Connect with us
Advertisement

साइकलको पाउदानी चलाउँदै, प्रकृतिको काखमा पुग्दै

Published

on

विराटचोकः स्वास्थ्यका लागि साइक्लिङ’ भन्ने नाराका साथ साइक्लिष्टहरू निरन्तर उत्तरी मोरङ, सुनसरी र धनकुटाको दक्षिणी क्षेत्रमा पसिना चुहाइरहेका छन् । कोभिड–१९ का कारण भएको लकडाउन र त्यसपछिको समयमा पनि उनीहरूले साइक्लिङ अभ्यास छाडेका छैनन् । युवाहरू समूहमा आबद्ध भएर साइक्लिङ गर्दै आएका छन् । उनीहरू घण्टौँसम्म साइकल कुदाउँदै कहिले मूलघाट, कहिले नमस्ते झरना अनि भेडेटार, कोशी टप्पु, चतरा पुग्ने गर्छन् । धरानको शिवजट्टा, उत्तरी मोरङको राजारानी, लगायत विधिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा बिदाको दिन साइकलका पाउदानी चलाउँदै प्रकृतिको काखमा पुग्छन् ।


समाजमा रम्न र रमाउन जान्नु व्यस्त मानिसका लागि सोचनीय विषय बन्दै गइरहेको छ । विज्ञान र प्रविधिको विकासले मानिसलाई एक पल पनि फुर्सदिलो बनाएको छैन । अझ शहरिया परिवेशमा त यसले विकराल रुप लिँदै मानिस धेरै रोगको सिकार बन्न पुगेका छन् । यसलाई चिर्नका लागि सुन्दरहरैंचाका केही युवाहरू अहिले दैनिकजसो साइक्लिङ गरिरहेका छन् । यसले भावी पुस्तालाई समेत जागरुक बनाएको छ ।

काठमाडौ, पोखरा र पूर्वको धरानमा साइक्लिङ गर्नेको संख्या उच्च रहेको अवस्थामा पछिल्लो समय नयाँ शहरको रुपमा विकास हुदै गरेको सुन्दरहरैंचा क्षेत्रमा समेत राइडरहरू जन्मनुले यो ठाउँको लागि खेल क्षेत्रसँगै पर्यटकीयमा समेत नयाँ आयाम ल्याउने देखिन्छ ।

लकडाउन शुरु हुनुभन्दा केही महिना अघि सुन्दरहरैंचा साइकल राइडर्स क्लब नामक संस्था स्थापना भएको थियो । सरकारले कोभिड १९ रोकथामका लागि गरेको बन्दाबन्दीका कारण व्यवसायबाट फुर्सदिलो बनेका युवाहरूमा यसको मोह ह्वात्तै बढेको छ । अहिले यो क्लबमा आबद्ध भई करीब ५०÷६० जनाले साइक्लिङ गर्दै आइरहेको क्लबका अध्यक्ष केशव बजगाई बताउँछन् ।

‘धेरै अघिबाटै मैले साइक्लिङ गर्दै आएको थिएँ । पछि केही ग्याप भयो,’ यस क्षेत्रमा करीब ९\१० वर्ष अघिबाट साइक्लिङ गर्दै आएका खेमराज दाहाल भन्छन्, ‘तर यसमा लगनशील र मेहनेत गर्दै पहिले एक्लो भए पनि अहिले धेरै हुनु अत्यन्तै खुसीको कुरा हो । हामीलाई नयाँनयाँ ठाउँको अवलोकन गर्दै जाँदा धेरैले कहाँबाट आउनुभो भनी सोधेर सम्मान गर्ने गर्दछन् । त्यो हाम्रा लागि प्रेरणादायी बन्दछ र थकित शरीरलाई ऊर्जा बढेको महसुस हुन्छ ।’

उनका अनुसार १ वर्ष अगाडि एउटा प्रतियोगिता समेत आयोजना भएको थियो । त्यो प्रतियोगिता नै यस क्षेत्रमा राइडर्स जन्माउने प्रमुख आधार बन्यो । आफूहरू यो क्षेत्रमा समूहगत रुपमा हिँड्न थालेको धेरै नभए पनि पछि आएर साथीभाइसँग सल्लाह गरेर क्लबको रुपमा सबैलाई समेट्ने र भावी पुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउने उद्देश्य रहेको उनले सुनाए ।

