यास छाडेका छैनन् । युवाहरू समूहमा आबद्ध भएर साइक्लिङ गर्दै आएका छन् । उनीहरू घण्टौँसम्म साइकल कुदाउँदै कहिले मूलघाट, कहिले नमस्ते झरना अनि भेडेटार, कोशी टप्पु, चतरा पुग्ने गर्छन् । धरानको शिवजट्टा, उत्तरी मोरङको राजारानी, लगायत विधिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा बिदाको दिन साइकलका पाउदानी चलाउँदै प्रकृतिको काखमा पुग्छन् ।


समाजमा रम्न र रमाउन जान्नु व्यस्त मानिसका लागि सोचनीय विषय बन्दै गइरहेको छ । विज्ञान र प्रविधिको विकासले मानिसलाई एक पल पनि फुर्सदिलो बनाएको छैन । अझ शहरिया परिवेशमा त यसले विकराल रुप लिँदै मानिस धेरै रोगको सिकार बन्न पुगेका छन् । यसलाई चिर्नका लागि सुन्दरहरैंचाका केही युवाहरू अहिले दैनिकजसो साइक्लिङ गरिरहेका छन् । यसले भावी पुस्तालाई समेत जागरुक बनाएको छ ।

काठमाडौ, पोखरा र पूर्वको धरानमा साइक्लिङ गर्नेको संख्या उच्च रहेको अवस्थामा पछिल्लो समय नयाँ शहरको रुपमा विकास हुदै गरेको सुन्दरहरैंचा क्षेत्रमा समेत राइडरहरू जन्मनुले यो ठाउँको लागि खेल क्षेत्रसँगै पर्यटकीयमा समेत नयाँ आयाम ल्याउने देखिन्छ ।

लकडाउन शुरु हुनुभन्दा केही महिना अघि सुन्दरहरैंचा साइकल राइडर्स क्लब नामक संस्था स्थापना भएको थियो । सरकारले कोभिड १९ रोकथामका लागि गरेको बन्दाबन्दीका कारण व्यवसायबाट फुर्सदिलो बनेका युवाहरूमा यसको मोह ह्वात्तै बढेको छ । अहिले यो क्लबमा आबद्ध भई करीब ५०÷६० जनाले साइक्लिङ गर्दै आइरहेको क्लबका अध्यक्ष केशव बजगाई बताउँछन् ।

‘धेरै अघिबाटै मैले साइक्लिङ गर्दै आएको थिएँ । पछि केही ग्याप भयो,’ यस क्षेत्रमा करीब ९\१० वर्ष अघिबाट साइक्लिङ गर्दै आएका खेमराज दाहाल भन्छन्, ‘तर यसमा लगनशील र मेहनेत गर्दै पहिले एक्लो भए पनि अहिले धेरै हुनु अत्यन्तै खुसीको कुरा हो । हामीलाई नयाँनयाँ ठाउँको अवलोकन गर्दै जाँदा धेरैले कहाँबाट आउनुभो भनी सोधेर सम्मान गर्ने गर्दछन् । त्यो हाम्रा लागि प्रेरणादायी बन्दछ र थकित शरीरलाई ऊर्जा बढेको महसुस हुन्छ ।’

उनका अनुसार १ वर्ष अगाडि एउटा प्रतियोगिता समेत आयोजना भएको थियो । त्यो प्रतियोगिता नै यस क्षेत्रमा राइडर्स जन्माउने प्रमुख आधार बन्यो । आफूहरू यो क्षेत्रमा समूहगत रुपमा हिँड्न थालेको धेरै नभए पनि पछि आएर साथीभाइसँग सल्लाह गरेर क्लबको रुपमा सबैलाई समेट्ने र भावी पुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउने उद्देश्य रहेको उनले सुनाए ।

उनका अनुसार साइक्लिङका लागि सर्किटको अभावले यात्रामा धेरै कठिनाइ बेहोर्नुपर्छ । ‘एउटै सडकमा सबैखाले सवारी हुँदा ठुलो सवारीले पैदलयात्री तथा साइकललाई कम प्राथमिकता दिँदा र साइक्लिङको छुटै लेन अथवा सर्किट नहुँदा धेरै कठिनाई हुने गरेको छ’, उनी भन्छन्, ‘लामो यात्रा अर्थात् १ सय ५० किलोमिटर दूरी करीब ९ घण्टामा साथीहरूसँग नयाँ ठाउँको दृश्यावलोकन गर्दै अनि त्यस क्षेत्रको परिवेशमा रम्दै गरेको यात्रा अविस्मरणीय हुने गरेको छ ।’

