विराटचोकः लगातार शेयर बजारले नयाँ कीर्तिमान बनाउँदै लगेको छ । अघिल्ला रेकर्डलाई मंगलबार ब्रेक गरेको बजारले मंगलबारको रेकर्ड बुधबार र बुधबारको रेकर्ड बिहीबार तोडिएर नयाँ कीर्तिमान कायम भएको हो ।
शुक्रबार मौद्रिक नीति आएको छ । सो नीतिले बजारलाई खासै असर नगर्ने केही लगानीकर्ताको भनाइ छ । बजार बढ्न सहयोग गर्ने खालको नीति नआएको तर मार्जिन लोनको सीमा घटाएकाले बजारलाई असर गर्ने केही लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिमा व्यवस्था भएअनुसार अब लगानीकर्ताले १२ करोड रुपैयाँभन्दा बढी त्यस्तो लोन पाउने छैनन् । साथै एउटा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँमात्रै त्यस्तो लोन पाउने छन् ।
बिहीबार नयाँ कीर्तिमान कायम हुँदा बजार १६.४१ अंकले बढेर ३१७९ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१६ अंकमा रोकिएको छ ।
बिहीबार १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँको शेयर कारोबार भएको छ । कोरोना संक्रमण दर बढ्दै जानु र लगानीका अन्य क्षेत्रमा संकुचन हुनुले शेयर बजार अझै बढ्ने लगानीकर्ताको विश्वास छ । बिहीबार नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । बिहीबार कारोबारमा आएका २ सय २५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता शेयर कारोबार भएको छ ।
महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
पाँचथर पावर, ओरियन्ट होटल, सारथी नेपाल लघुवित्त र तारागाउँ रिजेन्सी होटेलका शेयरधनीहरुले सबैभन्दा धेरै गुमाए । बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड ५ लाख ३० हजार ५ सय ११ रुपैयाँ कायम भएको छ ।
Pingback: घटेको बजारमा कारोबार रकमले बनायो नयाँ कीर्तिमान, २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार - निष्पक्षखबर