उनका अनुसार साइक्लिङका लागि सर्किटको अभावले यात्रामा धेरै कठिनाइ बेहोर्नुपर्छ । ‘एउटै सडकमा सबैखाले सवारी हुँदा ठुलो सवारीले पैदलयात्री तथा साइकललाई कम प्राथमिकता दिँदा र साइक्लिङको छुटै लेन अथवा सर्किट नहुँदा धेरै कठिनाई हुने गरेको छ’, उनी भन्छन्, ‘लामो यात्रा अर्थात् १ सय ५० किलोमिटर दूरी करीब ९ घण्टामा साथीहरूसँग नयाँ ठाउँको दृश्यावलोकन गर्दै अनि त्यस क्षेत्रको परिवेशमा रम्दै गरेको यात्रा अविस्मरणीय हुने गरेको छ ।’

यस्तै २२ वर्षदेखि साइकलको व्यवसाय गर्दै आइरहेका क्लबका उपाध्यक्ष पारस ढुंगेल युवाबाट उक्लँदै गरेको उमेरमा समेत साइक्लिङ गर्न र दैनिक यात्रा गर्दा स्वास्थ्यमा सकारात्मक सुधारहरू आउन थालेको सुनाउँछन् । ‘मैले पढाइपछि यो व्यवसाय अँगालेँ । हजारौँलाई साइकल बेचेँ,’ ढुंगेल भन्छन्, ‘अहिले त्यो पसिनाको मूल्य र युवाहरूमा यसप्रतिको क्रेज बढ्दै गएको देख्दा मन नै फुरुङ्ग हुने गरेको छ ।’

एउटै ड्रेस लगाएर टाउकोमा हेल्मेट र साइकलमा राष्ट्रिय झण्डा फहराउँदै यात्रामा निस्कनुको मज्जाले सबै खालको तनावबाट शान्ति मिल्ने गरेको क्लबका अध्यक्ष बजगाईको भनाइ छ । सबैको क्षेत्र फरक भए पनि यात्रामा भने भाइचारा र बन्धुत्वको भावनामात्र हुनु एउटा समाज सुधारको मूल धार बन्ने विश्वास रहेको उनको भनाइ छ ।

यो क्लबले सामाजिक क्षेत्रमा समेत गतिविधिहरू गर्ने र समाजमा रहेका युवाहरू कुलतमा लाग्ने अवस्थालाई यसले केही हदसम्म न्यूनीकरणको प्रयास गर्ने बताउँछन् । केही वर्ष अघि फाट्टफुट्ट रूपमा देखिने यात्रा अहिले दैनिकीजस्तो बनेको छ । बन्दाबन्दी हुनुभन्दा अगाडि आफ्नो व्यवसाय कामधन्दा जागिर पूरा गरेर युवाहरू साइक्लिङमा निस्कने गर्दथे ।

शरीरलाई फिटनेस राख्ने
साइक्लिङका फाइदामध्ये महत्वपूर्ण भनेको शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिने एक सम्पूर्ण व्यायाम हो । कोरोनाका कारण जिम गर्न नपाउँदा विकल्पको रुपमा साइक्लिङ गरिरहँदा शरीरको समुचित व्यायाम हुने गर्दछ । यसले स्वास्थ्यको लागि लाभदायक समेत भएको हुनाले सबैले यसलाई अपनाउनुपर्ने अध्यक्ष बजगाईं बताउँछन् । दैनिक ५०÷६० किलोमिटर यात्रा गर्दा स्वास्थ्यसँगै मानिसमा भएका नकारात्मक पक्षलाई समेत हटाउन सहयोग पुग्ने साइक्लिङ गर्नेहरू बताउँछन् ।

यो एउटा महत्वपूर्ण खेल
लकडाउनका कारण फुटसल, फुटबल, भलिबल, ब्याडमिन्टनलगायतका खेलहरू बन्द भएको अवस्थामा साइक्लिङ एउटा महत्वपूर्ण खेलको विकास हुँदै गइरहेको छ । यस खेलबाट नेपालले धेरै स्वर्ण पदक हात पारेको छ । निश्चित दूरी कायम गरी तोकिएको समयमा सबै नियम पालना गरेर यात्रा गर्ने भएकाले यसलाई एउटा खेलको रूपमा सरकारले लिएको छ । तर यसलाई स्थानीय सरकारले खेलकुदको रूपमा विकास गर्न भने सकिरहेको छैन । खासगरी युवा पुस्तामा यसले सकारात्मक ऊर्जा ल्याउने गर्दछ । दैनिक परिवारको बसाइ, अफिसको काम र आफ्नो व्यवसायबाट थकित भएको एउटा मानिसलाई २÷४ घण्टाको यात्राले आनन्दित मात्र होइन उसमा भएको नकारात्मक भावलाई हटाउने गर्दछ ।

साइक्लिङ टुरिजम
साइक्लिङमार्फत् पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ । स्थानीय सरकारले चारकोसे झाडीलाई सदुपयोग गर्न सके पर्यटकीय क्षेत्रमा राम्रो गन्तव्य बन्न सक्छ । उत्तरी मोरङका डाँडापाखामा उक्लन छिमेकी राष्ट्रबाट विराटनगर– विराटचोक सडक निर्माण भइसकेपछि पहाडी भेगका पालिकाले साइक्लिङ नै पर्यटक भित्र्याउने मुख्य माध्यम बन्न सक्ने छ ।

फुर्सदिलो समयमा एउटा प्याकेज बनाएर यी क्षेत्रको सहज रुपमा यात्रा गर्न सकिन्छ । यहाँ प्रशस्त धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । यसका अलावा सुनसरीको चतरा, धरान, कोशी टप्पु वन्यजन्तु आरक्ष, चारकोशे झाडी, तालतलैयासम्म यात्रा गर्न सकिन्छ । मोरङका उत्तरी पालिकाहरू, बेतना सिमसार क्षेत्र, हसिना सिमसार क्षेत्र, लेटाङ, राजारानी, केराबारी, चारकोसे झाडी, धनकुटाको भेडेटार, राजारानी मूलघाटलगायतका स्थललाई साइक्लिङको उपयुक्त गन्तव्य स्थलको रुपमा लिइएको छ ।

भाइचारा सम्बन्ध
यसरी निस्कने यात्राले आपसी अनुभव साटासाट गर्ने, प्रविधिले एक्लिएको व्यक्तिलाई जोड्ने, सामाजिक सद्भाव बढाउने तथा एकअर्काप्रति प्रेम र सहयोगी भावको विकासमा टेवा पुग्ने साइक्लिष्ट क्लबका सदस्य रामकृष्ण खड्काको बुझाइ छ ।

विशेष गरी राइडरलाई भौगोलिक बनावटले पनि प्रभाव पार्ने गर्दछ । समथल भूभागभन्दा उकालो या ओरालो बाटोमा साइक्लिङ गर्दा अझ स्वस्थ र आनन्दित हुने बुझेपछि केराबारी गाउँपालिकाको बनावट र त्यहाँको परिवेश राम्रो देखिन्छ । गाउँपालिकाले साइक्लिङलाई कसरी लिएको छ भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष रोहित कार्की भन्छन्, ‘म आफैँ राइडिङ गर्छु । सुन्दरहरैंचाका युवाहरूको प्रभावले मलाई पनि साइकल किन्ने सोच बनाइदियो । मेरो गाउँपालिकामा युवाहरूले यदि साइकल किन्ने सोच बनाउनुभयो भने ५ हजार रुपैयाँ सहयोग गर्ने योजना बनाएको छु ।’

उनी भन्छन्, ‘केराबारीलाई साइक्लिङको हब बनाउन यहाँ आउने पाहुनालाई खादा र मालाले स्वागत गर्छु ।’ सामुहिक रूपमा आउने र यहाँको पर्यटकीय क्षेत्रलाई बल पुग्ने अवस्था आए बस्ने र खानेको प्रबन्धसमेत मिलाउने उनको भनाइ छ । यस्तै अन्य स्थानीय सरकारले यस्ता राम्रा र नमूना कार्यलाई अंँगाल्न सके पर्यटनसँगै समाजसुधारमा यो कोशेढुंगा बन्ने देखिन्छ ।

तस्बिर : खेमराज दाहाल

Banner

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,

Published

on

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।

उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।

छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।

वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।

हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।

साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।

‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।

टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

Continue Reading

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

Banner

आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने

Published

on

आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।

आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक