Connect with us
Advertisement

सुन्दरहरैंचाका युवाले गरे नमूना संसद सञ्चालनको अभ्यास, अतिथिले भने प्रतिनिधि सभाको बैठकजस्तै लाग्यो

Published

on

विराटचोकः शनिबार सुन्दरहरैंचाको गोकर्ण रिसोर्टमा फरक दृश्य देखिन्थ्यो । भर्खर युवावस्थामा प्रवेश गर्दै गरेका युवाहरु संसद सञ्चालनको अभ्यास गरिरहेका थिए । उनीहरुले संसद चलाएको दृश्य दर्शकदीर्घामा बसेर हेरिरहेका थिए प्रदेश उपसभामुख सरस्वती पोखरेल, जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राई र प्रदेश सांसद राजकुमार ओझाले । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकलीदेवी चौधरी र वडा नम्बर ५ का अध्यक्ष गणेश चौधरी पनि दर्शक दीर्घामा थिए ।

बिहान ११ बजे संसद भवनको साइरन घण्टी बजेपछि बैठक कक्षमा रहेको हाजिरी पुस्तिकामा हस्ताक्षर गर्दै नगर सदस्य बैठक कक्षको निर्धारित सिटमा बसेका थिए । साइरन बज्न छाडेपछि मर्यादापालकसँगै सभामुख तथा नगरपालिकाका प्रमुख बैठक कक्षमा प्रवेश गर्दा सबै नगर सदस्य उठेर सभामुखको सम्मान गरेका थिए ।

असार १ गतेदेखि शुरु भएको नमूना संसद सञ्चालनको अभ्यास असार ४ गते समापन हुँदा युवाहरुले ३ दिनमा सिकेको सीप प्रदर्शन गरेका थिए । नमूना संसद अभ्यास हेर्दा जति व्यवस्थित देखिन्थ्यो त्योभन्दा बढी मर्यादित पनि देखिन्थ्यो । नगरप्रमुखको भूमिका रहेकी सबिना खतिवडा र उपप्रमुखको भूमिकामा रहेकी सिम्रन न्यौपानेको पछाडि उभिएका मर्यादापालक चुपचाप मूर्तिवत उभिइरहे । सभा मर्यादित बनेकाले मर्यादापालकको आवश्यकता नै परेन ।

नमूना नगर सभा सञ्चालनको क्रममा नमूना संसदकी नगर प्रमुख बनेकी खड्काको प्रस्तुति आकर्षक थियो । उनले नगर सदस्यलाई माननीय नगर सदस्य अब आफ्नो सिटमा जान सक्नुहुनेछ भनेपछि मात्रै नगर सदस्य रोष्ट्रम छोडेर आफ्नो सिटमा बस्थे ।

नमूना नगर सभामा सुन्दरहरैंचा नगरपालिकाको लागि आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट प्रस्तुत गरिएको थियो । त्यसपछि लेखा समितिका संयोजक विशाल मगरले अर्थ विनियोजन विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए । नगरसभामा थप २ वटा विधेयक प्रस्तुत भएका थिए ।

नमूना नगरसभाले आगामी आर्थिक वर्षका लागि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख सिम्रन न्यौपानेले प्रस्तुत गरेको बजेट तथा ३ वटा विभिन्न विधेयक पारित गरेको थियो । बजेट तथा विधेयक पारित हुनुअघि नगरसदस्यले बजेट तथा विधेयकमाथि छलफल गरेका थिए ।

नमूना संसद अभ्यास समापनपछि भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभाकी उपसभामुख सरस्वती पोखरेलले नगर सदस्य आत्मविश्वासका साथ कार्यक्रममा सहभागी भएको बताइन् । गहिराइमा डुबेर नमूना संसदको अभ्यास गरेको उनले बताइन् । स्थानीय तहले ल्याउन लागेको बजेटमा यसरी नै सबै युवाले चासो राख्नुपर्ने उनले बताइन् ।

प्रदेश सांसद राजकुमार ओझाले सांसदले ४ वर्षमा गरेको अभ्यासभन्दा राम्रो अभ्यास तालीमले दिएको आफूले पाएको बताए । प्रशिक्षार्थीलाई राम्रोसँग प्रशिक्षण दिएको भन्दै उनले प्रशिक्षकको तारिफ गरे । नेतृत्व गर्ने विद्यार्थी अब्बल हुनुपर्ने उनले सुझाव दिए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । सफल जनप्रतिनिधि बनाउन यस्ता कार्यक्रम सहयोगी हुने उनको भनाइ थियो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले आफूहरुले उठाउनुपर्ने विषय नमूना संसदका सहभागीले उठाएको बताए । यहाँ उठेका सुझावहरु नगरपालिकालाई उपलब्ध गराउन उनले अनुरोध गरे । नमूना संसद अभ्यास हेर्दा आफू प्रतिनिधि सभाको दर्शक दीर्घामा बसेजस्तो लागेको उनले बताए ।

सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले आफूले पनि यो तालीम लिनुपर्ने अनुभूति भएको बताइन् ।

प्रशिक्षार्थी जेनिसा पौडेलले विषयअनुसार बोल्न सिकाउने ज्ञान तालीमले दिएको बताइन् । किताबी ज्ञानभन्दा माथिको ज्ञान तालीमले दिएको उनको भनाइ थियो ।

कार्यक्रममा २ जना प्रशिक्षार्थीलाई सम्मान पनि गरिएको थियो । सक्रिय सहभागिताको सम्मान प्रशिक्षार्थी जीवनकृष्ण खतिवडाले र अनुशासित प्रशिक्षार्थीको सम्मान जेनिसा पौडेलले पाएका थिए ।

राष्ट्रिय युवा परिषद्का मोरङ अध्यक्ष सन्तोष घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाका अधिकृत तेज आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति घिमिरेले यस्ता सिर्जनशील कामको लागि सरकारले बजेट विनियोजनमा कञ्जुस्याइँ गर्न नहुने बताए ।

४ दिवसीय सो तालीमको भुवन दाहाल र सरोज ढकालले सहजीकरण गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading

Banner

होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।

इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।

दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।

आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।

उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।

चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।

दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक