खेलकुद
अमेरिकी पुरुष रेस्लर भगवतीद्वारा पराजित

काठमाडौंः नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लरलाई शनिबार पराजित गरेकी छिन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् । भगवतीसँग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसंग ट्रिपल थ्रेट म्याच खेलेका थिए । त्यसमा पेड्रोले बाजी मारेका थिए । उक्त जीतसंगै भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन् ।
भृकुटीमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए । सिंगल म्याचकै महिलामा दुई भीडन्त भएको थियो । दुवै भीडन्त नेपाली रेस्लरबीच भएको थियो । पहिलोमा मनीषा रानाभाटले सपना माझीलाई पाखा लगाइन् भने अर्कोमा स्नेहा थापा मगरले सपना गोपालीको चुनौती पन्छाइन् ।
Banner
जनप्रतिनिधिज्यूहरूलाई बधाई, शुभकामना र सल्लाह

एनपी भण्डारी
२०७९ सालको स्थानीय तहको चुनावको अन्तिम मत परिणाम आइसकेको छ । नयाँ जोश र जाँगरसहित जनप्रतिनिधिहरू गाउँपालिका र नगरपालिका भवनका कोठाहरूमा प्रवेश गर्दै हुनुहुन्छ । सर्वप्रथम नव निर्वाचित पालिका प्रमुख, उपप्रमुख लगायत सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई तथा पाँच वर्षे कार्यकालको धेरै धेरै शुभकामना ।
यो समय शुभकामना र बधाई बटुल्ने समय पनि होला । बधाई र शुभकामनाको थाम्नै नसक्ने गरी ओईरो लागिरहेको होला । तपाईं व्यस्त हुनुहुन्छ होला, रमाईरहनु भएको हुन सक्छ, सगुन खाँदै हुनुहोला, मन खुसी नै छ होला । तर तपाईंको जीवनको वास्तविक परीक्षा भने अब शुरु हुँदैछ भन्ने त अवश्य नै थाहा होला ।
आफ्नो गाउँ र नगरका सम्बन्धमा हजुरहरूलाई राम्रो जानकारी छैन होला त भन्नै मिल्दैन । तर कुनै एक पालिकाको बासिन्दा भएका कारण तपाईँका समयावधिमा हुने काम व्यवस्थित हुन सकून् भन्ने शुभकामना दिन मन छ । त्यसैले पुनः एकपल्ट दोस्रो शुभकामना छ ।
शुभकामनासँग चिन्ता पनि जोडिएका छन् । हाम्रो चिन्तालाई अस्वभाविक रूपमा नलिइदिनु होला । तपाईंले जीत निकाल्दै गर्दा हामीलाई पनि कौतुहलता बढेको मात्र हो । भावना छचल्किन खोजेका छन् । उब्जिएका भावना गुम्स्याएर राख्नु भन्दा समयमा नै प्रतिनिधि समक्ष सुझावको रूपमा तपाईं र दर्शक सामु राखिदिनु उचित ठान्छु । फुर्सद मिलाएर पढ्नु होला भन्ने विश्वास छ । त्यसैले हजुरहरूलाई केही बुँदागत सुझाव वा सल्लाह जे छन् राख्न चाहन्छुः
(१) तपाईं पारदर्शी बन्नुहोला भन्ने सल्लाह चढाउन मन लागेको छ । जनप्रतिनिधि पारदर्शी भएनन् भन्ने जनताका गुनासा छन् । त्यसैले, पारदर्शिताका लागि तपाईँले जतिसक्दो छिटो आफ्नो सम्पत्ति स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ । तपाईं आफैँ सार्वजनिक मानिस भइसक्नु भयो । तपाईंको सम्पत्ति कति छ भनेर जनताले थाहा पाउनुपर्छ । अनि पाँचवर्षे कार्यकाल समाप्त भएका दिन पनि सम्पत्ति सार्वजनिक गर्ने प्रतिबद्धता गर्नुपर्छ । यसबाट तपाईंले कमाउनुभयो कि जनताका सेवामा काम गर्नु भयो भन्ने कुरा जनताले तुलना गरेर हेर्न सक्नेछन् । यही बिन्दुमा चुक्नुभयो भने सुरुआत नै खल्लो हुन पुग्छ र हाम्रा शुभकामना खेर जान सक्छन् ।
(२) धेरै जनप्रतिनिधि उनका गलत र खराब सल्लाहकारले बिगारेका छन भन्ने देशव्यापी गुनासा छन् । जनताका प्रतिनिधि वरिपरि घुम्ने ठेकेदारले नेता बिगार्छन् भन्ने गुनासा बहुत छन् । त्यसैले, हाम्रो अनुरोध छ सल्लाहाकार र योजनाकार असल भन्दा असल र अब्बल भन्दा अब्बल छनोट गर्नुहोला ।