यस्तै २२ वर्षदेखि साइकलको व्यवसाय गर्दै आइरहेका क्लबका उपाध्यक्ष पारस ढुंगेल युवाबाट उक्लँदै गरेको उमेरमा समेत साइक्लिङ गर्न र दैनिक यात्रा गर्दा स्वास्थ्यमा सकारात्मक सुधारहरू आउन थालेको सुनाउँछन् । ‘मैले पढाइपछि यो व्यवसाय अँगालेँ । हजारौँलाई साइकल बेचेँ,’ ढुंगेल भन्छन्, ‘अहिले त्यो पसिनाको मूल्य र युवाहरूमा यसप्रतिको क्रेज बढ्दै गएको देख्दा मन नै फुरुङ्ग हुने गरेको छ ।’

एउटै ड्रेस लगाएर टाउकोमा हेल्मेट र साइकलमा राष्ट्रिय झण्डा फहराउँदै यात्रामा निस्कनुको मज्जाले सबै खालको तनावबाट शान्ति मिल्ने गरेको क्लबका अध्यक्ष बजगाईको भनाइ छ । सबैको क्षेत्र फरक भए पनि यात्रामा भने भाइचारा र बन्धुत्वको भावनामात्र हुनु एउटा समाज सुधारको मूल धार बन्ने विश्वास रहेको उनको भनाइ छ ।

यो क्लबले सामाजिक क्षेत्रमा समेत गतिविधिहरू गर्ने र समाजमा रहेका युवाहरू कुलतमा लाग्ने अवस्थालाई यसले केही हदसम्म न्यूनीकरणको प्रयास गर्ने बताउँछन् । केही वर्ष अघि फाट्टफुट्ट रूपमा देखिने यात्रा अहिले दैनिकीजस्तो बनेको छ । बन्दाबन्दी हुनुभन्दा अगाडि आफ्नो व्यवसाय कामधन्दा जागिर पूरा गरेर युवाहरू साइक्लिङमा निस्कने गर्दथे ।

शरीरलाई फिटनेस राख्ने
साइक्लिङका फाइदामध्ये महत्वपूर्ण भनेको शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिने एक सम्पूर्ण व्यायाम हो । कोरोनाका कारण जिम गर्न नपाउँदा विकल्पको रुपमा साइक्लिङ गरिरहँदा शरीरको समुचित व्यायाम हुने गर्दछ । यसले स्वास्थ्यको लागि लाभदायक समेत भएको हुनाले सबैले यसलाई अपनाउनुपर्ने अध्यक्ष बजगाईं बताउँछन् । दैनिक ५०÷६० किलोमिटर यात्रा गर्दा स्वास्थ्यसँगै मानिसमा भएका नकारात्मक पक्षलाई समेत हटाउन सहयोग पुग्ने साइक्लिङ गर्नेहरू बताउँछन् ।

यो एउटा महत्वपूर्ण खेल
लकडाउनका कारण फुटसल, फुटबल, भलिबल, ब्याडमिन्टनलगायतका खेलहरू बन्द भएको अवस्थामा साइक्लिङ एउटा महत्वपूर्ण खेलको विकास हुँदै गइरहेको छ । यस खेलबाट नेपालले धेरै स्वर्ण पदक हात पारेको छ । निश्चित दूरी कायम गरी तोकिएको समयमा सबै नियम पालना गरेर यात्रा गर्ने भएकाले यसलाई एउटा खेलको रूपमा सरकारले लिएको छ । तर यसलाई स्थानीय सरकारले खेलकुदको रूपमा विकास गर्न भने सकिरहेको छैन । खासगरी युवा पुस्तामा यसले सकारात्मक ऊर्जा ल्याउने गर्दछ । दैनिक परिवारको बसाइ, अफिसको काम र आफ्नो व्यवसायबाट थकित भएको एउटा मानिसलाई २÷४ घण्टाको यात्राले आनन्दित मात्र होइन उसमा भएको नकारात्मक भावलाई हटाउने गर्दछ ।

साइक्लिङ टुरिजम
साइक्लिङमार्फत् पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ । स्थानीय सरकारले चारकोसे झाडीलाई सदुपयोग गर्न सके पर्यटकीय क्षेत्रमा राम्रो गन्तव्य बन्न सक्छ । उत्तरी मोरङका डाँडापाखामा उक्लन छिमेकी राष्ट्रबाट विराटनगर– विराटचोक सडक निर्माण भइसकेपछि पहाडी भेगका पालिकाले साइक्लिङ नै पर्यटक भित्र्याउने मुख्य माध्यम बन्न सक्ने छ ।