(३) तपाईंले नेतृत्व गर्ने गाउँ वा नगरले योजनाबद्ध विकास खोजेको हुनुपर्छ । त्यसका लागि गुरुयोजना महत्वपूर्ण हुनेछ । गुरुयोजना छैन भने त्यो विषय तपाईंको प्राथमिकतामा आउनुपर्छ । गुरुयोजना नै सुन्दर भविष्यका लागि राजमार्ग हो । गुरुयोजना विना व्यवस्थित विकास हुँदैन भन्ने थाहै होला । विज्ञहरू प्रयोग गरी बृहत गुरुयोजना बनाउनुहोला । यसैबाट तपाईंको नगरी अरु गाउँ नगरीसँग र संसारकै नगरहरूसँग पनि दाँजिने छ । गुरुयोजनाका लागि देशविदेशबाट सुझाव आउनेछन् । तपाईंको यो योजनाले नै आफ्नो नगरी न्युयोर्क, पेरिस, हङकङभन्दा विशिष्ट छ, उत्तम र भिन्न छ भनेर जनाउनेछ । यो विषयलाई हलुका नलिइदिनुहोला ।
(४) तपाईंले घोषणापत्रमा गर्छु भनेका कुरालाई पूरा गर्नै पर्छ । तपाईंले पूरा गर्ने वाचा पनि गर्नुभएको छ । त्यसैले घोषणापत्रका सवाललाई प्राथमिकीकरण (१,२,३) गरेर रणनीतिक र नगरको वार्षिक योजनामा ढाल्नुहोला । विपक्षीका घोषणापत्र अध्ययन गर्नु, गराउनु होला । त्यहाँ पनि राम्रा काम गर्ने भनिएका होलान् । तिनीहरूलाई पनि योजनामा समेट्नु भएमा विपक्षी पनि खुसी हुनेछन् नगर पनि राम्रो बन्दै जाला भन्ने लाग्छ ।
(५) वडाहरूको पनि पञ्चवर्षे र वार्षिक योजना बनाउन लगाउनुहोला ।
(६) दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनामा बजेट लगाउनुहोला ।
(७) हरेक वडाका गौरव होलान्, चिनारी होलान् । वडा चिनाउने योजनामा खर्च गर्नुहोला । तपाईंले पछि कार्यकाल सकिँदै गर्दा देखिने तिनै कुरा हुनेछन् ।
(८) शिक्षा र स्वास्थ्यका कुरा होलान् तर कम्तीमा पनि वर्षमा २ ओेटा जीर्ण भएका विद्यालयलाई नमुना बनाउनुहोला । शिक्षा र शिक्षकका सवाल बुझ्नुहोला । बाल कक्षामा पढाउने शिक्षक र विद्यालयमा दरबन्दी बुझ्नुहोला । राहत र अस्थायी शिक्षक कसरी पढाउँदै छन् बुझ्नुहोला । फुङ्ग उडेका विद्यालयलाई रङ्गीन बनाउने योजना दिनुहोला ।
(९) महिला कर्मचारीलाई महिनावारीको समयमा कम्तीमा पनि महिनामा १ दिन र सकिन्छ भने २ दिन बिदा दिनुहोला । यो काम नयाँ र तपाईंको हुनेछ । महिला कर्मचारी खुसी हुनेछन् पुरुष खुसी नहुने कुरै भएन ।
(१०) नगरमा क्याम्पस भए विश्वविद्यालय बनाउने आधार दिनुहोला । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने बन्दोबस्त मिलाउनुहोला ।
(११) युवा जागेको देख्नुभएकै छ । बेरोजगार युवा र खेलकुदप्रेमी युवालाई उनीहरूको योजनाका आधारमा कार्यक्रम बनाउने गर्नुहोला । विनाधितो ऋण दिन सकिन्छ होला ।
(१२) युवा रोजगारीका लागि स्रोत जुटाउन लाग्नुहोला । तपाईंको योजना भए स्रोत भेटिन्छ । योजनै छैन भने स्रोत भेटिँदैन ।
(१३) आदिवासी जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक, मधेसी होलान् । उनीहरूको भाषा संस्कृति संरक्षण गर्ने योजना गर्नुहोला ।
(१५) कम्तीमा पनि २ महिनामा १ पटक गाउँ तथा नगरवासीको बस्तीमा छिर्नुहोला । उनीहरू तपाईंसँग खासै धेरै केही पनि चाहँदैनन् जस्तो लाग्छ तर तपाईँलाई दुखेसो राख्न चाहन्छन् । सक्नुहुन्छ भने एकछाक जनताको घरमा खाना खाने कार्यक्रम राख्नुहोला ।
(१६) किसानलाई सबैले कपटपूर्ण, पूरा नहुने आश्वासन बाँड्छन् । तपाईंले पनि त्यही गर्नु भएको छ भने भन्नु केही छैन तर मेरो विचारमा जोत्ने जमिन किसानको पहिलो आवश्यकता माटोको परीक्षण हो । उनीहरूको माटो उनीहरूलाई नै चिनाइदिनुपर्छ । सधैँ मल र बिजन नपाएर किसान छटपटिन्छन् । कीटनाशक औषधी, बिजन र मलका कुरा सबैले गरेका छन् तर सजिलो देखिन्न । इन्डियामुखी मल छ । मल उत्पादन आफँै गर्न कतिपय नगरले गरेका छन् भन्ने सुनिएको छ । तपाईंले पनि त्यो विधि अपनाउन जरुरी छ ।
(१७) बासिन्दाले धारामा पानी झरोस् भन्ने चाहेका छन् । तपाईंको पालामा काकाकुल नगर बन्दा हामी खुसी हुनेछैनौँ शुभकामनाको अर्थ हुने छैन ।
(१८) विकासमा कुनै पूर्वाग्रह हुँदैन । यसअघि थालनी भएका दीर्घकालीन योजनाका कार्यलाई निरन्तरता दिनुहोला ।
(१९) अब्बल तर आर्थिक रुपमा कमजोर विद्यार्थीलाई लगानी गरी नगरमा डाक्टर उत्पादन गर्नुभयो भने जनताले राम्रै मान्लान् ।
(२०) अन्तराष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापना गर्नुभयो भने लगानी र नवीन तरिका आउला भन्ने लाग्छ ।
(२१) सुकुम्बासी बस्तीबाट भोट लिन निकै प्रयास गर्नुभयो नै होला । सुकुम्बासी बस्ती हँसाउने कार्यक्रम दिनुहोला । रासन कार्ड दिन सकिन्छ कि ? इन्डकसन चुलो दिन सक्नुहुन्छ कि ? कार्यक्रम बनाएर लगानीकर्ता खोज्ने हो कि ?
यी र यस्तै अरु पनि धेरै सुझाव थिए तर सबै यस पानामा नअटाउने भए । त्यसैले धेरै लेखिनँ, फेरि पनि भावना पोखिन लागेँ भने अरु सुझाव टक्र्याउँला नत्र कतै कोरेर कुनामा राखौँला । चुनाव जित्नुभएकोमा पुनः बधाई र शुभकामना छ, तपाईंको कार्यकाल सफल रहोस् । उही तपाईँको शुभचिन्तक ।
Banner
मध्याह्न्नपछि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने, प्रि–मनसुन अन्तिम चरणमा

काठमाडौंः आज मध्याह्न्नपछि मौसम बद्ली भई देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । यस पटकको मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । यस्तो छ आगामी ३ दिनको मौसमको पूर्वानुमानः
Banner
बजेट सुझाव संकलनका लागि प्रदेश मन्त्री जिल्लाजिल्लामा

विराटनगरः आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्लाजिल्लामा पुगेका छन् ।
स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेको हो । १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष गएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार आगामी आर्थिक वर्षका लािग प्रदेश १ सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।
आज १४ वटै जिल्लाका सदरमुकाममा कार्यक्रम राखिएको बताइएको छ । योजना तर्जुमा छलफलमा जिल्लास्थित स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख र सरोकारवाला सहभागी हुने भएका छन् ।
मन्त्री र योजना आयोग उपाध्यक्षसहितको टोलीले संकलन गरेको सुझावलाई प्रदेश योजना बैंकमा राखेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ ।
कुन जिल्लामा कुन मन्त्री पुगे ?
ताप्लेजुङः सामाजिक विकास मन्त्री राजन राई,
पाँचथरः पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू,
इलामः योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम,
झापाः खानेपानी सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई,
संखुवासभाः वन वातावरण तथा भू संरक्षण मन्त्री शेखर थापा
तेह्रथुमः सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे
धनकुटाः उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम,
भोजपुरः सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की,
सुनसरीः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी,
मोरङः मुख्यमन्त्री राजेन्द्र राई,
ओखलढुंगाः स्वास्थ्य मन्त्री जयराम यादव,
सोलुखुम्बुः सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे,
खोटाङः कृषि मन्त्री झलकबहादुर मगर ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद2 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य2 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य2 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य2 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login