फुर्सदिलो समयमा एउटा प्याकेज बनाएर यी क्षेत्रको सहज रुपमा यात्रा गर्न सकिन्छ । यहाँ प्रशस्त धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । यसका अलावा सुनसरीको चतरा, धरान, कोशी टप्पु वन्यजन्तु आरक्ष, चारकोशे झाडी, तालतलैयासम्म यात्रा गर्न सकिन्छ । मोरङका उत्तरी पालिकाहरू, बेतना सिमसार क्षेत्र, हसिना सिमसार क्षेत्र, लेटाङ, राजारानी, केराबारी, चारकोसे झाडी, धनकुटाको भेडेटार, राजारानी मूलघाटलगायतका स्थललाई साइक्लिङको उपयुक्त गन्तव्य स्थलको रुपमा लिइएको छ ।

भाइचारा सम्बन्ध
यसरी निस्कने यात्राले आपसी अनुभव साटासाट गर्ने, प्रविधिले एक्लिएको व्यक्तिलाई जोड्ने, सामाजिक सद्भाव बढाउने तथा एकअर्काप्रति प्रेम र सहयोगी भावको विकासमा टेवा पुग्ने साइक्लिष्ट क्लबका सदस्य रामकृष्ण खड्काको बुझाइ छ ।

विशेष गरी राइडरलाई भौगोलिक बनावटले पनि प्रभाव पार्ने गर्दछ । समथल भूभागभन्दा उकालो या ओरालो बाटोमा साइक्लिङ गर्दा अझ स्वस्थ र आनन्दित हुने बुझेपछि केराबारी गाउँपालिकाको बनावट र त्यहाँको परिवेश राम्रो देखिन्छ । गाउँपालिकाले साइक्लिङलाई कसरी लिएको छ भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष रोहित कार्की भन्छन्, ‘म आफैँ राइडिङ गर्छु । सुन्दरहरैंचाका युवाहरूको प्रभावले मलाई पनि साइकल किन्ने सोच बनाइदियो । मेरो गाउँपालिकामा युवाहरूले यदि साइकल किन्ने सोच बनाउनुभयो भने ५ हजार रुपैयाँ सहयोग गर्ने योजना बनाएको छु ।’

उनी भन्छन्, ‘केराबारीलाई साइक्लिङको हब बनाउन यहाँ आउने पाहुनालाई खादा र मालाले स्वागत गर्छु ।’ सामुहिक रूपमा आउने र यहाँको पर्यटकीय क्षेत्रलाई बल पुग्ने अवस्था आए बस्ने र खानेको प्रबन्धसमेत मिलाउने उनको भनाइ छ । यस्तै अन्य स्थानीय सरकारले यस्ता राम्रा र नमूना कार्यलाई अंँगाल्न सके पर्यटनसँगै समाजसुधारमा यो कोशेढुंगा बन्ने देखिन्छ ।

तस्बिर : खेमराज दाहाल

Banner

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि शुरू हुँदै

Published

on

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान शुरू हुने भएको छ । हिजो बेलुकादेखि नै शुरू हुने भनिएको मतदान स्थगित गरिएको हो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेपछि मात्रै मतदान थाल्ने तयारी छ । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा समेत बसेका थिए । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको पोखरेलले बताउनुभयो ।

उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान शुरू गर्न ढिलाइ भएको हो । मतदानको लागि ८० वटा मेसिन विद्युतीय तयार गरिएको छ । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि झन्डै ६ सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ ।

Continue Reading

Banner

आजको राशिफल — २०८२ साल पुस २ गते

Published

on

आज २०८२ साल पुस २ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर १७ तारिख । पौष कृष्ण पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।

मेष : दिन सामान्य छ । दैनिक काम बन्नेछ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । साथीभाइसँग परामर्श लिनु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ ।

वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ । लगानी गर्नुभएको भए फाइदा हुनेछ । उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ । बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ । राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।

कर्कट : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । रोगले सताउने जोखिम छ । परिवारमा भने मिष्ठान्न भोजन मिल्नेछ ।

सिंह : दिन सामान्य राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।

कन्या : दिन राम्रो छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । सामान्य सोच्नुभएका व्यक्तिबाट धोका हुनेछ । रोगबाट मुक्ति मिल्नेछ । उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।

वृश्चिक : दिन राम्रो छ । धन कमाउने अवसर स्वदेशमा देखिने छन् । मन खुशी हुने दिन छ । स्वास्थ्यमा सुधार हुने देखिन्छ । धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ ।

धनु : बोल्दा सचेत हुनुपर्ने दिन छ । दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास गर्ने बानीले धोका हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ ।

मकर : दिन सहज छ । तपाईंको प्रशंसा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइसँग भेट हुने योग छ । राजनीतिमा भने सचेत बन्नुपर्नेछ । व्यापारमा मिहिनेत गरे फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य राम्रो छ । हराएको धन भेटिनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ । लगानी गर्दा साथीसँग सहकार्य गरेमा फाइदा हाेला ।

मीन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले उपचारमा ध्यान दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।

Continue Reading

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक